शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको ‘एक्सन’ र सरकारको ‘रियाक्सन’ : अब के हुन्छ ?

बिहीबार, २४ साउन २०७५, १० : ५९
बिहीबार, २४ साउन २०७५

काठमाडौं– सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भविष्यमा तनाव बढ्ने सङ्केतहरू देखिएका छन् । दुवैपक्षका ‘वाक युद्ध’ परिस्थितिलाई सामान्य गर्नेभन्दा पनि भड्काउने खालका छन् । 

सरकारले विप्लव नेतृत्व दोस्रो बरियतामा रहेका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई चन्दा उठाएको आरोपमा पक्राउ गरेर ऊप्रति आक्रमक रूपमा आउने सङ्केत दिएको छ । प्रकाण्डसँगै चालक मानबहादुर श्रेष्ठ र सहयोगी हिराचन्द्र आचार्य पनि पक्राउ परेका छन् । 

लगत्तै विप्लवले विज्ञप्ती निकालेर रिहाइको माग गर्दै नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपामाथि ‘दबाब’ बनाउने सरकारको नीति र त्यसको ‘भण्डाफोर’ गर्ने विप्लवको रणनीतिले आगामी दिनमा तनाव वा हिंसाका घटना बढ्न सक्ने आँकलन गरिएको छ । वार्ता गरेर समस्या हल गर्ने दिशामा दुवैपक्ष देखिएका छैनन् ।

बुधबार बसेको सो पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले विप्लव पार्टीका गतिविधिलाई छुट नदिइने नीति लिइएको जानकारी दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका खड्गबहादुर विश्वकमालाई पक्राउ गरेको अर्कोपल्ट प्रधानमन्त्री ओलीले पार्टी बैठकमा विप्लवको पार्टीप्रति कठोर नीति लिने सङ्केत दिएको सचिवालयका एक सदस्यले बताए । 

काँग्रेस नेता एवम् पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले विप्लव पार्टीका गतिविधि भविष्यका लागि चिन्ताजनक हुने बताउँदै आएका छन् । विप्लवप्रति सरकारले कस्तो रवैया अपनाउन सक्छ भनेर प्रधानमन्त्री ओलीले नेकपाको सचिवालयमा सङ्केत गरेका छन् ।

गृहमन्त्री विदेश रहेका बेला भएको यो घटना आफैमा अर्थपूर्ण पनि छ । इन्डोनेसियाको बालीमा आयोजना भएको ‘मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर साउन २३ गते स्वदेश फर्केका छन् । 

विप्लवको पार्टीमाथि स्थानीय, प्रदेश र सङ्घीय चुनावमा ठाउँठाउँमा बम विस्फोट गराएको आरोप छ । यसबाहेक विभिन्न ठाउँमा जबर्जस्ती चन्दा असुली गरेको तीव्र गुनासोपछि सरकारले विप्लवको पार्टीमाथि कडाइको नीति लिएको सुरक्षा अधिकारीहरूको दाबी छ

। ‘विप्लवको पार्टीका गैरकानुनी गतिविधि समयमै कन्ट्रोल’ नगरे भविष्यमा थप खतरा बन्न सक्ने प्रधानमन्त्रीको आँकलनपछि उक्त पार्टीमाथि दबाब बनाउने योजनामा सरकार पुगेको स्रोतहरूको भनाइ छ । यसअघि पनि प्रधानमन्त्रीले विप्लव पार्टीलाई गैरकानुनी काम नगर्न भन्दै सचेत गराएका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले पनि हिंसाका राजनीति नगर्न विप्लव पार्टीलाई नेतावनी दिएका थिए । सरकारले वारेन्ट काटेपछि विप्लव केही महिना पहिलादेखि नै भूमिगत छन् । उनका केन्द्रीय तहका अरू नेता पनि करिब–करिब भूमिगत अवस्थामा छन् । 

पार्टीको कामको सिलसिलामा मङ्गलबार हेटौँडाबाट काठमाडौँ फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेपछि विप्लवले तीनजनालाई केपी–प्रचण्ड सरकारले विनाकारण गिरफ्तार गरेको भनेर विज्ञप्ती निकाले । 

प्रकाण्ड पक्राउपछि विप्लव आक्रोशित : नेपाल बन्दसहितका कार्यक्रम घोषणा

पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित भएका छन् । उनले विनाशर्त नेता रिहाइ नगरे पार्टी फासीवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई विनासर्त रिहा गर्न जोडदार माग गर्दछ’, विप्लवको विज्ञप्तिमा भनिएको छ ।

बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डले आफ्नो पक्राउलाई ‘प्रतिक्रान्ति’को टिप्पणी गरे । राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर चरम मानसिक यातना दिने काम गरेको उनले बताएका थिए । उनले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी पनि दिए । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रूपमा सात करोडभन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाले राष्ट्रिय समाचार समितिलाई बताएका छन् ।

जिल्ला अदालत काठमाडौंले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो । 

आन्दोलनको घोषणा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पार्टी प्रवक्ता पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्दसहितका साउन २५ देखि २९ सम्मका विरोधका कार्यक्रम घोषणा गरे । विप्लवले जारी गरेको विज्ञप्तिमा साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मसाल जुलुस र २९ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको छ ।

मङ्गलबार हेटौंडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि प्रहरीले जब्बरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ । उनलाई काठमाडौं जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विप्लवका प्रवक्ता पक्राउ पर्दा वैद्यले निकाले यस्तो विज्ञप्ति, अदालतले दियाे ५ दिन थुनामा राख्न आदेश

वैद्यको साथ विप्लवलाई

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ परेको विषयलाई लिएर नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विरोध गरे । बुधबार विज्ञप्ति जारी गर्दै वैद्यले आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरूलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण, निन्दनीय र दुःखद विषय भएको उल्लेख गरे । उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्डलगायत सबै नेता तथा कार्यकर्ताहरूको विनाशर्त अविलम्ब रिहा गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

सत्तारुढ दलकै नेताको पनि प्रकाण्डलाई समर्थन

पूर्वमन्त्री एवम् नेकपाका नेता डीआर पौडेलले प्रकाण्डलाई विनाशर्त रिहाइ गर्न माग गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले प्रकाण्डको हातमा हत्कडी लगाएको फोटो राखेर लेखेका छन्, ‘बादल गृहमन्त्री ! प्रकाण्डको हातमा हत्कडी ? यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला ? वैचारिक निकटता, वर्गसङ्घर्षको जटिलता, वर्गपक्षधरता र मानव अधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो । प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन । प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन्, न त उनको पार्टीले नै ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो । नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यका लागि समस्या हुन सक्छ । त्यो राजनीतिक समस्या हो । राजनीतिक रूपले मात्र राजनीतिक समस्याको समाधान गर्न सकिन्छ । अतः प्रकाण्डलाई विनाशर्त रिहाइ गर सरकार !’

प्रधानमन्त्री ओलीको पहिला नै थियो सङ्केत 

प्रधानमन्त्री केपी ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको  भन्दै त्यस्तो गतिविधि भए सरकार हेरेर नबस्ने चेतावनी दिएका थिए । विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै ओलीले मुलुकले शान्ति समृद्धि खाजेकाले त्यस्ता गतिविधि गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका थिए । जेठ २१ गते प्रदेश ३ को प्रदेश सभा बैठकलाई  सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए सह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’ 

२०७४ मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले स्थानीय प्रहरी युनिटलाई विप्लवलाई पक्राउ गर्ने पुर्जी पठायो । तर यो पुर्जी कपिलवस्तुको शिवनगरस्थित विप्ललवको घरमा फागुन १६ मा टाँसियो । संयोगक कस्तो पर्यो भने माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएको दोस्रो दिन विप्लवको घरमा पक्राउ पुर्जी टाँस भयो । थापा फागुन १४ गते गृहमन्त्री भएका थिए । अहिले पनि विप्लवमाथि वारेन्ट छ । उनी भूगित अवस्थामा छन् । पक्राउ पुर्जीबारे विज्ञप्ती जारी गर्दै नेकपाले सरकारले यस्ता गतिविधि कार्यम राखे प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डका विरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको थियो । पछि त्यस्तो विज्ञप्ती पनि जारी भयो । 

त्यसपछि यो विषयमा प्रधानमन्त्री ओली बोले । चैत १७ गते प्रधानमन्त्री ओलीले माओवादीको खाल उठिसकेको भन्दै फेरि च्याँखे नथाप्न विप्लवलाई चेतावनी दिएका थिए । ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक मजाक गरेको बताएका थिए । रिपोटर्स क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सुतली बम बनाउनु सिद्धान्त हो ? चन्दा उठाउनका लागि क्रान्तिकारी बन्ने ? केपी ओलीलाई वारेन्ट गरेको रे । प्रचण्डलाई वारेन्ट गरेको रे । मदनकृष्ण हरिवंश र धुर्मुस सुन्तलीलाई भनेर हाँस्यव्यङ्ग्य प्रहसनका लागि सिफारिस गरिदिन्छु । विप्लवलाई म यस किसिमका राजनीतिक मजाक नगर्न आग्रह गर्छु । देश अब यस्ता कुरामा अल्झिँदैन । माओवादीको खाल उठिसकेको छ । फेरि च्याँखे थाप्ने काम बन्द गरे हुन्छ ।’

एक दैनिक पत्रिकालाई दिएको अन्तरवार्तामा गृहमन्त्री थापाले राज्यविरोधी शक्ति शान्ति र स्थायित्वका निम्ति खतरा भएको बताएका थिए । उनले वर्तमान सरकार जनताद्वारा निर्मित भएकाले त्यसको विरूद्ध समानान्तरमा अर्को सरकार बनाउनु जनविराधी कार्य भएको भन्दै त्यस्ता कदम नियन्त्रण गरिने बताएका थिए । यस अघि विप्लवले एक विज्ञप्तीमा भनेका थिए, ‘नेपालको संविधान विपरीत हिजो सङ्कटकालमा माओवादीका नेताकार्यकर्तालाई बेपत्ता पार्न, हत्या गर्न र चरम यातना दिन सजिलो होस् भनी खडा गरिएको सुरक्षा सेललाई केपी आफैले परिचालन गर्ने गरी तयारी पारिएको कथित केन्द्रीय जाँच ब्युरोमार्फत राजनीतिक प्रतिशोध साध्न र केपी सरकारको क्रियाकलाको विरोध गर्ने सबैलाई ठीक पार्नका लागि सक्रिय पारिएको छ ।’ चैत २४ मा चितवन पुगेर गृहमन्त्री थापाले विप्लव पार्टीका क्रियाकलाप अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका थिए । ‘शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिँदैछ त्यो सरकारलाई स्वीकार्य छैन । विप्लवको पार्टीका काम संविधान र कानुनविरोधी छन् । यो राजनीतिक गतिविधि मानिदैन, गैरराजनीतिक गतिविधि हो ।’ 

गत वैशाख १५ गते खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समूहका नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै प्रचण्डले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताएका थिए । उनले विप्लवको नामै नलिई भनेका थिए, ‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०–२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’

विप्लवले आफ्नो नेतृत्वमा पार्टी बनाएपछि भारतीय बामपन्थी पत्रकार आनन्दस्वरूप बर्माले नेपालमा जनयुद्ध–२ सम्भव रहेको भन्दै एक लेखसमेत लेखेका थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमाले र माओवादीबीचको एकतालाई  क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरूको गठजोड भनेर टिप्पणी गरेको थियो । विप्लवले यसलाई कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी तथा संशोधनवादीको एकता भनेका थिए । एकता कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड भएको उनको भनाइ थियो । एमाले–माओवादी एकतापछि विप्लवले आगामी दिन भीषण उथलपुथलकारी हुने छनक देखिएको बताएका थिए । 

वैशाखमा भएको त्यो तालिम 

सिन्धुली प्रहरीले विप्लव नेतृत्वको नेकपाले बेसक्याम्प राखेर सैन्य तालिम चलाएको बताएको थियो । वैशाख ८ गते पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमान्डको बेसक्याम्प बनाउन थालेको र विप्लवले वैशाख ५ गते सैन्य तालिमको समापन गरेको दाबी गरेको थियो । विप्लव पार्टीले यसअघि ठाउँठाउँमा जनकारवाही भन्दै केही जनप्रतिनिधिमाथि कालोमोसो दलेको थियो । विप्लव पार्टीले कन्ट्रक्सनका कम्पनीका सामानमा आगोसमेत लगाएको प्रहरीको भनाइ छ । 

महँगी बढाएको भन्दै केही ग्यास डिलरमाथि आक्रमण र कर नतिरेको भन्दै एनसेलका टावरमा आगजनीले सो पार्टी चर्चामा आयो । चूडामणि शर्माको घरमा तोडफोडदेखि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि विस्फोटमा पनि विप्लव पार्टीकै हात देखियो ।  

कैलाली घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली हानियो, राज्यले यसमा पनि विप्लवको हात देखेको थियो । चौधरीले एमालेबाट मेयर जितेका थिए । त्यसैले उपचारत मेयर चौधरीलाई चैत ४ गते अस्पतालमै पुगेर प्रधानमन्त्री केपी ओलीले भेटेका थिए । 


 
२०७४ चैत १ गते विप्लव नेतृत्वको नेकपा जिल्ला जनपरिषद् चितवनले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई पत्र लेखेर राजीनामा दिन र नदिए त्यसबाट हुन सक्ने सम्भावित परिणामका लागि तयार रहन चेतावनी दियो । 

भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कार्यक्रम स्थगित गर्न दबाब दिएर विप्लव पार्टीले आफ्नो शक्ति पनि देखाएको थियो । विप्लव पार्टीको चेतावनीपछि कार्यक्रमपछि स्थगित भएको थियो ।

पक्राउ र रिहाइको शृङ्खला 

–पार्टीका ४ जना पोलिट्ब्युरो सदस्य मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत बनेपामा मुद्दा चलाएर राखेको छ । तीमध्येका ओम पुन र पदम राई पटक पटक अदालतबाट रिहा हुने र लगत्तै पक्राउ पर्दै आएका छन् ।

–स्थानीय तहको निर्वाचनका बेला नेकपाका बैतडी जिल्ला इन्चार्ज वासुदेव जोशी गएको ५ मङ्सिरमा घरैबाट पक्राउ परे । बुबाको किरियामा बसेका जोशीलाई प्रहरीले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरेको थियो । 

–प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा ११ जना पत्रकारसहित करिब १२ सय बढीलाई प्रहरीले पक्राउ गर्यो । 

–गत ६ फागुनमा नेकपाले मोरङको विराटनगरमा आयोजना गरेको युवाहरूको राष्ट्रिय सम्मेलनमा जाँदैगर्दा पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पदम राईसहित करिब तीन सय जना नेता कार्यकर्ता पक्राउ परे । 

–प्रहरीले महासचिव विप्लवका दाजु चन्द्रबहादुर चन्दको कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ मा रहेको घरमै पक्राउ पुर्जी टाँस्यो ।

–१६ असारमा पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, स्थायी समिति सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य रणसिंह पुनमगर, काठमाडौँ सेक्रेटरी धिरेन्द्रा उपाध्याय, एकाराज राई, केदार राई र सिद्धान्त राईसहित ४० जना पक्राउ परे । अदालतको आदेशपछि उनीहरू रिहा भए । रिहा भएलगत्तै पदम राई र केदार राईलाई प्रहरीले पुनः गिरफ्तार गरेको थियो । उनीहरू अहिले पनि जेलमै छन् ।

विप्लव पार्टीको विगत

बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भयो । ०६९ असार ५ मा प्रचण्डसँग अलग भएर वैद्य नेतृत्वमा बादल, विप्लवलगायतका नेता बुद्धनगरतिर लागेका थिए । त्यस मितिदेखि ०७१ मङ्सिर ७ सम्म विप्लव वैद्य नेतृत्वको पार्टीमा थिए । 

नेतृत्व यथास्थितिमा फसेको र फुटको औचित्य पुष्टि गर्न नसकेको आरोप लगाउँदै विप्लव पार्टीबाट बाहिरिए । उनले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाए । वैद्य र बादललाई छाडेर हिँडेपछि विप्लवले आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे । थवाङमा महाधिवेशनको बन्दसत्र भयो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखे । उनको पार्टीले एकीकृत क्रान्तिको कार्यदिशा लिएको छ ।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजको नारासहित प्रदेशसभा र प्रतिनिधिसभा चुनाव बहिष्कार गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप