केन्द्रीय संस्करण

बिमस्टेक शिखर सम्मेलन : ६ देशका सरकार प्रमुखलाई स्वागत गर्न यस्तो छ सरकारको तयारी

person access_timeसाउन २५, २०७५ chat_bubble_outline0

काठमाडौँ । सरकारले अगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना गरिन लागेको बिमस्टेक शिखर सम्मेलनको तयारी थालेको छ । सम्मेलनको तयारीका लागि विभिन्न मन्त्रालयगत रूपमा विभिन्न विषयगत समिति र उपसमितिहरूको निर्माण गरिएको छ । मन्त्रीहरूको नेतृत्वमा तयारी समितिहरू र समितिको मातहत रहनेगरी अरू उपसमितिहरू पनि निर्माण भई काम सुरु गरेका छन् । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यस पटक काठमाडौँमा शिखर सम्मेलन गर्न लागेको हो । 

शिखर सम्मेलनको तयारी स्वरूप आउँदो साउन २६ गते बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवस्तरीय बैठक बस्ने बिमस्टेक शिखर सम्मेलनको सचिवालयका संयोजकसमेत रहेका परराष्ट्र मन्त्रालयका सहसचिव रामबाबु ढकालले रातोपाटीलाई जानकारी दिए । शनिबार बस्ने बरिष्ठ पदाधिकारीहरूको बैठकले शिखर सम्मेलनको तयारी गर्नेछ । 

उनले भने– ‘यो बैठक शिखर सम्मेलनको तयारी बैठकका रूपमा पनि रहन्छ । सात राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरूको बैठक हो, यसलाई वरिष्ठ पदाधिकारीहरूको बैठकका रूपमा पनि लिइन्छ ।’

शिखर सम्मेलनका लागि अन्य ६ देशबाट राष्ट्र वा सरकार प्रमुख, परराष्ट्र मन्त्री सचिव प्रतिनिधिको रूपमा आउनेछन् । उनीहरूका लागि बसोबासको व्यस्वस्थाका लागि उपयुक्त होटेलको व्यवस्था भइरहेको छ । सम्मेलनका लागि ११ गतेदेखि नै बिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधिहरू काठमाडौं आउने कार्यक्रम रहेको छ । 

यसरी गरिँदैछ शिखर सम्मेलनको तयारी 

बिमस्टेक सम्मेलनलाई सफल बनाउन विभिन्न मन्त्रालयगत रूपमा विभिन्न समितिहरू बनाइएको छ । प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय मूल समिति बनाइएको छ । यसले विभिन्न मन्त्रालय स्तरीय समितिहरूको नेतृत्व गर्दछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको संयोजकत्वमा सडक व्यवस्थासम्बन्धी समिति बनाइएको छ । जुन समितिअन्तर्गत विभिन्न उपसमितिहरू पनि बनाइएको छ, जसले बिमस्टेक सदस्य राष्ट्रका प्रतिनिधि आवतजावत पर्ने रुटमा सडकका खाल्टाखुल्टी पुर्ने, सडक सरसफाइको काम गरिरहेको छ ।

यस्तै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सवारी साधन तथा सुरक्षा समिति बनाइएको छ । यो समितिअन्तर्गत पनि उपसमितिहरू बनाइएको छ । यो समितिले चुस्त दुरुस्त रूपमा सुरक्षा तथा सवारी साधनको व्यवस्थापनको काम गर्ने उपसचिव ढकालले बताए । 

यस्तै परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय समिति बनाइएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री संयोजक रहेको सांस्कृतिक समिति बनाइएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार समिति बनाइएको छ । अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा अर्थ समिति बनाइएको छ भने अन्य मन्त्रालयहरूको नेतृत्वमा पनि विभिन्न समितिहरू बनेको र उनीहरूले तयारीका कामहरू गरिरहेको उपसचिव रामबाबु ढकालले जानकारी दिए । 

यस्तो छ शिखर सम्मेलनको कार्यतालिका 

दक्षिण–पूर्वी एसियाली देशहरूको साझा संस्थाका रूपमा रहेको बिमस्टेक शिखर सम्मेलनका लागि भदौ ११ गतेदेखि विदेशी पाहुना काठमाडौैं आउन सुरु गर्नेछन् । 

त्यसअघि साउन २६ गते बिमस्टेकअन्तर्गत सात राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरूको संयुक्त बैठक बस्दैछ । 

यस्तै भदौ १२ गते पनि परराष्ट्र सचिवहरूको बैठक बस्नेछ । भदौ १३ गते बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको बैठक बस्नेछ । 

किन ढिला भयो 

अध्यक्ष राष्ट्रको हैसियले नेपालले सन् २०१५ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्नुपर्ने थियो । तर निर्धारित मितिभन्दा ३ वर्ष सम्मेलनको आयोजना हुँदैछ । यसरी ढिला हुनु नेपालको आन्तरिक कारण र सदस्य राष्ट्रको समय व्यस्थापन रहेको सरकारको भनाइ छ । बिमस्टेक शिखर सम्मेलनको सचिवालयका संयोजक ढकालले भने– ‘नेपालले त्यतिबेला संविधान बनाउँदै थियो, सबै कुरा व्यवस्थित पनि भइसकेको थिएन, चुनाव पनि लाग्दै थियो । अन्य सदस्य राष्ट्रका लागि मिति पनि अनुकूल पार्नुपर्ने थियो । सबै सदस्य राष्ट्रलाई उपयुक्त समय मिलाउन पनि कठिन हुन्छ । सबै पक्षलाई मिलाउँदा अहिले यो सम्मेलन हुँदैछ ।’
दुई दुई वर्षको फरकमा सम्मेलनको आयोजना हुनुपर्ने भए पनि यसअघि सन् २०१४ मा र त्यसअघि सन् २००८ मा शिखर सम्मेलन भएको थियो । नेपाल र भुटान सन् २००४ देखि बिमस्टेक राष्ट्रका सदस्य बनेका हुन् ।  

के हो बिमस्टेक ?

दक्षिण एसिया र दक्षिणपूर्व एसियामा रहेका सातवटा देश सहभागी भएको यो एउटा क्षेत्रीय सङ्गठन हो । बिमस्टेकको अर्थ बे अफ बङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन हो । बिमेस्टेक देशमा भारत, नेपाल, बङ्गालादेश, भुटान, श्रीलङ्का, थाइल्यान्ड र म्यानमार सहभागी छन् । बङ्गालादेशको खाडीको तट र यसको आसपासमा रहेका देशहरू यो समूहमा आबद्ध छन् । यसअन्तर्गतका देशहरूको समान क्षेत्रीय एकता देखिन्छ । बिमेस्टेक दक्षिण एसियामा रहेका सात देशका लगभग साढे १ अरब जनताको प्रतिनिधित्व गर्ने समूह हो, जुन विश्वको जनसङ्ख्याको २२ प्रतिशत हुनजान्छ । 

६ जुन १९९७ को बैङ्कक घोषणा पत्र जारी गर्दै स्थापना भएको बिमस्टेकको  प्रधान कार्यालय बङ्गालादेशको ढाकामा छ । यसको मुख्य उद्देश्य बङ्गालको खाडीको किनार र दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाका देशका बीच आपसी सम्बन्ध, गरिबी निवारण र आर्थिक सहयोग प्रदान गर्ने रहेको छ । 

पूरा अर्थ हो, यसलाई नेपालीमा आर्थिक र प्राविधिक सम्बन्धका लागि बङ्गाल खाडीको प्रयास भन्ने गरिन्छ । नेपाल र भुटान सन् २००४ देखि बिमस्टेकको सदस्य बनेको छ । बिमस्टेकको मुख्य उद्देश्य यस क्षेत्रको गरिबी निवारण, आर्थिक विकासका लागि साझेदारी व्यापार, ऊर्जा, कृषि, यातायात जस्ता क्षेत्रको विकासका लागि साझेदारी हो । 

नेपालले सन् २०१५ मा बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाए पनि यस वर्ष आयोजना गर्न लागेको हो । यो संस्थामा जसले सम्मेलनको आयोजना गर्छ, त्यही देश अध्यक्ष रहने व्यवस्था रहेको छ । 
 

शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ