बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा बुझेर मात्र लगानी गर्नुस् :  धितोपत्र बोर्ड

शुक्रबार, २५ साउन २०७५, १६ : ४१
शुक्रबार, २५ साउन २०७५

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका निर्देशक परिष्टनाथ पौडेलले सेयर बजारमा बुझेर मात्र लगानी गर्न आग्रह गरेका छन् । 

पौडेलले सेयरबजारको लगानीमा प्रतिफल जस्तै जोखिम पनि रहेकाले लगानीकर्ताले आफ्नो विवेक प्रयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘धितोपत्र बजारमा प्रतिफल पाइएजस्तै जोखिम पनि उत्तिकै छ, विवेकशिल लगानीकर्ताको रुपमा लगानी गर्नुहोला । लगानीकर्ता कम्पनीको विश्लेषण गरेर मात्र गर्नुहोला । ’

बोर्डले चालु आर्थिक वर्षको (२०७५/०७६) धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न शुरु गरेको छ । बोर्डले आजदेखि पहिलोपटक लगानीकर्ता प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । नीति तथा कार्यक्रमले पाक्षिक रुपमा लगानीकर्ता प्रशिक्षण शुरु गर्ने भनेकोमा  यो पहिलो पटक शुरु गरेको हो । यही कार्यक्रममा पौडेलले लगानीकर्तालाई विवेक प्रयोग गरेर लगानी गर्न भनेका हुन् । 

महिनामा दुईपटक यस्तो कार्यक्रम गर्नुपर्ने भएपनि केही ढिला गरी कार्यक्रम भएको हो । हालसम्म १५० जनाले प्रशिक्षणका लागि नाम टिपाएको बोर्डले जनाएको छ । बोर्डले एकपटकमा ५० जनालाई प्रशिक्षण कार्यक्रम दिनेछ । 

यता बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्ड देशभरको लगानीकर्तालाई जनचेतना जगाउन सफल भएको बताए । जनचेतना अभिबृद्धि गर्न भदौदेखि पाक्षिक रुपमा रेडियो कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि कार्कीले दिए ।

दुर्गम जिल्लामा पनि सेयर बजारबारे देखिएको उत्साहले लगानीकर्ताहरु सचेत छन् भन्ने देखिएको डा. कार्कीले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप