केन्द्रीय संस्करण

राजा महेन्द्रकी भान्से क्षमावती, जसलाई राजाले नाम दिए तर दिएनन् चाँदीको चन्द्रमा

person access_timeसाउन २४, २०७५ chat_bubble_outline0

उनलाई आमाले साइँली भनेर बोलाउँथिन् । जन्मकुण्डली अनुसार पण्डितले उनको नाम विष्णुकुमारी ढुङ्गाना राखिदिएका थिए । विवाहपछि नाम बदलियो– विष्णुकुमारी खनाल । तर उनलाई सबैभन्दा मनपर्ने आफ्नो नाम हो  क्षमावती, यो नाम उनलाई दिएका थिए राजा महेन्द्रले । 

उमेर १०३ वर्ष पूरा भयो । अब त कति बाँच्नु भन्ने लाग्न थालिसक्यो रे उनलाई । भन्छिन्, आफूले गर्न सक्दा पो हो, अहिले कति दुःख दिनु भदाहरूलाई । अहिले भदाहरू क्षमावतीको बुढेसकालको साहारा बनेका छन् । 

१९७३ सालमा नुवाकोटको तारुकामा जन्मिएकी क्षमावती राजा महेन्द्रकी भान्से हुन् । उनले १५ वर्ष युवराज महेन्द्र (तर कुराकानीका क्रममा क्षमावतीले भने राजा भनेर सम्बाेधन गरिन्) लाई खाना बनाएर खुवाइन् । उनलाई ठ्याक्कै मिति भने याद छैन तर जब दरबारमा भान्सेका रूपमा पसिन्, उनलाई असाध्यै खुशी लागेको थियो । 

एक महिना उनले जहानको भान्सा (सबैका लागि खाना बनाउने ठाउँ) मा खाना बनाइन् । एक दिन उनले पकाएको तरकारी महेन्द्रले चाखेछन् । तुरुन्तै क्षमावतीलाई माथिको भान्सामा खाना पकाउने आदेश आयो । उनी दङ्ग परिन् । जहानको भान्सामा डोले, बैठके, धाई, दुवारे, नोकर, चाकरका लागि खाना पकाउनु पथ्र्याे । 

माथि (राजाको भान्सा) भने राजपरिवारलाई मात्र खाना पकाउनुपर्ने । उनलाई सरकारले खाना मन नपराउने हुन् कि भन्ने डर पनि उत्तिकै थियो रे, तर जुन दिनदेखि महेन्द्रले उनको हातको खाना खाए, त्यसै दिनदेखि अरूले पकाएको खाना खाँदै खाएनछन् । 

जहानको भान्सामा ठूला–ठूला भाँडामा खाना बनाउनुपर्ने अनि गह्रुँगो आरी बोक्दा उनको नाडीको हड्डी नै फुटेको थियो । 

त्यहाँ भान्सेले नै खाना पस्केर दिनुपर्ने । अनि जानको भान्सामा कतिसम्म गर्थे भने मन परेन भने दाउरा पनि काँचो र नबल्ने दिन्थे रे । नाङ्लाले हम्कँदै खाना पकाएको सम्झिँदा क्षमावतीका आँखा पिरा देखिए ।  

राजाको भान्सा 


राजाको भान्सा उम्काउनु सामान्य थिएन । खाना बनाउँदादेखि खाना पस्कनेबेलामा पनि विशेष ध्यान दिनुपर्ने । चित्त बुझ्दो भएन भने राजाले ज्यूनार नगरी हिँडिदिने पो हुन् कि भन्ने डरले पनि क्षमावती विशेष चलाख बन्थिन् ।  चामल टुक्रिएको हुनु नहुने । सग्ला चामल सलक्ल देखिनु पर्ने नत्र त राजा भाग नै बस्दैनथे । चामल भिजाउँदा धारामा रुमाल बाँधेर हातले पानीको प्रेसर नियन्त्रण गर्दै भिजाउनु पथ्र्यो । त्यसैगरी तरकारी काट्दा र पकाउँदा पनि त्यतिकै ध्यान दिनुपर्ने । दाल पकाउँदा उस्तै । खान बसिसकेपछि भने राजा निकै सजिला थिए, जे पनि मीठो मानेर खाइदिने ।   

खाना खाने समयको भने कुनै ठेगान हुँदैनथ्यो । कहिलेकाहीँ त अब खाना खान नआउने भए भनेर कपडा बदलेर बस्यो, राजा खाना खै भन्दै आइपुग्थे । त्यस्तो बेला फेरि हतार हतार कपडा बदलेर भान्सामा छिरिहाल्नुपर्ने स्थिति थियो । रातो रङको चोलो र धोती फेरेर खाना पस्किनुपथ्र्यो । भान्सामा लगाउने कपडा पनि तोकिए अनुसारकै लगाउनुपथ्र्याे । 

उनी भन्छिन्, दरबारको भान्सा अत्यासखाना जस्तै थियो । पकाउने ठाउँमा गर्मीले निकै सकस हुन्थ्यो । तर पनि उनी काममा धेरै खुशी थिइन् रे । उनले पकाएको खाना राजाले  निकै मीठो मानेर खाइदिएपछि क्षमावतीलाई त्यही अत्यासखाना स्वर्ग भएको थियो । 

राजाले मसिना चामलको भात खान्थे तर पस्कँदा निकै सजाएर पस्किनुपर्ने । कसरी सजाउनु हुन्थ्यो त ? जिज्ञासामा उनले भनिन्– चाँदीका थालमा मन्दिरको शिर जस्तो चुचुरो पारेर भात पस्कनु पर्ने । अनि चाँदीका कचौरा, प्लेटमा तरकारी, दाल, अचार, साग निकै राम्रोसँग सजाएर राख्नुपर्ने ।

उनी भन्छिन्, भान्सामा माछामासु पकाउने भिन्दै मान्छे थिए  । माछामासु नखाने तर व्रतको दिनमा पनि माछामासु छुनुपर्ने, पस्केर दिनुपर्दा भने उनलाई निकै दिगमिग लाग्थ्यो । राजपरिवारका पाहुना आइरहने हुँदा उनीहरूलाई खाना दिँदादिँदै कति पटक त उनी आफू खानै भ्याउँदिन थिन् । 

क्षमावतीले धेरै पटक राजा त्रिभुवनकी दुईवटी रानीहरूलाई पनि खाजा बनाएर खुवाएकी थिइन् । 

सुनको थाल

राजाले चौरासी व्यञ्जन खान्छन् रे, विदेशबाट आउँछ रे अनि राजाहरू सुनका भाँडामा खान्छन् रे । यस्तो सोच्नेहरू धेरै हुन्छन् तर क्षमावती भन्छिन्न, राजाको भान्सामा ४, ५ थरी मात्रै तरकारी पाक्थ्यो । राजा र उनका परिवार सामान्य खाना नै खान्थे । राजाको भान्सामा सिजनअनुसार जे तरकारी पाइन्छ त्यही पाक्थ्यो । कति भान्सेलाई राजाले यो यसरी पकाउ भन्दै सिकाउँथे रे तर क्षमावतीलाई भने राजाले कहिल्यै पनि सिकाएनन् ।

जन्मदिनमा चाहिँ राजाले सुनको थालमा खाना खान्थे । राजाको जन्मदिनमा धेरै किसिमका तरकारी माछा, मासु अनि पाथी चामल पकाउनु पथ्र्यो । निकै राम्रोसँग सजाएर खाना दिनुपर्ने । खाना भने निकै थोरै खान्थे रे राजाले । राजाले खाएर उब्रेको खाना सुसारे अनि तिनका छोराछोरीले निकै खुशी भएर खान्थे । 

राजाले मसिना चामलको भात खान्थे तर पस्कँदा निकै सजाएर पस्किनुपर्ने । कसरी सजाउनु हुन्थ्यो त ? जिज्ञासामा उनले भनिन्– चाँदीका थालमा मन्दिरको शिर जस्तो चुचुरो पारेर भात पस्कनु पर्ने । अनि चाँदीका कचौरा, प्लेटमा तरकारी, दाल, अचार, साग निकै राम्रोसँग सजाएर राख्नुपर्ने । वरिपरि सुसारे बस्थे, उनले चाहिँ खाना पस्केपछि राजाले खाउन्जेल हम्कँदै बस्नुपर्ने । 

चाँदीको चन्द्रमा 

राजाले खाना खाएपछि मात्रै भान्सेहरूले खान पाउँथे ।  क्षमावती पूर्णिमाको व्रत गर्थिन् । सधैँ झैँ खाना बनाएर उनी चन्द्रमाको दर्शन गर्न कुरेर बसिन् । राजा खाना खान ढिला आए । खाना खाएर राजा आफ्नो कक्षतिर लागे । क्षमावती कौशीमा पुग्दा चन्द्रमा बादलमा लुकिसकेछ । फेरि निस्कन्छ कि भनेर उनी कौशीमै कुरिरहिन् । रातको २ बजेछ तर चन्द्रमा निस्केनन् । क्षमावती चन्द्रमाको दर्शन गर्न कुरेर बसेको थाहा पाएर राजा महेन्द्र उनलाई हेर्न पो आएछन् । राजाले ‘अब म तिम्रा लागि चाँदीको चन्द्रमा ल्याइदिन्छु, त्यही हेरेर खाना खानू । अबदेखि यसरी रातभर भोकभोकै बस्ने हैन’, भनेर गाली गरेछन् । 

राजाले चाँदीको चन्द्रमा दिन्छु भन्दा उनको आत्माले चन्द्रमा जस्तै शितल महसुस गरेको थियो रे । उनले वर्षौं कुरिन् तर राजाले दिन्छु भनेको त्यो चाँदीको चन्द्रमा कहिल्यै दिएनन् । 

क्षमावतीले त्यो मानसम्मान पाइन् जुन सामान्य अवस्थामा उनको जीवनकालमा भोग्नु सम्भव थिएन । क्षमावतीलाई राजा महेन्द्र निकै मन पथ्र्याे । अनि राजाले ? उनी बेस्सरी हाँसिन् ‘हामीजस्तालाई कहाँ मन पराउनु र सरकारका त कति कति रानीहरू । देखिने मात्र दुईवटी ।’ 

लाटो पोई

राजदरबारभित्र काम गर्न आफ्ना मान्छे राख्न तँछाड मछाड नै हुन्थ्यो । क्षमावतीलाई हटाएर अन्यलाई राख्न निकै चलखेल भयो । तर युवराज्ञी इन्द्रले क्षमावतीका पति लाटा छन्, केही गर्न सक्दैनन् भनी उनलाई हटाउन दिइनन् । 

क्षमावतीको विवाह ९ वर्षकै उमेरमा भएको थियो । उनका आमाबाले काठमाडौँ विशालनगरका खनाल परिवारको छोरासँग बिहे गरिदिए । उनलाई केही पनि थाहा थिएन । केटा लाटो थियो केही काम नगर्ने । उनले श्रीमानबाट न माया पाइन् न वैवाहिक जीवनको कुनै अर्थ नै भयो ।  ससुराले भने उनलाई माया गर्थे रे । तर के गर्नु पछि घर फर्किंदा भने ससुराले केही नदिएको उनलाई अहिलेसम्म पनि गुनासो रहेछ । 

क्षमावतीकी दिदी दरबारमा काम गर्ने भएकाले उनले  दरबारमा काम पाएकी थिइन् । सँगसँगै श्रीमानलाई पनि दरबारमै लगेर राखिन् । उनका श्रीमान बैठकेहरू बस्ने घरमा बस्थे रे आफू दरबारमा रहुन्जेल ।

१५ वर्ष दरबारमा काम गरेर रित्तो हात निस्किएकी क्षमावतीले दरबारबाहिर भने धेरै दुःख पाइन् । लाटो श्रीमान केही गर्न नसक्ने कसैले नपत्याउने काम पनि नदिने । उनले पुतली सडकमा एक नेवारको घरमा १२ वर्ष काम गरिन्  । त्यही घरमा एउटा कोठामा उनलाई बस्न दिइयो, श्रीमानलाई पनि त्यही राखिन् । कोठा भाडा लिँदैन थिए । दिनभरी घरको काम (खाना बनाउने, भाडा माझ्ने, लुगा धुने अनि सरसफाइ) गर्नुपर्ने । त्यस घरका महिलाले महिनावारी भएका कपडा पनि धुन दिन्थे रे । सम्झिँदा पनि दुःख लाग्छ उनलाई । 

श्रीमान बिरामी भएर अन्तिम अवस्था हुँदा आफ्ना घरपरिवारको सहयोग र साथ नपाएकी क्षमावतीले अन्तिम अवस्थामा श्रीमानलाई एक्लै घाटमा कुरेर बसिन् । घाटमा कति दिनसम्म बिरामी श्रीमानलाई कुरेको भन्ने याद छैन तर जति कुरिन् साह्रै कष्टसँग कुरिन् । बागमतीमा कपडा धोएर  बिरामी श्रीमानको आडैमा सुकाउँथिन् । आँखाभरी आँसु पार्दै क्षमावती भन्छिन्– ‘दरबार बसेर मात्रै के नै हुने रहेछ र मेरा दुःख त भगवानलाई मात्रै थाहा छ’ । श्रीमानको मृत्युपछि उनी आफैले काजक्रिया गरिन् । सुन्दा केही अपत्यारिलो लागे पनि क्षमावतीको वास्तविकता यही हो ।  

जवानी दरबारमै सकियो 

क्षमावतीले आफ्नो जीवनको महत्वपूर्ण समय राजाको भान्से भएर बिताइन् । भन्छिन्, ‘मन पराउने धेरै आए पनि घोसेमुन्टो लगाएर हिँडे। केटा मान्छेसँग डर लाग्थ्यो । कसैले केही गरिदिने पो हुन् कि भन्ने । जुन उमेर लाउँ लाउँ खाउँ खाउँ भन्ने थियो, राजाको भान्से भइयो कहिल्यै फुर्सद भएन ।’

अलिकति समय पाए पनि बाहिर निस्किन डर लाग्थ्यो, अरूसँग बोल्न पनि डर लाग्थ्यो । दुःख पीडा सुनिदिनुपर्ने श्रीमान लाटा थिए । न त उनको कुरा सुन्न सक्थे न त उनको पीडामा मलम नै लगाउन सक्थे ।

क्षमावतीको जवानी यतिकै सकियो । पछि एक पटक बिहे गरौँ कि भन्ने पनि लाग्यो तर एक पटक भइसक्यो अब किन गर्नु जस्तो लाग्यो उनलाई । बाटामा कसैले नहेरून् भनेर छाता ढल्काएर हिँड्थिन् क्षमावती ।

१०३ वर्षको उमेरमा पनि उनको अनुहारको चमक घटेको छैन । अझ त्यो बेला कति राम्री थिइन होला । हो नि कति राम्री थिएँ थिएँ । यसोभन्दा उनको चाउरी परेको अनुहार धपक्क बल्थ्यो । 

लामो कालो कपाल थियो धाईका छोरीहरूले कति राम्रो कपाल हजुर त कति राम्री भन्थे । भनेर के गर्नु, कालो कपालमा धागो लगाउन कहिल्यै पाइनन् क्षमावतीले । त्यो दिन सम्झँदा उनलाई झनै दुःख लाग्छ । रानीहरूले दिएका पुराना सारीहरू लगाएर बाहिर हिँड्थिन उनी । चाडबाडमा भने उनलाई साथीहरूका छोरीहरूले शृङ्गार गरिदिन्थे । 

युवराज्ञी​ इन्द्र राज्यलक्ष्मी

युवराज्ञी इन्द्रले क्षमावतीलाई निकै माया गर्थिन् । श्रीमानलाई पनि दरबारमै राख्ने अनुमति दिएर युवराज्ञीले ठूलो गुन लगाइन् । युवराज्ञीले दरबारबाट कहिलेकाहीँ बाहिर निस्कनुपरे उनलाई अरूलाईभन्दा केही सुविधा दिने गरेकी थिइन् । युवराज्ञीले गाडीको व्यवस्था गरिदिन्थिन्, कहिलेकाहीँ गाडी भएन भने छाता ओडेर जाऊ भन्दै छाता दिन्थिन् । सबैलाई थाहा थियो क्षमावती युवराज्ञी इन्द्रकी प्रिय पात्र थिइन् । त्यसैले युवराज्ञीको मृत्युपछि इन्द्रको शृङ्गार गर्नेदेखि घाटसम्मको काम उनले नै गरिन् । युवराज्ञी इन्द्र स्वर्गीय हुँदा खुब रोएकी क्षमावती भन्छिन् बेहोस नै भएँछु, चुरा फुटेर हात रगताम्मे भएछ, केही थाहा पाइनँ ।

युवराज्ञीको मृत्युपछि उनलाई त्यहाँ बस्न त्यति मन लागेन र अब बाहिर जान्छु भनिन् । कता कता उनलाई आफू असुरक्षित महसुस गरिन् । डोले बैठकेहरूको हुल हुल हुने । कतै तिनीहरूले केही पो गर्ने हुन् कि भन्ने डरले सतायो क्षमावतीलाई । अब म बाहिरै बस्छु भनेर सरकारलाई विन्ती बिसाइन् । सरकारले नजाऊ भने पनि उनलाई बस्ने इच्छा नै भएन रे । सरकारले यति चाहिँँ भनेका थिए रे ‘तिम्रा लागि दरबारको ढोका सधैँ खुल्ला छ’ । 

क्षमावती कहिल्यै दरबार फर्केर गइनन् । पछि वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह पनि राजा बने तर उनी दरबार गइनन् । वीरेन्द्र र ज्ञानेन्द्रको आफ्ना छोराहरू जस्तै माया लाग्छ भन्छिन् क्षमावती । उनलाई वीरेन्द्र र ज्ञानेन्द्रलाई पिठ्युँमा बोकेर हिँडेको आजै जस्तो लाग्छ । 

अधिकारबाट नै वञ्चित

क्षमावतीले न त घर परिवारबाट कुनै आड भरोसा नै पाइन् न त दरबारबाट । हुँदाहुँदा अहिले यो उमेरमा पाउनुपर्ने वृद्धा भत्ताबाट पनि वञ्चित हुनुपरेको छ । सरकारले दिने मासिक दुई हजार त बलैले मिलाए भदाहरुले तर महानगरपालिकाले दिने भनेको ज्येष्ठ नागरिक भत्ता भने उनले अझै पाएकी छैनन् । भन्छिन्, ‘महानगरपालिकाले वडाको सिफारिस माग्छ तर विशालनगरको वडाले भोटर कार्ड ।’    

धेरै पटक बिरामी परेर थला पर्दा भदाहरुले नै उनलाई हेरे । खाना बनाउँदा दुवै आँखा पोलियो ६ महिना अस्पताल बसिन् । त्यति नै बेला भोटर कार्ड बनाउनुपर्ने समय थियो । अस्पतालमा भएकाले भोटर कार्ड बनाउन सकिनन् । पछि बनाउन नपाउँदा उनले पाउने वृद्धा भत्तासमेत पाइनन् । धेरै पटक बेहोस हुँदा भदाहरुले बचाए । किन बचाएको यतिकै छोडिदिएको भए हुन्थ्यो, भक्कानिँदै क्षमावती भन्छिन् । १०३ वर्षको मान्छे अब के बाँच्नु यिनीहरूलाई साहै्र दुःख भयो । उनलाई आफ्नै शरीर  अरूको बोझ बनेकोमा चिन्ता लाग्छ । 

विगत ४१ वर्षदेखि भदाहरुहरुको संरक्षणमा रहेकि छिन् क्षमावती । भदा रेशमराज ढुंगानाको वाफल स्थित घरमा हाल बसिरहेकी क्षमावती आफ्नो सन्तान नभए पनि भदाहरुको साथले आयु लम्बिएको बताउँछिन् । एक जना सुसारे राखिदिएका छन्, बिहान बेलुका स्याहार गर्न ।

समय समयमा अक्सिजनको आवश्यकता पर्ने भएकाले ३ वटा अक्सिजन सिलिन्डर उनको कोठामै राखिएको छ । ‘नानी मेरो कोठा अस्पताल जस्तो पो छ त’ क्षमावतीले भनिन् । खाना खुवाउने, औषधी खुवाउने सबै काम भदाहरूले नै गर्ने गरेका छन् ।

तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले चुनावी प्रचार प्रसारका क्रममा आफ्नो क्षेत्रका वृद्धवृद्धालाई मासिक ५ हजार र ८४ वर्ष नाघेकालाई मासिक १२ हजार रुपियाँ भत्ता दिने महत्वकाङ्क्षी घोषणा गरेका ।

विद्यासुन्दर शाक्यले मेयर पदको शपथग्रहणपछिको पहिलो बैठकमा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप ८० वर्षमाथिका पुरुष र ७५ वर्षमाथिका महिलालाई वार्षिक १२ हजार रुपियाँ भत्ता दिने निर्णय गरे । 
बाम घोषणापत्रको संयुक्त चुनावी घोषणापत्रमा पनि वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपियाँ पुर्याउने उल्लेख थियो । तर त्यो घोषणापत्रमै सीमित हुन पुग्यो ।

अर्थमन्त्री युवराज खतिवडाले वृद्धभत्ता नबढाई ७० वर्ष पुगेका नागरिकको १ लाख रुपियाँसम्मको स्वास्थ्य बिमा गर्ने व्यवस्था पनि ल्याए । सरकारको तर्फबाट पाउने सबै सुविधाबाट क्षमावती (विष्णकुमारी खनाल) वञ्चित छिन् । एक मात्र कारण हो– १०३ वर्षको उमेरकी क्षमावतीको भोटर कार्ड बनेको छैन । 

 


 

टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ