केन्द्रीय संस्करण

काठमाडौंका सबै नगर प्रमुखहरुलाई नयाँ शक्ति पार्टीले लेख्यो पत्र

person access_timeसाउन २५, २०७५ chat_bubble_outline0

काठमाडौं– नयाँ शक्ति पार्टी नेपालले काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुखलाई सार्वजनिक सूचना माग गर्दै पत्र बुझाएको छ । नयाँ शक्ति पार्टीको काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौंं महानगरपालिका लगायतका काठमाडौं जिल्लाका सबै नगर प्रमुखहरुलाई सूचना माग गर्दै पत्र बुझाएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालयमा पार्टीको काठमाडौं जिल्ला समन्वय समिति र महानगर समितिको तर्फबाट सूचनाको माग गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाइएको छ । पत्रमा महानगरपालिका अन्तर्गतका सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरुको आर्थिक वर्ष २०७४र०७५ को महानगर परिषदबाट पारित बजेट शीर्षक अन्तर्गतका प्रत्येक योजना तथा कार्यक्रमको आर्थिक तथा भौतिक प्रगति, आय र व्ययको पूर्ण विवरण, सम्पूर्ण मालसामान जिन्सी सामग्री, निर्माण कार्य, परामर्श सेवा तथा अन्य खरिद तथा भुक्तानीको पूर्ण विवरण माग गरिएको छ । अरु नगरपालिकाका प्रमुखहरुलाई पनि यही व्यहोराको पत्र बुझाइएको छ ।

पत्र बुझ्दै प्रमुख शाक्यले नयाँ शक्तिको सुझावलाई सकारात्मक रुपमा ग्रहण गरेको र आफूले महानगरबासीको समस्या समाधान गर्ने बताएका छन् । उनले राजपत्र प्रकाशित भएपछि सबै सूचनाहरु महानगरबासीलाई जानकारी गराउने बताए । मेयर शाक्यले महानगरबासीको काम वडाबाट हुने प्रक्रिया चलिरहेको जानकारी समेत गराए ।

पत्र बुझाउँदै काठमाडौं जिल्ला समिति संयोजक मानुषी यमी भट्टराईले स्थानीय सरकार र महानगर प्रमुखको बारेमा नकारात्मक टिकाटिप्पणी हुनु सुखद् नभएको भन्दै प्रमुख शाक्यलाई आलोचित हुने कार्य नगर्न सुझाव दिएकी थिइन् ।


पार्टीको काठमाडौं महानगर समिति संयोजक शोभा बज्राचार्यले प्रमुख शाक्यलाई काठमाडौं महानगरले २१, २२, २६, र ३२ वडाका स्थानीयलाई विभेद गरेको गुनासो गरिन्।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ