मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्ष उमेर समूहका एक जोडीमाथि आइलागेको बज्रपात

शनिबार, २६ साउन २०७५, १० : ३२
शनिबार, २६ साउन २०७५

जमुना सिटौला
 

कार्यालयको खाजा खाने समय भएको थियो । एकैछिन मेडिकल महाशाखातिर पुगें । झन्डै ४० वर्ष उमेर समूहका एक जोडी सेवा लिन कुरेर बसेका रहेछन् । खाजा खाने समय भएकाले केही छिन बाहिर कुरेर बसेका बेला मैले उहाँहरूलाई केका लागि आउनुभएको भनेर सोध्दा भक्कानिँदै भनेपछि म भयो स्तब्ध भएँ । यो भन्दा ठूलो पीडा संसारमा अर्को के होला ?

म मलेसियामा थिएँ । नेपाल आएको २१–२२ दिनजति भयो । हाम्रा दुई छोरा थिए । जेठो १४ र कान्छो १० वर्षको । अचानक सोचभन्दा फरक भयो दिदी । मेरो घर धादिङ हो । स्थानीय सरकारले टोलटोलमा कल र इनार खन्दै गर्दा खुला छाडेको इनारको खाल्डोमा पानी जमेको रहेछ । खेल्दाखेल्दै कान्छो छोरो खसेछ । खाल्डोमा खसेपछि आत्तिएर भाइ बचाउन जेठो छोरो खाल्डोमा पसेछ । दिदी, दुइटै छोरा एउटै खाल्डोमा परे । खाल्डोबाट निकाल्दा जेठोको अलि–अलि धुकधुकी रै’छ । हत्तारहत्तार हेलिकप्टर मगाएर काठमाडांैको ग्रान्डी हस्पिटल लग्यौं । तर, हाम्रो केही लागेन । आज २२ दिन भयो । म पनि एक महिनाको मात्र बिदा लिएर नेपाल आएको हुँ । घरको अवस्थाले गर्दा काममा नफर्की हुँदैन । तर, खै सुख सम्झने आधारै सकियो । दुःख पनि केका लागि गर्ने ? तुरुन्त फर्कन पनि मिल्दैन होला । यहाँका डाक्टरसाबहरूले के भन्नुहुन्छ ।

अब के गर्ने भनेर सेवा सल्लाह लिन आएको । सबैले यही जाने सल्लाह दिए । अब सबै चीज त सकियो तर फेरि पनि नयाँ जीवन सोच्न बाध्य भयौं । मैले दुई छोरा भएपछि स्थायी अप्रेसन (भ्यासेक्टोमी) गरेको थिएँ । यसलाई पुनः नसजडान अप्रेसन गरेपछि बच्चा हुन्छ रे । यसका लागि नेपाल परिवारनियोजन संघको सेवा सबैभन्दा राम्रो छ भनेको सुनेर आएको दिदीे । उनको कुरा सुनिरहँदा छेउछेउमा जिउफालेर ढल्किरहेकी ती आमालाई देख्दा भित्रैदेखि चित्त दुख्यो । उनी एकोहोरो टोलाइरहेकी थिइन् । 

दुई–दुई सन्तान गुमाएको पीडा । उसलाई हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिन्थ्यो । र, त्यो अवस्थामा ऊ कसरी फेरि आमा बन्न सक्छे ? आमा बन्न ऊ पनि त मानसिक रूपमा स्वस्थ्य हुनुपर्यो नि ? यस्तो अवस्थामा गर्भवती हँुदा उनी र उनले जन्माउने बच्चा स्वस्थ हुन्छ कि हुँदैन ? हामीकहाँ मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिइँदैन । कुरा सुन्दा श्रीमान् समझदारी नै लागे पनि उनको व्यस्तताले विदेश फर्कन हतारिएजस्तो लाग्थ्यो । सबैका आफ्नै बाध्यता हुन्छन् तर यस्तो विक्षिप्त अवस्थामा तुरुन्त आमा बन्न ती महिला तयार छिन त ? यो कुराले सबैलाई पिरोल्यो । नेपाल परिवार नियोजन संघले त्यो जोडीलाई एकदमै संवेदनशील भएर परामर्श दिएपछि उनीहरूले चाहेको सेवा उपलब्घ गरायो र हिँड्ने बेला नेपाल परिवार नियोजन संघको सेवा र यहाँका सेवाकर्मीप्रति सन्तुष्ट हँुदैै नयाँ जीवनको आशासहित बिदा भए । 

सरकारको कत्रो लापरबाही । सार्वजनिक ठाउँमा खाल्डो खनेपछि खुला छोड्न मिल्छ ? कमसेकम अस्थायी सावधानी अपनाइनुपर्दैन ? ढक्कनले छोप्नुपर्देन ? काम सञ्चालन भइरहेको जोखिमपूर्ण क्षेत्रमा घेराबार लगाइनुपर्दैन ? स्थानीय निकायका प्रतिनिधि र सम्बन्धित स्थानीयले पनि स्थानीय तहमा भइरहेको विशेषगरी यस्ता असुरक्षित कार्यको अवलोकन तथा सावधानीतिर विचार पुर्याउनुपर्दैन ? साधारणभन्दा साधारण विषयमा लापरबाही गर्दा आज त्यो परिवारको त्यत्रो क्षति भयो ।

स्थानीय सरकारले केही न केही क्षतिपूर्ति त दियो होला तर मान्छे मार्नु अनि क्षतिपूर्ति दिनु कत्तिको जायज हो ?
पुनः नसजडान अप्रेसन गरिसकेपछि फेरि अर्को बच्चा जन्माउन योग्य भएको वा नभएको निश्चित गर्र्न र यससम्बन्धी अन्य सेवा र सल्लाहका लागि उनीहरूलाई केही महिनापछि पुनः नेपाल परिवार नियोजन संघ बोलाइएको छ । भगवान्सँग प्रार्थना गर्दछु यो जोडीको सफलताको कथा लेख्न फेरि पनि पाइयोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप