कविताः विस्थापितको कथा
शनिबार, २६ साउन २०७५, ०८ : ५८
-राजेन्द्र पोखरेल
स्थापितहरूको लङ्काभित्र
विस्थापितहरूको कथा
मानसपटलभित्र अमेट चित्र
पीडकहरूको उपहार व्यथा ।
सत्यको बाटोमा पर्खाल लगाई,
निष्ठा र विज्ञताको वकालत गर्ने,
दोषी चस्मा पहिरिएका जनहरूसँग,
शकुनीलाई पनि माथ खुवाउने मनहरूसँग ।
सबै मासलाई श्रावण देख्ने नजर,
किच्चोमुसम्म बन्न हिच्किचाउने जमातहरूसँग ।
खै कसरी न्यायको अपेक्षा राख्नु ?
खै कुन आधार छ र भरोसा मान्नु ??
इच्छाशक्तिविहीन जनहरूसँग ।
महलमा बसेर
झुपडीमा शासन चलाउनेहरूसँग
घरमा आगो झोसी
चिलाई मार्न शरीरमा खरानी घस्नेहरूसँग
मुहारको मुस्कान खोसी
निदाएको अभिनय गर्दै बस्नेहरूसँग
स्वार्थ अनुसार पसार्दै चोसी
दूध दिँदा उल्टै दाह्रा तिखार्दै डस्नेहरूसँग
दूध दिँदा उल्टै दाह्रा तिखार्दै डस्नेहरूसँग ।
सिरानचोक–५, गोरखा
हाल: टोखा न.पा. १०, काठमाडौं