शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेस्टुरेन्टमा एक्स्ट्रा ‘भ्याट’ र ‘सर्भिस चार्ज’ ? सरकार भन्छ नतिर्नुस्

शुक्रबार, २५ साउन २०७५, ०९ : ४०
शुक्रबार, २५ साउन २०७५

काठमाडौँ । सामान्यतः मानिसहरू खाजा खानका लागि रेस्टुरेन्टमा पुग्छन् । मेनु हेरेर खाजा माग्छन् र खान्छन् । रेस्टुरेन्टबाट निस्कने बेलामा बिल मागिन्छ । तर बिल भने मेनु प्राइसमा करिब २५ प्रतिशत रकम जोडेर बिल दिइन्छ । 

जस्तो कि एक रेस्टुरेन्टको मेनुमा चिकन ममको मूल्य प्रतिप्लेट २ सय रुपियाँ लेखिएको छ । ग्राहकले मःमः खाए । तर बिल आयो २ सय ४९ रुपियाँको । जब मेनुमा चिकन मम प्रतिप्लेट २ सय लेखिएको छ भने फेरि कसरी आयो २ सय ४९ रुपियाँ ?

यसको कारण हो मेनु प्राइसमा थप १० प्रतिशत सेवा शुल्क (सर्भिस चार्ज) र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अर्थात् भ्याट जोडिनु । 
अब हेरौँ एक दृष्टान्त ।

पहिले एउटा रेस्टुरेन्टको मेनु हेर्नुहोस् ।

यो बालकुमारीस्थित क्वालिटी फुड क्याफेको मेनु हो । यो मेनुमा मटन तासको मूल्य प्रतिप्लेट ३ सय ४० रुपियाँ लेखिएको छ । त्यसैगरी चिकन चिल्ली बोनलेसको मूल्य २ सय ८० रुपियाँ लेखिएको छ । त्यसैगरी चिकन बिबिक्युको मूल्य ३ सय रुपियाँ राखिएको छ । 

यो मेनुमा रहेको स्नाक्स आइटमको भाग हो । यस भागमा कहीँ पनि भ्याट वा सर्भिस चार्ज एक्स्ट्रा लिने बारे उल्लेख गरेको छैन । 

अब यो बिल हेर्नुहोस् । 

बालकुमारीस्थित क्वालिटी फुड क्याफेले जारी गरेको भ्याट बिल हो यो । यहाँ रातोपाटी टिमले २ वटा मटन तास, एउटा चिकन चिल्ली बोनलेस, २ वटा बनाना लस्सी र एउटा चिकन तन्दुरी खाएका छन् । 

यी ४ आइटमको मेनु प्राइस १ हजार ६ सय पुगेको छ । तर क्याफेले बिल जारी गर्दा १ हजार ६ सयमा १० प्रतिशत सर्भिस चार्ज (सेवा शुल्क) जोडेर १ हजार ७ सय ६० रुपियाँ पुर्याएका छन् । सेवा शुल्कसहितको मूल्यमा फेरि १३ प्रतिशत भ्याट अर्थात् २ सय २९ रुपियाँ थप गरेर १ हजार ९ सय ८९ रुपियाँ ग्राहकसँग लिइएको छ ।

अब फेरि ध्यान दिऊँ । बालकुमारीस्थित क्वालिटी फुड क्याफेको, यो मेनुको स्न्याक्स आइटम रहेको भागमा कहीँ पनि भ्याट र सर्भिस चार्ज एक्स्ट्रा तिर्नुपर्ने कुरा उल्लेख गरिएको छैन । तर क्याफेले लिक्वुर अर्थात् मदिराको तल भने १३ प्रतिशत भ्याट तथा १० प्रतिशत सेवा शुल्क थप तिर्नुपर्ने कुरा उल्लेख गरेको छ । यो भ्याट र सेवा शुल्क मदिरा खाने ग्राहकलाई मात्रै हो कि मम खाने ग्राहकलाई पनि हो त्यो उल्लेख गरिएको छैन ।

हामी समाचार सङ्कल गर्न जुन रेस्टुरेन्टमा पुग्यौँ, हामीलाई सुरुमा सर्भिस चार्ज र भ्याट एक्स्ट्रा लाग्नेबारे केही कुरा बताइएन । हामीलाई खाजा मात्रै खानु थियो, त्यसकारण हामीले मदिरा भएतिर ध्यान नै दिएनौँ । त्यसकारण त्यहाँ पुग्ने ग्राहकलाई भ्याट र सर्भिस चार्ज एक्स्ट्रा लाग्नेबारे जानकारी नै हुँदैन । 

तर जब हामीले बिल माग्यौँ । हामीलाई सोधियो ‘सादा बिल ल्याउने कि भ्याट बिल ?’ हामीले यी दुई बिलको अन्तरबारे सोध्यौँ । रेस्टुरेन्टका वेटरले भ्याट बिल लिने भए १३ प्रतिशत एक्स्ट्रा लाग्ने बताए । यद्यपि सर्भिस चार्जबापत १० प्रतिशत थप रकम जसरी पनि तिर्नुपर्ने कुरा बताए । 

हामीले १३ प्रतिशत रकम थप तिर्नेगरी भ्याट बिल लियौँ ।

अब भ्याट बिल जारीसम्बन्धी कानुनी व्यवस्था हेरौँ । 

अहिले कुनै पनि रेस्टुरेन्ट वा होटल, जो भ्याटमा दर्ता भएका छन्, उनीहरूले ग्राहकलाई भ्याट लिन नै जारी गर्नुपर्छ । भ्याटमा दर्ता भएका संस्थाले भ्याट बिल कि सादा बिल दिउँ भनेर सोध्न मिल्दैन । यदि त्यसो गरेमा मूल्य अभिवृद्धि करसम्बन्धी ऐनविपरीत हुन्छ र उनीहरू कारवाहीको दायरमा पर्छन् । कर छली गरेको अभियोगमा ती संस्थाहरूमाथि छानबिन र कारवाही हुन सक्छ । 

अब मेनु प्राइसको कुरा गरौं । मूल्य अभिवृद्धिकर नियमावली २०५३ को संशोधन २०७३ ले मेनु प्राइसमा नै भ्याट वा सर्भिस चार्ज पनि समावेश गर्नुपर्ने भनेको छ । २०७३ सालको साउन १ गतेबाट (अध्यादेश कात्तिकमा पास भई कानुन बनेको) लागू हुनेगरी बनेको नियम २०७५ सालमा आइपुग्दा पनि अझै पनि पूर्णत लागू भएको छैन । 

मूल्य अभिवृद्धिकर नियमावली २०५३ को दफा १४ख मा करसहितको मूल्य उल्लेख गर्नुपर्ने बारे लेखिएको छ । यस बुँदामा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेस्टुरेन्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्फ प्राइस) मा करसहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’

यसको अर्थ कुनै रेस्टुरेन्टमा गएर कसैले खाजा खान्छ भने थप भ्याट वा सेवा शुल्क तिर्नुपर्ने छैन । अर्थात् चिकन ममको शुल्क २ सय रुपियाँको राखिएको छ भने त्यो भ्याट र सर्भिस चार्जसहितको मूल्य हुनुपर्नेछ । त्यसो भएपछि ग्राहकले मेनुमा लेखिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्दैन । 

तर बालकुमारीस्थित क्वालिटी फुड क्याफेले भने कानुन बनेको २ वर्ष पूरा भइसक्दा पनि अझै मेनुमा भएको शुल्कभन्दा बढी शुल्क असुल गरिरहेको रहेछ । 

हामीले यही कुरा आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुङ्गेललाई सोध्यौँ । के भ्याटमा दर्ता भएको संस्थाले भ्याट बिल जारी नगर्न नि पाउँछ ? के मेनु प्राइसमा थप शुल्क जोडेर भ्याट र सर्भिस चार्ज लिन पाइन्छ ?

भ्याट बिल जारी नगर्नु अपराध

‘हामीले २०७३ सालको आर्थिक ऐनमा नै संशोधन गरेर यो कुरा उल्लेख गरिसकेका छौँ । कुनै पनि रेस्टुरेन्ट जो भ्याटमा दर्ता भएका छन्, उनीहरूले भ्याट बिल नै जारी गर्नुपर्छ । ग्राहकलाई अप्सन दिने भन्ने कुरा नै आउँदैन । यदि त्यस्तो गरेमा त्यो भ्याट छली हुन्छ र त्यो अपराध हुन्छ । त्यस्ता संस्थालाई कारवाही हुन्छ ।’ विभागका प्रवक्ता ढुङ्गेलले बताए । 

मेनु प्राइसमा करसहितको मूल्य समावेश हुनुपर्ने सम्बन्धमा ढुङ्गेल भन्छन्, ‘हामीले कानुनमा नै मेनु प्राइसमा करसहितको मूल्य समावेश हुनुपर्ने कुरा राखेका छौँ । यसको अर्थ मेनु प्राइसमा भएको भन्दा थप रकम लिन पाइँदैन भनेको हो ।’

यस्ता रेस्टुरेन्ट वा होटलहरूले भ्याट बिल जारी नगर्दाचाहिँ कसरी बिल दिन्छन् त भनेर हामीले अर्को ट्रायल गर्यौँ । हामी फेरि अर्को दिन त्यही रेस्टुरेन्टमा पुग्यौँ र खाजा खायौँ । अर्को दिन पनि हामीलाई त्यही अप्सन दिइयो कि ‘भ्याट बिल कि सादा बिल ?’

हामीले सादा बिल माग्यौँ । वेटरले केओटी अर्थात् किचन अर्डर टिकेट्मा बिल दिए । केओटी ग्राहकले खानेकुरा अर्डर गरेपछि किचनमा दिने स्लिप हो । हामीलाई विभिन्न खानेकुराको १ हजार १ सय ३५ रुपियाँको बिलमा १० प्रतिशतले सेवा शुल्क जोडी थप १ सय १५ गरी १ हजार २ सय ५० रुपियाँको बिल दिइयो । तर यस बिलमा हामीलाई भ्याट जोडिएन । यद्यपि सेवा शुल्क भने छाडिएन । 

हामीले आफूहरू एनजीओमा काम गर्ने भएकाले अफिसमा बिल पेश गर्नुपर्ने कुरा बतायौँ र बिलमा छाप हानिदिन आग्रह गर्यौँ । तर उनीहरूले त्यो बिलमा छाप हान्न मानेनन् । बरु बिलको पछाडिपट्टि रेस्टुरेन्टको नाम र फोन नम्बर लेखेर हस्ताक्षर गरिदिए ।

हामीले यी सबै बिलको प्रमाणसहित यसको जानकारी र उजुरी आन्तरिक राजस्व विभागलाई गर्यौँ । त्यसको बोधार्थ आन्तरिक राजस्व कार्यालय ललितपुरलाई पनि दियौँ । असारको अन्तिममा भएकाले आफूहरू साउन लागेपछि छानबिन गर्ने भन्दै आन्तरिक राजस्व कार्यालयले रातोपाटीलाई जवाफ दियो । 

साउन महिनाको तेस्रो सातामा बल्ल आन्तरिक राजस्व कार्यालयले बालकुमारीस्थित क्वालिटी फुड क्याफेमा छापा मार्यो र कागजात नियन्त्रणमा लियो । यसबारेको जानकारी पनि आन्तरिक राजस्व कार्यालय ललितपुरले रातोपाटीलाई सम्पर्क गरेर बतायो । 

बालकुमारीस्थित क्वालिटी फुड क्याफे एउटा उदाहरण मात्रै हो । उपत्यकामा मात्रै होइन, देशैभरका अधिकांश रेस्टुरेन्टहरूले भ्याट बिलको अप्सन दिने गर्छन् भने मेनु प्राइसमा भ्याट थप गरेर शुल्क असुल गर्ने गरेका छन् । जब कि कानुन बनेको २ वर्ष पूरा भइसक्दा पनि अधिकांश रेस्टुरेन्टको मेनुमा भ्याट र सर्भिस चार्ज एक्स्ट्रा रहेको देखाइन्छ । ग्राहकहरू करिब २५ प्रतिशत रकम थप तिर्न बाध्य भइरहेका छन् । 

ग्राहकले तिर्दिन भन्न पाउँछ : आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुङ्गेलका अनुसार ग्राहकहरू मेनु प्राइसमा भएको रकमभन्दा बढी तिर्न बाध्य छैनन् । ग्राहकले मेनुमा भएको मूल्यमा नै भ्याट बिल पाउन सक्छन् । कसैले भ्याट बिल चाहिए एक्स्ट्रा रकम माग्छन् तत्काल उजुरी गर्न पनि विभागले आग्रह गरेको छ । मेनुमा भएको मूल्यमा नै ग्राहकले भ्याट बिल पाउनु अधिकार भएको ढकाल बताउँछन् ।

छानबिन हुँदैछ, कारवाही गछौँ : राजस्व कार्यालय

आन्तरिक राजस्व कार्यालय ललितपुरका प्रमुख लालबहादुर खत्रीका अनुसार अहिले बालकुमारीस्थित क्वालिटी फुड क्याफेमाथि राजस्व छलीको अभियोगमा छानविन भइरहेको छ । यदि क्याफेले राजस्व छली गरी हानि पुर्याएको प्रमाणित भएमा हानि पुर्याएको रकममा ब्याजसमेत जोडेर असुली तथा त्यति नै रकम जरिवाना हुनसक्छ ।

रेस्टुरेन्टमाथि निगरानी बढाएका छौँ : आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व विभागका निर्देशकसमेत रहेका प्रवक्ता ढुङ्गेलका अनुसार कानुन बनेको २ वर्ष पूरा हुँदा पनि पूर्ण कार्यान्वयनमा नआएको बारे जानकार छन् । अहिले करदाता सेवा कार्यालय वा राजस्व कार्यालयहरूले विभिन्न होटल र रेस्टुरेन्टहरूमा गएर यससम्बन्धी छानविन गरिरहेको उनी बताउँछन् । रेस्टुरेन्टहरूमा निगरानी राख्न भनिएको भन्दै कसैले कर छलेको पाइए जो सुकैलाई पनि कारवाही गरिने प्रवक्ता ढुङ्गेलले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप