शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'डाक्टरहरु फाइदाका लागि मिर्गौला रोगीलाई समयमा अस्पताल पठाउँदैनन्, बिग्रेपछि मात्रै पठाउँछन्'

शनिबार, २६ साउन २०७५, ११ : ४४
शनिबार, २६ साउन २०७५

मिर्गाैला उपचार केन्द्र बनस्थलीमा डाइलासिस गर्न मासिक ८ सय बिरामी आउने गरेका छन् । यो त एउटा उपचार केन्द्रको डाटा मात्रै हो । सरकारी तथ्याङ्कमा मिर्गाैला रोगीको सङ्ख्या यति नै छ भन्ने यकिन तथ्याङ्क छैन । तर पनि विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले विश्वमा १० प्रतिशत मानिसमा मिर्गाैलाको समस्या हुने जनाएको छ । तीन करोड जनसङ्ख्या भएको नेपालमा १० प्रतिशत नागरिकलाई यो समस्या भएमा करिब ३० लाख नागरिक मिर्गाैलासम्बन्धी रोगी हुनुपर्छ । 

सरकारले मिर्गाैला रोगीलाई अन्य रोगीलाई भन्दा बढी सहुलियतको व्यवस्था गरेको छ । तर रोगीको सङ्ख्यामा कुनै पनि परिवर्तन आएको छैन । वि.स २०४६ सालदेखि दुईवटा मेसिनबाट डाइलासिस सेवा सुरु गरेकोमा देशभर ४ सयभन्दा धेरै डाइलासिस मेसिन छन् । तर अहिलेको बिरामीको सङ्ख्याका तुलनामा यी उपचारका साधन ज्यादै थोरै हुन् ।

 मिर्गाैलासम्बन्धी रोग, उपचार पद्धति, सरकारी प्रयास र सबैले अपनाउनुपर्ने सतर्कताबारे  राष्ट्रिय मिर्गाैला उपचार केन्द्रले खेलेको भूमिकाबारे उक्त केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेसँग रातोपाटी सम्बाददाता अञ्जु तामाङले जान्न चाहेकी  छन् । 

काफ्ले नेपालमा डाइलासिस सेवा पहिलो पटक सुरुवात गर्ने चिकित्सक पनि हुन् । विगत २१ वर्षदेखि राष्ट्रिय मिर्गाैला उपचार केन्द्रमार्फत डाइलासिस सेवा प्रदान गर्दै आइरहेका छन् । प्रस्तुत छ डा. काफ्लेसँग गरिएको वार्तालाप :

नेपालमा मिर्गाैलाको उपचारमा कस्तो उपलब्धि पाउनु भयो ?

हामीले २०४५ सालमा २ वटा मेसिन ल्याएर वीर अस्पतालबाट डाइलासिस सेवा सुरुवात गरेका थियौँ । अहिले नेपालभरी ५५ ठाउँबाट डाइलसिस सेवा प्रदान गरिँदै आइरहेको छ । यो ३० वर्षको दौडानमा नेपालले मिर्गाैला उपचारको क्षेत्रले ठूलो फड्को मारेको छ । ट्रान्सप्लान्टदेखि मिर्गाैलाका क्षेत्रमा हुनुपर्ने सबै प्रकारको उपचार हुँदै आइरहेको छ । यो राम्रो पाटो हो ।

तर बिरामी कहाँ र कुन अवस्थामा छन् भन्ने कुनै तथ्याङ्क छैन । विश्वको आँकडा हेर्ने हो भने १० प्रतिशत जनसङ्ख्यामा मिर्गाैलाको समस्या छ भन्ने तथ्याङ्क पाइन्छ । यही तथ्याङ्कलाई आधार मानेर हेर्नै हो भने नेपालको ३ करोड जनसङ्ख्याको १० प्रतिशत करिब ३० लाख जनसङ्ख्या मिर्गाैलासम्बन्धी कुनै न कुनै समस्याबाट पीडित रहेको अनुमान गर्न सकिन्छ ।

 ३ हजार व्यक्तिहरू मिर्गाैला खराब भएर डाइलासिस पाए बाँच्ने, नपाए मर्ने स्थितिमा छन् । नेपालमा २० देखि ३० हजार बिरामी डाइलासिसमा बस्नुपर्ने हुन्छ ।  त्यसको उपचारका लागि पूर्वाधार अझै तयार हुन सकेको छैन ।  त्यसको मतलब ३० हजार बिरामीको उपचारका लागि डाइलासिस गर्ने उपकरण छैन ।   

मिर्गाैलाका बिरामी अन्य रोगभन्दा बढी नै छन् नि ?  

हिजोको तुलनामा अहिले स्वास्थ्य क्षेत्रमा सुधार भएकै हो । मेडिकल कलेज, अस्पताल र विभिन्न ठाउँमा सहजै रूपमा स्वास्थ्य परीक्षण हुन थाल्यो । दोस्रो कुरा मिडियाको विकाससँगै स्वास्थ्यसम्बन्धी कुरालाई पनि महत्व दिन थालियो । तर अर्काे कुरा ३० वर्षयता नागरिकको जीवनस्तर पनि बिग्रियो । ३० वर्षअघि र पछिको तुलना गर्ने हो भने पार्टीप्यालेसको सङ्ख्या निकै बढेको छ । अनि हामी सामान्य संस्कारसँग जोडिएको होस् या अन्य कुनै कार्यक्रम सबै पार्टी प्यालेस धाउन थाल्यौँ । फुडको क्वालिटी चेन्ज भयो । यसले गर्दा स्वास्थ्य सेवा पनि बिस्तार हुँदै गयो । मान्छेमा चेतनाको स्तर पनि बढ्दै गायो । तेस्रो कुरा, लाइफस्टाइल पनि हामीले बिगार्यौं । हामी स्वादिष्ट खाना धेरै खाने तर शारीरिक व्यायम नगर्ने भयौं । यसले पनि रोगको मात्र बढ्दै गएको हो ।

। लाखौँ व्यक्तिलाई के गर्यौं भने मिर्गाैला स्वस्थ्य रहन्छ भन्ने विषयमा जानकारी दिनुपर्यो । हामी एक एक बिरामीको जाँच गरिरहेका छौँ । हामीले धेरै रोगको बारेमा कुरा गर्न थाल्यौँ । खै त निरोगी हुने  बारेमा कुरा ? मिर्गाैला बिस्तारै बिग्रँदै जाने भएका कारण जानकारी गराउनुपर्यो ।

 मिर्गौलासम्बन्धी जनचेतना विस्तारका लागि हामी जनसमुदायमा पुगेका छैनौँ । सरकारले पनि मिर्गाैला बिग्रेपछि मात्र निःशुल्क उपचारको व्यवस्था गर्ने गरेको छ तर नागरिकलाई स्वस्थ्य राख्न, स्वास्थ्यसम्बन्धी चेतना वृद्धि गर्न एक पैसा पनि खर्च गरेको छैन । तसर्थ अहिले यो कुरालाई सच्याउने बेला आएको छ । सरकारले मिर्गाैलाका बिरामीलाई प्रत्यारोपण र डाइलासिसको व्यवस्थाका गर्नु साथै सबैजनालाई मिर्गाैला रोगबाट कसरी बचाउने विषयमा चेतना जगाउनुपर्यो । अधिकांश मानिसलाई मिर्गाैला भनेको के हो ? यसलाई कसरी बचाउने भन्ने विषयमा जानकारी नै छैन । उनीहरूलाई जानकारी गराउनु पर्यो । लाखौँ व्यक्तिलाई के गर्यौं भने मिर्गाैला स्वस्थ्य रहन्छ भन्ने विषयमा जानकारी दिनुपर्यो । हामी एक एक बिरामीको जाँच गरिरहेका छौँ । हामीले धेरै रोगको बारेमा कुरा गर्न थाल्यौँ । खै त निरोगी हुने  बारेमा कुरा ? मिर्गाैला बिस्तारै बिग्रँदै जाने भएका कारण जानकारी गराउनुपर्यो । त्यसैले नेपालमा ३० वर्षका अवधिमा डाइलासिस क्षेत्रमा धेरै फड्को मार्याे । २ वटा मेसिनदेखि सुरु भएको यो सेवा आज ४ सय ४० वटा मेसिनबाट नेपालभरी सेवा दिइरहेको छ ।

सरकारले डाइलासिस प्रत्यारोपण निःशुल्क बनाएपछि उपचार गर्ने सरकार छँदैछ भन्ने कुरा आउँछ । यो बिरामी भएपछि आउने कुरा हुो भने त्योभन्दा पहिला हामीले आफ्नो मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने विषयमा आम नागरिकलाई जानकारी गराउन जरुरी रहेको छ ।

एउटा उदाहरण हेरौं, राष्ट्रिय मिर्गाैला उपचार केन्द्र वनस्थलीको बेड नम्बर ७ मा डाइलासिस गरिहेकी बसुन्धारा विगत ८ वर्षदेखि पीडित छिन् । दुवै मिर्गाैलामा समस्या देखिँदा मात्र उनी २२ वर्षकी थिइन् । त्यतिबेला उनको विवाह भएको ७ महिना मात्र भएको थियो । त्यतिबेला उनको महिनावारी नहुँदा सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल गइन् । स्वास्थ्य परीक्षणमा दुवै मिर्गाैला फेल भएको रिपोर्ट आयो  ।
उनको दुवै मिर्गाैला फेल हुँदासम्म कुनै पनि सिमटम्स देखिएन । २ महिना पहिलेदेखि महिनावारी रोकिएको थियो । अल्ट्रासाउन्ड गरेर हेर्दा दुवै मिर्गाैलाले ९० प्रतिशत काम गर्न छाडेको थियो । 

सुरुवातको समयमा औषधि उपचारमा लागिन् भने अहिले डाइलासिस सुरु गरेको उनले साढे ३ वर्ष भयो ।

यहाँ डाक्टर डाक्टर बीच सहकार्य भएन । मिर्गाैला फेल भएको बिरामी देख्दा देख्दै पनि अस्पताल पठाउँदैनन् । बिग्रेपछि मात्रै पठाउँछन् । बिरामीलाई अस्पतालमा नै राख्दा अस्पताललाई फाइदा हुन्छ बिरामीको समस्याभन्दा पनि अब आफ्नो फाइदातिर हेर्नेहरू पनि बढ्दैछन् ।

 मिर्गाैला बिग्रेको अन्तिम अवस्थामा मात्रै थाहा पाउनुको कारण ?

यस्तो घटना धेरै हँुदै आएको छ । उच्च रक्तचाप, मधुमेह, मिर्गाैला र शरीरमा अन्य रोगहरू छन् भने रोग भएको कारणले मिर्गाैला कमजोर हुँदै गएको हो । ९०, ८०,७०, ६० हुँदै ५० प्रतिशतमा आएको हो । मिर्गाैलाले ५० प्रतिशतभन्दा माथि काम गरिरहेको छ भने ब्लड टेस्टबाट पनि तपाईंको मिर्गाैलाले कति प्रतिशत काम गरिरहेको छ भन्ने कुराको बारेमा थाहा हुन्न । मिर्गाैलाले कति प्रतिशत काम गर्छ भनेर स्पेसल २४ घण्टाको पिसाब परीक्षण गरेर हेरियो भने मात्रै यसबारे थाहा पाउन सकिन्छ । तर आफ्नो शरीरमा केही पनि भएको छैन भने कसले गर्ने परीक्षण । ब्लडमा क्रियाटिन बढ्यो भने ५० प्रतिशत भन्दा तल मिर्गाैलाले काम गरेको छ भन्ने कुरा बुझ्नुपर्छ । 

५० प्रतिशतसम्म मिर्गाैलाले काम गर्न छोड्दा पनि कुनै लक्षण देखिँदैन । सयबाट एकै पटक २० मा झरेको भए शरीरमा समस्या देखिन्थ्यो । अनि हामी अस्पताल जान बाध्य हुन्थ्यौँ तर मिर्गाैलामा समस्या बिस्तारै बढ्दै जाने हो । सयबाट ९०, ८० गर्दै बिस्तारै काम गर्ने क्षमता कम हुँदै जान्छ । बिरामीको शरीरमा सामान्य समस्या भए पनि मान्छेले पचाउँदै जान्छन् । मिर्गाैला फेलका लक्षणहरू थाक्ने, खाना रुचि कम हुने, कसैको प्रेसर कम, कसैको खुट्टा सुन्निने, पिसाबमा फिज आउने समस्या हुन्छ । यस्ता समस्या हामीलाई अन्य कारणबाट पनि हुनसक्छ ।  हामी कामको कारणले पनि खासै चासो दिँदैनौँ । कति जना व्यक्तिहरू एउटा मिर्गाैलाले शतप्रतिशत काम गर्न छोडिसकेपछि अर्काेमा समस्या आउँदा पनि आफूलाई केही पनि नभएको बताउँछन् । यो शरीरले बिग्रिँदो स्थितिमा सन्तुलन मिलाउन सक्ने कुराले गर्दा बिरामी समयमा अस्पतालमा आउँदैनन् । यो समस्या हामीजस्तो गरिब देशमा मात्रै होइन, विकसित देशमा पनि यस्तो देखिएको छ । यसले गर्दा किड्नी बिगारेर डाइलासिस गर्ने अवस्थामा मात्रै अस्पताल आउँछन् ।

चुरोट, खैनी खानु हँुदैन भन्ने कुराको बारेमा धेरैलाई जानकारी छ तर पनि हामी खाइरहेका छौँ । यी स्वास्थ्यका लागि निकै हानीकारक वस्तु हुन । अर्काे कुरा यहाँ डाक्टर डाक्टर बीच सहकार्य भएन । मिर्गाैला फेल भएको बिरामी देख्दा देख्दै पनि अस्पताल पठाउँदैनन् । बिग्रेपछि मात्रै पठाउँछन् । बिरामीलाई अस्पतालमा नै राख्दा अस्पताललाई फाइदा हुन्छ बिरामीको समस्याभन्दा पनि अब आफ्नो फाइदातिर हेर्नेहरू पनि बढ्दैछन् । बिरामी राख्दा अस्पताललाई फाइदा हुन्छ । अनि अर्काे अस्पतालमा पठाउने बेलामा पूरै मिर्गाैला फेल भएपछि पठाउने गरेका छन् । यो समस्या नेपालमा पनि छ । किनभने यहाँ आउने बिरामीहरूसँगको कुराको आधारमा यो कुरालाई मान्न सकिन्छ । मैले बिरामीसँग कुरा गर्दा आफूहरूलाई डाक्टरले सचेत नगराएको बताउँछन् ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि रुँदै कराँउदै ‘म डाक्टर कहाँ गएको थिएँ तर मलाई मिर्गाैला जाच्नुपर्छ भनेर किन भनिएन ? मिर्गाैला पनि बिग्रिन सक्छ भन्ने बारेमा डाक्टरलाई थाहा थिएन ? अहिले डाक्टरले तिम्रो त किड्नी बिग्रिए छ, जाऊ डाइलासिस गर भने । यही कुराको बारेमा मलाई ५ वर्ष पहिला भनिदिएको भए अहिले मेरो यस्तो हालत हँुदैन थियो ।’ भन्दै पीडित हामीसँग गुनासो गर्छन् । अनि चिकित्सक र अस्पतालले रोगीलाई अन्याय गरेको हो कि होइन, तपाईं आफै भन्नुस् ?

सरकारले विश्व मिर्गाैला दिवस मनाउँदै आइरहेको छ । बिरामीलाई आफ्नो स्वास्थ्यबारेमा सचेत गराउनुपर्याे । सचेत गराउन नै यो विश्व मिर्गाैला दिवस मनाउन थालिएको हो ।

तपाईंले सञ्चालन गर्नुभएको संस्थाको बारेमा कुरा गरौँ । राष्ट्रिय मिर्गाैला उपचार केन्द्रले कहाँ–कहाँ कस्तो काम गर्दै आइरहेको छ  ? 

राष्ट्रिय मिर्गाैला उपचार केन्द्रले उपत्यकाका विभिन्न ठाउँमा आफ्ना शाखा सञ्चालनमा ल्याएको छ । हामीले सेवाका रूपमा सञ्चालन गरेको डाइलासिस हो । बिरामीलाई काठमाडौँमा आउनु नपरोस् भन्ने हेतुले हामीले तनहुँको दमौलीमा अहिले ८ वटा मेसिनबाट डाइलासिस गराउँदै आइरहेका छौँ । त्यहाँ प्रतिदिन २४ जनाले डाइलासिस गर्दै आइरहेका छन् । रोग लाग्यो तर आफ्नै घरबाट उपचार गर्न पाउँदा बिरामी खुशी छन् । यस्तै चितवनको रत्ननगर टाँढीमा पनि राष्ट्रिय मिर्गाैला उपचार केन्द्रको शाखा सञ्चालनमा छ । त्यहाँ पनि ८ वटा मेसिन  छन् । अब केही दिनमा रामेछापमा पनि सेवा सुरु गर्ने तयारीमा छौँ । हामीले जिल्ला अस्पतालमा ५ देखि ८ वटा डाइलासिस मेसिन राख्दै छौँ भने सरकार भन्दैछ । अञ्चल अस्पतालमा २ वटा मेसिन राखिएको छ । सरकारले सहकार्यमा गरौँ भनेको खण्डमा यो सेवा सबै ठाउँमा पुर्याउन सकिन्छ । तर सबै सरकारले नै गर्नुपर्छ भन्ने होइन, विभिन्न सङ्घ संस्था र व्यक्तिले पनि सहयोग गरेर सञ्चालन गर्न सकिन्छ । जस्तो तनहुँमा बैङ्ककमा बस्ने मञ्जु उपाध्यायले आफ्ना स्वर्गीय श्रीमानको नाममा डाइलासिस सञ्चाल गर्दिनुस भनेपछि हामीले सञ्चालन गरेका हौँ ।

 सरकारले डाइलासिस निःशुल्क बनाउने अनि उपचार गर्न चाहिँ काठमाडौँ आऊ भन्ने काम गरिरहेको छ । सरकारले आफ्नो सोचले गरेको होला । राष्ट्रिय मिर्गाैला रोग उपचार केन्द्रको ७ प्रदेश, १४ अञ्चल र विस्तारै सबै जिल्लामा डाइलासिस सेवा सञ्चालन गर्ने लक्ष्य हो । मेसिनको सङ्ख्या बढ्ने हो भने अस्पतालमा डाक्टरको सङ्ख्या पनि बढ्छ । साधन सम्पन्न बनाउन सकियो भने जनता किन काठमाडौँ आउनुपर्याे ? अहिले एक दिन हिँडेर जिल्ला अस्पताल पुगे पनि डाक्टर नभेटिने अवस्था छ । त्यस्ता ठाउँको मान्छे काठमाडौँ नआएर कहाँ जाने ? अब हामीले फरक तरिकाले उपचार सुरु गर्नुपर्छ । 

हामीसँग आइडिया छ तर पैसा छैन । पैसा नभएपछि समुदायको माग अनुसार काम गर्न सकेनौँ । कहिले कहीँ मिडियामा आउने आर्टिकलबाहेक मिर्गाैलाको बारेमा अरू केही जानकारी आउँदैन ।  एउटा व्यक्तिले जानकारी पाउँदा ३ कुरा प्राप्त गर्छन्– पहिलो, स्वस्थ्य कसरी रहने र मिर्गाैलालाई कसरी स्वस्थ्य राख्ने । दोस्रो, नेपाल मानव अङ्ग बेच्ने देशको नामले कुख्यात छ । आफ्नो मिर्गाैला अरूलाई बेचेपछि आफ्नो परिवार अर्थात् श्रीमतीकै मिर्गाैला फेल भयो भने कसले दिन्छ ? त्यसैले आफ्नो मिर्गाैला आफ्नो परिवारका लागि राख है भन्ने । र, तेस्रो बे्रनडेथ भएर अस्पतालमा बसेको बखतमा त्यो व्यक्तिले ८ जना मान्छेलाई जोगाउन सक्छ– मुटु, फोक्सो, कलेजो, किड्नी, प्याङ्क्रियाजलगायतको अङ्गले आठ जना मान्छेलाई बचाउन सक्छ । तर ब्रेनडेथ भयो भने मेरो अङ्ग दान गर्छु भन्नुपर्यो । यस्ता कुराको बारेमा नागरिकलाई जानकारी गराउनु पर्छ ।

मिर्गाैला उपचार केन्द्रले ‘मिर्गाैला बचाउ अभियान’ सुरु गर्न लागेको छ । एक व्यक्तिबाट ५ सय दान सङ्कलन गर्ने, देशको १० वटा सहरबाट एक लाख मान्छेले ५ सय दान दिने हो भने मिडिया सञ्चालन गर्नेदेखि, विभिन्न जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न सक्छौँ । नेफ्रोलोजिस्टलाई गाउँमा पुर्याउने योजना रहेको छ । यसका लागि अभियान सुरु गरिसकेका छौँ । 

त्यसो हो भने अब मिर्गाैला कसरी बचाउने  ?

३० लाखलाई मिर्गाैलाको समस्या रहेको अनुमान छ भने दुई करोड ७० लाख स्वस्थ्य छन् । अब यी ३० लाख मिर्गौला रोगी कहाँ छन् भन्ने कुरामा खोज्नुपर्याे । ३० वर्ष कटेका, उच्च रक्तचाप, मधुमेह, बढी तौल भएका र परिवारमा मिर्गाैलाको समस्या भएका व्यक्तिहरूले वर्षमा एक पटक मिर्गाैलाको जाँच गर्नुपर्छ ।  मिर्गाैला जाँचका लागि धेरै पैसा लाग्दैन । नियमित स्वस्थ्य परीक्षण गर्नुहोस । दिनमा १० हजार पाइला अर्थात ७ किलोमिटर हिँड्नु पर्छ । दास्रो कुरा प्रत्येक दिन २ देखि ३ लिटर पिसाब फेर्नुपर्याे, त्यति पानी खानुपर्याे । अर्काे कुरा चुरोट, खैनी, जाँड, रक्सीजस्ता खाना खानु भएन । रिटाएर भएको व्यक्तिले रातो मासु जस्ता खाना नखाएकै राम्रो हुन्छ । रातो मासु भनेको चारखुट्टे जनावारको मासु जस्तै राँगा, भैँसी, खसी, बोका, च्याङ्ग्रा, बङ्गुर आदिको मासु मिर्गाैला रोगका लागि नराम्रो हो । लगातार रातोमासु खाने व्यक्तिको मिर्गाैला कमजोर हुने कुराको बारेमा वैज्ञानिकले नै जानकारी गराउँदै आइरहेका छन् ।े मिर्गाैलामा समस्या भएका मान्छेले रातो मासु कम खाने गर्नुपर्याे । पार्टी, रेस्टुरेन्टमा बनाएको खाना स्वास्थ्यका हानिकारक हुन्छ । त्यसैले बाहिरभन्दा घरमा बनाएको खाना खानु उत्तम हुन्छ । सन्तुलित खाना, पानी, व्यायम गरेर र रोग छ भने सुरुकै अवस्थामा उपचार गर्ने हो भने मिर्गाैलालाई स्वस्थ्य राख्न सकिन्छ ।

अर्काे कुरा जथाभावी औषधि खानु हुँदैन । टाँउको, पेट, कम्मर दुखाइ कम गर्ने औषधि खानाले मिर्गाैलालाई असर गर्छ । त्यसैले दुखाइ कम गर्ने औषधि डाक्टरको सल्लाहबिना नखाँदा राम्रो हुन्छ । तर यो सबै गर्दा पनि तपार्इंको मिर्गाैला स्वस्थ्य हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन  । जुनसुकै बेला पनि समस्या आउँछ सक्छ । कम्तीमा वर्षको एक पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्नु राम्रो हुन्छ । दैनिक ६ देखि ७ घण्टा नियमित एउटै सयमा सुत्दा राम्रो हुन्छ । खालिपेटमा भन्दा पनि बेलुका खाना खाएपछि १५ मिनेट हिँडेको राम्रो । मिर्गाैलामा समस्या भएको व्यक्तिलाई हृदयाघात हुने सम्भावना १० गुणा बढी हुन्छ । मिर्गाैला बिग्रेर अन्तिम अवस्थामा पुगेको व्यक्तिको उपचार भनेको डाइलासिस र प्रत्यारोपणबाहेक अरू कुनै पनि विकल्प छैन । त्यसैले नियमित स्वस्थ्य परीक्षण आफ्नो स्वास्थ्यको ख्याल राख्नु सबैभन्दा राम्रो पक्ष हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप