शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित ७ बालकलाकार : कसैको विश्वकिर्तिमान, कोही युट्युबमा भाइरल

शनिबार, २६ साउन २०७५, १२ : ०१
शनिबार, २६ साउन २०७५

नेपाली कलाक्षेत्रमा हिरो, हिरोइन, मोडल, गायकगायिका सधैँ चर्चामा रहन्छन् । यिनका व्यस्तता, बेलाबोलमा बाहिर आउने प्रेमसम्बन्ध र काम समेत चर्चाको बिषय बन्ने गर्दछ । यिनका तुलनामा बालकलाकारको भने जति राम्रो काम गरेपनि, जुनै किर्तिमान कायम गरेपनि चर्चा भने भएको पाइँदैन । विश्वकिर्तिमान बनाउने देखि युट्युबमा भाइरल हुने ७ बालकलाकार आजको चर्चाको बिषय हो । 

सौगात बिष्ट 
सौगात अहिलेसम्मकै विश्वका कान्छा निर्देशक हुन् । उनले करिब २ वर्ष अगाडि ‘लभ यू बाबा’ चलचित्र निर्देशक गरेर वल्र्ड रेकर्ड बनाएका थिए । उनले ८ वर्षको उमेर यो चलचित्र निर्देशन गरेका थिए । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल उनलाई यो सफलताका कारण देशका सानादेखि प्रतिष्ठित संघ संस्थासम्मले सम्मान दिएका छन् । उनी निर्देशित ‘लभ यु बाबा’ले व्यावसायिक रेकर्ड बनाउन नसकेपनि दर्शक तथा समिक्षक रुझाउन भने सफल भएको थियो । बाबु छोरी बीचको प्रेम देखाउन खोजेको यो चलचित्र पछि सौगातले ‘हैरान’ बनाए । केही पहिले प्रदर्शनमा आएको ‘हैरान’मा सामायिक बिवाय उठाइएको थियो । यसले लगानी सुरक्षित गरेको निर्माण युनिटको भनाई रहेको छ । अहिले ११ वर्ष पुगेका सौगात ६ कक्षा अध्यायनरत छन् । 

अनुभव रेग्मी 
‘नाई न भन्नु ल २’ अभिनयबाट दर्शकको नोटिसमा परेका अनुभव रेग्मी नेपालकै सबैभन्दा चर्चित बालकलाकार हुन् । उनी अहिले हिरो समेत भएका छन् । ‘नाई न भन्नु ल’को पाँचौ सिक्वेलमा आएर उनी हिरोको रुपमा देखिन लागेका हुन् । चलचित्र ८ भदौबाट प्रदर्शनमा आउँदैछ । अनुभवले ‘नाई न भन्नु ल’को तेस्रो र चौथो सिक्ेलमा पनि काम गरेका थिए । चलचित्र ‘भिसा गर्ल’बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवको क्रेज कुनै स्टारभन्दा कम छैन । उनको अभिनयको प्रशंसा के बालक, के बृद्धा, के युवा सबैले गर्ने गरेका छन् । ‘ए मेरो हजुर २’, ‘रिदम’, ‘काली’, र ‘लुटेरा’ मा पनि उनको अभिनय रहेको थियो । २०६४ सालमा जन्मिएका उनी अहिले ११ बर्षका पुगे ।

एन्जल राई 

एन्जल चलचित्र क्षेत्रमा सानी परी भनेर चिनिने गर्दछिन् । केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘हैरान’मा सडक बालिका ‘प्रियासा’को भूमिका निर्वाह गरेकी उनले यो भूमिकाबाट दर्शक तथा समिक्षक दुबैको ताली र तारिफ बटुलेकी थिइन् । भर्खर १० बर्षमा टेकेकी एन्जलले ९ चलचित्र, केही डकुमेन्ट्री र म्युजिक भिडियो समेत अभिनय गरिसकेकी छन् । ‘हैरान’ अगाडि उनको ‘जोनी जेन्टलम्यान’ आएको थियो । ‘फेरि फेरि’लगायत केही चलचित्र प्रदर्शनमा आउँन बाँकी छन् । चर्चित अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ र अर्काे ‘यात्रा’ ः अ म्युजिकल ब्लग’ उनले भर्खर अभिनय सकाएको चलचित्र हो । ६ वर्षकको उमेरमा ‘ड्याडी आई लभ यू’ गीतको भिडियो मोडलिङ गरेर अभिनय थालेकी उनीसँग दुई हलिउड चलचित्र अभिनय अनुभव पनि छ । अभिनय र मोडलिङमा रुचि भएकी उनको भविष्यमा सफल हिरोइन बन्ने लक्ष्य छ । उनी अहिले ५ कक्षामा अध्ययनरत छिन् । 

कुशाग्र भट्टराई 

तीन वर्षकै उमेरमा पशुपति बिस्कुटको टिभिसीमा मोडलिङ गर्दै अभिनय क्षेत्रमा उत्रिएका कुशाग्र भट्टराई अहिले ९ बर्ष पुगेका छन् । कलाकारिताको ६ बर्षको अवधिमा उनले दर्जनौं टेलिभिजन तथा पेपर एडमा समेत मोडलिङ गरिसकेका छन् । आधा दर्जनबढि म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले गोपालचन्द्र लामिछाने छोटो चलचित्र ‘ओह माइ म्यान’ बाट चलचित्र डेब्यु गरेका हुन् । उक्त चलचित्रमा उत्कृष्ट अभिनय गरेपछि निर्देशक लामिछानेले उनलाई आफ्नै निर्देशनमा बनेको चलचित्र ‘लम्फू’ मा अनुबन्ध गरेका थिए । यसको अलवा उनले निखिल उप्रेतीको ‘पि“जडा ब्याक अगेन’मा पनि काम गरेका थिए । वर्ष २०७४ मा प्रदर्शन भएको यो चलचित्रबाट उनले डि सिने एवार्ड–२०७५ समेत थापे । गत बैशाखमा प्दर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’मा समेत देखिएका उनील केकी अधिकारी, बुद्धि तामाङ, प्रियंका कार्की, बिनोद न्यौपानेसग समेत स्क्रिन शेयर गरिसकेका छन् । शान्तिनगर स्थित बेबिलोन नेशनल स्कूलमा कक्ष्ाँ ४ मा अध्ययनरत कुशाग्रले झण्डै एक दर्जन जति ¥याम्प फेसन शोमा समेत क्याटवाक गरेका छन् । चलचित्रको छायाँकनको क्रममा नेपालगञ्ज, कोहलपुर, पर्वत, पाल्पा, बुटबल लगायत क्षेत्रको भ्रमण गरिसकेका कुशाग्रलाई यतिबेला झण्डै आधा दर्जन चलचित्रबाट अभिनयका लागि प्रस्ताव आएको परिवारले जनाएका छन् । दसैंअघि नै छायाँंकन हुने केही चलचित्रमा आफ्नो भूमिका प्रभावकारी रहेको भट्टराईको भनाइ छ ।  कोटेश्वर, काठमाडौं निवासी कुशाग्र पत्रकार कृष्ण भट्टराईका छोरा हुन् । 

आयुव सेन 

आयुव यसै बर्षबाट अभिनयमा देखिएका बालक हुन् । उनले अभिनय गरेको चलचित्र ‘मेरी मामु’ १५ भदौबाट प्रदर्शनमा आउँदैछ । तर उनी अहिले नै दर्शकको नोटिसमा पर्न सफल भएका छन् । केही पहिले उनी अभिनित ‘मेरी मामु’को एक गीत सार्वजनिक भएको थियो । उक्त गीतमा उनले गरेको अभिनयको धेरैले खुलेरै तारिफ गरेका छन् । ६ वर्षीया बालक आयूब यो ‘मेरी मामु’ चलचित्रको मुख्य हिरो नै हुन् । ‘आमा र छोरा बिचको प्रेमकथामा’ चलचित्र बनेको छ । अनामनगरस्थित मण्डला थिएटरमा केही महिनाको प्रशिक्षण सहित अभिनयमा होमिएका आयुब ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेम गीत २’ निर्माता सन्तोस सेनका छोरा हुन् । सन्तोशले आसुसेन फिल्मस्को ब्यानरमा उनलाई डेब्यु गराएका हुन् । 

अशोक दर्जी 

झापाको सडकमा गीत गाउँदै हिड्दाको एक भिडियो युट्युवमा आएपछि भाइरल भएका अशोक दर्जी नेपाली कलाक्षेत्रको पछिल्लो समयका सबैभन्दा बढी हिट बालकलाकार हुन् । उनको चर्चा अहिले देश तथा बिदेशमा हुने गरेको छ । फेसवुक, ट्वीटर र युट्युवहरुमा भाइरल बन्न सफल उनले हालै ‘मन बिनाको धन ठूलो, कि धन बिनाको मन’बोलको गीत गाए । उनको यो गीत पनि देश तथा बिदेशमा मन पराइएको छ । युट्यवमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई काठमाडौँ ल्याएका थिए । छोटो समयमै थुपै स्वदेशी र केही बिदेशी कार्यक्रम अफर पाएका दर्जीको चर्चासँगै जीवनमा पनि परिवर्तन आएके छ । राम्रोसँग दैनिक हातमुख जोर्न आमाबुबाबाट असम्भव भएपछि गीत गाउँदै बटुवाले दिने रकम संकल गर्दै हिडेका असोकको नाममा उनको घर बनाउनेदेखि अध्यायन गराउने सम्म अभिनयान अहिले चलेका छन् ।

प्रेम परियार 

करिब ७ बर्ष अगाडि कलाकार शिशिर राणा काठमाडौँबाट पोखरा जाँदै थिए । मलेखुस्थित एउटा होटलमा खाजा खान ओर्लदा सानो बालकले सुमधुर स्वरमा गीत गाएको देखेर प्रभावित बने । दोस्रोपटक शिशिरले संगीतकार महेश खड्कालाई उनको घरसम्मै लिएर पुगे । त्यहाँ ती बालकको स्वरलाई अनौपचारिक जाँच गराए । संगीतकार महेश खड्का पनि प्रभावित बने । अन्ततः ती बालकलाई रेडियो नेपालको सिंहदरबारस्थित स्टुडियोसम्म ल्याइयो र गीत गाउन लगाइयो । प्रेम परियार तिनै बालक थिए । जो यो समय सर्वाधिक चर्चामा रहन पुगे । सडकमा दैनिक ओहोर–दोहोर गर्ने सयौँ यात्रुहरुलाई गीत सुनाउने उनले  चलचित्र ‘नभन्नु ल २’मा ‘यी आँखामा तिमी छ्यौ’, ‘मान्छे नमर्ने शहर हुँदैन’ गाए । जुन गीत सर्वाधिक हिट भयो । गीतकै कारण चलचित्रले समेत ब्यवसाय गर्यो । ‘नाइ नभन्नु ल–२’ मा शीर्ष गीत गाएर तहल्का मच्चाएका प्रेमले हङकङ, कोरिया, कतार र अष्ट्रेलिया लगायत थुप्रै देश चारिसकेका छन् । सुरिलो आवाजले मन्त्रमुग्ध पार्ने उनले अहिलेसम्म करिब दुई दर्जन बढि गीत गाइसकेका छन् । एकाएक राष्ट्रियस्तरमा चिनिएका प्रेम सो समय वयष्क गायकका लागि पनि चुनौतीका पात्र समेत बनेका थिए । प्रेम अहिले भने गुमनाम छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप