शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकमा किन भयो राजदूत टेप्लिजको चर्चा ?

शुक्रबार, २५ साउन २०७५, १३ : १७
शुक्रबार, २५ साउन २०७५

काठमाडौँ– सरकार नयाँ संविधान अनुसार नागरिक अधिकार सुनिश्चित गर्न धेरै कानुन निर्मणको तयारीमा जुटेको छ ।

यसक्रममा कतिपय विधेयकहरु संसदमा पेश भइसकेका छन् ।

असोज ३ सम्म संविधान अनुसार झण्डै तीन दर्जन कानुन बनाइसक्नुपर्ने सरकारलाई दबाब छ । त्यहि दबाब अनुसार धमाधम कानुन निर्माणका कामलाई सरकारले तीव्रता दिएको छ ।

तर, त्यस्ता कानुन निर्माण प्रकृया जारी रहेकै बेलामा एकजना विदेशी राजदूतले नेपालमा नागरिक अधिकार खुम्चँदै गएको भनेर टिप्पणी गरिन् ।

जसले राजनीतिक बृतमा तरङ्ग ल्याएको छ  ।

यसरी नागरिक अधिकारका बारेमा टिप्पणी गर्ने अरु कोही नभएर नेपालमा तीनवर्षे कार्यकाल पूरा गरी श्रीलंकाको राजदूतमा मनोनयन भइसकेकी राजदूत अलाइना बी टेप्लिज हुन् ।

गत साता काठमाडौँमा केही सम्पादकहरुसँग कुरा गर्दै अमेरिकी राजदूत टेप्लिजले नेपालमा नागरिक अधिकार खुम्चिँदै गएको भनेर गरेको टिप्पणीलाई राजनीतिक बृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

के भनेकी थिइन् राजदूत टेप्लिजले ?

राजदूत टेप्लिजले भनेकी थिइन् –‘अनलाइन मिडियासम्बन्धी निर्देशिकाका केही प्रावधान धेरै उत्साहप्रद छैनन् । मिडियामाथि नियन्त्रण गर्नुपर्ने धारणामा समस्या छ र सेल्फ सेन्सरसिपको बढ्दो अभ्यास स्वतन्त्र समाज निर्माणका निम्ति सहयोगी हुन सक्दैन ।’

उनले थपिन् ‘सरकारले कानुन, नियम र नीतिको अन्तरवस्तुमा ध्यान पुर्याउनु आवश्यक छ । नागरिक समाजको अधिकार र मिडिया स्पेस हनन हुन सक्ने देखिन्छ । म अनलाइन मिडिया निर्देिशकाप्रति चिन्तित छु । जसले विशेषगरी नयाँ मिडियालाई स्वतन्त्र रूपमा लेख्ने क्षमतामा प्रभाव पार्न सक्छ । यो प्रस्तावित कानुन समस्याग्रस्त छ ।’

नेकपाको सचिवालय बैठकमा टेप्लिजको चर्चा

राजदूत टेप्लिजको पछिल्लो टिप्पणीलाई सत्तारुढ दलले गम्भिर रुपमा लिएको पाइएको छ । 

सरकारको नेतृत्वकर्ता समेत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकमा राजदूत टेप्लिजको पछिल्लो अभिव्यक्तिबारे छलफल नै भयो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे विफ्रिङ गरेका थिए ।

जुन बिफ्रिङमा प्रधानमन्त्री ओलीले सरकार असफल बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट प्रयासहरु भइरहेको सूचना आफुले पाएको सुनाएका थिए । उनले राजदूत टेप्लिजको नामै लिएर कानुन निर्माणप्रति राखेको चासोप्रति सचेत र सजग रहनुपर्ने बेला भएको पनि बताएका थिए ।

बैठकमा ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘देशभित्र काँग्रेस सरकार असफल बनाउन लागिरहेको छ । यसमा एउटा अन्तर्राष्ट्रिय आयाम पनि रहेको हुनसक्छ । केहि दिन अघि अमेरिकी राजदूतले यहाँको लोकतन्त्र साँघुरिदै गएको छ भन्ने खालको अभिव्यक्तिले पनि त्यहि संकेत गर्छ । उनीहरुले सरकारलाई असफल बनाउने प्रयत्न गरिरहेको जस्तो देखिन्छ । तर अव हामी सजग हुनु पर्छ ।’

त्यो बाहेक प्रधानमन्त्री ओलीले बैठकमा सरकारले सोचेअनुरुप काम गर्न नसकेको पनि बताएका थिए ।

सत्तारुढ दलको निश्कर्ष – धर्मपरिवर्तन गर्न नपाउँदा पश्चिमा शक्ति रन्थनिए

वर्तमान सरकार गठन भएलगत्तै सरकारका प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका नेताहरुले नेपालमा जथाभावी खुलेका गैरसरकारी संस्थाहरुका कारण अस्थिरता हुने भन्दै कडाइ गर्न नीति नियम बनाउने बताएका थिए ।

त्यस्तै उनीहरुले धर्म परिवर्तनलाई अपराधको संज्ञा दिदै त्यही अनुसार कानुन बनाउने समेत बताएका थिए । सत्तारुढ दलको निश्कर्ष छ – सरकारको यो प्रतिबद्धता र परिवर्तन पश्चिमाहरुलाई चित्त बुझेको छैन । त्यहि भएर उनीहरु नेपालमा धर्म परिवर्तनको पक्षमा आवाज उठाइरहन्छन् । प्रधानमन्त्री निकट श्रोत भन्छ – यो विषय पश्चिमा शक्तिहरुलाई नपचेको देखिन्छ । राजदूत टेप्लिजको पछिल्लो टिप्पणी पनि त्यसको एक रुप हुनसक्छ ।’

भारत चीनसँगको सम्बन्ध राम्रो

प्रधानमन्त्री ओलीले बैठकमा वर्तमान सरकारले भारत र चीनसँगको सम्बन्धमा सुधार गर्दै गएको र दुवैपक्षबाट सहयोग भैरहेको पनि बताएका थिए । बैठकमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै रातोपाटीसँग भने, ‘भारतको संस्थापनपक्षसँग पनि सम्बन्ध राम्रो बन्दै गएको छ । चीनसँग पनि गुणात्मक ढंगले अघि वढ्ने आधार तयार भएको छ ।’

त्यसो त नेपालमा बामगठबन्धन बनेदेखि नै यी शक्ति त्यति सकरात्मक छैनन् भन्ने नेकपाको बुझाई छ ।

कामप्रति ओली आफै असन्तुष्ट

पार्टी सचिवालयको बैठक भएपनि उक्त दिन सरकारका काम कारवाही तथा छिमेकी र अन्तर्राष्ट्रिय समुदायबारे छलफल भएको थियो । सरकारका कामको समिक्षा भएको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अहिलेसम्म गरेका काम कारवाहीप्रति आफै पनि सन्तुष्ट हुन नसकेको बताएका थिए ।

‘प्रधानमन्त्री स्वयम् पाँच महिनाभित्र भएका कामबारे सन्तुष्ट नभएको उहाँ आफैँले रियलाइज गर्नुभएको छ । सरकारले जुन स्पिडमा काम गर्नुपथ्र्यो त्यो भएन भन्ने महशुस गर्नुभएको छ । अव कसरी जाने छलफल गरौँ भन्नेमा उहाँ सहमत हुनुुहुन्छ,’ ती नेताले भने ।

गृहमन्त्रीले फागुनमै यस्तो भनेका थिए

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मन्त्रीको पदभार ग्रहण गरेको तेस्रो दिन नै कम्युनिष्ट नेतृत्वको सरकार बनेकोमा पश्चिमा शक्ति खुशी नभएको बताएका थिए । पदभार ग्रहण गरेको तेस्रो दिन नेपाल प्रहरीको हेडक्वाटर पुगेर उनले उक्त कुरा बताएका थिए ।

‘शान्तिको समस्या अझै हल हुन सकेको छैन, देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन् । केही पश्चिमा शक्ति नेपालको परिवर्तनप्रति असन्तुष्ट र उत्तेजित छन्,’ गृहमन्त्री बादलले भनेका थिए ।

त्यसक्रममा गृहमन्त्रीले थापाले हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेको भन्दै नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप