बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अत्याधुनिक सर्भिस सेन्टर विस्तारमा सिप्रदी

आइतबार, २० साउन २०७५, १२ : ५२
आइतबार, २० साउन २०७५

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली ग्राहकहरू माझ टाटाका गाडीहरू बिक्री वितरण गर्दै आइरहेको छ । सन् १९८२ मा स्थापित सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले टाटा मोटर्सका विभिन्न गाडीहरू नेपालमा बिक्रीवितरण गर्नुका साथसाथै बिक्रीपछिको मर्मतसम्भारमा पनि उल्लेख्य योगदान दिँदै आइरहेको छ ।

साथसाथै सिप्रदीले गाडीका पाटपुर्जा बिक्रीवितरणमा पनि अग्रस्थानमा देखिएको छ । सिप्रदीले सर्भिस सेन्टर विस्तारमा मात्रै अर्बौं रुपैयाँ खर्चिरहेको छ । चलनचल्तीका सर्भिस सेन्टरभन्दा उच्चकोटीको आधुनिक सर्भिस सेन्टर स्थापनामा सिप्रदीले आफूलाई ढाल्न सफल भएको छ ।

सिप्रदीले काठमाडौँबाहेक देशका मुख्य सहर र राजमार्गहरूमा पनि आफ्नो सर्भिस सेन्टर विस्तार गरको छ । हालसम्म सिप्रदीले नेपालभर आफ्ना २० वटा सर्भिस सेन्टर खोलेको छ भने ८ वटा आधिकारिक  सर्भिस सेन्टरबाट ग्राहकहरूलाई सेवा दिँदै आइरहेको छ ।   

सिप्रदीले २०१८ मार्चबाट काठमाडौँको बागडोलमा अत्याधुनिक प्रविधियुक्त मुख्य सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । त्यसैगरी काठमाडौँकै बालकुमारी र सोल्टीमोडमा पनि आधुनिका प्रविधियुक्त सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याएको छ ।

यातायातको चापलाई मापन गरेर तत्काललाई तीन स्थानमा अत्याधुनिक प्रविधियुक्त सर्भिस सेन्टर थप गरिएको सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका जनरल म्यानेजर प्रवीण खतिवडाले बताए ।

त्यसैगरी पोखरा दाङमा पनि सर्भिस सेन्टर खोलिएको खतिवडाले बताए । सिप्रदीले नेपालगन्जमा भने अहिलेसम्मकै ठूलो टाटाको वर्कसप विस्तार गरेको छ । काठमाडौँकै चावहिलमा पनि छिट्टै नै आधुनिक प्रविधियुक्त वर्कसप विस्तार गर्ने योजना सिप्रदीको छ ।

काठमाडौँमा हालै विस्तार गरिएका सिप्रदीका सर्भिस सेन्टरहरू अन्य सर्भिस सेन्टरभन्दा विल्कुलै फरक सुविधायुक्त रहेका छन् । यी सर्भिस सेन्टरहरू गाडी रिपेयरका लागि मात्रै होइन कि ग्राहकका लागि विशेष सुविधायुक्त रहेका छन् । जसमा ग्राहकले गाडीको सम्पूर्ण विषयमा इन्जिनियरहरूबाट नै जानकारी पाउन सक्छन् । भिन्न तरिकाको सर्भिस दिने भएकाले पनि यी वर्कसपलाई ‘स्टेट अफ आर्ट’ भनिएको छ ।

सर्भिस
सिप्रदी ट्रेडिङले ग्राहकको सुविधा र सन्तुष्टीलाई नै आफ्नो मूल उद्देश्य मानेको छ । ग्राहक सुविधामा केन्द्रित भएका सिप्रदीका सर्भिस सेन्टरले २४सै घण्टा सर्भिस दिने गरेका छन् । काठमाडौंमा सञ्चालित अत्याधुनिक सुविधायुक्त सर्भिस सेन्टरले दिनमा २४ देखि ५० वटासम्म गाडीको मर्मत सम्भार गर्ने गरेका छन् । सिप्रदीले सानादेखि ठूला सबै सवारी साधनका विभिन्न पार्टपुर्जा बेच्ने गरेको छ । साथसाथै गाडीको मेन्टिनेन्सलाई पनि उत्तिकै महत्व दिएको पाइन्छ । गाडी बिक्रीपश्चात केही समय निरन्तर सेवा दिनुपर्ने कुरामा सिप्रदी केन्द्रित भएको छ । त्यसैले सिप्रदीले प्यासेन्जर सर्भिसमा आफूलाई फोकस गरेको जनाएको छ । टाटाका यी अत्याधुनिक सर्भिस सेन्टरहरूले गाडीमा आउने सबैखाले समस्याको समाधान गर्दछ । यहाँ गाडीको समस्याका आधारमा भिन्न भिन्न प्रविधिको प्रयोग गरी मर्मत गरिन्छ ।

सर्भिस सेन्टरले सबै प्रकारका सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरेको छ । गाडी मर्मतमा प्रयोग गरिने स्पेसल टुल्सका लागि भिन्न कक्षको निर्माण गरिएको छ, जहाँ मेकानिकले सबै प्रकारका टुल्स पाउनेछ । त्यसैगरी इन्जिनको मर्मत गर्नका लागि न्युमेटिक पाइपलाइन भएको भिन्न खालको इन्जिन कक्ष रहेको छ, जहाँ इन्जिन र गेयर बक्सको मात्र काम हुन्छ । त्यसैगरी परिष्किृत डायग्नोसिस सफ्टवयर पनि छ । एउटा गाडीमा १० देखि २० वटासम्म कन्ट्रोल युनिटहरू हुने भएकाले यसको सूचनाको लागि ल्यापटपको प्रयोग गरिन्छ । सूचना ल्यापटप मार्फत गाडीको अवस्था र कुन युनिटमा के भएको भन्ने थाहा पाउन सकिन्छ । यो वर्कसपमा मेकालिनक, इलेक्ट्रिकल सबै कार्य गर्न सक्ने क्षमताका कर्मचारी छन् । यसैगरी सिप्रदीको सर्भिस सेन्टरमा लिन सकिने सुविधामा ह्विल अलाइनमेन्ट मेसिनद्वारा गाडीको टायरको अवस्था जाँच गर्ने सर्भिस पनि हो । गाडीको टायरलाई कम्प्युटराइज सिस्टमबाट स्क्यान गरी जाँच गर्ने तरिका नै ह्विल अलाइनमेन्ट सर्भिस हो । सिप्रदीको वर्कसपमा रहेको यस्तो सर्भिसले गर्दा पनि ग्राहकले आफ्नो गाडीको टायरको अवस्थाबारे विस्तृत रूपमा थाहा पाउन सक्छन् ।

सिप्रदीका आधिकारिक वर्कसपमा मुख्यतः ६ प्रकारको ग्राहक सेवा प्राप्त गर्न सकिन्छ । 

–२४ घण्टे सेवा : काठमाडौँ उपत्यकाभित्र जुनसुकै स्थानमा गाडी बिग्रिए पनि टाटाका टेक्निसियन गएर २४ घण्टाभित्र उक्त गाडीको अवस्था जाँच गरी ग्राहक समक्ष पुर्याइन्छ । 

–४८ घण्टे सेवा : मेजर समस्या भएका गाडीलाई ४८ घण्टाभित्र मर्मत गरी ग्राहकलाई बुझाइन्छ । यो सेवा भनेको समयमा दिन सकिएन भने कम्पनीले रकम फिर्ता गरिदिन्छ । 

–फास्ट ट्र्याक सर्भिसः सामान्य समस्या भएका गाडीहरूलाई ९० मिनेटभित्रमा मर्मत गरी ग्राहकलाई हस्तान्तरण गर्ने ।

–सञ्जीवनी स्किमः गाडी किनिसकेपछि पाइने वारेन्टीको समय सकेपछि पनि पाइने सुविधा हो यो । जसमा सञ्जीवनी स्किम लिएका ग्राहकले वारेन्टीको समय सकिएपछि पनि सेवा लिन सक्छन् । 

–पिक अप एन्ड ड्रप : यो सर्भिसमा ग्राहकले आफ्नो गाडी सर्भिसिङ गर्न वा कुनै समस्या आएमा वर्कसपसम्म लैजान नसकेको खण्डमा वर्कसपबाट कर्मचारी आफै आएर गाडी लैजाने र मर्मत गरी ग्राहकले चाहेको स्थानमा पुर्याइदिने सुविधा छ । एउटा वर्कसपमा २ देखि ३ जनासम्म ड्राइभर उपलब्ध छन् । 

–टोल फ्री : २४ सै घण्टा टोल फ्री नम्बरमा फोन गरी ग्राहकले सेवा लिन सक्छन् । गाडीमा कुनै समस्या आए टोल फ्री नम्बरमा फोन गरेमा वर्कसपका टेक्निसियन तुरुन्त उक्त स्थानमा पुगी सेवा दिनेछन् । 
यीबाहेक सिप्रदीका सर्भिस सेन्टरका मुख्य विशेषता यस्ता छन्

दक्ष कर्मचारी

सिप्रदीले आफ्नो सर्भिस सेन्टरमा कर्मचारी व्यवस्थापनलाई विशेष ध्यान दिएको छ । प्रविधिमा आएको सुधारसँगै ट्रेन्ड म्यानपावर विकासमा यो सेन्टरले विशेष ध्यान दिएको छ । टाटासँग सीटीईभीटीबाट प्रमाणित ट्रेनिङ सेन्टर पनि रहेको छ । ट्रेनिङ सेन्टरमार्फट ट्रेन्ड भएका कर्मचारी देशैभरी छरिएका छन् । टाटाले अर्को नयाँ प्रयोग पनि गरेको छ जसमा ‘ट्रेनिङ अन ह्विल’ रहेको छ । टाटाले सबै कर्मचारीलाई दक्ष बनाएर मात्र काममा लगाउने गरेको छ । कर्मचारीहरूलाई तीन तहमा छुट्याइएको छ, जसमा बेसिक स्किल टेक्निसियन, इन्टरमिडिएट स्किल टेक्निसियन र एड्भान्स स्किल टेक्निसियन ।

सिप्रदीले आफ्ना ग्राहकको सन्तुष्टीलाई फोकस गरेको छ । टाटाको बागडोलस्थित वर्कसपमा मात्रै हाल चार जना इन्जिनियरहरू छन् । इन्जिनियरले ग्राहकको गुनासो सुन्ने र त्यसलाई टेक्निकल शैलीमा ग्राहकलाई बुझाउने काम गर्छन् । गाडी बारे र गाडीमा आएका समस्याबारे पूर्णरूपमा जानकारी गराउने काम इन्जिनियरले गर्दछन् । साथै इन्जिनियरले गाडी कति किलोमिटर गुडेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा पनि आवश्यक सल्लाह दिने गर्दछन् ।  सिप्रदीको वर्कसप नेपालमै यो सुविधा प्रदान गर्ने पहिलो वर्कसप हो ।

कर्मचारीलाई सही तरिकाले परिचालन गर्नका लागि टाटाको वर्कसपमा टेक्निकल पोर्टलको व्यवस्था गरिएको छ । जसमा कुनै कर्मचारीले कुन गाडी कति समयमा मर्मत गरेर सक्नेदेखि गाडीलाई पूर्ण रूपमा फिट बनाउन थप केही गर्नुपर्ने भएमा पनि स्क्रिन टच सिस्टमबाट जानकारी गराइन्छ । एक टेक्निसियनले गाडी मर्मतको कार्य लिएपछि स्क्रिन टच सिस्टममा गएर लग इन गर्छ अनि टाइम सेट गरी काम सुरु गर्छ, जब गाडीको मर्मत कार्य सकिन्छ उसले स्टप थिचेर काम सकेको जानकारी दिन्छ । जुन जानकारी ग्राहक लाउन्जमा बसेको ग्राहकले प्रत्यक्ष नियाल्न सक्छ । कर्मचारीका कारणले ग्राहकलाई असुविधा नहोस् भनेर यस्तो सिस्टम बसालेको सिप्रदीले बताएको छ ।

डोर टु डोर सर्भिसः

सिप्रदी ट्रेडिङले नेपालमा पहिलो पटक डोर टु डोर सर्भिसको प्रयोग गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरूको घरमै गएर गाडीको ‘हेल्थ चेक’ गर्ने गरिन्छ । यसका लगि सर्भिस भ्यान (मोबाइल भ्यान) तयारी अवस्थामा राखिएको हुन्छ, जसले ग्राहकको आग्रहअनुसार फिल्डमै गएर सेवा दिन्छ । सर्भिस भ्यानमा गाडी रिपेयर गर्नका लागि सम्पूर्ण सामग्री राखिएको हुन्छ । ग्राहकले फोन गरेमा अथवा पहिले नै यो सेवा बुक गरेमा जहाँ जतिबेला पनि सर्भिसका लागि टोली तयारी अवस्थामा रहेको हुन्छ । यो मोबाइल भ्यानमा एकजना टेक्निसियन, एकजना इन्जिनियर र एकजना ड्राइभर तयारी अवस्थामा रहेको हुन्छ  । गाडीको अवस्थाबारे जाँच गरी ल्यापटप डाइग्नोसिस पनि गरिन्छ । यदि गाडीमा धेरै समस्या छ भने वर्कसपमा लगी मर्मत गरी यथास्थानमा पुर्याउने सुविधा दिन्छ । डोर टु डोर सर्भिस फ्री सर्भिस हो । यसमा गाडीको निःशुल्क चेकअप गरिन्छ । डोर टु डोर सर्भिसअन्तर्गत यदी गाडी सर्भिस सेन्टरमा नै लैजानुपर्ने अवस्था भयो भने सर्भिसपछिको चार्जमा १० प्रतिशत छुट दिने व्यवस्था छ ।

ग्राहक लाउन्ज

सिप्रदीका सर्भिस सेन्टरमा अन्य सर्भिस सेन्टरमा भन्दा भिन्न खालको सुविधा प्राप्त गर्न सकिन्छ त्यसमध्येको एक हो ग्राहक लाउन्ज । गाडी मर्मत भइरहेको अवस्थामा के गर्ने भन्ने समस्या यहाँ हुँदैन । ग्राहकका लागि छुट्टै कोठाको सुविधा हुन्छ, जहाँ आरामसँग गाडी मर्मतको कार्यबारे जानकारी लिँदै चिया कफी पिउँदै बस्न सकिन्छ । सिप्रदीको सर्भिस सेन्टरको ग्राहक लाउन्जको अर्को मुख्य विशेषता भनेको ईभीएसडी (इलेक्ट्रोनिक भेइकल स्ट्राटेजी डिस्प्ले) सर्भिस हो । जहाँ आफ्नो गाडी के हुँदैछ, गाडीमा के कस्ता मर्मत कार्य भइरहेको छ भन्ने सम्पूर्ण जानकारी ड्यासबोर्डमा डिस्प्ले भइरहेको हुन्छ । आफ्नो गाडीको स्टाटस बसी–बसी प्रत्यक्ष हेर्न सकिन्छ । सेफ्टीको हिसाबले पनि ग्राहक लाउन्ज महत्वपूर्ण पाटो हो । गाडीको कुनै पनि समस्याबारे जानकारी दिनुपर्यो भने इन्जिनियर, टेक्निसियन आफै ग्राहक लाउन्जमा आएर ग्राहकसँग छलफल गर्ने गर्दछन् ।

विश्वकै अग्रणी अटोमोबाइल कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालमा पनि आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । भारतीय कम्पनी टाटाले कार, युटिलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेइकल आदिको उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । टाटाको कार, बस र ट्रकहरू एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रसिया, युरोप, अफ्रिका, कोरिया, थाइल्यान्ड, बेलायतलगायत विश्वका विभिन्न भागहरूमा बिक्रीवितरण गरिन्छ । त्यसैगरी विश्वका विभिन्न स्थानमा यसका सहायक कम्पनीहरू पनि स्थापना भएका छन्  । 

नेपालमा टाटाका टिगोर, टिआगो, बोलट, इन्डिका, इन्डिगो, जेस्ट, टाटा सुमो, नेक्जन, हेक्जा, सुमो गोल्ड, स्टोर्म जस्ता कार र युटिलिटी गाडीहरू बिक्रीवितरण भइरहेका छन् । यीबाहेक पिकअप गाडी, साना ट्रक अनि भ्यान, लाइट ट्रक, मिडियम अनि हेभी ट्रक, बसलगायतका सवारी साधन सिप्रदीले नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप