शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणकाजी र वर्ग पक्षधरताको प्रश्न

बुधबार, २३ साउन २०७५, ११ : २५
बुधबार, २३ साउन २०७५

वर्ग पक्षधरता सिर्फ जप गर्ने विषय होइन । यो त आफ्नू निजी जीवनमा आइपर्ने सबै खालका खत, बात र घात सहेर पनि तमाम श्रमजीवी जनताको हक हितका लागि समर्पित हुने विषय हो । 

अर्थात् देश भन्नु जनता, जनजीवीको हित हो भने वषौँ जेल, नेल, हत्कडी, निर्वासन आदि अनेक सकस सहेको पनि वर्ग पक्ष धरताकै लागि हो ।  तर अहिले यसको सार र अन्तर्य विपरीतका गतिविधि भइरहेको छ । 

हाल पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले पार्टी नीति, पद्धति, प्रणाली र अनुशासन  विपरीत आवेशमा राजीनामा दिएको उक्त काममा फिर्ता हुन नमानेको विषय समाचार भाइरल भएकाले यो विषय र सन्दर्भमा यस क्षेत्रमा देखापरेका वर्ग विचलनका अन्य मुद्दाहरू समेटेर मन्थन गर्न खोजिएको हो । 

राजनीतिकर्मी, कवि, कलाकार र साहित्यकारले आफ्ना सिर्जना, गोष्ठी समारोहमा, कार्यपत्रको अन्तर्यमा  पक्षधरतालाई सही रुपमा कलात्मक  पक्षपोषण गरिरहे देखिन्न बरु त्यसमा पनि कतिपय अवस्थामा तिनमा  विचलन, अपचलन र स्खलन  देखिन्छ । 

यसको एउटा महत्वपूर्ण उदाहरण अहिले झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको मूल्याङ्कनका सन्दर्भमा देखिन्छ ।  यो सरकार बन्ने अवस्था टड्कारो देखेर यसलाई कामै गर्न नसक्ने अवस्था सिर्जना गर्न योग्यता र अनुभव भएका सारा कर्मचारीलाई सेवा निवृत्त हुन भारी आर्थिक सहुलियतसहित  घोषणा गरियो । सरकारी ढिकुटी रित्तो पार्न डप्फाका डप्फा कर्मचारीलाई विश्व भ्रमण गर्ने प्रोत्साहित ग¥यो । अनि आर्थिक सहुलियत प्रदान गर्ने नाममा सरकारी धन स्वाहा पारियो । 

विगत पञ्चायत कालमा मन्त्री पदबाट हट्ता  क्वाटरबाट कार्पेटसमेत उठाएर मन्त्रीले लान्थे भन्ने समाचारमा सुन्निथ्यो  । नभन्दै रक्षा मन्त्री ईश्वर पोखरेलले  ओली सरकार सिंहदरबार छिर्दा त्यहाँभित्रको स्थिति  कवाडखाना जस्तो रहेको दर्दनाक अवस्था एक टिभी कार्यक्रमको अन्तरवार्तामा उल्लेख गरेका थिए । उनका अनुसार मन्त्रालय र मन्त्रिपरिषद् र मन्त्री क्वाटरका फर्निचर, बैठक कक्ष, आवास, पङ्खा विद्युतीय जडान आदि सबका सब भताभुङ्ग र लथालिङ्ग रहेको बताएका थिए ।

 अहिले आएर प्रतिपक्षको नियत हेर्दा सरकारसित हर कुरामा एक न एक निहुँ खोज्न, अल्झाउन, बल्झाउन, अड्काउन र कामममा बिघ्न बाधा दिने दुर्नियतले काम भइरहेको देखिन्छ । लाग्छ यो सरकारले जे–जति राम्रो र दूरगामी उद्देश्यका साथ काम गर्छ, ती सबैको विरोधका लागि विरोध  प्रतिपक्षको उद्देश्य देखिन्छ ।

यसमा कतिपय मिडियाको हात पूरै नकारात्मक देखिन्छन् । यसो किन गरिएको हो भने यस सरकारले विगतका तुलनामा मात्र होइन, देश र जनताका हितमा कोसेढुङ्गो हुने  छाँट देखेर नै हो । त्यसमा पनि प्रधानमन्त्री के कम, यस खालका विरोध हुने अवस्था पहिले नै देखेर नै दुईतिहाई नजिक पु¥याएर काम गर्ने  अनुकूलता बनाइयो  ।

 त्यति मात्र होइन, विगत सरकारले आफ्ना पालामा गर्नै पर्ने ऐन, नियम र कानुन बनाउन फिटिक्कै ध्यान दिएन । अब ओली हिजोका तमाम थाँती काम गर्नुपर्ने र ढिकुटी लगभग रित्तो रहेको हुनाले श्वेतपत्र जारी गर्नुपर्ने अवस्थाबाट अघि बढ्नुपर्ने जटिल अवस्था छ । 

अब श्वेतपत्र जारी गर्नु भनेको देशको आर्थिक अवस्था करिब करिब टाट पल्टिएको स्थिति हो । यो  विकट अवस्था नबुझ्नेसित के कुरा गर्नु र  ? 
देशलाई घरसित तुलना गर्ने हो भने ओली सरकार बन्दा देश रुपी घर पानीले पखालेजस्तो रहेछ  । यस्तो घरलाई जोगाउँदै  परिवारको गर्जो टार्नु र पु¥याउनुपर्ने देशको अवस्था  छ । 

यस्तो अवस्थामा अभिभावकले परिवारका सबै सदस्यलाई घरै बन्धकी राखेर खुसी पार्न हुन्छ ? जेथोमेथो नभएपछि  मीठो मसिनु कसरी खुवाउनु, नयाँ नयाँ नाना र छाना कसरी दिनु र खुसी पार्नु ? यहाँसम्म कि ज्येष्ठ नागरिकलाई भत्ता बढाउने विगतको घोषणा पनि यसैपालि कार्यान्वयन गर्न सकिएन ।

प्रा.डा. युवराज सङ्ग्रौलाले ओली नेतृत्वको सरकारका आजका सीमा र समस्याको वास्तविक स्थिति उल्लेख गर्दै थिए ।  उनले माइतीघर मण्डलामा विरोध जुलुस गर्न पाउनुपर्छ भन्ने प्रतिपक्षीको एकोहोरो जित र जिद्दीप्रति कटाक्ष गरेर बोलेका थिए ।  सङ्ग्रौलाले एक टिभी कार्यक्रममा अन्तरवार्ता दिँदै माइतीघर मण्डला अत्यन्त साँघुरो स्थान हो । जहाँ जुलुसका नाममा हुल हुज्जत गर्नै  सुहाउँदैन  यहाँ हुने असंयमित गतिविधिले यसैको नजिक रहेको सर्वोच्च अदालतका  काममा  समेत सोझो बाधा पुग्ने बताए  ।

 तर यही विषयलाई निहुँ बनाएर पूर्वप्रधानन्यायाधीश र मानव अधिकारकर्मी समेत पार्टी राजनीतिक कार्यकर्ताझैँ खुल्ला सडकमा विनबित्थामा पाखुरा सुर्कन थालेको देखिन्छ । 

सङ्ग्रौलाले ओली सुखी नेपाली र समृद्ध नेपाल सार्थक बनाउन प्रतिबद्ध देखिन्छन् तर  सरकारका मन्त्रीले अनुभवका कमी वा के कारणले हो, योग्यतापूर्वक प्रधानमन्त्रीको ध्येयप्रति एकाकार भएर काममा लाग्न नसकेको हो कि भन्ने बताए ।

बोल्नै नजान्नु अनि बोल्न नजानेर मन्त्री पद जाँदा धुरुधुरु रुनु, सबै कर्मचारीलाई सोलोडोलो मनलाग्दी आरोप र आक्षेप गर्नु, कामको क्षमता देखाउन नसक्नु, सिन्डिकेट हटाउनु तर भित्रभित्रै  नहटाउन जिद्दी गर्नु आदि कतिपय मन्त्रीका कमजोरी देखिए । 

सरकार र पार्टीका सकारको समर्थनमा खुलेर नबोल्ने अनि माक्र्सवाद पढाउन तराई–मधेस जाने नेताले सरकारका राम्रा कामको कति खुलासा गर्छन् हेर्नु छ । नेकपाकै कतिपय नेता, कार्यकर्ता, बुद्धिजीवी र स्रष्टाहरू यथार्थ सत्य नबुझी बहकिएका देखिन्छन् । सरकारले राम्रा कामको लक्षण देखाएको छ,  प्रतिकूलताका पहाडका टुप्पामा बसेर अनुकूलता सिर्जना गर्न प्रयत्नशील देखिन्छ ।

अनुगमन माथि अनुगमन गर्ने काम राम्रा र  खोट रहित काम गर्ने सरकारको योभन्दा ठूलो शुभ सङ्केत  अरू केही पनि हुन सक्तैन ।

 यस सरकारले दुई छिमेकी देशका बीचको  सम्बन्धलाई सुधार गर्ने काम गर्दै एक एक समस्याहरू छिमल्दै अगाडि बढिरहेको देखिन्छ । तर वर्ग पक्षधरताको लिखित कुनै सिद्धान्त, नीति, कार्यक्रम र कार्यदिशा केही नभए पनि प्रतिपक्ष आफ्ना गलत मुद्दामा एक ढिक्का भएको देख्दा उनीहरू चाहिँ वर्ग पक्षधर हुन् र पक्का वर्ग पक्षधर हुन् भन्ने लाग्छ । अहिले यतिखेर विगतमा पार्टी त्याग गरेका, लामो समय सुस्त शिथिल र निस्कृय र पलायन गरेका प्रतिपक्षी पार्टीका तमाम नेता र कार्यकर्ताहरू सरकारविरुद्ध मात्र होइन, नेकपाविरुद्ध कसम खाएर लागिपरेको देखिन्छ । 

तर असत्य र अपराधका पछि लागेर कुनै पनि पार्टीको स्थायित्व हुन सक्तैन । यस्ता कृत्य कम्युनिस्ट पार्टी र सरकारविरुद्ध विगत कालमा गरेको अनेक भ्रम पानीको फोकाझैँ फुटेर गएको सम्झना होला । त्यसैले प्रतिपक्षी नेता धनराज गुरुङले कामु प्रधानन्यायाधीश जोशीको शङ्कास्पद प्रमाणपत्रका विषयमा  खोजी गर्नुपर्ने बताउँछन् । उनी असत्य र अपराधको भारी बोक्न चाहँदैनन् भन्ने देखिन्छ । 

तर नेकपाका केन्द्रीय, मोर्चा सङ्गठनका पदाधिकारीहरू, बुद्धिजीवी परिषद् वा सङ्गठन, प्राज्ञहरू र प्राध्यापक तथा शिक्षकहरूले सरकारका राम्रा कामहरूका बारेमा औपचारिक वा अनौपचारिक भेला बैठक र भेटघाटमा देशैभरि वर्तमान सरकारविरुद्ध फैलाएका नियोजित भ्रमलाई कलात्मक तथा चित्तबुझ्दो पारामा प्रतिवाद गरेको देखिन्न । 

पार्टीमा चरम उपभोक्तावादी चिन्तनले घर गरे जस्तो देखिन्छ । थापा थरका एक केन्द्रीय नेताले पूर्व अर्थमन्त्री अधिकारीको भारी बढाइँ र अहिलेको बजेट र अर्थमन्त्रीका बारेमा होटेल हार्दिकमा भएभरको गाली  बौछार गरेका थिए । हुन पनि आफू नजिकको नेता अर्थमन्त्री हुँदा विभिन्न निहुँमा आर्थिक सहयोग लिन मिल्ने अवस्था हुन्थ्यो होला । अहिले त्यसो हुन सकेन कि भन्ने लाग्छ ।

हुन पनि श्वेतपत्र जारी गर्नुपर्ने अवस्थाको देशको बजेट कस्तो होला र हुनसक्छ ? यो कुरा त कथित केन्द्रीय नेताहरूले बुझ्नुपर्ने हो । तर वर्ग विचलन र स्खलन भएपछि व्यक्तिगत शुभलाभ र स्वार्थलाई केन्द्रमा राखेर हर कुराको विश्लेषण र विवेचना हुन थालेको पाइन्छ ।  नेकपाको दुईतिहाई नजिकको ओली सरकार देशी विदेशीका लागि ठूलो चिन्ता र छटपटीको  विषय बनेको छ । प्रतिपक्षको यो विरोधको लहरो बाहिरसम्म तन्किएको हुनसक्छ । 

प्रतिक्रियावादीहरू देश र जनताको हित र उत्थानको नीतिका अभावमा सदा छलछाम, षडयन्त्र र खुराफात मात्र गरिरहन्छन् ।

यही तिनको नीति, पद्धति र प्रणाली हो ।  यिनीहरूसित  देश र जनताको समृद्धि र विकासको  नीति सिद्धान्त भए चीनले यति छोटो अवधिमा समृद्धि सन्दर्भमा अमेरिकालाई किन टक्कर दिनसक्यो ? चार सय वर्षको पुँजीवादी राजनीतिको इतिहासमा पनि गर्न नसकेको आर्थिक भौतिक समृद्धि चीनले असी वर्षमा नै  गरिदियो ।

यो सरकार बलियो हुँदा र जनताका हितमा काम गर्दा  पश्चिमाहरूको खेलो समाप्त हुन्छ र उनीहरू पार्टीभित्रका र बाहिरका मानिसहरूलाई उचालेर, उठाएर, भड्काएर र लडाएर जसरी पनि सरकारलाई अस्थिर र असफल बनाउन सकेसम्म  प्रयत्न गरिरहेकै छन् र गरिरहन्छन् । यस्तो अवस्थामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उर्फ प्रकाशले संयमित हुनु अपरिहार्य देखिन्छ ।  प्रधानमन्त्री तथा  अध्यक्षद्वयले   नारायणकाजीसित सरकार र पार्टी नीति र निर्देशन विपरीत स्लाइन पानी पिउँदै भोक हड्ताल बसेका  डा. गोविन्द केसी र उनका मतियारहरूसित भेट्न गएको विषय नै विवादमा परेछ । पार्टी अनुशासन, पद्धति र प्रणाली विषय पुनः स्मरण गराउँदा  काजी निक्कै रुष्ट भएको र यो अझै थामिइसकेको देखिन्न । यो वास्तवमा सामान्य कुरा होइन । सरकार र पार्टीसितको सहमतिमा वार्ता गर्न नगएर आफू खुसी वार्ता गर्दै हिँड्ने पनि होइन । नीति, पद्धति र पार्टी अनुशासन विपरीत जो कोही पनि मिल्दैन । 

पठन संस्कृतिका पण्डित, पार्टी अध्यक्ष वा महामन्त्री भइसकेका नारायणकाजी आफै हिजो मातहत नेता र कार्यकर्तालाई पार्टी पद्धति, प्रणाली र अनुशासन बारे प्रशिक्षण गर्दै हिँड्ने अनि अहिले आफै विपरीत व्यवहार गर्ने यो किमार्थ जाती होइन  । 

एपी १ टिभीको अन्तरवार्तामा काजीले  उल्लेख गरेझैँ पार्र्टीको प्रवक्ता स्वतः एक्लै औपचारिक वार्ता गर्दै हिँड्ने व्यक्ति होइन । प्रवक्ता  एकल, सर्वेसर्वा र  कार्यकारी पद होइन । पार्टी कमिटीको आफ्नो जिम्मेवारी र दायित्वअनुसार जोकोहीले काम गर्नुपर्छ । यही हो वर्ग चरित्र, चिन्तन र कार्यशैली र जीवन शैली । जे गरे पनि पार्टीको  हितमा गरेको छु भनेर मात्र हुँदैन । हित कुराले होइन, काम र परिणामबाट  पुष्टि हुनुपर्छ । 

केन्द्रीय सदस्य हुँ भन्छन् तर त्यस स्तरको चिन्तन र चरित्र देखिन्न  । मन्त्री भएका छन् तर मन्त्री मनोविज्ञानमा पुरातनता व्याप्त देखिन्छ । नेता हुँ भन्ने तर एक घण्टाको भाषणमा एउटा पनि  सारगर्भित वाक्य र वाक्यांश सुन्न पाइन्न । 

त्यसैले वर्ग पक्षधरता देखाउने र भट्याउने मात्र विषय होइन आफूले व्यवहारमा लागू गर्नु पर्ने विषय हो र यसलाई  आत्मसात् गर्ने विषय हो ।

एक अमुक प्रमुख नेता विचलित हुँदा त्यसको असर तल कति पर्छ र त्यसले वर्ग हित र पक्षधरतामा कति कुप्रभाव पर्छ भन्ने कुरा बुझ्नुपर्छ  । 

एउटा साँचो कुरा चाहिँ के हो भने प्रसिद्ध लेखक सौरभले भनेझैँ प्रधानमन्त्री ओली समयका सामन्त हुन् । उनका दुई भारी कमजोरी देखिन्छन्, एक समयको ख्याल नगर्नु र अर्को आफ्नो स्वास्थ्यप्रति पूर्ण रूपमा बेवास्ता गर्नु यी दुवै कमजोरी नसुधारी  समृद्धिको यात्रालाई गन्तव्यसम्म पु¥याउन सकिन्न ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप