रौतहटमा समयमै काम गर्न नसक्दा १ अर्ब ११ करोड रकम फ्रिज
रौतहट – रौतहटका सरकारी कार्यलयले समयमै काम गर्न नसक्दा एक अरब भन्दा बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख अजय भटराईका अनुसार आर्थिक वर्ष २०७३/ ७४ मा विभिन्न कार्यालयहरुले खर्च गर्न नसकेपछि एक अर्व भन्दा बढि रकम फ्रिज भएको हो ।
गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको चालु र पुँजीगत गरी बिनियोजित ८ अर्ब ६६ करोड १८ लाख ८६ हजार कुल बजेट मध्ये १ अर्व ११ करोड ४४ लाख रुपैया फ्रिज भएको छ । चालु तर्फको कुल बजेट ६ अर्ब २८ करोड ४९ लाख २२ हजार मध्ये ७८ करोड ५४ लाख तथा पंूजिगत तर्फको कुल बजेट २ अर्व ३७ करोड ६९ लाख ६४ हजार मध्ये ३२ करोड ९० लाख फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याँक अनुसार रौतहटमा चालु र पूंजिगत तर्फ गरी सबै भन्दा बढी सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको १९ करोड १६ लाख ३६ हजार, जिल्ला शिक्षा कार्यालयको १० करोड २ लाख ३० हजार, फ्रिज भएको हो ।
त्यसैगरी जिल्ला समन्वय समितीको १० करोड ७० लाख १३ हजार, जिल्ला प्राविधिक कार्यालयको ४ करोड २२ लाख र जिल्ला स्वास्थ्य कार्यालयको १ करोड २२ लाख ९ हजार लगायत जिल्लाका अन्य कार्यालयहरुको रकम फ्रिज भएको प्रमुख भटराईले जानकारी दिएका छन् ।