मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विधायन व्यवस्थापन समितिको कार्यविधि:  बैठक अवधिमा सांसदलाई मोबाईल चलाउन  प्रतिबन्ध !

शुक्रबार, २५ साउन २०७५, १६ : ५२
शुक्रबार, २५ साउन २०७५

काठमाडौं– संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधि पारित भएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सचिवालयबाट प्रस्तावित कार्यविधि परिमार्जनसहित पारित गरेको हो । सचिवालयद्वारा प्रस्तावित कार्यविधि छलफलमा उठेका प्रश्नहरुको जवाफसहित पारित गरिएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिए । 

कार्यविधिमा पत्रकारहरुलाई बैठकमा जान रोक लगाउनेसम्मको व्यवस्था गरिएको छ ।  समितिले आवश्यक ठानेका बेला पत्रकारहरुलाई बैठकमा जान रोक लगाउन सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको समितिका सदस्य परशुराम मेघी गुरुङले बताए ।

कार्यविधिमा बैठक अवधिभर सदस्यहरुलाई मोबाईल फोन चलाउन पनि प्रतिबन्ध लगाइएको छ । त्यसैगरी सभापति वा सचिवालयलाई पूर्व जानकारी नदिई बैठकमा सदस्यहरुले अनुपस्थित हुन नपाउने कडा व्यवस्था पनि गरिएको छ । 

समितिका जेष्ठ सदस्य शिवाकोटीले विशेष कारण परेको अवस्थामा बाहेक सदस्यहरु बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था पनि कार्यविधिमै तय गरिएको जानकारी दिए ।  बैठकका निर्णय सकेसम्म सर्वसम्मतिमै गर्ने व्यवस्था पनि गरिएको समितिका जेष्ठ सदस्य शिवाकोटीले जनाए । समितिले अनुगमन र मूल्यांंकनको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग छलफल गर्ने व्यवस्थालाई पनि अनिवार्य गरेको छ । 
बैठकमा उपस्थित हुँदा सरकारका मन्त्रीहरुले समितिको माग बमोजिम आवश्यक कागजात तथा विवरण समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

समितिको अर्का बैठक आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ । आईतबारको बैठकमा प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुने कार्यसूचि तय गरिएको पनि समितिका सचिव मनोज गिरीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप