शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काभ्रे मालपोतमा किर्ते : यसरी गरिन्छ जोगलाललाई मंगललालमा परिवर्तन

सोमबार, ०२ साउन २०७४, १६ : ३९
सोमबार, ०२ साउन २०७४

काभ्रे–काभ्रेमा पुराना जग्गाहरुमा किर्ते गरिएका भन्दै उजुरी पर्न थालेका छन् । मालपोत कार्यलयका कर्मचारीको मिलोमतोमा भएका किर्तेका घटनाहरु बाहिर आउन थालेपछि यसको रहस्य खुलेको हो । मालपोत कार्यलय काभ्रेमा दर्ता कायम रहेको श्रीखण्डपुर १ का शुकलाल सुुवालको जग्गा हत्याउन माफियाहरुले उहि ठेगानको सुकलाल सुवाललाई उभ्याए । नाम मिलेका पात्र मिलेपनि मालपोत कार्यलयको ढड्डामा बुबाको नाम नमिलेपछि मालपोत कार्यलयको ढड्डाबाट सुकलाल सुवालको बुवाको नाम जोगलाललाई मंगललालमा संशोधन गरी जग्गा हत्याईएको घटना बाहिर आएको छ ।

आफ्नो जग्गा अन्यत्र विक्रि भइसकेको थाहा पाएपछि पीडितहरुले संशोधन भएका कागजात सहितको मिशिल  मालपोत कार्यलयमा मागेपनि कर्मचारीले मिशिल नभेटिएको भन्दै फर्काएर घटना लुकाइरहेका छन् । यस विषयमा मालपोत कार्यलयका अधिकृत जयन्त कुमार भट्टराईलाई बुझ्दा कहिलेकाँही त्रुटी हुने भन्दै  मिशिल धेरै भएकाले भनेका बेला भेटाउन नसकिने बताए । 

आफ्नो जग्गा बाजेको नाम संशोधन गरी अर्कैले बेचिदिएपछि पीडित परिवार भने यतिखेर जिल्ला प्रहरी कार्यलयमा उजुरी हाली न्यायको खोजिमा भौतारिरहेको छ । 
२०६८ साल फागुन ३ गते मालपोत कार्यलयका कर्मचारीले मालपोत कार्यलय काभ्रेमा दर्ता कायम रहेको श्रीखण्डपुर वडा नं. १ को कित्ता नं. १७० को जग्गामा रहेको शुकलाल सुवालको वावु जोगनारयण सुवाललाई संशोधन गरी मंगललाल गराईदिए । यही संशोधनको निर्णयले जग्गा मंगललालको छोरा सुकलालले प्राप्त गरे ।  यही जग्गालाई मालपोत कार्यलयको २०७० साल १० महिना २२ गते  मिसिल नं. ४३४ को निर्णयबाट मंगललाल की बुहारी सविता सुवालले प्राप्त गरिन् । फेरि मिति ०७१ साल ८ महिना २४ गते सविता सुवालको नाउँबाट उक्त जग्गा उग्रतारा गाविस वडा नं. ६ बस्ने गणेश बहादुरको नाति, हरिवहादुरको छोरा श्याम सुन्दर थापाको नाउँमा बिक्रि भयो । 

यसरी मालपोत कार्यलय भित्रैबाट आफ्नो बाबुको नाम परिवर्तन गरि आफ्नो जग्गा विक्रि भइसको कुरा सक्कली सुवालले थाहै पाएनन् । आज दुबै सुकलाल सुवालहरुको मृत्यू भइसकेको छ । आफुले भोगचलन गर्दै आइरहेको जग्गामा एकाएक श्यामसुन्दर थापाले जग्गा छोड्न उर्दी गरेपछि सक्कली जग्गा धनी सुकलाल सुवालकी छोरी नानीमैया ख्वन्जुले आफ्नो जग्गा त अर्कैले किर्ते गरि बेचेको पत्तो पाइन् । आफ्नो हजुरबुवाको नाम परिर्वतन गरी आफ्नो बाुबको नाममा रहेको जग्गा बिक्रि भएपछि उनी यतिवेला न्यायका लागि दैडिरहेकी छिन् । मालपोत कार्यलयका काभ्रेका पुराना ढ्ड्डाहरुमा फोटो नटासिएका धेरै जग्गाहरु छन् । तिनै जग्गाहरुमा नाम मिलेको व्यक्ति खडा गर्ने र ति जग्गाधनीको बाबुको नाम संशोधन गरी जग्गा किर्ते गरिने गरिएको खुलासा भएको छ । त्यसैगरी संशोधनका नाउँमा जग्गाको क्षेत्रफल हेरफेर गरी मोटो रकम कमाउन मालमोत कार्यलयका कर्मचारीहरु आफै लागेको बुझिएको छ  । त्यसो त जिल्ला मालपोत कार्यलय काभ्रे बेलुका बेलुकासम्म पनि खुल्ने गरेको छ । जग्गा किर्ते वा लाभकर छल्नका  लागि कर्मचारीहरुको मिलोमतोमा मालपोत कार्यलय मध्यरातमा खुुल्दै जग्गा पास हुने गरेको स्थानीयहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप