शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भयो निशानको अपहरण, यसरी मारिए अपहरणकारी (अपहरणदेखि इन्काउण्टरसम्मको नालीबेली)

सोमबार, २१ साउन २०७५, १८ : ५३
सोमबार, २१ साउन २०७५

मिति : २०७५ साउन २० गते आइतबार ।

स्थान : काँडाघारी, काठमाडौँ

समय : साँझ ७ बजे

काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने काँडाघारीनजिकै मनोहरा पुलनजिक चमेली खड्काको सानो चिया पसल छ । अझ भन्ने हो भने चमेलीको भट्टीपसल । 

त्यही भट्टीपसलमा प्रत्येक दिन साँझपख खाजा र रक्सी खानेहरुको जमघट हुन्छ । चमेली पनि अन्य दिनमा झैँ त्यसदिन पनि होटलका ग्राहकहरुलाई खाजा र खाना बेच्नमै ब्यस्त थिइन् ।

चमेलीका छोरा निशान खड्का पनि सँधै झैँ होटलको वरिपरी नै खेलिरहेका थिए । निशानको बुवा गणेश खड्का वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा भएकाले होटलमा चमेली एक्लै थिइन् ।

चमेलीलाई छोरा भित्रपट्टि रहेको कोठामा होला भन्ने लागिरह्यो । 

मिति : २०७५ साउन २० गते आइतबार ।

स्थान : काँडाघारी काठमाडौँ

समय : राती ९ः१५ बजे

अपहरणपछि हत्या गरिएका निशानको स्कुलको ‘आइडी’ कार्ड । 

 

चमेलीको मोबाइल नम्बरमा एकाएक एउटा फोन कल आउँछ । त्यो अपरचितिले गरेको फोनले चमेली झस्किइन् । चमेलीलाई भनिन्छ कि ‘तिम्रो छोरा हामीले अपहरण गरेका छौँ, छोरा जिउँदो चाहिए २ करोड रुपैयाँ लिएर आउनु ।’

तर चमेलीले आफू गरीब भएकाले २ करोड नभएको बताउँछिन् । त्यसपछि ४० लाख नल्याए छोरालाई मारिदिने भन्दै ४० लाख तयार पार्न भनिन्छ । तर अपहरणकारीले कुन ठाउँमा ल्याउने भन्दैन । चमेलीले भोलि बिहान (सोमबारसम्म) ४० लाख तयार पार्ने बताउँछिन् । 

त्यसलगत्तै चमेलीको सटर लाग्छ । अन्य दिनमा राती १० बजे बन्द हुने सटर आइतबार सवा ९ बजे नै सटर बन्द हुन्छ र त्यहाँ रुवाबासी सुरु हुन्छ । त्यसलगत्तै त्यहाँ छिमेकीहरु जम्मा हुन्छन् । चमेलीले रुँदै घटनाबारे बताउँछिन् । कसैले त्यहीँबाट प्रहरीको १०० नम्बरमा फोन लगाउँछ र घटनाबारे जानकारी दिन्छन् । प्रहरी तत्कालै घटनास्थल पुग्छन् र खोजबिन सुरु हुन्छ । 

घटनाबारे जानकारी पाएलगत्तै महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली काँडाघारी, ठिमी लगायतका क्षेत्रमा परिचालित हुन्छन् । तर, रातभर खोज्दा पनि केही पत्तो लाग्दैन । अपहरणकारीले पनि तत्कालै आफ्नो मोबाइलको स्वीच अफ गरिसकेका हुन्छन् । अन्तिमपटकको मोबाइल लोकेशनका आधारमा प्रहरीले व्यापक खोजी गर्छ ।

सोमबार बिहानपख एक्कासी अपहरणकारीको मोबाइलको स्वीच अन हुन्छ । त्यसपछि फोन गर्दा आफूहरु महाबौद्धमा रहेको बताइन्छ र त्यसलगत्तै मोबाइल फेरि अफ हुन्छ । 

मिति : २०७५ साउन २१ गते सोमबार ।

स्थान : रातोपाटीको कार्यालय, पुल्चोक

समय : बिहान १० बजे

साउन २१ गते बिहान १० बजे रातोपाटीका सम्वाददातालाई प्रहरी अधिकृतको एउटा फोन कल आउँछ । हिजो साँझ (आइतबार साँझ) काँडाघारीबाट निशान खड्का भन्ने ११ वर्षीय बालकको अपहरण भएको जानकारी आउँछ । साथै आफुहरुले खोजबिन गरिरहेको पनि जानकारी आउँछ । रातोपाटीमा यो समाचार प्रकाशन भएलगत्तै अन्य सञ्चारमाध्यमहरुमा पनि यस समाचारले स्थान पाउँछन् । खबर एकाएक भाइरल बन्छ । 

अपहरणपछि हत्या गरिएका निशान खड्का ।

मिति : २०७५ साउन २१ गते सोमबार ।

स्थान : नगदेश, ठिमी

समय : मध्यान्ह १२ः३० बजे

रातोपाटी टिमले प्रहरीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाएको स्थान ठिमी लगायत आसपासका क्षेत्रमा प्रहरीलाई फलो गर्छ । यसैबीच सोमबार मध्यान्ह १२ः३० बजे प्रहरीले अपहरित बालक निशान खड्काको शव ठिमी नगरपालिका ९ स्थित नगदेश भन्ने स्थानमा श्याम लवटको निर्माणाधीन घरमा भेट्छ । निशानको अपहरणलगत्तै हत्या भएको प्रहरीले पत्ता लगाउँछ । यद्यपि घटनास्थलमा प्रहरीले अन्य केही पाउँदैन ।

अपहरणकारीले सम्पर्क गरेको मोबाइल नम्बर तथा निजको हुलिया र ठेगाना लगायतको सबै जानकारी पाएको प्रहरीले उनीहरुको पिछा गर्न थाल्छन् । 

मुख्यतः महानगरीय अपराध महाशाखाको टोलीले अपहरणकारीको पिछा गर्छन् । अपहरणकारी भने आफूलाई बचाउन भागिरहेको हुन्छ । 

मिति : २०७५ साउन २१ गते सोमबार ।

स्थान : सुर्यविनायक ८, भक्तपुरको सामुदायिक जङ्गल

समय : अपरान्ह १ः३० बजे

प्रहरी मुठभेडमा मारिएको अपहरणकारी ।

 

सुरुमा प्रहरीले ठिमीक्षेत्रमा घेरा हालेर अपहरणकारीलाई पक्रने कोशिस गर्छ । तर अपहरणकारी प्रहरीको घेरा तोडेर भाग्न सफल हुन्छन् । यद्यपि प्रहरीले अपहरणकारीलाई फलो गरिरह्यो । र, अपहरणकारी सुर्यविनायक बाट माथि जङगलतिर भाग्छन् । 

प्रहरीले अपहरणकारीलाई पिछा गरेको र प्रहरी नजिकै आएको थाहा पाएपछि अपहरणकारीमध्येका एक अजय तामाङले पेस्तोल निकालेर प्रहरी माथि नै फायर खोल्छन् । र, अपराध महाशाखाको टोलीले जवाफी फायर खोल्दा दुई अपहरणकारी मारिन्छन् । 

प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीहरु कर्थली १ सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ र सामरी नुवाकोटका २२ वर्षीय गोपाल तामाङ रहेका छन् । 

प्रहरीले यतिबेलासम्म अपहरणकारीको बिगतबारे केही पत्ता लगाउन सकेको छैन  । अपहरणकारीहरु यसअघि आपराधिक गतिविधिमा संलग्न थिएकि थिएनन् भन्ने पाटो प्रहरीले केलाउन सकेका छैनन् । 

के चमेलीकै होटलका ग्राहक थिए अपहरणकारी ?

अपहरणकारीहरु गोपाल तामाङ र अजय तामाङ चमेलीकै होटलमा आइरहने ग्राहक भएको अनुमान गरिएको छ । फिरौती रकमको माग गर्दै फोन गर्ने व्यक्तिको आवाज आफूले चिनेको जस्तै लागेको चमेलीले बताएकी थिइन् । त्यसै आधारमा अपहरणकारीहरु चमेलीकै नियमित ग्राहक भएको अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप