बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘समय’सँग किन यति धेरै ‘कम्प्रमाइज’ गर्छन् प्रधानमन्त्री ओली ?

सोमबार, २१ साउन २०७५, १२ : २०
सोमबार, २१ साउन २०७५

काठमाडौं– आफू दोस्रो पटक प्रधानमन्त्री भएको एक महिनापछि प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा मन्त्री र सचिवहरूलाई वैशाख ४ गते संयुक्त रूपमा निर्देशन दिएका थिए । 

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार असाधारण दायित्व बोकेको सरकार भएको भन्दै परम्परागत मानसिकताबाट माथि उठेर काम गर्न निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनुपर्ने भनेका थिए, ‘तपाईंहरूले समयको ख्याल गर्नुहोला । हरेक मिनेटको समयलाई सदुपयोग गरेर काम गर्नुस् । काम गर्दा लक्ष्य निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्नुस् । तर यस कारण, यदि यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन ।’

समयलाई लिएर यति कठोर निर्देशन दिने प्रधानमन्त्री ओली आफै चाहिँ समयप्रति बेपर्वाह छन् । उनी आफै मन्त्रिपरिषदका बैठकमा कहिलेकाहीँ एक–दुई घण्टा ढिला पुग्छन् । एक त ढिला पुग्छन्, त्यसमा पनि प्रधानमन्त्री ओलीले कहिलेकाहीँ मन्त्रिपरिषद्को बैठकमा यति लामो भाषण दिन्छन् कि मन्त्री नै थाक्छन् ।

एक मन्त्री सुनाउँछन्, ‘प्रधानमन्त्रीज्यूले अरूले समयको ख्याल गरून् भन्नुहुन्छ, आफ्नो हकमा लागू गर्न हुन्न । समयप्रति उहाँको गम्भीरता छैन् । कहिले उहाँलाई कुरेर घण्टौँ बसेपछि बैठक सुरु हुन्छ, कहले बैठक सुरु भएपछि लम्बेतान भाषण दिनुहुन्छ ।’

समयसँग ओलीको पहिलादेखि नै त्यति राम्रो तारतम्भ होइन । कार्यक्रम र भेटघाटको प्राथामिकता नछुट्टाउने प्रधानमन्त्री ओलीमा पहिलादेखिकै समस्या हो । तर दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीले यसमा सुधार गर्लान् भन्ने अपेक्षा थियो । तर ओलीले यसपालि पनि समयमा खासै ध्यान दिएका छैनन् । यद्यपि प्रधानमन्त्रीको सचिवालय चाहिँ कामको व्यस्ताले कहिलेकाहीँ ढिला हुने गरेको बताउँछ । ओलीको समयतालिकाले पार्टी सङ्गठनकै कार्यक्रम प्रभावित भएपछि यो मुद्दा अहिले उनकै पार्टी नेकपाभित्र पनि बहसमा छ ।

पूर्वएमालेहरू ओलीको समयसँगको लापरवाहीबारे जानकार छन् । एकीकृत पार्टी भएपछि पूर्वमाओवादीका नेताहरूले पनि अहिले यसलाई झेल्दै आएका छन् । यद्यपि नेपालमा समयलाई लिएर धेरै नेता चिन्तित हुँदैनन् । प्रधानमन्त्री ओली आफै चाहिँ भन्छन्, ‘मलाई समयको सुविधा छैन । त्यसैले धेरै गर्नुछ ।’ उनले आफ्नो स्वास्थ्य समस्यासँग जोडेर यस्तो भन्ने गर्छन् । प्रधानमन्त्रीको समयतालिकालाई लिएर नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सन्तुष्ट छैनन् । 

पछिल्ला केही यस्ता घटनाक्रम हेरौँ, जसले ओली र समयबीचको दूरी महसुस गराउँछ । 

बैठकमै एजेन्डा बन्यो ‘समय पालना’

प्रधानमन्त्री ओलीले सधैँ समयसँग ‘कम्प्रमाइज’ गर्न थालेपछि नेकपाको सचिवालय बैठकमा यो विषय एजेन्डा नै बन्यो । साउनको पहिलो साता बसेको सचिवालयको एक बैठकमा ‘समय पालना’ सम्बन्धी एजेन्डामा छलफल भएको थियो । प्रधानमन्त्री ओली बैठकमा ढिला आउने र पार्टीका अन्य कार्यक्रममा पनि ढिला पुगेपछि बैठकमा यो विषयले प्रवेश पाएको सचिवालयका एक सदस्य बताउँछन् । उनले भने– ‘समयको पालना गर्ने विषय एजेन्डाकै रूपमा छलफल भएको थियो । यो औपचारिक निर्णय नै भन्दा पनि छलफलको विषय हो ।’

उनका अनुसार प्रधानमन्त्रीले तथा नेकपाका अध्यक्ष ओलीले समयको ख्याल नगरिदिँदा नेकपाका बैठक पूर्वनिर्धारित समयमा बस्नै सकेका छैनन् । त्यस दिनको बैठकमा अध्यक्षहरू कार्यक्रम वा वैठकमा अउन ढिला हुने भए त्यसको पूर्वजानकारी दिनुपर्ने कुरा उठेको थियो । त्यस दिनको बैठकमा कसैलाई कुर्नुपर्ने भए बढीमा १५ मिनेट पर्खिने अनौपचारिक सहमति बन्यो । नेकपाको विधानमा सचिवालय बैठकको संयुक्त वा आपसी सल्लाहमा दुईमध्ये एकले बैठक सञ्चालन गर्नसक्ने अधिकार पार्टी विधानमा छ । एक अध्यक्ष उपस्थित हुन ढिला भएमा कुरिरहनुपर्ने अवस्था भने छैन । तर ओलीविना अर्का अध्यक्ष प्रचण्डले र प्रचण्डविना ओली एक्लैले बैठक चाहिँ बसालेका छैनन् । 

पछिल्ला दिनका केही यस्ता कार्यक्रम छन्, जसले प्रधानमन्त्री ओलीले ‘समयमा’ ध्यान दिँदैनन् भन्ने आरोपहरूलाई पुष्टी गर्छन् । 

नारायणकाजीको आक्रोश

गत १७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता तुल्सीलाल अमात्यको २१औं स्मृति दिवसको कार्यक्रम थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए । कार्यक्रम १२.३० बजे सुरु हुने भनिएको थियो । सुरु भयो झन्डै साढे एक घण्टा ढिला गरेर । त्यही कार्यक्रममा अतिथि थिए, नेकपाका नेता नारायणकाजी श्रेष्ठ । कार्यक्रममा श्रेष्ठ समयमै पुगेका थिए । 

प्रधानमन्त्री ओली र प्रचण्ड आउने छाँटकाँट भने थिएन । प्रमुख अतिथि तथा दुई अध्यक्ष नआई कार्यक्रम सुरु हुने जस्तो भएन । कार्यक्रम सुरु हुने छाँटकाँट नदेखेपछि नेता श्रेष्ठ रिसाएर हिँडे । गेटमा पुगेका श्रेष्ठलाई आयोजकले बल्ल बल्ल फकाएर ल्याए । कार्यक्रममा प्रचण्ड केही ढिला पुगे । प्रचण्ड आएपछि कार्यक्रम औपचारिक रूपमा सुरु भयो । आयोजकले सबैभन्दा पहिला नेता श्रेष्ठलाई मन्तव्य राख्न दिए । उनले केही समय तुल्सीलालको योगदानबारे चर्चा गरेपछि समयको महत्वबारे आक्रोशित मन्तव्य दिए । १५ मिनेटभन्दा बढी कसैलाई पनि कुर्न नहुने र सबैले समयको पालना गर्नुपर्ने भन्दै आक्रोश पोखे । उनले बोलिरहँदा पार्टी अध्यक्ष प्रचण्ड सुनिरहेका थिए । पार्टीको सचिवालय बैठकमा समेत समयको महत्वको विषय एजेन्डाका रूपमा प्रस्तुत भएको भन्दै श्रेष्ठ मन्तव्य सकेलगत्तै त्यहाँबाट हिँडे । उनले अध्यक्ष प्रचण्डको मन्तव्य पनि सुनेन् । श्रेष्ठ कार्यक्रमबाट बाहिरिँदा पनि प्रधानमन्त्री ओली आउने अझै सुरसार थिएन ।

तुल्सीलाल स्मृति दिवसका अवसमा आयोजना गरिएका विभिन्न प्रतियोगिता तथा कार्यक्रममा उत्कृष्ट भएकाहरूलाई पुरस्कार वितरण गरेपछि कार्यक्रमलाई सम्मानपछि प्रचण्डले छोटो मन्तव्य राखे । प्रचण्डले कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र एकता, अमात्यको योगदानलगायतमा केन्द्रित रहेर आफ्ना भनाइ राखे । प्रचण्डले बोलिसक्दा पनि ओली आएका थिएनन् । प्रचण्ड आफ्नो मन्तव्य सके कार्यक्रमबाट बाहिररिए । प्रचण्ड कार्यक्रमबाट बाहिरिएको केही समयपछि मात्र अर्का प्रमुख अथिति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित भए । ढिलो गरी कार्यक्रममा उपस्थित भएका ओलीले किन ढिला भयो भनेनन् । कुनै क्षयमायाचना गरेनन् । बरु सरासर आफ्नो मन्तव्य राखे । प्रधानमन्त्री पुग्दा सहभागी पनि धेरै निस्किइसकेका थिए ।

प्रचण्डलाई भाषण लम्ब्याउन आग्रह

साउन १२ गते ललितपुरको कुपन्डोलमा इन्जिनियर एसोसिएसनको एकता घोषणा कार्यक्रम थियो । पार्टी एकतापछि जनवर्गीय सङ्गठनको एकता यो पहिलो कार्यक्रम थियो । त्यसैले यो कार्यक्रममा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री ओली र प्रचण्ड उपस्थित हुने तय भएको थियो । 

यहाँ पनि कार्यक्रमको निर्धारित समयमा न ओली न प्रचण्ड पुगे । कार्यक्रममा केही ढिलो गरी अध्यक्ष प्रचण्ड पुगे । प्रचण्ड पुगेपछि कार्यक्रम अगाडि बढ्यो । एकपछि अर्को गरेर केही व्यक्तिले भाषण गरे । त्यतिबेलासम्म पनि प्रधानमन्त्री ओली आएनन् । त्यसपछि प्रचण्डलाई बोल्न समय दिइयो । प्रचण्डले आफ्नो भाषण सक्नै लाग्दा प्रधानमन्त्री ओली आइपुग्न लागेको हल्ला सुरु भयो । त्यसपछि सञ्चालकले प्रधानमन्त्री आउन लागेको र भाषण केहीबेर लम्ब्याउन अध्यक्ष प्रचण्डलाई आग्रह गरे । तर प्रचण्डले भाषण टुङ्ग्याए । सकिएको भाषणलाई फेरि सुरु गर्न कठिन हुने भन्दै प्रचण्डले सञ्चालकलाई गीत वा चुड्किला सुनाएर कार्यक्रम लम्ब्याउन आग्रह गरे । प्रचण्डको भाषण सकिएको केही बेरपछि प्रधानमन्त्री ओली कार्यक्रममा आइपुगे । सञ्चालकले आशन ग्रहण गराइसकेपछि सीधै सम्बोधनका लागि बोलाए । प्रधानमन्त्रीले ढिला भएकामा कुनै क्षमायाचना गरेनन् । सीधै आफ्नो मन्तव्य सुरु गरे । ‘अध्यक्षले गीत वा चुड्किला सुनाएर कार्यक्रम लम्ब्याउन भन्दै हुनुहुन्थ्यो । ठ्याक्कै म आइपुगँे’ ओलीले भनेका थिए । ढिला पुगेकोमा प्रधानमन्त्री ओलीलाई कुनै असहजता महशुस भएको देखिँदैनथ्यो । 

१२ बजे कार्यक्रम, ओली पुगे ४ बजे

तत्कालीन नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घले जेठ १ गते स्थापना दिवसको कार्यक्रम भव्य रूपमा मनाउने गरी तय गरेको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोलाइएको थियो । कार्यक्रम १२ बजे सुरु हुने भनिएको थियो । त्यही अनुसार अन्य अतिथि र सहभागी सभागृहको हलमा पुगेका थिए । कार्यक्रममा प्रधानमन्त्री आउने भनिएपछि आयोजकले झकिझकाउ तयारी पनि गरेको थियो । बाजागाजासहित आफ्नो पहिचान झल्कने भेषभूषामा सहभागी उपस्थित थिए । सहभागीहरू उत्साहित पनि थिए । तर प्रधानमन्त्रीलाई कुर्दाकुर्दा सहभागी निरास बने । प्रमुख अतिथिलाई धेरै समय कुर्दा नआएपछि अन्य नेताहरूले कार्यक्रम सुरु गर्न सञ्चालकलाई दबाब दिए । कार्यक्रम सुरु भयो । प्रमुख अतिथिको कुर्सी खाली राखियो । कार्यक्रमका उद्घोषले प्रधानमन्त्री केहीबेरमा आउँदै हुनुहुन्छ भन्दै बोलिरहे । 

कार्यक्रमका अन्य अतिथि माधवकुमार नेपाल, ईश्वर पोख्रेलले आफ्नो भाषण सके, कार्यक्रमबाट बाहिरिए । त्यतिन्जेल पनि प्रधानमन्त्री आउने कुनै सुरसार थिएन । सहभागीलाई भुलाउन कलाकारलाई मञ्चमा बोलाएर गीत गाउन लगाइयो । १२ बजे भनिएको कार्यक्रममा झन्डै ४ बजे कार्यक्रमस्थल पुगे प्रधानमन्त्री ओली । त्यतिन्जेल धेरै सहभागी निस्किसकेका थिए ।

नेता झलनाथ खनालको भाषण सकिनै लाग्दा प्रधानमन्त्री कार्यक्रम हलमा आइपुगे । सञ्चालकले मन्तव्यका लागि आग्रह गरे । चार घण्टा कुराए पनि प्रधानमन्त्री ओलीले त्यहाँ पनि कुनै क्षमायाचना गरेनन् । आफ्ना भनाइ राखे कार्यक्रमबाट निस्किए । 

३ बजेको कार्यक्रममा ६ बजे पुगे

गणतन्त्र दिवसको अवसरमा जेठ १९ गते सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’ले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । जनगायक रामेश श्रेष्ठको एकल गायन ‘युगीन आवाज’ कार्यक्रमको प्रमुख अतिथि थिए, प्रधानमन्त्री ओली । कार्यक्रम ३ बजे सुरु हुने भनिएको थियो । आयोजकले त्यसैअनुसार तयारी गरेको थियो । सहभागिहरुपनि कार्यक्रम स्थलमा पुगेका थिए । 

तर, कार्यक्रमका प्रमुख अतिथि कार्यक्रम स्थल पुगे ६ बजे । प्रधानमन्त्री ३ घण्टा ढिला गरेर कार्यक्रम स्थलमा पुगे । प्रधानमन्त्रीको पर्खाइमा आयोजक र सहभागिले धेरै पटक कार्यक्रम स्थल प्रवेशद्धारमा आँखा घुमाए । अव त के आउनु होला र प्रधानमन्त्री भन्दा नभन्दै कार्यक्रम स्थलमा उनको प्रवेश भयो । 

कार्यक्रम स्थलमा पुगेपछि गायक रामेशले जब गाउँ गाउँबाट उठ् गीत गाए । कार्यक्रममा रहेका प्रधानमन्त्री ओलीले तालीले साथ दिए । ओलीसँगै सबैले रामेशलाई तालीले निरन्तर साथ दिए । 

संस्थानका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रामेशलाई कार्यक्रममा अभिनन्दन गरे । प्रधानमन्त्री ओलीसँगै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृतिमन्त्री रबिन्द्र अधिकारी पनि कार्यक्रममा सहभागि थिए । त्यहाँ पनि प्रधानमन्त्री ओली ढिला पुग्दा कुनै असहजता उनको अनुहारमा थिएन । 


 

पत्रकारलाई पनि धोका

साउन ८ गते प्रधानमन्त्री ओलीको पार्टी निकट पत्रकारहरूलाई धुम्बाराही पार्टी कार्यालयमा सम्बोधन गर्ने कार्यक्रम थियो । ८ बजेका लागि सहभागीहरूलाई बोलाएको थियो । ८.३० मा अध्यक्षद्वय ओली र प्रचण्डको सम्बोधन समयमै सुरु हुने तय भएको थियो । सहभागी र अन्य नेताहरू समयमा उपस्थित थिए । तर प्रचण्ड झण्डै ९.३० मा कार्यक्रम हलमा पुगे । त्यसको केहीबेर पछि प्रधानमन्त्री आउँदै गर्नुहुन्छ भन्दै कार्यक्रम सुरु भयो । आशन ग्रहणपछि पहिलो वक्ताका रूपमा नेकपाका महासचिव विष्णु पौडेलले बोले । उनी बोल्दैगर्दा बल्ल प्रधानमन्त्री उपस्थित भए । त्यसको लगत्तै प्रचण्ड बोले । आन्तरिक कार्यक्रम भएको जानकारी सञ्चालकले गरेका थिए । त्यही अनुसार प्रचण्डले मन्तव्य दिए । तर जब बोल्ने पालो प्रधानमन्त्री ओलीको आयो उनले आन्तरिक कार्यक्रमलाई भङ्ग गरे । उनले सार्वजनिक कार्यक्रमकै शैलीमा भाषण गरे । प्रधानमन्त्री ओली त्यो कार्यक्रममा झन्डै साढे एक घण्टा ढिला पुगे । 

ओलीमाथि बाबुरामको व्यङ्ग

सरकार गठनको एक हप्तामै नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सरकारलाई ठूला कुरा नगरी समय पालना गर्न सुझाव दिएका थिए । एक हप्ताको अनुभवले कुरा ठूला गर्ने तर समयको पालना नगर्ने प्रवृत्ति देखिएको भन्दै बाबुरामले ओली नेतृत्वको नयाँ सरकारलाई समयको पालना गर्न सुझाव दिएका थिए ।

सामाजिक सञ्जाल ट्विटरमा पछिल्ला राजनीतिक गतिविधिलाई उदाहरण दिँदै बाबुरामले सुझाव दिएका थिए । उनले लेखेका थिए, ‘विगत एक हप्ताको अनुभव १– प्रमको शपथग्रहण एक घण्टा ढिलो, २– सेना दिवस समारोह डेढ घण्टा ढिलो, ३– एयरपोर्टमा प्लेन डेढ घण्टा ढिलो ।’ उनले लेखेका थिए, ‘यसरी कस्तो समृद्धि होला ? त्यसैले ठूला कुरा गर्नुभन्दा पहिलो सबैतिर समय पालना गरौँ न । नयाँ सरकारले यसको सुरुवात गरोस् न । त्यसै टाइम इज मनी भनिएको होइन र ?’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्– कहिलेकाहीँ ढिला हुन सक्छ
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल प्रधानमन्त्री समयप्रति सचेत नै रहेको बताउँछन् । केही दिन अगाडि रातोपाटी टिभीलाई दिएको एक अन्तरवार्तामा उनले प्रधानमन्त्रीले धेरै काम गर्ने भएकाले कहिलेकाहीँ ढिला हुने गरेको बताएका थिए ।

प्रधानमन्त्री हरेक कार्यक्रमहरूमा सधैँ ढिला पुग्नुहुन्छ भन्ने गुनासो छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘प्रधानमन्त्री मान्छे भेट्दा आनन्दसँग कुरा सुन्नुहुन्छ । मलाई प्रधानमन्त्रीको सबै भन्दा बेस्ट बानी त्यो हो जस्तो लाग्छ । कार्यक्रमतिर जाँदा पनि सबैका कुरा सुनिरहनुभएको हुन्छ । आफूले भनेका कुरा कसैलाई पूरै कन्भिन्स गर्छु भन्ने हिसाबले भन्नुहुन्छ । यो कुरामा प्रधानमन्त्री खट्नु पनि हुन्छ । आफ्ना डकुमेन्ट पढ्ने, कुरा गर्ने गरिरहनुभएको हुन्छ । प्रधानमन्त्री ढिला कार्यक्रममा आउनु हुन्छ भनेर प्रशस्त सुन्या छु  । तर, सधैँभरि त्यस्तो छैन । उहाँलाई कसैले ढिलो भनिरहेका बेला मैले देखिरहेको हुन्छु, उहाँलाई छोड्नै नहुने कामहरूले छोपिएको हुन्छ । उहाँ धेरै कामहरू गर्नुहुन्छ । त्यसकारण कहिलेकाहीँ ढिला हुन सक्छ । सधैँभरी त्यो खालको कुरा होइन ।’

सचिवालयको समस्या

प्रधानमन्त्रीको दैनिकी निकै व्यस्त हुन्छ । हरेक कार्यक्रम र भेटघाटका लागि निश्चित समय छुट्याइएको हुन्छ । एउटा कार्यक्रम वा भेटघाटको समयतालिका तलमाथि पर्यो भने दिनभर त्यसको प्रभाव पर्छ । यसको व्यवस्थापन प्रधानमन्त्रीको निजी सचिवालयले गर्नुपर्ने हुन्छ । तर निजी सचिवालयले समयबारे प्रधानमन्त्रीलाई पटक–पटक नोटिस गराउँदैन । यहीँनेरबाट समस्या सुरु हुने गरेको सचिवालयका एक कर्मचारी बताउँछन् । त्यसो त समयका विषयमा ओलीले बानी नै पुरानो हो । नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रधानमन्त्री भएर बालुवाटार बस्दा होस् वा पार्टी अध्यक्षको हैसियतमा बालकोट बस्दा नै किन नहोस्, ओली समयलाई त्यति महत्व दिँदैनन् । मैले कसलाई भेटेको छु, यसलाई कति समय दिनुपर्छ । भेट्न कोही मान्छे पर्खेर बसेका छन् भन्नेमा उहाँको ध्यान जान्न ।’ 

माधव नेपालको किस्सा र ओलीको ठट्टा 

तत्कालीन एमालेमा समयका विषयमा एउटा रमाइलो किस्सा छ । माधवकुमार नेपाल समयमा निकै पक्का नेता । उनी हरेक कार्यक्रममा र भेटघाटका लागि समयमै पुग्छन् । त्यसैले होला तत्कालीन एमालेका नेता–नेता वा कार्यकर्ताबीच भेटघाटको कार्यक्रम बनाउदा समय निश्चित भएपछि भनिन्थ्यो, ‘भेट माधव नेपाल टाइममा है । अर्थात ठीक समयमा भेट्ने है ।’ 

तर ओली चाहिँ समयमा पनि मजाक गर्न रुचाउँछन् । दोस्रो पटक प्रधानमन्त्री भएपछि ओली वैशाख १९ गते २ दिनको समय निकालेर गृहनगरमा झापा गए । ठट्टा गर्न सीपालु प्रधानमन्त्री ओली आफ्नो गृहजिल्ला जाँदा स्थानीयवासी तथा कार्यकर्ताहरूसँग खुलेरै ठट्टा गर्छन् । तर प्रधानमन्त्री ओली समयमा भने त्यति ख्याल गर्दैनन् । जुनै कार्यक्रममा पनि उनी ढिला गरेर मात्र पुग्ने गर्छन् । वैशाख १९ मा दमकमा कार्यक्रम थियो । बिहान ८ बजेको कार्यक्रममा उनी बिहान १० बजे मात्र पुगे । वैशाखको गर्मी र बिहानैदेखिको चर्को घामको प्रवाह नै नगरी नगरबासी आफ्ना नगरबाट प्रधानमन्त्री बन्न सफल ओलीलाई कुरेका थिए । कार्यक्रममा ढिला पुगेका प्रधानमन्त्री ओलीले धिमाल जातिको पहिचान झल्कने प्रतिमाको उद्घाटन गरे ।

दमक नगर पञ्चायतका पूर्वप्रमुख धनबहादुर श्रेष्ठले ओलीसमक्ष किन ढिला आएको भन्दै गुनासो राखे । श्रेष्ठले भनेका थिए, ‘हामी बिहानैदेखि तपाईं यहाँ आउनुहुन्छ भनेर बसिरहेका थियौँ । तपाईं त ढिलो आउनुभयो नि !’ ओलीले श्रेष्ठको प्रश्नलाई ठट्टेउली ढङ्गबाटै उत्तर दिए, ‘बिहानै आउँदा कोही हुँदैनन् जस्तो लाग्यो । घर आउँदा सबैसँग भेट होस् भनेर ढिला आएँ ।’ 

तर कसैले प्रधानमन्त्रीज्यू किन ढिला ? भन्ने आँट गर्दैनन् 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा आरोप लाग्ने गर्छ । उनी प्रमुख अतिथि भएको कार्यक्रम सधैँ ढिला गरी सुरु हुन्छ । कार्यक्रम आयोजक र कार्यक्रममा सहभागीहरू प्रधानमन्त्रीको पर्खाइमा धेरै समय खर्चिन्छन् । अन्य विशिष्ट अतिथि र सहभागी प्रमुख अतिथिलाई कुर्दा–कुर्दा छटपटाउन सुरु गर्छन् । तर पनि प्रधानमन्त्री आउँदैनन् । कार्यक्रम स्थानको प्रवेशद्वारमा सबैका आँखा गैरहन्छन् । कतिबेला प्रधानमन्त्रीको उपस्थिति हुन्छ भनेर । तर प्रधानमन्त्री सधैँ ढिला । ढिला उपस्थित हुनु त प्रधानमन्त्रीको ‘विषेशता नै’ हो भन्नेहरू नेकपामा धेरै नेताहरू छन् । ओली प्रधानमन्त्री हुनुपूर्व तत्कालीन एमाले अध्यक्ष भएको समय पनि उनको ढिला गरी हुने उपस्थितिको चर्चा हुने गर्थ्यो । पार्टी एकतापछि बनेको नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पार्टीका हरेक वैठकमा ढिला उपस्थित हुन्छन् । उनको पर्खाइमा अन्य समयमै पुगेका नेताहरूले धेरै समय खर्चिन्छन् । तर कसैले किन ढिला भनेर प्रश्न गर्ने आँट गर्दैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप