बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँ लक्षित बजार अनुगमन, अधिकांश पसलमा म्याद नाघेका खाद्य वस्तु

सोमबार, ०२ साउन २०७४, १८ : १२
सोमबार, ०२ साउन २०७४

आकाश तारा बयक

सुर्खेत – संयुक्त बजार अनुगमन समिति सुर्खेतले गाउँ लक्षित बजार अनुगमन यस वर्ष फेरी शुरु गरेको छ ।
वर्षायाम लागेसँगै अखाद्य सडेगलेका वस्तुको विगविगी बढ्नुका साथै झाडापखाला जस्ता दैविकप्रकोप बढ्ने हुँदा होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्न समितिले अनुगमन तीब्र पारेको हो ।


वर्षातका बेला ढुवानी अभावले खाद्य वस्तुहरुको कृत्रिम अभाव, कालाबजारी, चर्को मूल्यमा कमसल वस्तुको विक्री वितरण नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए । 

उनका अनुसार संयुक्त बजार अनुगमन समितिले सोमबार रामघाटका दुई दर्जन खाद्य तथा किरानासँगै केही औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरुसँगै कमसल चकलेट, खाने तेल, विस्कुट, मशाला, कोल्ड ड्रिंक जस्ता वस्तुहरु फेला परेका थिए । समितिले ती म्याद नाघेका, कमसल खाद्यवस्तुहरु जफत गरी ठाउँका ठाउँ नष्ट गरेको रामघाट प्रहरी चौकीका असई अम्मरबहादुर सुनारले बताए । उनले अनुगमनका क्रममा रामघाट बजारमा अहिले पनि धेरै पसलहरु दर्ता विनै सञ्चालन भईरहेको पाईएको जनाए ।


समितिका सदस्य तथा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले नियमित रुपमा बजार अनुगमन अब गाउँ लक्षित गरिने बताए । ्

 गाउँ–गाउँमा सडेगलेका, म्याद नाघेका र कमसल वस्तुहरुको विक्री वितरण हुँदै आईरहेको जनगुनासोलाई रोक्न बजार अनुगमन तीव्र पारिएको उनी बताउँछन् ।  ‘अनुगमनका क्रममा धेरैजसो पसलहरुबाट अझैपनि सडेगलेका, म्याद नाघेका र कमसल वस्तुहरुको विक्री वितरण हुँदै आएको पाईएको छ,’ उनले भने, ‘ती पसलहरु मध्ये कतिपय दर्ता विना नै सञ्चालनमा रहेका छन् ।’ त्यस्ता विक्रेताहरुलाई अनुगमन समितिले तत्काल काूननी कारवाही गरी कालाबजारी गर्ने चलनको अन्त्य गरिने उनको भनाइ छ । अहिले पनि जिल्लामा ४५ प्रतिशत पसलहरु दर्ता विना नै सञ्चालनमा रहेका छन् । 

बजार अनुगमनमा बजार संरक्षण अधिकृत न्यौपाने, प्रशासकीय अधिकृत पौडेल, भेरी गंगा नपा वडा नं. ११ का वडा सदस्य रुपी सुनार, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका पदाधिकारी सहित उपभोक्ताकर्मी चन्दा विक र रामघाट प्रहरीको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप