केन्द्रीय संस्करण

मनुजबाबु मिश्रसँग त्यो गुफा–गफ : ‘अशोकजी ! तपाईं भूतसँग कुरा गरिहनुभएको छ’

person access_timeसाउन २३, २०७५ chat_bubble_outline0

वैशाख ०७१ को कुनै एक दिन । 

बौद्ध, महाँकालबाट तीनचुलीतर्फ बिजुलीको १४ औँ खम्बा पार गरेपछि सडक छेउ एउटा कम्पाउन्ड आइपुग्छ । 

गेटमा लेखिएको छ, कलाकुटी । यो एउटा एकान्त हो, जहाँ अनौठो कलाकर बस्छन् । पछिल्लो २६ वर्षदेखि मनुजबाबु मिश्र (७८) नितान्त गुफाबासी भएका छन् । तर, गुफाभित्रै उनी डाइनोसरको शिकार गर्दा रहेछन् । यो उनको नित्य कर्म रहेछ । भूत र मान्छेभित्रको जनावर खोज्दै दिन बिताइरहेका उनीसँग मैले कुरा गरेँ के भन्नु ? उनका कुरा सुनेँ ।

उनी आफ्नै वाचाको बन्धनमा छन् र सीमित जमिनमा सीमित छन् तर रमाइलो के भने उनका थुप्रै चित्रहरू विश्वका धेरै सहरमा पुगेका छन् । 

...

वचनको बन्धनमा हुनुहुन्छ । यो तपाईंको रोजाइको एकान्तवास हो ?

हो । 

बाध्यता र रोजाइको एकान्तवासबीच के फरक हुँदो रहेछ ?

बाध्यताको एकान्तवासमा दबाब र तनाव हुन्छ । रोजाइको हकमा त्यो हुँदैन । यद्यपि मेरो बाध्यता केही पनि थिएन । तर पनि म एकान्तवासमा छु । 

राजनीति मेरो क्षेत्र होइन तर राजनीति यस्तो विषय हो, त्यसमा अलिकति परिवर्तन भयो भने मलाई त छाडिदिनु होस्, मकहाँ पालेको कुकुरलाई समेत त्यसले प्रभाव पार्छ । कुकुरलाई त प्रभाव पार्छ भने भने हामी त मान्छे । त्यहाँमाथि एउटा निश्चित समाजमा हुर्केको मान्छे । त्यसले हामीलाई प्रभाव नपार्ने त कुरै भएन । त्यसमाथि पनि कलाकार । यद्यपि म कलाकार हुँ कि होइन, अहिलेसम्म भन्न सकेको छैन तर पनि कलाकारिता क्षेत्रमा काम गरिरहेको छु । म जहिल्यै पनि हेर्छु, रसियन पेन्टिङले सन् १९९० सम्म अमेरिकामा प्रवेश पाउँदैन थियो । रसियन पेन्टिङ भनेपछि अमेरिकाले भित्र पस्नै दिँदैन थियो । अमेरिकाका अमूर्त कलाकार ज्याक्सन पोलोको पेन्टिङ रसियामा प्रदर्शनीको कुनै सम्भाव नै थिएन । अहिले पनि मनुजबाबुको पेन्टिङ साउदी अरेबियको जद्दामा लगेर प्रदर्शनी ग¥यो भने के हाल होला ?

यो सब किन हुन्छ ? राजनीतिको कारणले हुन्छ । राजनीतिज्ञ म होइन तर राजनीतिले अपठित मेरो श्रीमतीलाई प्रभाव पारिरहेको छ भने मलाई प्रभाव पार्नु कत्रो ठूलो कुरो हो र ? कसैलै त्यो प्रभावलाई बेवास्ता गरे । कसैले बढ्ता महत्व दिए । मैले बढ्ता महत्व दिन पुगेँ । ०१५ सालमा पनि बहुदलीय व्यवस्था देखिसककेको मान्छे म । मलाई महेन्द्रवादी भनुन् कि जे भनुन्, तर म राजतन्त्रवादी हुँ, राजावादी होइन । तर, महेन्द्रले १ पुस ०१७ मा जुन काम गरे, त्यो काम नगरेको भए यो देश त्यति बेलै विदेश भइसकेको हुने थियो । मेरो घरको वरिपरि इन्डियन आर्मी घुम्थे । मैले मेरै आँखाले ०१७ सालमा त्यो देख्दादेख्दै ०४६ सालमा त्यही कुरा दोहोरिएर आउँदा म ताली बजाउँ त ? खुशी भएर हाँसौँ कि दुखी भएर रोउँ ?

मेरो हृदयमा ठूलो चोट पुग्नु स्वाभाविक थियो । त्यसपछि म गुप्तवास बसेँ, आफुखुशी । म युनिभर्सिटीमा थिएँ । ०३५ सालमा उपसचिव भइसकेको मान्छे म । 

हाम्रो पूर्वीय दर्शनले ‘अद्वैतवाद र द्वैतवाद भनेर त्यसै भन्या’ होइन । हुन त पश्चिममा पनि त्यो छ, मोनोथिज्म एन्ड पोलिथिज्म । विश्व कहिले मोनोथिस्ट थियो त कहिले पोलोथिस्ट हुन पुग्यो । हामीकहाँ पनि दुवै खालका छन् । मचाहिँ मनोथिस्ट भएँ ।

०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो । खुशीयालीमा नारा, जुलुस, गाना बजाना  भयो । खुशीको त्यो उत्सवमा एउटा मान्छे दुखी थियो र त्यो मान्छे तपाईं हुनु हुन्थ्यो । 

मजस्ता अरू पनि दुखी थिए होलान् । तर दुःख व्यक्त गर्ने चाहिँ म भएँ । 

प्रष्ट रूपले ।

प्रष्ट रूपमा र आज २६ वर्षसम्म पनि दुःख व्यक्त गरिरहेको छु । गरिरहने छु । 

तपाईंले त्यसपछि जीवनको बाटो नै अर्को बनाउनुभयो । आफ्नो जीवनलाई नै बदल्नुभयो । 

हो, बदलिदिएँ ।

समाजबाट गुफामा आइपुग्नु भयो ।  

हो, म उता थिएँ । उता पनि थिएँ र झन् उता पनि थिएँ । कलाको क्षेत्रको कुनै पनि गतिविधिसँग परिचिति त थिएँ नै, नजिक पनि थिएँ । कलासम्बन्धी मेरो पहिलो लेख ०१५ सालमा गोरखापत्रमा छापिएको थियो । तत्पश्चात जे लेखियो कलासम्बन्धी नै लेखियो । सत्र अठारवटा किताब छन् । ती सबै कलासम्बन्धी नै हुन् । भन्नलाई कुनैलाई निबन्ध भन्छन् । कुनैलाई प्रबन्ध भन्छन् । कुनैलाई कथा भन्छन् आदि । तर जेसुकै नाम दिए पनि, विधा जेसुकै भए पनि ती सबै कलासम्बन्धी नै हुन् ।

म केही जान्दछु भने कलाबारे नै जान्दछु । अरू बारे त मलाई केही थाहा छैन । म अज्ञानी छु ।

राजनीतिप्रति तपार्इंको जो धारणा हो, त्यसलाई जीवनपद्धतिमै ढाल्नुभयो । विरोधको यो कठोर साङ्केतिक अभियान आफैभित्रबाट सुरु गर्नुभयो । गुप्तवास बस्ने निर्णय हतारमा गरिहाल्नुभयो । अहिले २६ वर्ष भइसक्यो । तर अहिले तपाईंलाई आफ्नो निर्णयप्रति पश्चाताप भइरहेको होला र आफैभित्र भत्किरहनु भएको होला । 

पश्चाताप छैन ममा । र, भत्किएको पनि छैन म । एकान्तमा बस्ने कोही एक जना छ भने उसले दुइटा बाहेक अर्को केही बनाउन सक्दैन । उसले कि देउता बनाउने प्रयास गर्छ । तर देउता बनाउन सक्दैन उसले । मान्छेले हजारौँ देउता बनाइसके । तर कुनै पनि देउता जस्तो देखिँदैन । त्यसैले मान्छेले बनाउन जान्ने एउटै कुरा छ भूत । विगतका कुराहरूलाई पनि भूत भन्छन् । राति तर्साउन आउने काल्पनिक आकारका दानव पनि भूत हो । 

यो भूतखाना हो । हो, यो भूतखाना हो । म भूतसँग गफ गरिरहेको छु । वर्तमान त बोल्दैन नि । वर्तमानमा हामी भर्खर मात्र छौँ भने हामी के बोल्छौँ ? हामीलाई वर्तमानको अनुभव कहाँ छ ? वर्तमानबारे के बोल्ने हामीले ? भविष्यमाथि बोल्न सक्ने त कुरै भएन । त्यसैले हामी जे गर्छौं, जे बोल्छौ सबै भूत हो । भूतबाहेक अरू केही छैन । त्यो भनेको समयको भूत ।

मान्छेले कि त देउता बनाउँछ कि त भूत । देउता बनाउने ढङ्ग त मेरो कहाँबाट पुगोस् । म जति बनाउँछु, सबै भूत बनाउँछु । भूतकै प्रशंसा गर्छु । भूतकै अध्ययन गर्छु । भूत नै बोल्छु । अशोकजी ! तपाईंसँग जो बोलिरहेको छु, त्यो पनि भूतैले बोलेको हो । यो वर्तमान बोलेको हो र ? होइन । यो भूतै बोलेको हो ।

यो भूतखाना हो ।

हो, यो भूतखाना हो ।

म भूतसँग गफ गरिरहेको छु ।

वर्तमान त बोल्दैन नि । वर्तमानमा हामी भर्खर मात्र छौँ भने हामी के बोल्छौँ ? हामीलाई वर्तमानको अनुभव कहाँ छ ? वर्तमानबारे के बोल्ने हामीले ? भविष्यमाथि बोल्न सक्ने त कुरै भएन । त्यसैले हामी जे गर्छौं, जे बोल्छौ सबै भूत हो । भूतबाहेक अरू केही छैन ।

त्यो भनेको समयको भूत ।

समयको भूत भन्नोस् या केही तर यथार्थमा त्यो भूत नै हो ।

कालको एउटा आकृति ।

भूत अर्थात डरलाग्दो आकृतिले तर्साउँछ भन्छन् । मान्छे भूतको पूजा गर्छन् । के भूतको पूजा भनेको हिजोको पूजा होइन ? तपाईं आउनुभएको दश मिनेटअगाडि तर अब त्यो भूत भइसक्यो । 

हामी भूतै भूतको बीचमा उभिएका छौँ ।

हो, जसरी लामो सर्पको टाउको एकापट्टि हुन्छ, पुच्छर त कहाँ हो कहाँ हामीलाई थाहा नै छैन । वर्तमान भनेको हाम्रो टाउको हो । 

तपाईं एकान्तवासमा हुनु हुन्छ । भूतखानामा हुनु हुन्छ । तर संसार कत्ति रमाइलो छ । नीलो समुद्र,  नीलो आकाश, पहाड, हिमाल र लालीगुराँस... 

तपाईं प्रशंसा गर्नुहुन्छ कसको ? हिजोको नीलोको त होइन । आजैको नीलोको प्रशंसा गर्दै हुनुहुन्छ । म अमेरिकाको प्रशंसा गर्छु भने अमेरिका नदेखेकै भए पनि मेरो कल्पनामा त अमेरिका छ नि । म त्यसैको प्रशंसा गरिराखेको छु । यथार्थमा वर्तमानमा हाम्रो समकालीन भावना भनेको भूतको अभिव्यक्ति हो । साहित्यकार, सङ्गीतकार, कलाकार जे भन्नोस् । विश्वको उत्कृष्ट दश साहित्यकारको नाम लिनोस् । ती सबैको विषय ‘इभिल पार्ट अफ द वल्र्ड’ नै हो । ‘इभिल पार्ट अफ द वल्र्ड’ भनेको के ? भूतको कहानी त हो । कसैले दुःखको कथा लेख्छ । कसैले विडम्बनाको कथा लेख्छ । कसैले युद्धको कथा लेख्छ । अर्थात ‘डार्केस्ट पार्ट अफ द वल्र्ड’ । उनीहरू विश्वको अध्याँरो पक्षको चित्रण गर्छन् । अध्याँरो पक्ष कहाँ छ भनेर खोज्यो भने हिजोसम्मको कुराको अनुभव हो, त्यो । अध्याँरो भनेको त हिजोसम्मको अनुभव त हो नि । 

एकान्त वा गुप्तवास भनेको जङ्गली युगमा फर्किनु हो ? तपाईंको हकमा ?

यो मेरो हकमा मात्र होइन, सबैको हकमा लागू हुन्छ । गुफाभित्र बस्नु भनेको भूतप्रतिको अत्यन्त सद्भावको अभिव्यक्ति हो । पाषाण युगमा मान्छे गुफामा बस्थे । बाहिर निस्कँु भने डायनोसरजस्तो कुनै जनावरले आक्रमण गथ्र्यो, माथ्र्यो । डायनोसरसँग कुस्ती खेल्ने तागत त मान्छेसँग थिएन । तर गुफाभित्र बसेर मात्र पनि सम्भव थिएन । भोक लाग्छ, खानु प¥यो । शरीरको बचावट त सबैले गर्छन् । त्यसैले कहिलेकाहीँ बाहिर निक्ल्यो । शिकार ग¥यो । अनि फेरि हत्तपत्त भित्र छिरिहाल्यो र ढोका थुनिहाल्यो । बाहिर निस्किन डर । यसो प्वालबाट हे¥यो । डायनोसर देखिएन भने बल्ल बाहिर निक्ल्यो ।      

उनीहरूको सबैभन्दा ठूलो शत्रु डायनोसर । अनि गुफाभित्र भित्तामा डायनोसरको चित्र बनाए । अनि त्यसलाई मारेको कल्पना ग¥यो । फेरि त्यसलाई मारेको चित्र बनायो । 

पच्चीस, तीस हजास वर्ष पहिलेको विश्वप्रसिद्ध गुफाचित्र हेरियो भने प्रष्ट रूपमा यही देखिन्छ । ठीक त्यही कुरा अहिले ममा पनि लागू हुन्छ । बाहिर जाउँ भने डायनोसरले भरिएको छ विश्व । भित्र बस्यो, तिनैलाई मा¥यो । तिनैलाई बनायो । तिनैलाई हत्या ग¥यो । 

गुफाबासको पछिल्लो २६ वर्षमा त्यस्तो कति हत्या गर्नु भयो ?

मैले हत्या गरेको होइन, हत्याको दुखद कथाको पुनरावृत्ति मात्र हुन्, मेरा चित्रहरू । विगतमा भएका दर्दनाक र दुःखदायी हत्या जे जति भएका छन्, तिनको स्मरण मात्रै हो । 
तपाईं भित्र बसिरहँदा राजदरबार हत्याकान्ड भयो । तपाईं भित्र बसेर फेरि त्यो घटनालाई जागृत गराउनु भयो ?

यस्ता घटना धेरै भएका छन् । नेपालका लागि त्यो हत्याकान्ड एकदम ठुलो र ज्यादै दुखदायी हो । तर विश्वमा भएका घटनाहरूका अगाडि नगण्य र सानो हो ।

भनेपछि या गुफाभित्र नेपाल मात्र होइन, विश्व नै छ ।

हो त नि । जस्तो चाबहिलमा एउटाले गोली हानेर अर्कोलाई मा¥यो । त्यो साहै्र सानो आकारको कुरा हो । तपाईं हामी गफ गरिरहँदा कहाँकहाँ कति बम खसिसक्यो होला ? त्यहाँ सयौं मान्छे मरिसके होलान् । अहिले काबुलमा वा अफगानिस्तानको हेरादमा कतिवटा बम खसिसके होलान् । त्यहाँ कति मान्छे मरिसके होलान् । त्यसको अघिल्तिर त यो साह्रै सुल्पाकार भएकाले बृहत् रूपमा मैले हेर्ने गरेको हो ।

तपाईं गुफामै हुँदा सशस्त्र युद्ध भयो । राजदरबार हत्याकान्ड भयो । गणतन्त्र आयो । राष्ट्रको जीवनमा आएका यी परिवर्तन नागरिकको हिसाबले ठूला भए । तर विश्व एउटा राष्ट्रले होइन, थुपै्र राष्ट्रहरूले बनेको छ । त्यसैले विश्व रङ्गमञ्चमा यो सानो घटना भयो । 

हो । यो सानो सुल्पाकारको घटना हो । प्यासिफिक ब्यान्ड भन्ने एउटा पेन्टिङ छ । यो धेरै वर्ष अगाडि बनेको होला । त्यसमा शान्तिको कुरा छ । शान्तिको ढोलक त जहाँ पनि बजिरहेको छ । जहाँतहीँ शान्तिका लागि चिच्याहट छ । शान्तिको आवाज अशान्तिको बेला झन् ठूलो आउँछ । हर्ष र शान्ति छ भने त्यो बेला शान्तिको कामना गर्नै परेन । 

तपाईंको यो गुप्तवासलाई विद्रोह चेतना भन्ने कि पलायन ?

जसले जे देख्छ, त्यही भनिदिए हुन्छ । तर म यथार्थवादी हुँ । यथार्थ चित्र मात्र बनाउँछु । म अमूर्त चित्र बनाउँदिनँ । व्याख्या गर्नुपर्ने चित्र पनि बनाउँदिनँ । (नजिकै भित्तामा रहेको चित्र देखाउँदै) ऊ त्यहाँ पछाडि पट्टि एउटा चित्र छ । त्यहाँ बन्दुकको ब्यारेल छ । ब्यारेलको गोली बस्नुपर्ने ठाउँमा परेवाले गुँड बनाएको छ । परेवा भनेको शान्तिको प्रतीक हो । बाहिर निस्कुँ भने चिलहरू छन्, झम्टन तम्तयार । मेरो विश्व त्यस्तो छ । 

शान्तिको स्थिति यस्तो छ कि परेवाहरू बन्दुकको नालभित्र बसिरहेका छन् ।

हो । म पनि एउटा परेवा हुँ र बन्दुकको नालभित्र छु । कसैले ट्रिगर दबाइदियो भने त्यहाँबाट गोली निस्किन्छ । म मात्र होइन विश्व नै ध्वस्त हुन्छ । अब यो बृहततालाई नहेरेर मैले यहाँ अब कसले कसलाई मा¥यो ? कसले कसलाई हान्यो भनेर के सोचौँ ? यदि हामी मान्छे हो भने मान्छे भएर सोचौँ, नेपाली भएर होइन ।

यदि मेरो टाउको पनि एन्टेना नै हो भने विश्वका घटनाहरू के मेरो टाउकोमा नठोक्किएर जाला ? हिमालको हावा त म भएको ठाउँमा पनि आउँछ । तर यो हावा हिमालको मात्र होइन, ल्याटिन अमेरिकाको पनि त हो । 

गुप्तवासको यो लामो अवधिअघि र पछि के भिन्नता पाउनुभयो ?

केही परिवर्तन छैन । ०४६ सालअघि पनि युद्ध नभएको होइन । त्यसअघि त हो, विश्वमा त्यत्रा त्यत्रा युद्ध भए । विश्वयुद्ध भयो । हिटलर जन्मियो । हामी सधैँ हिटलरलाई गाली गर्छौं । अहिले त एउटा होइन कति छन् कति हिटलर । यो देशमा । यो विश्वमा । एउटा हिटलरलाई मात्र किन गाली गर्नु ?

२६ वर्षको यो एकान्तमा तपाईं एक्लै एक्लै तर विश्व आफ्नो यात्रामा अगाडि बढिरह्यो र कहाँ पुगिसक्यो । तपाईं जहाँको तहीँ हुनु हुन्छ ।

समयसँगै त म पक्कै जान सकेको छैन । समयभन्दा धेरै पछाडि भइसकेँ म । तर त्याटिन अमेरिकामा ठूलो कला प्रदर्शनी हुँदैछ भन्ने मैले यहाँ बसेरै थाहा पाइसकेँ । कता हो जहाज डुब्यो रे । एकजना नोबेल पुरस्कार विजेता मेक्सिकन विद्वानले भनेका छन्, मान्छेको टाउको विश्वको सबैभन्दा शक्तिशाली एन्टेना हो । 

यदि मेरो टाउको पनि एन्टेना नै हो भने विश्वका घटनाहरू के मेरो टाउकोमा नठोक्किएर जाला ? हिमालको हावा त म भएको ठाउँमा पनि आउँछ । तर यो हावा हिमालको मात्र होइन, ल्याटिन अमेरिकाको पनि त हो । 

त्यसैले अहिले साइन्स एन्ड टेक्नोलोजीसँगसँगै यात्रा गर्न नसके पनि आज विश्वमा मेरो वरिपरि के घटना भएको छ भन्नेमा चाहिँ त्यति अनभिज्ञ छु जस्तो लाग्दैन । 

फेरि पनि एकान्तवासकै कुरा । तपाईं कतै जानु हुन्न । तर तपाईंंकहाँ मान्छे आउँछन् । 

हो, म खुला छु ।

त्यो भएपछि यो त एकान्तवास नै भएन नि, एक प्रकारले । 

म मेरो परिधिभन्दा बाहिर जान्न । तर मेरो परिधिभित्र मेरा मित्र, आफन्त आउँछन् भने त हृदय खोलेर स्वागत गर्छु । 

 त्यसको अर्थ एक साइडबाट तपाईं समाजबाट टाढा हुनुभयो । अर्को साइड के हो भने, तपाईं समाजसँगै हुनु हुन्छ । 

समाजसँग छु भनुँ भने पल्लो घरको मान्छेले मलाई चिन्दैन । ‘म्यान इज अ सोसियल एनिमल’ भन्छन् । तर म मान्छेलाई जनावर मात्र भन्छु । म जनावरको खोजीमा छु । मेरो हरेक पेन्टिङ त्यसैका साक्षी हुन् । सम्भवतः सेक्सपियरका समकालीन इटालियन समाजशास्त्री टम्स एकिनास्ले १५औं शताब्दीमा भनेका थिए, म्यान इज अ सोसियल एनिमल । त्यति बेला त्यो कुरा ठिकै हो । समाजबाहेक बाहिर मान्छे बाँच्न सक्दैन थियो । मान्छे समाजमै जन्मन्थ्यो, हुर्कन्थ्यो । तर अहिले कसरी सामाजिक प्राणी हो मान्छे ? जब कि तपाईं यो कोठामा हुनु हुन्छ । अर्को कोठामा मान्छे मरिसक्यो तर तपाई भात खाइरहनुभएको छ, अड्डा जान हतार भयो भनेर । तपाईं पल्लो कोठाको मान्छे चिन्नु हुन्न । तपाईं तल्लो तलामा कोे बस्छ, थाहा पाउनु हुन्न । माथिल्लो तलामा को बस्छ, चिन्नु हुन्न । तपाईं यसरी एक्लिसक्नु भयो । न्युयोर्कको प्लेटफर्मबाट हिंड्नेलाई यो पनि थाहा छैन कि उसको बाउ कहाँ छ ? आमा कहाँ छिन् । दाजुभाइ कहाँ छन् ? ऊ नितान्त एक्लो छ । आधुनिकतासँगै एक्लोपन पनि आइरहेको छ । यस्तो एक्लो मान्छेले आफूलाई सामाजिक भन्न मिल्ला ? त्यसैले सामाजिक भन्ने शब्द झिकिदिनुस् होस् र यति मात्र भन्नु होस्, मान्छे जनावर हो ।

अहिले म र तपाईं हाँसेर कुरा गरिरहेका छौँ । यति बेलासम्म हामी मान्छे नै हौँ । परस्परमा हाम्रो हृदयले भन्दो हो, कति भद्र मान्छे । तर अभद्र बोलेर वा केही गरेर अहिले तपार्इं मलाई रिसाउने बनाइदिनोस् त । अथवा मैले तपाईंलाई रिसाउने बनाइदिऊँ त । तपार्इंभित्रको जनावरले अहिले नै आक्रमण गर्न आउँछ ।

कस्तो ‘माइक्रोस्कोपिक’ अवलोकन र व्याख्या ...

त्यसैले मान्छे दुई खुट्टे जनावर हो । हामीभित्र त्यो जनावर छ भन्ने थाहा छ हामीलाई । कसैले रिस उठ्ने व्यवहार गर्नेबित्तिकै तुरुन्तै आक्रमण गरिहाल्छ । मलाई थाहा छ, मभित्र जनावर छ । तर त्यो कस्तो छ ? त्यसको रूप र रङ कस्तो छ ? त्यो कुन आकारको छ ? बाँदरजस्तो छ कि ? ब्वाँसो जस्तो छ कि ? मैले आजसम्म देख्न सकेको छैन । मैले मेरा हजारौँ चित्र बनाइसकेँ । ती जम्मै मान्छेभित्र जनावरको खोजी हुन् । 

खोजी ग¥यो भने बाराक ओबामाले पनि भेटाउलान् कि उनीभित्र कत्रो र कस्तो जनावर छ । 

जनावरविनाको मान्छे नै छैन ?

जनावरविनाको मान्छे छँदै छैन ।

र, त्यसको उत्खनन् र अभिव्यक्ति नै तपाईंको कला हो ।

मेरो पहिले पनि त्यही थियो । अहिले पनि त्यही छ । 

त्यो अहिले अझ सघन भयो होला ?  

जसरी मेरो उमेर बढ्दै गयो, उसैगरी मेरो विचार र धारणा पनि अझ बलियो बन्दै आयो होला । म ढाकामा पाँच वर्ष बसेँ । त्यहाँ मेरो दृष्टि अध्याँरोतिर मात्र गयो । त्यहाँको उज्यालोले मलाई छोएन । विशाल सहर, विशाल घरहरू र अरू कयौं चीजहरू थिए तर त्यसले मलाई छोएन । तर त्यहाँ लडेका, दुख पाएका मान्छेहरूका पीडाले मात्र मलाई सताइरह्यो । काठमाडौँ फर्कें । यहाँ पनि त्यही देखें । मैले सम्झेसम्म ‘इभिल पार्ट’लाई आत्मसात गर्दै आएँ । 

चौबीस घन्टामा मध्यान्ह बाह्र बजेको घाम नै सबैभन्दा उज्यालो समय हो । तर, त्यसपछि त्यो घाम पनि धमिलिएर जान्छ । त्योभन्दा अगाडि चढ्दै थियो । त्यसपछि घट्दै छ । 

अब यो उज्यालो कति छ भन्ने ? असी प्रतिशत त अँध्यारो छ । बीस प्रतिशत मात्र उज्यालो छ, विश्वमा । (ढोकातिर देखाउँदै) यहाँ उज्यालो छ भन्नु हुन्छ कि अध्याँरो ? यसलाई उज्यालो भन्नु हुन्छ भने योभन्दा बढ्ता उज्यालो (ढोकाबाहिर देखाउँदै) ऊ त्यहाँ छ । उज्यालोको घनत्व फरक छ ।

लेखक, कलाकार, सङ्गीतकार आदि स्रष्टाको मूल काम के हो भने अन्धकारमा लुकेका कुरालाई खोजेर प्रकाशमा ल्याएर राखिदिने । सभ्यता त्यसैबाट बनेको हो ।     

हामी जे जति खोज्छौँ, त्यो सब अँध्यारोबाट हो ।

तपाईंको यो एकान्तवास । अर्थात यो अध्याँरो बास त्यसैका लागि हो । 

पक्कै पनि । अध्याँरोमा एक छिन आँखा चिम्लिनुहोस् त । तपाई कति देख्न सक्नु हुन्छ ? आँखा खोलेर हेर्नोस् । तपार्इं सङ्कुचनमा पर्नु हुन्छ ? तर अध्याँरोमा हेर्न अलिकति अध्ययन चाहिन्छ । अलिकति विशेष दृष्टि चाहिन्छ । सामान्य अवस्थामा अध्याँरोमा हिँड्न अलि गाह्रै हुन्छ । 

अध्याँरोमा हिँड्ने मान्छे असाध्यै कम छन् ?

ज्यादै कम । अहिले त सबै उज्यालोप्रेमी । अलिकति उज्यालो भएपछि पुग्यो । तुरुन्त प्रकाश चाहियो । जसको पनि त्यही छ । कलाको क्षेत्रमा पनि त्यही छ । अहिले हरेक व्यक्तिको एउटा वाद छ । जस्तो कि मनुजवाद ।

एकान्तवासमा तपाईंले कति चित्र बनाउनु भयो ?

२६ वर्षमा सामान्यतया हरेक दिन एउटा । यसोभन्दा गलत हुने छैन म । आज बिहानै मात्र पनि एउटा गरेँ । एउटा नबन्या’ दिन खोज्न मुस्किल छ । म प्रायः सधैँ स्केच पनि गर्छु । पेन्टिङ गर्छु । तर, म लेख्न सक्दिन । औँलाहरू ‘एनेस्थेटिक’ भइसकेका छन् । 

तपाईंसँग त अथाह रहेछन् ।

हो, अब हजारमा होइन, लाखमा कुरा गर्नु पर्ला जस्तो छ ।

यसलाई सङ्ग्रहालय बनाउनुपर्ने पो लाग्यो मलाई त । यसबारे के सोच्नु भएको छ ?

मैले सोच्ने कुरा होइन । मैले एउटै कुरा जान्या’ छु । त्यो भनेको चित्र बनाउनु हो । मनभित्रको उकुसमुकुसलाई जसरी हुन्छ, क्यानभासमा उतार्नु हो । जसरी दिसा च्याप्दा ट्वाइलेट गइन्छ र फर्केर आउँदा आनन्द हुन्छ, त्यस्तैभित्रको उकुसमुकुस फालेपछि शान्ति हुन्छ । त्यत्ति हो, मैले जान्या’ । प्रदर्शनी कसरी गर्ने ? कसरी ग्राहक खोजेर बेच्ने ? कसरी आफ्नो प्रचार प्रसार गर्ने ? त्यो अरूकै क्षेत्र हो । मेरो रुचि, क्षमता र नियन्त्रणको क्षेत्र त्यो होइन । 

म यो सबै राष्ट्रको नाममा दिन चाहन्छु तर संरक्षण चाहिँ हुनुपर्छ । त्यो नै चिन्ताको कुरा हो ।

तपाईं कलम र कुची दुवै चलाउने मान्छे । यो बीचको फरक वा समानता ?

साहित्य पनि मेरा लागि माध्यम हो । र, चित्रकला पनि माध्यम नै । शब्दले पनि आखिरमा चित्र नै बनाउने हो । के कविता एउटा चित्र होइन ? कविता लेखे पनि चित्र नै बनाउने हो । कथा लखे पनि चित्र नै बनिरहेको हुन्छ । जहाँ पनि चित्र त छ । मैले लेख्ने र चित्र बनाउने सँगसगै गर्दै आएँ । मेरा लागि साहित्य र कला भन्नु एउटै हो, जहाँबाट चित्रमै पुगिन्छ । त्यसो त म ०१५ सालतिर रेडियो नेपालमा गीत पनि गाउँथे । ग्रामविकास भन्ने कार्यक्रम थियो । मैले त्यो कार्यक्रममा गीत गाएको थिएँ । 

तर म कति कुराहरू अहिले बिर्सन्छु । २६ वर्षभित्र बसेँ । त्यसले पनि मलाई धेरै अनाडी बनायो ।

अनाडी त बनायो होला तर चिन्तन ...

चिन्तनको मोडचाहिँं अलिकति फरक प¥यो । त्यही हो, अलिकति अर्कै बाटोबाट हिँड्न थालेँ म ।      

विस्तारै तर गतिशील स्टाइलमा चुरोट तानिरहनुभएको छ । बडो गजबको मित्रता रहेछ ।

मैले छोड्न नसक्नेहरूमध्ये एउटा यो पनि हो । 

छोड्न नसक्नेहरूको लिस्टमा को र के पर्छ ?

श्रीमती छोड्न सक्दिनँ । घरपरिवार छोड्न सक्या’ छैन । घरमै छु म । सास रहुन्जेल सांसारिकताका कुनै कुरालाई पनि छोड्न सकिँदैन । कला त छँदैछ । 

चुरोटको धुँवामा कत्तिको हराउनु हुन्छ ? यो एकान्तमा तपाईंलाई यो धुँवा पनि बादल लाग्दो हो ।

स्केच बनाइरहँदा चुरोट खाँदैगर्दा एउटा स्थिति बन्छ । धुँवाको जुन साङ्गीतिक उडान हो, त्यो कहिले कुन रूपमा देखिन्छ कहिले कुन रूपमा । ग्रीष्म ऋतुको आकाशमा बादलमा तपाईं जे कल्पना गर्नुस्, उसले त्यही रूप दिन्छ । धुँवा पनि झन्डै झन्डै त्यस्तै हो । तर धुँवालाई मैले त्यति महत्वपूर्ण रूपमा लिएको छैन । तर, मैले खाएको चुरोटको धुँवाले मलाई निकै आकर्षण ग¥या’ छ । धुँवाको उड्ने र तरङ्गिने गतिको प्रभाव छ, मेरो पेन्टिङहरूमा । 

भूतमय छ तपाईंको मनोविज्ञान । हुन त सबैको कुरा त्यही हो तर कतिले अनुभव गर्छन्, कतिले गर्दैनन् । फरक त्यत्ति हो ।
हो । फरक त्यत्ति हो ।

तपार्इंको भूत जो छ, त्यो त छँदैछ । वर्तमान र भविष्य पनि आखिर हुने त भूत नै हो । तैपनि तपार्इंंको भविष्य कसरी अगाडि बढ्ला ?

आत्मशान्ति र उकुसमुकुस शान्त गर्नका लागि म चित्र बनाइरहने छु । अशान्ति र उकुसमुकुसको जो कसिलो भकारी छ भित्र, त्यसलाई खुकुलो पार्ने मेरो उद्देश्य हो । यसैमा मेरा आगामी दिन पनि बित्ने छन् ।
०४६ अघि तपाईं कहाँ भेटिनु हुन्थ्यो बढी ? तपाईं खास खास कुन ठाउँमा जानु हुन्थ्यो ? उदाहरणका लागि न्युरोडको पीपलबोट, पाटनको गल्ली, आदि ।

मेरो कुनै खास अखडा थिएन । मन्त्रालयमा हुन्जेल मन्त्रालयमै बस्थेँ । मन्त्रालयबाट निस्केर कहिल्यै भारतीय सांस्कृतिक केन्द्र, कहिले अमेरिकन सांस्कृतिक केन्द्र, कहिले ब्रिटिस काउन्सिलतिर बारम्बार गइरहन्थेँ ।

खासगरी लाइब्रेरीहरू गइरहनु हुन्थ्यो ।

हो, तिनताक म ‘सो कल्ड’ पिएचडी पनि गर्दै थिएँ । सामग्रीहरू धेरै जुटिसकेका पनि थिए । 

तर अब ती लाइब्रेरीहरूमा तपाईंलाई कहिल्यै देखिने छैन । सहरको कुनै गल्ली वा पीपलबोटमा पनि तपाईंलाई देखिने छैन ।

जबसम्म बहुदलीय व्यवस्था रहन्छ, तबसम्म सम्भव नै छैन । हिजो पनि कसले हो, प्रमुख अतिथिका लागि आग्रह गरेको थियो । तर म कतै जाने कुनै गुन्जाइस छैन । 

(पत्रकार अशोक सिलवालले सुरु गरेको ‘पुस्तक–पत्रकारिता’क्रममा विभिन्न क्षेत्रका विभिन्न व्यक्ति–व्यक्तित्वसँग पटक पटक भेटेर गहिरा कुराकानी गरेका थिए । त्यसैक्रममा उनले मनुजबाबु मिश्रलाई पनि भेटेका थिए । सिलवालले मनुजबाबुसँग पटक पटक गरेका लामो अडियो संवाद उनीसँग अझै पनि सुरक्षित छ ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ