केन्द्रीय संस्करण

ब्याजदर घटाउन बजार अझै तयार भइसकेको छैन : नेपाल बैङ्कका सीईओ शाहसँगको अन्तरवार्ता

person access_timeसाउन २२, २०७५ chat_bubble_outline0

देशकै जेठो बैङ्क नेपाल बैङ्कमा  कुनै बेला ५६ प्रतिशतसम्म खराब कर्जा थियो । जसले बैङ्क लगभग थलापरेकै अवस्थामा देखिन्थ्यो । तर त्यो खराब कर्जालाई घटाएर गत आर्थिक वर्षको असार मसान्तसम्म २.९९ प्रतिशतमा  झारेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड रुपियाँ खुद नाफा गरेको बैङ्कको अन्य वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन् । पुरानै प्रणालीमा वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैङ्कले साउन मसान्तसम्म एनएफआरएस प्रणालीमार्फत वित्तीय विवरण सार्वजनिक गर्ने जनाएको छ । एनएफआरएसमार्फत प्रतिवेदन सार्वजनिक गर्दा नाफा अझै बढ्ने देखिएको छ । 
नेपाल बैङ्कको चौथो त्रैमास, कर्जा नउठ्ने समस्या,  बैङ्कहरूले ब्याजदर घटाउन नसकेका कारण र राष्ट्र बैङ्कले तोकेको कृषि कर्जामा १० प्रतिशत लगानीमा समस्या लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीका लागि एलिजा उप्रेतीले नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्रप्रताप शाहसँग गरेको कुराकानी :

नेपाल बैङ्कले चौथो त्रैमासमा नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ, नाफा बढाउन तपाईंहरूको प्रयास कस्तो रह्यो ?
नेपाल बैङ्कको वैदेशिक विनिमय आय बढेको छ । मुख्य त ब्याज आम्दानी हो । यसमा पनि हामीले उल्लेख्य प्रगति गरेका छौँ । नन्फन्ड बिजनेसबाट पनि प्रशस्त वृद्धि गर्न सकेका छौँ । यसमा व्यवस्थापनको मिहिनेत छ । नेपाल बैङ्कको पहिले र अहिलेको अन्तरलाई कति फरक छ भनेर तपाईं आफैले विश्लेषण गरेर हेर्न सक्नुहुन्छ । नेपाल बैङ्कको अनट्याब पोटेन्सियललाई मैले ट्याब गर्न सकेँ । यसमा मैलेभन्दा पनि मेरो टिमको मिहिनेतले सम्भव भएको हो भन्ने मलाई लाग्छ । 

असार मसान्तसम्मको प्रतिवेदनमा तपाईंहरू लगभग सबै वित्तीय सूचकमा राम्रो देखिनुभएको छ । तर पनि अझै खराब कर्जा ३ प्रतिशतको (२.९९ प्रतिशत) हाराहारीमा छ, अझै यो बढी भएन ?
नेपाल बैङ्क सबैभन्दा पुरानो बैङ्क हो अर्थात नेपालकै जेठो बैङ्क । यो पुरानो बैङ्क भएकाले कुनै बेला ५६ प्रतिशतसम्म खराब कर्जा थियो । एकदम बिरामी भएको नेपाल बैङ्कलाई हामीले यो अवस्थासम्म ल्याएका छाै‌ं । तपाईंले भन्नुभयो ३ प्रतिशत पनि बढी होइन भनेर । तपाईंले भनेजस्तै समग्र बैङ्किङ उद्योगमा त्यसलाई बढी मान्न सकिएला तर नेपाल बैङ्ककै आफ्नो इतिहासलाई हेर्नुहुन्छ भने हामी धेरै स्वस्थ भइसकेका छौँ । कहाँ ५६ प्रतिशतको एनपीएल, कहाँ २.९ प्रतिशत । पुरानो ऋणहरू अझै छन् त्यसमा समस्या छन् । अहिले हामीले फस्ने ठाउँमा लगानी गरेका छैनाै।

कस्ता खालका समस्याले गर्दा कर्जा उठ्न सकेन ?
एक त यो पुरानो बैङ्क भयो । त्यसमा नियमन हुन सकेन । अहिले राष्ट्र बैङ्कले आक्रामक रूपले नियमन गरिरहेको छ । राष्ट्र बैङ्कको नियमनको सकारात्मक असर बैङ्किङ उद्योगमा परेको छ । पहिला ऋण दुरूपयोग धेरै हुन्थ्यो । त्यतिबेलाका ग्राहक अटेर खालको र बिजनेसलाई राम्ररी चलाउन नसकेका, अनुभव नभएका मानिसले पनि ठूला–ठूला आयोजना गर्न आकर्षित हुन्थे र गर्थे । उनीहरूसँग नगद नै साथमा छैन भने जति कराए पनि ऋण उठ्न सक्तैन । अहिले हामीले दिएको नयाँ ऋणमा यस्तो समस्या छैन । हामीले ऋण तिर्न सक्ने क्षमता छ कि छैन, उसको आयस्रोतले कति भ्याउँछ भनेर अध्ययन गरेर मात्र दिएका छौँ । आशा गरौँ हाम्रो खराब  कर्जा अझै घट्छ । नयाँ ऋण डुब्दैन, पुराना उठाउँछाैं । 

अहिलेसम्म पनि बैङ्कहरूले ब्याजदर घटाउन सकेको अवस्था देखिँदैन, बैङ्कहरू अझै असहज अवस्थामै छन् ?
अहिलेको परिस्थितिमा तपाईंले भनेको विषय निकै सान्दर्भिक छ । तर ब्याजदर निर्धारण गर्न राष्ट्र बैङ्कहरूले बैङ्कहरूलाई छोडिदिएको छ । अझै बैङ्कहरूले ११ प्रतिशतको सीमा नतोकिदिएको भए १५, १६ प्रतिशतसम्म पुग्थ्यो । ब्याजदर धेरै हुनु अर्थतन्त्रका लागि राम्रो विषय होइन । मलाई लाग्छ ब्याजदर घटाउने सवालमा अझै बजार तयार भएको छैन । जस्तै, स्टक मार्केट किन घटिरहेको छ भन्दा मार्केटले सहज अनुभव गरिरहेको छैन । त्यस्तै बैङ्कहरूले पनि सहज अनुभव गर्न नसकेको हुन सक्छ । 

अझै बैङ्कहरूले ११ प्रतिशतको सीमा नतोकिदिएको भए १५, १६ प्रतिशतसम्म पुग्थ्यो । ब्याजदर धेरै हुनु अर्थतन्त्रका लागि राम्रो विषय होइन । मलाई लाग्छ ब्याजदर घटाउने सवालमा अझै बजार तयार भएको छैन ।

तर पछिल्लो समय बैङ्कमा निक्षेपको वृद्धि हुन थालेको छ । ब्याजदर घट्न खोजिरहेको छ । नेपाल बैङ्ककै केसमा भन्नुहुन्छ भने हाम्रो बेस रटे (आधार मूल्य) अलि कम भएको छ । अङ्को भन्दा निकै कम छ तर हाम्रै तुलनामा पनि चैत मसान्तको तुलनामा असारमा घटेको छ । बेस रेट घटेपछि ऋणको ब्याजदर घट्ने हो । तपाईं हामीले सोचेजस्तो बैङ्कहरूमा अझै कम्फर्टटेबल स्थिति भइसकेको छैन । यसका लागि समय लाग्छ । बैङ्कहरू नाफामुखी छन् । अहिले नै घटाइहाल्यो भने पछि फेरि समस्या पर्ने हो कि भन्ने सोचले पनि केही समय हेरिरहेको हुन सक्छ । तर अब ब्याजदर घट्छ भन्ने मलाई लाग्छ । 
बैङ्कहरू आक्रामक रूपले लेन्डिङमा गएका थिए ।  नेपाल बैङ्कको सीसीडी रेसियो ७३ प्रतिशत छ । अरूको ७८, ७९ प्रतिशतसम्म छ । यसले पनि देखाउँछ, नेपाल बैङ्क कतिको कम्फर्ट छ भनेर । हामी सरकारी बैङ्क भएकाले पनि उत्तरदायीपूर्ण लगानीमा केन्द्रित हुनुपर्छ । एकताका ऋण माग्न आउनेहरूको बाढी नै आयो । हामीले धान्न नसक्ने अवस्था थियो तर अहिले त्यस्तो छैन । ब्याजदर घट्ने आधारहरू तयार भइरहेका छन् । अब चाँडै सस्तो ब्याजदरमा पनि कर्जा लिन सक्ने अवस्था आउला ।  

बैङ्कहरू बढी नाफामुखी हुन खोज्दा आक्रामक लेन्डिङमा गएको भन्ने तपाईंको आशय छ, जनताको पैसासँग खेल्ने संस्था यस्तो आक्रामक हुँदा समस्या हुँदैन ?
नेपालमा बैङ्कहरू धेरै भए र ती बैङ्कहरूले व्यवहार गर्ने तरिकामा पनि विविधता छ । बैङ्कहरूले आक्रामक रूपले बैङ्किङ गर्न थाले । जनताको पैसासँग खेल्ने संस्थाले धेरै आक्रामक रूपले प्रस्तुत हुन खोज्दा तपाईंले भनेजस्तै समस्या आउँछ । यसले छोटो अवधिमै समस्या ल्याउँछ भन्ने कुरा पनि देखियो । गत वर्ष र यो वर्ष पनि निक्षेपमा ठूलै सङ्कट भयो । निक्षेपको सङ्कटको बारेमा विभिन्न ठाउँबाट विभिन्न तर्कहरू आइरहेका हुन्छन् । यसमा खास अध्ययन भएको छैन । नेपालमा वित्तीय अनुसन्धान कम हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा वित्तीय अनुसन्धानहरू भइरहेका हुन्छन् । त्यसलाई आधार मानेर बैङ्कहरूलाई निर्णय गर्न सहज हुन्छ ।

नेपाल बैङ्कले बचत निक्षेपमा २ प्रतिशत मात्र ब्याज दिन्छ र एक वर्षअघिसम्म यहाँ मुद्दती निक्षेपमा साढे पाँच प्रतिशतसम्म थियो । अरू बैङ्कहरूले यति आक्रामक रूपले ब्याजदर बढाए, जसले गर्दा मैले आफ्नो भएको निक्षेप जोगाउन पनि बढाउन बाध्य भएँ । सम्पूर्ण सिस्टम हेर्नुहुन्छ भने निक्षेप पनि बढेको छ, कर्जा लगानी पनि बढेको छ । विगत तीन वर्षको ट्रेन्ड हेर्ने हो भने नर्मल छ । तैपनि त्यो बेलामा सङ्कट भएन अहिले किन भयो ? यसमा बैङ्कहरूकै व्यवहारले हो । 

निक्षेप अभावका विषयमा अहिलेसम्म अनुसन्धान  हुन नसकेको भन्नुभयो । तपाईंको विचारमा यस्तो अभाव किन आइरहेको छ, जसले बैङ्कहरूसँग लगानी गर्ने रकमको अभाव दोहोरिरहन्छ ?
मैले निक्षेप अभाव हुनुको कारण यो हो भने पनि त्यो अध्ययनमा आधारित भने होइन । तर तपाईं सोध्नुहुन्छ भने म भन्छु, केही  बैङ्कहरू आक्रामक लगानीमा गए । यसले गर्दा उनीहरूसँग भएको स्रोतले उनीहरूलाई पुगेन । नपुग्ने वित्तिकै निक्षेप आकर्षित गर्न ब्याजदर बढाउन थाले । कम रेट भएको बैङ्कको निक्षेप ल्याउन थाले । एकपछि अर्कोले बढाउँदै गए र पूरा उद्योगको रेट नै बढ्न गयो । वित्तीय उद्योगमा जोखिम व्यवस्थापन गरेर होसियारीपूर्वक ऋण लगानी गर्नुपर्ने भन्ने नियामक राष्ट्र बैङ्कको सन्देश छ । यति हुँदाहुँदै पनि बैङ्कहरू आक्रामक रूपले जाँदा निक्षेपको अभाव भएको हो भन्ने मेरो धारणा हो । यसले पछि गएर पोर्टफोलियो भत्काउन सक्ने सम्भावना हुन्छ । 
बेलाबेलामा देखिने लगानीको समस्याको सम्बन्धमा राष्ट्र बैङ्कसँग मैले कुरा गरेको छु । उहाँहरूले बेला बेलामा विभिन्न समारोहमा बोल्दा बैङ्कहरूलाई सचेत गराइरहनुहुन्छ । त्यो भनेर, बोलेर मात्र हुँदैन नियामक नै बलियोसँग नियमनमा उत्रनुपर्छ । एउटा सोचाइ राष्ट्र बैङ्कमा पनि के छ भने आक्रामक लेन्डिङ गर्नु उद्योगका लागि राम्रो हो कि भन्ने पनि छ । नियामकले यसबारे अध्ययन गर्न भ्याएको छैन ।
 
राष्ट्र बैङ्कले त बेला बेलामा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर, अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित नगर । कृषिमा १० प्रतिशत लगानी पुर्याऊ, ऊर्जा, पर्यटन र अन्यमा १५ प्रतिशत लगानी पुर्याऊ भनिरहेको छ तर तपाईंहरू आफै निर्देशनलाई मानिरहनु भएको छैन । विशेषगरी कृषिमा तपाईंहरू लगानी बढाउन किन डराइरहनु भएको छ ?
राष्ट्र बैङ्कको निर्देशनलाई हामीले नमानेको होइन तर कृषिमा १० प्रतिशत लगानी पुर्याउन गाह्रो छ । परम्परागत रूपमा कृषिमा नै लगानी गरेको संस्था थियो भने पुग्थ्यो । जस्तै कृषि विकास बैङ्क उसले ५५ प्रतिशत लगानी कृषिमा गरेको छ भनेर दाबी गर्छ । हाम्रो कृषिमा गर्ने कृषि केन्द्रित बैङ्क नै होइन । यहाँबाट बिजनेस लेन्डिङ हुन्छ । कृषिमा १० प्रतिशत भनेको अहिले हाम्रो ८० अर्ब लगानी छ भने त्यसको १० प्रतिशत भनेको ८ अर्ब हो । राष्ट्र बैङ्कको निर्देशन अनुसार हाम्रो ८ अर्ब लगानी कृषिमा हुनुपर्छ भन्ने हो । ८ अर्ब वार्षिक लगानी हुँदा सबै कृषिमै लगाउनुपर्ने हुन्छ । बिजनेसमा जस्तो कृषिमा बेलाबेलामा नगद जम्मा हुँदैन । कृषि कति ठाउँमा मौसमी छ, कति ठाउँमा आकाशे पानीको भर पर्नुपर्छ । यसबाट पनि अरू आयोजना भन्दा कृषि आयोजना तुलनात्मक रूपमा जोखिम छ भन्ने देखिन्छ । यसले पनि बैङ्कहरू लगानी गर्न हिच्किचाउँछन् । अर्को कुरा मेरो बैङ्कले कृषिमा लगानी गरिरहेका छैन भने एकै पटक १० प्रतिशत पुर्याउन सक्तैन । यसका लागि मेकानिजम तयार हुनुपर्यो । हामी पुर्याउँछौँ तर राष्ट्र बैङ्कले भनेकै समयमा हुँदैन, केही वर्ष लाग्छ । 

गत वर्ष समग्र बैङ्कहरूको अवस्था कस्तो रहने देखिन्छ ?
बैङ्कहरूको नाफा राम्रै हुने देखिएको छ । ५, ६ वटा बैङ्कको प्रतिवेदनले पनि समग्र बैङ्कहरूको नाफा बढ्ने देखिन्छ । हरेक कुरा व्यवस्थापन गरेर बैङ्कहरूले राखेका छन् । अर्को कुरा अहिले राष्ट्र बैङ्कले एनएफआरएसमा वित्तीय विवरण प्रकाशित गर्न भनेको छ । यसले हाम्रो नाफा अझै बढाउँछ । अन्तर्राष्ट्रिय प्रणालीअनुसार लैजान खोजिएको हो । हाम्रो देशको वित्तीय अवस्था र अरू देशको वित्तीय अवस्था तुलना गर्न सहज होस् भनेर एनएफआरएस लागू गरिएको हो । 

विदेशी परिवत्र्य मुद्रामा र भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको १२ प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ, यसमा बैङ्कहरू खासै आकर्षित नभएका हुन् ?
यो वास्तवमा गाह्रो पनि छ । यसमा ब्याजदर र वैदेशिक विनिमय जोखिम छ ।  आजभन्दा एक वर्ष अगाडि डलरको भाउ १०० रुपियाँसम्म थियो भने अहिले ११०÷११ पुगेको छ । यसले गर्दा  भोलि डलरको भाउ बढ्दै गयो भने सीधै नोक्सान हुन सक्छ । यसका लागि हेजिङ गर्नुपर्छ तर हेजिङको चार्ज बढी छ । नेपाल बैङ्कलाई विदेशी ऋणको आवश्यक छैन । एफपीओको पैसा ५ अर्ब आउन बाँकी छ । 
 

एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि अार्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ