शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निशान हत्या : के थियो अपहरणकारी र एसएसपी बीचको एसएमएस प्रकरण ?

बिहीबार, २४ साउन २०७५, १३ : ००
बिहीबार, २४ साउन २०७५

काठमाडौँ । साउन २० गते आईतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण अझै खुल्न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले पैसाकै लागी नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङले निशानको हत्या गरेको दाबी गरेका छन् । तर, प्रहरी ‘इन्काउन्टर’ मा अजय र गोपाल दुवैको मृत्यु भैसकेको हुनाले अपहरणभित्रको खोतल्न बाँकी वास्तविक कारणमा पर्दा समेत लागिसकेको छ ।

आइतबार साँझ अपरिचित नम्बरबाट आफ्नो सन्तानको अपहरण भएको र छोरा पाउनका लागी शुरुमा २ करोड त्यसपछि ४० लाख फिरौती चाहिने सूचना आएपछि निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल ‘१००’ मा फोन गरेकी थिइन् । 

महानगरीय प्रहरी कन्ट्रोलले तत्काल महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) मनोज न्यौपाने र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) विश्वराज पोखरेललाई घट्नाबारे जानकारी गराएको थियो । 

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले पनि तत्काल घटनाको जानकारी पाएका थिए । 

बालक अपरहरण भएको सूचना पाएपछि महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी गोविन्द काफ्लेलाई घट्नास्थलतर्फ जान आदेश दिएका एसएसपी विश्वराज पोखरेलले निशानको आमा चमेली खड्कालाई फिरौती माग गर्ने नम्बरमा एउटा एसएमएस पठाए, ‘बच्चा तुरुन्त छोड, नत्र तेरो दिन सकिन्छ –एसएसपी काठमाडौंँ ।’

पोखरेलले पठाएको त्यही एसएमएसका कारण अपहरणकारीहरुले ‘पुलिसले थाहा पाइसक्यो भन्दै’ बच्चा मारेको तर्क कत्तिपयले गरेका छन्, तर वास्तबिकता त्यस्तो नभएको पाइएको छ । 

रातोपाटीलाई प्राप्त नेपाल टेलिकमको कल डिटेल अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बर ९८४३६२०६७०  मा महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावलले राती ९ बजे फोन गरेका थिए । रावलले फोन गर्दा नै अपहरणकारीले उक्त सिमकार्ड अफ गरिसकेका थिए । 

टेलिकमकै रेकर्ड अनुसार काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले राती ९ बजेर ४६ मिनेट २० सेकेन्डमा चेतावनीसहितको म्यासेज पठाएका थिए । फोन अफ भएकाले उक्त म्यासेज डेलिभर नै भएन । 

‘अपहरणकारीको मोबाइल अफ थियो, फोन खोलेपछि एसएमएस हेरेर बच्चा छाडुन् भनेर म्यासेज गरेको हुँ’ रातोपाटीसँग कुरा गर्दै एसएसपी पोखरेलले भने, ‘तर, मेरो एसएमएस हेर्नुअघि नै उनिहरुले बालकको हत्या गरिसकेका रहेछन् ।’ 

रातोपाटीलाई प्राप्त कल डिटेल अनुसार एसएसपी पोखरेलले पठाएको म्यासेज भोलिपल्ट अर्थात सोमबार बिहान ९ बजेर ८ मिनेट ४४ सेकेन्डमा डेलिभर भएको छ, जत्तिबेला निशानको हत्या भैसकेको थियो ।

समाचार स्रोतका अनुसार महानगरीय अपराध महाशाखाबाट अप्रेशनमा खटिएको प्रहरी टोलीले ९८४३६२०६७० नम्बरको सिमकार्ड अजय तामाङको गोजीमा फेला पारेको थियो । सिमकार्ड फेला परेपछि प्रहरीले अर्को सेटमा हालेर स्विच अन गर्दा पोखरेलले पठाएको म्यासेज देखिएको थियो । 

बच्चा मारेपछि खुलेआम पुरानो सिमकार्ड 

९८४३६२०६७० गोपाल र अजयले बच्चा अपहरणपछी फिरौती माग्न प्रयोग गरेको नयाँ सिमकार्ड थियो । उक्त नम्बर उनीहरुले गोपाल तामाङको मोबाइलमा हालेर चमेलीलाई फोन गरेका थिए । यही नम्बरबाट

शुरुमा दुई करोड माग गरेका उनीहरुले करीब दुई मिनेटपछि अर्को फोन गरेर चमेलीलाई भने, ‘दुई करोड नदिए ४० लाख दिनु, बच्चा पाउँछौँ ।’ 

यहाँ अनुसन्धानबाट खुल्नसक्ने पाटो के देखिन्छ भने, सम्भवत गोपाल र अजय पीडित चमेलीले ४० लाखको जोहो गर्न सक्नेमा विश्वस्त थिए । 

चमेलीसँग दोस्रो कुरा भएपछि बन्द भएको उक्त सिमकार्ड पछि प्रहरीले बरामद गरेपछि मात्र खुलेको प्रहरी स्रोतको भनाई छ । 

तर, त्यो बीचमा के भयो ? त्यस बीचमा ९८४३६२०६७० नम्बरको सीमकार्ड झिकेर अपहरणकारीहरुले ९८६१५५५१९९ नम्बरको सीमकार्ड सोही मोबाइल सेटमा हालेर चलाए । 

उक्त सिमकार्ड गोपालको पहिल्यैदेखि चलाउँदै आएको नम्बर हो । सोही सेटको आईएमईआई नम्बर ट्रेस गरेर प्रहरी अपहरणकारीसम्म पुगेको बताइएको छ । 

आईएमईआई नम्बर ट्रेस गरेपछि देखिएको गोपालको पुरानो नम्बर ९८६१५५५१९९ खुल्ला भएपछि देखिएको लोकेशनका आधारमा अपहरणकारी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीको निशानाबाट छिप्न सकेनन् । अन्ततः उनीहरु प्रहरी ‘इन्काउन्टर’को शिकार भए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप