शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिन्चीको भनेर संसारको सबैभन्दा बढी रकममा किनिएको चित्रकला नक्कली

बिहीबार, २४ साउन २०७५, १५ : २०
बिहीबार, २४ साउन २०७५

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयका एक विज्ञले विश्वको सबैभन्दा महँगो चित्र ‘सलभेटर मुन्डी’ रेनस कालका उस्ताद चित्रकार लियोनार्दो दा भिन्चीको मात्र नभएको बताएका छन् ।
ती विज्ञका अनुसार यो मुख्यतः उनका सहायकहरूले बनाएका हुन् ।

कला इतिहासकार तथा भिन्चीविद् म्याथ्यु ल्यान्डरसको दाबीअनुसार ४५ करोड डलरको यो चित्र इटालेली वर्कसपका बरनारदिनो लुइनीले बनाएको हुन सक्ने सम्भावना धेरै छ ।
ल्यान्डरसको विश्वासमा चित्रको २० देखि ३० प्रतिशत मात्रै भिन्चीले बनाएका हुन सक्छन् ।

“यो भिन्चीले वर्कसप सहयोगीबाट बनाएको चित्र हो,” ल्यान्डरसले भने, “र, बरनारदिनो लुइनीको सहयोग चित्रमा प्रष्ट रूपमा देखिन्छ ।”

ल्यान्डरसले यस निष्कर्षलाई उनको सन् २००६ को पुस्तक ‘लियोनार्दो दा भिन्ची’को पुस्तकको परिमार्जनमा उल्लेख गर्नेछन् । परिमार्जित पुस्तक अर्को महिना बजारमा आउँदैछ । पुस्तक लुभ्रले अबुधाबीमा खोलेको नयाँ शाखामा ‘सलभेटर मुन्डी’ प्रदर्शनमा राखिने समय मिलाएर सार्वजनिक गर्न लागिएको हो ।

किताबमा चित्रको श्रेय “लियोनार्दो तथा स्टुडियो’लाई दिइएको छ । 

ल्यान्डरसको विश्वासमा चित्रमा भिन्चीको योगदानको कुरा गर्दा उनले प्रारम्भिक डिजाइन बनाएरु र फिनिसिङ टच दिने काम गरेका छन् । बाँकी काम स्टुडियोका सहायकहरूले गरेको उनले बताए । ल्यान्डरसको अवलोकनमा चित्रमा प्रयोग भएको शैलीसँग लुइनीको शैलीसँग एकदम नजिकसँग मिल्छ । 

“लुइनीका अन्य चित्रहरू हेर्नुभयो भने तपार्इंले ‘सलभेटर मुन्डी’मा धेरै समानता पाउनु हुन्छ,” उनले बताए ।

‘सलभेटर मुन्डी’को इतिहास
सन् १५०० तिर कोरिएको मानिने ‘सलभेटर मुण्डी’लाई फ्रान्सका राजा लुई बाह्रौंको आदेशमा निर्माण गरिएको मानिन्छ । 

यो कलाकृति अठारौं शताब्दीको अन्त्यदेखि हराइराखेको थियो । सन् १९५८ मा भेटिएको एक चित्रकलालाई नक्कल होला भनेर मात्र ५८ डलरमा बेचिएको थियो । पछि यसलाई कला व्यापारीहरूको एक समूहले किनेको थियो । सन् २०११ मा उनीहरूले यो सक्कल भएको प्रमाणित गर्दै यसलाई लियोनार्दो दा भिन्चीले बनाएको कुरा बाहिर ल्याए ।

यसको सक्कलीपना जाँच्ने प्रक्रियामा छ वर्ष लागेको यसको लिलामी सम्हालेको लिलामी घराना क्रिस्टीले बतायो । सन् २०१७ मा यो चित्र ४५ करोड ३ लाख अमेरिकी डलरमा बेचिएको थियो । पछि अबुदाबीको संस्कृति तथा पर्यटन विभागले यो चित्र किनेको सार्वजनिक गरिएको थियो । 

यो तस्बिरको सिर्जनाकार लुइनी भएको भनिएको यो पहिलो पटक भने होइन । यसअघि सन् १९०० मा सर चाल्स रबिन्सनले सक्कल भनेर किनेको यस चित्रको प्रतिलाई लुइनीको चित्र भनेरै किनेका थिए । 
लन्डन नेसनल ग्यालरीका क्युरेटर मार्टिन केम्प पनि यो चित्र लुइनीको भएको कुरामा पक्का छन् । लुइनीको यस तस्बिर निर्माणमा योगदानबारे उनी किताब नै लेखिरहेका छन् ।

तर यदि चित्र भिन्चीको नभएको प्रमाणित भए यसले चित्रको मूल्यमा असर पार्छ ?

“परम्परगतरूपमा हेर्ने हो भने प्रभावित हुन्छ,” ल्यान्डरसले भने, “तर यो चित्रको हकमा यसलाई स्टुडियोको सहयोगमा निर्माण गरिएको थियो भन्ने कुराले यसको मूल्यमा झन् राम्रो असर पार्छ भन्ने मलाई लाग्छ । यसमा फेरि सहयोग कसको थियो भन्ने कुराले पनि फरक पार्छ । पछि आफ्नो छुट्टै नाम बनाएका लुइनीको यस चित्रमा सहयोग थियो भन्ने तथ्यले चित्रको मूल्यलाई कमजोर बनाउने भन्दा झन् बलियो बनाउँछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप