शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता बजारमा भित्रिए यस्ता गीत (भिडियोसहित)

शनिबार, २६ साउन २०७५, १२ : २२
शनिबार, २६ साउन २०७५

 काठमाडौं – पछिल्लो समय गीत संगीतको व्यवसाय सन्तोषजनक छैन । तै पनि यसमा लगानी गर्नेको कमी देखिदैन । गीतमा लगानी गर्न नयाँदेखि पुराना गायक गायिका समेत पछि पर्दैनन् ।
 यस्तैमा यो सात पनि नयाँ तथा पुराना गायक गायिकाको गीत ल्याउने प्रतिस्पर्र्धा जस्तै देखियो । यो स्पर्धा दर्जन बढी नयाँ गीत संगीतिक बजारमा भित्रियो । सबैभन्दा बढी तिज गीत भित्रिए ।  साता भरि बजारमा आएका गीत संगीत यस्ता छन् । 

‘रातै छ चोली’ 
गायक तथा संगीतकार उज्वल थेबे लिम्बूको पछिल्लो गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीत जस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ लोक फ्लेवरको गीत हो । उज्वलले यसपटक फरक स्वाद पस्कन डान्सिङ शैलीको गीत ल्याएको बताए । नेपाली चलचित्रहरुमा समेत संगीत गर्दै आएका उज्वलको सार्वजनिक भएको ‘रातै छ चोली’मा शब्द तथा संगीत पनि उनैको रहेको छ । ‘रातै छ चोली’ गीतको भिडियोलाई राजेन्द्र थेबेले निर्माण गरेका हुन् । पेमा तामाङले निर्देशन गरेको उक्त गीतको भिडियोमा मोडल विशाल सेनेहाङ लिम्बू र सुस्मिता नाछिरिङ राईलाई फिचरिङ गरिएको छ । भिडियोमा विशाल र सुस्मिताको केमेस्ट्री जमेको छ । विशाल पछिल्लो समय मोडलिङ क्षेत्रमा चम्किँदै गरेका मोडल हुन् भने सुस्मिता पनि भिडियोमै व्यस्त हुँदै आएकी छन् । यस गीतले मोडलद्वयलाई थप चर्चामा ल्याउन सक्ने आँकलन गर्न सकिन्छ ।

‘तीज आयो आफूलाई चै“ अर्कै व्यथा छ...’
गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर आफ्नो नया“ तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तीज आयो आफूलाई चै“ अर्कै व्यथा छ...’ शीर्षकको उक्त गीतमा शिव हमालको शब्द तथा संगीत छ । विश्वास नेपालले उक्त गीतमा संगीत संयोजन गरेका छन् । युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जुना र प्राश्नाले नै  आकर्षक नृत्य गरेका छन् । भिडियोमा उनीहरुलाई अभिनेता ध्रुव न्यौपानेले अभिनयमा साथ दिएका छन् । ‘लोक गीत–दोहोरी गीतमा त्यति अभ्यस्त नभए पनि तीज आएपछि हामी आफैं उत्साहित हुन्छौं, गायिका प्रसाईं तथा शाक्यका अनुसार उनीहरु विगत केही वर्षदेखि लगातार रुपमा तीजका गीत गाइरहेका छन् । उनीहरुका गीतलाई दर्शक तथा स्रोताले पनि सकारात्मक रुपले ग्रहण गरेका छन् ।


‘आमा बरी लै’
गायिका धन कुमारी थापा ‘सरु’ले मार्मिक तीज गीत ‘आमा बरी लै’ ल्याएकी छन् । गोरख म्युजिक प्रा.लिको प्रस्तुति रहेको आमा र छोरीको सम्बन्ध बोल्ने यस गीतमा बरिष्ठ गायिका बिमा कुमारी दुरा, गायक नरेश खाति, गायिका धन कुमारी थापा ‘सरु’ र शान्ति श्री परियारको स्वर समावेश छ । स्वयम गायक खातिको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा बरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’, मोडल दिपासा बिसी, कलाकार शर्मिला शर्मा, स्वयम सर्जक नरेश खाति र धन कुमारी थापाले अभिनय गरेका छन् ।

‘राम्री हुनी गाजलुले हो’
गायिका अमृता लुङ्गेली मगरले तीजको मौलीक गीत ‘राम्री हुनी गाजलुले हो’ बोलको गति ल्याएकी छन् । गीतकार शान्ति प्रियकबो शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीत मौलिक लयमा तयार भएको छ । गीतको भिडियो पनि तयार पारिएको छ । गीतमा शब्दलाई पछ्याउँदै सकभर मौलिक गहना समेत समेट्ने प्रयास गरीएको छ । गीतमा साबित्रा बस्नेत भुजेलले मोडलिङ गरेकी छिन् । गुरुआमा फिल्मस्ले तयार पारेको भिडियो स्मृति तिमिल्सीनाले निर्देशन गरेकी हुन् । 

‘मनको साथी’
म्युजिक भिडीयो ‘मनको साथी सार्बजनिक भएको छ । जहाँ अनुपमा प्रधान स्वर ,पूजन लोहगनको शब्द संगीत र सुरेन बर्मेको म्युजिक एरेन्ज सुन्न सकिन्छ  । रोमान्टिक शैलीको गीतमा प्रेम र बिछोडको कुरा गरिएको छ ।  गीतमा स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेका छन् ।  गीतलाई काठमाडौँ आसपासका स्थानहरुमा खिचिएको हो । भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । 

‘कम्मर मर्काउँदै’
गायिका प्रमिला पुनले तीजमा ‘कम्मर मर्काउँदै’ नाच्ने भएकी छन् । तीन वर्षदेखि निरन्तर तीजमा पनि आफूलाई गायनमा उतार्दै आएकी उनले यसपाली ‘कम्मर मर्काउँदै’ बोलको गीत’ ल्याएकी छन् । ‘रातो सारी फररर सररर सर्काउँदै यसपाली त नाचिन्छ कम्मर मर्काउँदै’ बोलको गीतमा बाबुल गिरीको शब्द संगीत रहेको छ भने प्रमिला पुनको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा विनु खड्काले अभिनय गरेकी छन् । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियो अजय रेग्मीले छायाँकन गरेका हुन् ।

‘गल्ती मेरो थियो होला’
बिदेशमा बसेका नेपालीहरुको समुहले निर्माण गरेको म्युजिक भिडियो ‘गल्ति मेरो थियो होला’ सार्बजनिक गरिएको छ । नक्कले गाइजको प्रस्तुति रहेको भिडियो कुवेतमा छायांकन गरिएको हो । राज दोङ्ग र अभियान दोङ्गको आवाज रहेको गीतमा राज दोङ्गको संगीत रहेको छ । नक्कले प्रेम स्यांग्तानले निर्देशन गरेको भिडियोमा एउटा केटाले आफ्नो प्रेमिकाले छोडेर जाँदाको पिडा देखाउन खोजिएको छ । भिडियोमा आरोन्स योल्मो, सरु गिरि, बबाल ठकुरी र दिपक राइको अभिनय रहेको छ । 

‘फर्की आउनु घर’

लोक दोहोरी सर्जक भवानी पाण्डेको प्रस्तुतिमा नारीहरुको वेदनाले भरिएको गीत ‘फर्की आउनु घर’ सार्वजनिक भएको छ । मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोक दोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान् र श्रीमतीको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ । सुमधुर स्वरकी धनी गायिका भवानी पाण्डे  र गायक विनोद बावु केसीको आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । 

‘मनको ढोका’ 

गायक रामभक्त जोजिजू आफ्नो नया“ गीतको म्युजिक भिडियो मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘मनको ढोका....’ शीर्षकको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङका कर्णप्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।
गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय समेत गरेका छन् । उनलाई लोकप्रिय अभिनेत्री वर्षँ राउतले अभिनयमा साथ दिएकी छिन् । 


‘किन किन मिठो’
गायक शशी रावलको ‘किन किन मिठो’ आधुनिक गीत बजारमा आएको छ। उक्त गीतमा राजेश थापाको संगीत तथा शशी रावलको स्वरमा रहेको उक्त गीत बजारमा आएको हो। प्रेमका भावहरुलाई समेटेर गीतको शब्द सिर्जना गरिएको छ । अरुणा रुम्वा मोक्तानको शब्द सिर्जनामा तयार भएको भिडियोको एरेन्ज प्रदिप श्रेष्ठले गरेका छन् । उत्सव दाहालको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन तथा प्रिस्पन कार्कीको निर्देशनमा गीतको भिडियो बनाइएको हो। गीतमा प्रिस्पन तथा पुनाको फिचरिङ रहेको छ ।


‘माइती घर’ 

पत्रकार तथा सर्जक धनराज वास्तविकको लय तथा शब्द संकलनमा तीज गीत ‘माइती घर’ सार्बजनिक गरिएको छ  । नेपाली नारीहरुको पहिचान र मौलिकताका रुपमा लिने गरिएको हरितालिका तीज पर्वले आकार परिवर्तन गरेको छ । पछिल्लो समयमा पुरुषहरुलाई पनि यस पर्वले राम्रैसित छुने गरेको छ । सर्जक वास्तविकको शब्द सिर्जना रहेको उक्त गीतमा गायिका तृप्ती खड्का ‘गुरुङ’ र यम बिष्टको स्वर रहेको छ । गीतको संगीत सयोजन कृष्ण भान्जाले गरेका छन ।
गीतमा बर्षौसम्म पनि आफु माइती जान नपाएको एउटी चेलीको कथा समावेश गरिएको सर्जक वास्तविक बताउछन् । साथी सङ्गी र आफन्तको याद, बालापनमा हाँसे खेलका मेलापात, चौर अनि चौतारीहरुको सम्झना मेट्न नपाएको र वर्षौसम्म पनि माईति घर जान नपाएका दुःदहरु गीतमा समावेश छन् । यसपालिको तीजमा जसरी पनि माइतीघर जाने कुरालाई समेटिएको छ ।
विक्रम चौहानको निर्देशन रहेको यस गीतमा बिजय गुरुङ, टीका जौशी, रमेश कार्की र रेखा बस्नेतको उत्कृष्ट नृत्य देख्न सकिन्छ । 

‘परदेशमा’
गायिका सरिता प्रजापतिले स्टेजमा गीत गाउंदा दर्शक तथा स्रोता सवैलाई नचाएरै तताउने गर्ने गरेकी छन् । यी नै गायिका तिज गीत ‘परदेशमा’ ल्याएकी छन् । जुन गीतमा सरिताले राजेश बर्देवासँगको सहकार्यबाट युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज गर्ने कार्य भएको छ । बढ्दो बिदेशिने प्रबृतिलाई इंगित गर्दै गने कार्य यस तीज गीतमा रहेको छ । प्रजापतिले तीजको अवसरमा आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र ब्रत बस्न हुन तथा अन्यथा ब्रतले होइन, व्यवहारले तीजको महत्वलाई दर्शाउन आवश्यक भएको सन्देश प्रवाह गीत मार्फत गरेकी छन् । 

‘लैजाऊ याद तिम्रो’
लैजाऊ याद तिम्रो बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । लामो समयदेखि मुम्बईमा बस्दै आएका गायक लक्ष्य खत्रीले शब्द संगीत र स्वर रहेको गीत रोमान्टिक स्याड भर्सनमा तयार भएको छ । मुम्बईमै छायाँकन गरिएको गीतमा गायक खत्री र कबिता खत्रीले अभिनय गरेका छन् । गीतमा सचिन लोखंडको छायाँकन, राज सगरको निर्देशन रहेको छ । 

 

 

‘छोएर मलाई’

गायिका एलिना बिष्टको स्वरमा नयाँ गीत ’छोएर मलाइ’सार्वजनिक भएको छ । गीतमा एलिनालाई हर्कुलस बस्नेत र उनको व्याण्डले साथ दिएको छ । सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ । केहि फरक किसिमको भिडियो सहित गीत सार्वजनिक भएको हो । भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।

‘जादैछु म धेरै टाढा....’
     पछिल्लो सायम एल्बम लोप हुने अवस्थामा पुगे पछि म्युजिक भिडियो निर्माणमा बाढि नै आएको छ । यसै क्रममा गीतकार मित्र के.सीले गाएको ‘जादैछु म धेरै टाढा......’ बोलको गीतको भिडियो शुक्रबार एक कार्यक्रमको बिच सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत गायक स्वयंमको रहेको छ । एकता मगरको छायाँङ्न, मिना लामाको निर्देशन रहेको गीतमा राजेश श्रेष्ठ, सविना लो तामाङ, राजकुमार महर्जनकोे अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप