बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संस्मरणः मृत्युको जुहारी

शनिबार, २६ साउन २०७५, ०९ : २६
शनिबार, २६ साउन २०७५

-हरि थापा  

बिहान उठ्ने वित्तिकै शुभसमाचार सुन्न अब कहिल्यै नपाइने भयो भन्दै हजुरआमा बर्बराउनु हुन्थ्यो । हजुरआमाको मलिन अनुहारले पनि भन्दै थियो, यो देश परिवर्तन हुनु जरुरी छ । चस्मा मिलाउँदै आँखा ठूला पारेर हत्याका समाचार पढेर निधार खुम्च्याउनु हुन्थ्यो ।
जुन जोगी आए पनि कान चिरेको ! के भन्या होला, मलाई बुझ्न कठिन पथ्र्याे । हजुरआमा २००७ सालदेखि यस्तै व्यवस्थाको र आन्दोलनको अभियुक्त हुनु भयो, सबै बुझ्नु भयो । यहाँको शासन सत्ता नियाल्दै भोग्दै बुझ्दै आउनुभएको रहेछ । उहाँलाई यस्ता नेतृत्वसँग खासै विश्वास रहेनछ ।
पटक पटकको व्यवस्था परिवर्तनको भोगाइपछि नाति हजुरआमाले एउटा जनयुद्धलाई नजिकबाट हेर्याैँ । परिवर्तन परिवर्तन भन्दाभन्दै हजुरआमा वृद्ध हुनुभयो । तर देशको अवस्था उस्तै स्थितिमा गुज्रियो । सामान्य नागरिकका लागि रतिभर परिवर्तन भएन । नेताहरूको जीवनमा परिवर्तन आयो तर जनताको स्थितिमा परिवर्तन हुन सकेन ।
नेपाल जस्तो शान्ति भूमिमा कतिले भन्छन् । जनयुद्धलाई कतिपयले महान् जनयुद्ध भन्छन् । अहिले सम्झँदा यो एउटा कालो कल्पना मात्र थियो । सोचभन्दा बाहिरको कुरा थियो तर पनि दशवर्षे जनयुद्ध इतिहासमा दर्ज भयो ।

समय परिस्थितिअनुसार विचारको लडाइँ हुन थाल्यो । जब विचारको लडाइँ बहसमा समाधान हुन्न, त्यसले उग्ररूप लिन्छ । यो संसारकै नियम हो । जब विचारबाट विद्रोहमा जान्छ त्यसले  एउटा भयावह परिस्थिति निमत्याउँछ  । 
राजा वीरेन्द्र भइदिएको भए देशले यति ठूलो युद्धको सामना गर्नु थिएन । देश यो स्थितिमा गुज्रिने थिएन । हजारौँ युवाहरू पसिना बगाउन ऋण काडेर मजदुरी गर्न परदेश जानुपर्ने थिएन भन्नेहरू कमी छैन । तर यो न्यानो स्मृति मात्र हो । यद्यपि नहुन पर्ने घटना घटिसक्यो ।
हाम्रो मामिलामा पनि आखिर त्यही भयो देश सयौँ वर्षपछि धकेलियो । जनता जनार्दन जनताले नै संसारको व्यस्था बनाएका हुन् र जनताले नै व्यवस्था खारेजी गरेका हुन । जनताभन्दा माथि कोही हुन सक्दैन ।
जनताले चाहे भने जस्तोसुकै परिस्थितिको सामना गर्दै व्यवस्था परिवर्तन गरेरै छाड्छन् ।
अन्ततः हाम्रो व्यवस्था पनि परिवर्तन भयो ।
जनयुद्धको बेला सम्झिँदा अझै पनि ज्यान थिरमा हुन्न । बमबारुदका आवाज अझै पनि मानस पटलमा छँदै छ । गोली र बम, बारुदका आवाजसँगै चिच्याएका ती आवाज मरे आमा । मरे बा ! भनेका ती चित्कारले बेलाबेला झस्काइरहन्छ ।
माओवादी लडाकु सैनिकको घेराबन्दीमा परेभन्दा सैनिकहरूको भोज भतेर चल्थ्यो ।
माओवादीले सैनिकहरू अपहरण गरी ल्याउँथे यता पनि उस्तै रमाइलो पाटी, भोज, खसी, कुखुरा, राँगा काटेर विजय जुलुस मनाइन्थ्यो ।
माओवादीका लडाकु मरे ! भन्दा उता सैनिकहरू मृत्युको उत्सव मनाइरहेका हुन्थे भने यता मृत्यु शोक मनाइरहेका हुन्थे । यहाँ एउटै चिन्तन थियो । एक पक्षले अर्को पक्षलाई मार्नुमा गर्व गरिन्थ्यो ! सायद युद्धको नियम यस्तै होला ।
विस्तारै साथीभाइ नै यतिसम्म दुस्मनी भए, जसले भेट्यो, सिध्याउने आवेग क्रोध र सपनाको ज्वाला बोकेर हिँड्न थाले ।
घरमा चाडपर्व मनाउन आएका दाजुभाइहरू उखुबारीमा रात कटाएर खाली निधार फर्किनु पथ्र्यो । राति सँगै सुतेको एउटा नाबालक छोराको बाबा अनि जोडी ढुकुर जस्तो मिलेको जोडी सिकारीले कुन बेला सिकार गरिदिन्थ्यो ।
अनायासै एउटा प्राणभन्दा प्यारो मायालुसँग सदाका लागि विछोड हुनुपथ्र्यो ।
त्यसपछिको अप्ठ्यारालाई एउटा निरिह नारीले पति वियोगको सामना गर्नु पथ्र्यो । परिस्थिति जटिल बन्थ्यो । टुक्रिएर छिया छिया भएर जिउँदै लास भएर जिउनुपथ्र्यो । घाउहरू केही खाटा बसे पनि चहर्याउन अझै छाडेको छैन । टुहुरा नाबालकहरू केही बुझ्ने भइसकेको छन ।
परिवार गुमाएको पीडा र त्यससँगै हुर्काएको नानीबाबुहरू अब प्रश्न गर्न सक्ने भइसकेका छन् । जिम्मेवार नागरिक बनिसकेका छन् ।
पीडाको पोकाहरू अनगिन्ति थिए । एउटी निर्दोष नारीको कुन बेला सजिएको सिउँदो पुछिने हो, त्रासमा बाच्नुपथ्यो । मनमा एउटै कुरा लिएर सत्रुबाट मेरो छोरा बाबा वा श्रीमान बचिरहोस् भनेर परिवारले कामना गरेर बस्नु पथ्र्यो ।

त्यति बेला जन्म दिने आमालाई कति चोट पथ्र्यो । साँच्चै त्यस्ता महान आमा जसले दुई छोरा जन्माइन् । समयको माग भन्नुपर्छ एउटा बाध्यताले देशको रक्षा गर्नमा लाग्यो, अर्को बेथितिविरुद्धमा उत्रियो ।
जनयुद्ध एउटा खेल थियो । विद्रोही र सेना दुई पक्षका खेलाडी थिए । खेलमा खेलाडीले सकेको कला देखाउनु, प्रहार गर्नु कर्तव्य हो । आखिर ती आमाका दुई सन्तानले पनि त्यही खेल खेले । 
हरेक दिन रेडियो टेलिभिजनले नाम भनिरहँदा दह्रो मुटु बनाएर पथ्यो । दाजुभाइ सत्रु भएका थिए । एउटै घरमा दुई पक्ष थिए, सता पक्ष र विद्रोही पक्ष । घर सल्लाह हुँदा विद्रोहीले सरकार पक्षकालाई राजीनामा दिई आफ्नो आन्दोलनमा आउन आग्रह गर्थे । शासन ढल्दै छ । यो निरङ्कुश शासनविरुद्ध हाम्रो यात्रा जारी छ ।
जिन्दावाद, मुर्दावादका भाषणहरू खुब गुन्जिरहन्थ्यो । सायद हार भन्ने जनयुद्धको शब्दकोशमा हुँदैनथियो । 
हाम्रो यात्रा जारी छ ! विजयको नजिक पुगिसक्यौँ हामीले अब नेतृत्व गर्दैछौँ । हाम्रो नेतृत्वले सबैलाई समेट्ने छ जस्ता चिल्ला आश्वसन र  मीठा भाषण सुनेर गटट ताली बज्थ्यो । जसरी अहिले सरकारले रेल जहाजँका कुरा गर्दा उत्साहित हँुदै ताली दिन्छन् । त्योभन्दा कयौँ गुणा ताली त्यो बेला बज्थ्यो जति बेला पीडित अन्याय अत्याचार दमन उत्पीडन मजदुर आदिवासी जनजाति सबैको आवाज बुलन्द हुन्थ्यो ।
सबलाई परिवर्तन चाहिएको थियो । स्वतन्त्रता चाहिएको थियो । समृद्धि चाहिएको थियो । विकास चाहिएको थियो । यति मात्र होइन स्वतन्त्र न्याय पनि चाहिएको थियो । चाहना र चाहिएको कारण यात्रा एक कदम पनि रोकिएन आवेग, उत्तेजना, प्रेरणा, ठोस योजना धैर्य, शाहस सबैको थियो ।
जागिर छाड्नुस्, हाम्रो कार्यक्रमलाई सघाउनुस् बेलैमा सोच्नुस् भन्थे तर सरकार पक्षका पनि नुनको सोझो  गर्न किन छाड्थे र ? कालान्तरमा परिवारले आफ्नै सन्तानबाट आफ्नै सन्तानको जोखिम मोल्नुपथ्र्यो । कति दोधारमा पर्थे विचरा ती बाआमा एउटा छोरो जनमुक्ति सेना अर्को छोरो सरकारी जागिरे । सन्तानमा नै दुस्मनी बेहोर्नु पथ्र्यो ।
कहिले जङ्गलको बाटो भगाउनु पथ्र्यो । कहिले कयौँ दिनसम्म परालको कुन्युमा छोपेर आफ्ना कोखबाट जन्मेको एक सन्तानबाट अर्को सन्तान जोगाउनु पथ्र्यो । कुन बेला सत्रुले सिध्याइदिने पत्तो हुँदैन्थ्यो ।
व्यवस्था परिवर्तन भयो व्यक्ति र बेथिति कहिल्यै परिवर्तन भएन । कति गहिरो जरा गाडेको रहेछ, यसलाई उखेल्ने कुनै महाराजा जन्मन सकेन यो देशमा !
अहिले १३ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ । तर बलात्कारीमाथि कारबाही हुँदैन । विरुद्धको कारवाही गर सरकार भन्दै जिन्दावाद र मुर्दावादका नारा विरुद्धको लगाइरहनु परेको छ । आजको दिनमा पनि न्याय माग्न सडकबाट चिच्याउनुपर्ने अवस्था छ ।
भ्रष्टचारी, दलाली र चेलिबेटी बेच्नेलाई कारवाही गर भनेर चिच्याउनुपर्ने अवस्था अझै छ । व्यवस्थासँगै व्यक्तिका सोच परिवर्तन भइदिएको भए यस्तो अवस्था झल्नुपर्ने थिएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप