मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं ५ प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

बिहीबार, २४ साउन २०७५, २१ : १९
बिहीबार, २४ साउन २०७५

बुटवल । प्रदेश नं ५ प्रदेशसभाको वर्षे अधिवेशन आजबाट अन्त्य भएको छ । 

प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको आजको बैठकमा पढेर सुनाएका थिए ।

यसअघि प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले आउँदो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा स्थापित गर्न चाहेको उल्लेख गर्दै अधिवेशनका क्रममा निर्माण भएका विभिन्न समिति ‘मिनि संसद्’ भएको बताए । 

उनले प्रदेशमा रहेका विभिन्न प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानलाई प्रदेश सरकारको मातहत ल्याइएको जानकारी दिँदै सडक डिभिजन कार्यालय प्रदेश मातहतमा नआएकाले पूर्वाधार विकास कार्यालयका रुपमा नयाँ कार्यालय गठन हुनेछ भने । 

मुख्यमन्त्री पोखरेलले राजस्वको दरमा एकरुपता ल्याउन स्थानीय तहका प्रमुखसँग छलफल गरिने बताउँदै भू–उपयोग नीति बनेपछि योजनाबद्ध विकासको थालनी गरिनेमा जोड दिए । 

प्रदेशसभा सदस्य सन्तोष पाण्डे, अमरबहादुर डाँगी, डिल्लीबहादुर चौधरी, भोजप्रसाद श्रेष्ठ, रामजी घिमिरेलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

दोस्रो अधिवेशनको बैठक २८ पटक बसेको थियो । 

स्थायी मुकाम सबैका लागि स्वीकार्य हुनुपर्छः मुख्यमन्त्री 

प्रदेश नं ५ का स्थायी मुकाम तोक्ने र नामकरण गर्ने विषयमा १५ सदस्यीय एक समिति निर्माण भएको छ । 

सो समितिको सदस्यको नाम प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा पढेर सुनाएका थिए । उक्त समितिका सदस्यमा विष्णु पन्थी, चेतनारायण आचार्य, कल्पना पाण्डे, तारा जीसी, तुल्सीप्रसाद चौधरी, दिनेश पन्थी, दिपेन्द्रकुमार पुन र दिपेश थारु छन् ।  

त्यस्तै नारायणप्रसाद आचार्य, निर्मला क्षेत्री, भूवनेश्वर चौधरी, रमा अर्याल, वीरबहादुर राना, सरस्वती गौतम र सहसराम यादव पनि समितिका सदस्य छन् । 

समिति गठनको घोषणापछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा सदस्यलाई धेरै सुन्ने र कम बोल्न आग्रह गर्दै निष्कर्षमा नपुग्दासम्म प्रतिवेदन सार्वजनिक नगर्न आग्रह गरे । 

उनले जनतालाई विभाजित गरेर निष्कर्षमा पुग्ने कुरा हितकारी नहुने उल्लेख गर्दै स्थायी मुकाम तोक्दा सबैका लागि स्वीकार्य भएपछि साझा निष्कर्षमा पुग्न सकिन्छ भने । 

विषेशाधिकार समिति गठन 

प्रदेश नं ५ प्रदेशसभाको आज बसेको बैठकले विषेशाधिकार समिति निर्माण गरेको छ । सो समितिमा रहनुभएका प्रदेशसभा सदस्यको नामावली सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका थिए । 

उक्त समितिमा अमरबहादुर डाँगी, अष्टभूजा पाठक, कमलराज श्रेष्ठ, कल्पना पाण्डे, तारा जिसी, तेजबहादुर ओली, पार्वती पुन, फखरुद्दिन खान, बावुराम गौतम, सन्तोषकुमार पाण्डे र हरिप्रसाद रिजाल छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप