देउता 'खुसी पार्न' छाउगोठ : 'मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ'

person access_timeसाउन ३, २०७४ chat_bubble_outline0
SHARES
तस्विर : अन्नपूर्ण पोस्ट

दैलेख - अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोज्नुभो । दुई महिलाले समातेर उहाँलाई कौसीसम्म ल्याए ।

कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहनुभो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो । १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो । तर, यो कुरा बाहिर आएन । तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो । लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो ।

करोडौं खर्चिएर विभिन्न गैरसरकारी संस्थाले दैलेखमा साविकका आठवटा गाविसलाई छाउपडीमुक्त घोषणा गरेका थिए । तर, अवस्था अहिले पनि उस्तै छ । 

दैलेखका धेरैजसो छाउप्रथा भएका गाउँमा अहिले छुट्टै छाउगोठ छैनन् । तर, प्रत्येक घरमा अहिले पनि महिला रजस्वला भएपछि गाई र भैंसीसँगै सुत्न बाध्य छन् । 'छाउ' भएका महिला गाईभैसीसँगै सुत्छन् तर उनीहरूले त्यसको दूध–दही खान पाउँदैनन् । गाउँले भन्छन्, 'देउता रिसाउँछन्, घरमा नराम्रो हुन्छ ।'

रोपाइँको मेलो सकेर फर्किरहेका महिलालाई शिक्षक भुवन शाही जिस्क्याउँदै हुनुहुन्थ्यो, 'पाखा सर्‍या हौला, नछुए है...!' अनि बर्सादी (पानी छेक्ने प्लास्टिक) ओढेकी कोकिला विकले भन्नुभयो, 'छुन्नम छुन्नम्, तीन दिन त भो, गोठमै सुतिराछम् ।' फेरि शिक्षक शाहीले सम्झाउनुभयो, 'पशुसँग सुतेर नि देउता खुसी हुन्छन् ? अस्ति तुल्सीलाई साँपले टोकेर मरेको बिस्र्यौ ? ' अर्की महिला जंगिनुभो, 'त्यस्तो भनेर हुन्छ, मरे नि मरिन्छ तर देउतालाई रिसाउन दिनुहुन्न ।' अनि उहाँ आफैँले कहानी सुनाउनुभो, 'केही वर्षपहिला रजस्वला भएको बेला घरमा खाना बनाएँ तर खान दिने बेला मेरो मुन्टो बांगियो ।

अनि धामीझाँक्रीले झारफुक गरेर सोझ्याइदिए ।' घरमा कोही नभएपछि पाखा सरे पनि उहाँले बाहिरै खाना बनाउनुभएको थियो रे ! 'अनि देउता रिसाका रै'छन्, छाउ हुँदा भान्सा छोएपछि मरे पनि मरिन्छ । यो त बार्ने नै हो, देउता रिसाउन हुन्न', विकले भन्नुभयो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ