बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजपामा पूर्वका नेता हावी भए (अन्तर्वार्ता)

सोमबार, ०२ साउन २०७४, ११ : ००
सोमबार, ०२ साउन २०७४

वृजेश गुप्ता, महासचिव, राष्ट्रिय जनता पार्टी नेपाल


राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको झण्डै तीन महिना पुग्न लागेको छ, तर त्यसभित्र रहेका विवादहरु व्यवस्थापन अझै हुन सकेको छैन । 


पार्टीको गठन प्रकृयादेखि लिएर विधान, घोषणापत्र तथा कार्यसमितिलगायत माथि विभिन्न आरोपहरु लाग्न थालेपछि पार्टी आन्तरिक रुपमा विवादीत बनेको छ । छ जनाको अध्यक्ष मण्डल रहने गरी ८१५ जनाको कार्यसमिति बनाइए पनि तर त्यसमा पनि धेरैले असन्तुष्टि जनाएका छन् । 


पार्टीको कार्यसमिति, विधान, घोषणापत्रलगायतको विषयमा असन्तुष्टि जनाउँदै नारायणीदेखि पूर्वका मधेशी नेताहरुले हिजो रुपन्देहीका भैरहवामा छुट्टै भेला गरेका थिए । सो भेलाको आयोजना राजपा नेपालका सहअध्यक्ष हृदयश त्रिपाठीले गरेका थिए । 


भेलामा राजपा नेपालमा असन्तुष्टहरुको जमघट थियो । के भयो भेलामा ? के छ असन्तुष्टि ? यसकालाई कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा राजपा नेपालका महासचिव वृजेश गुप्ता जो भेलामा सहभागि थिए । रातोपाटीले उनीसँग गरेको छोटो कुराकानीः

राजपा नेपालका असन्तुष्ट पक्षले भैरहवामा छुट्टै भेला गरेको कुरा आइरहेको छ । खास के हो कुरा ?
– असन्तुष्ट पक्ष त नभनौ तर हामी पश्चिमका नेताहरु आपसमा छलफलका गर्नका लागि बसेका थियौंँ । यसअघि पाँच नम्बर प्रदेशमा सम्पन्न भएको चुनाव र असोज २ गते हुन गइरहेको चुनावको बारेमा छलफल गर्नका लागि बसेका थियौं । 

के निष्कर्ष निस्कियो त छलफलमा ?
यही कि यदी दुई नम्बरको चुनाव सार्दा पाँच नम्बरको पनि चुनाव सार्नु पर्थ्यो तर त्यो भएन । दुई नम्बर प्रदेश र पाँच नम्बर प्रदेशका मधेशी जनता समान रुपले पीडित छन् । उनीहरुको माग पनि एउटै हो । 

दुई नम्बर प्रदेशको चुनाव सरकारले सारेको छ तर असन्तुष्टि राजपा नेपालमाथि किन त ?
सरकारले त भनिरहेको छ कि राजपा नेपालको सहमतिमा दुई नम्बर प्रदेशको मिति सारेका हौँ । सरकारका प्रतिनिधिले यो कुरा एकपटक होइन, पटक पटक भनिरहेका छन् तर राजपा नेपालबाट त्यो रुपमा त्यसको कुनै खण्डन आएन । अनि यसबाट के बुझ्ने हामी ? सरकारले दुई नम्बरको चुनाव रोकेर पाँच नम्बरको घोषणा गर्यो भने त्यसलाई राजपा नेपालले रोक्नु पथ्र्यो । सरकारलाई रोन्नका लागि दवाव दिएको भए अवश्य नै रोकिन्थ्यो तर त्यसो नगरेर मौन बस्यो । घोषणा भइसकेपछि पनि त्यसलाई वहिष्कार गर्नुपथ्र्यो त्यसलाई रोक्न सारा शक्ति लगाउनु पथ्र्यो तर केही कतै देखिएन । चुनावका दिन सबै शीर्ष नेताहरु काठमाडौमा बसे । एक दिनको बन्द कार्यक्रम र त्यस अगाडिका लाठी जुलुस, मसाल जुलुस जस्ता आन्दोलनको कार्यक्रम राखेको थियो त्यसले यो सरकारलाई के दवाव पर्छ ? यसको मतलब राजपा नेपालको समर्थनमा चुनाव सारिएको हो भनि पुष्टि हुन्छ । त्यसो भए सरकार ले भनेको कुरामा दम छ !

तपाई त पार्टीका महासचिव हुनुहुन्छ, राजपा नेपालको बारेमा यसो भन्न मिल्छ त ?
–म पार्टीको महासचिव हुँ तर त्यसको विधान कस्तो छ थाह छैन । पार्टीको विधान पनि बनेको छ भने कुरा राजपा नेपालका केही नेता बाहेक कसैलाई थाह छैन । जुन पार्टीमा छु, त्यो पार्टीको विधान कस्तो छ, के लेखेका छन् त्यसको बारेमा जान्ने अधिकार पार्टीमा रहेका अन्य नेताहरुलाई छ कि छैन ? हामी त्यो पार्टीमा लागेका छौ, हामीले त्यो विधानको बारेमा थाह पाउनु पर्छ कि पर्दैन ? कि छजनाले जे दिएका छन् त्यसैलाई स्वीकार गर्नुपर्छ ? म पार्टीको महासचिव हुँ तर पार्टीको विधान बारे अनलाइन, टीभी र पत्रपत्रिकाको माध्यमाबाट जानकारी लिन्छौँ यो कस्तो दुर्भाग्य हो । विधान डेमोक्रेटिक हुनुपर्छ हिप्पोक्रेटिक होइन । समावेशी र समानुपातिक तथा सबैको मर्यादाक्रमलाई ख्याल गरेर विधान बनाउनुपर्छ । त्यसमा केही विचार गरेको छैन ।

अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्ष, महासचिवहरु त छन् यसमा फेरि कस्तो मर्यादाक्रम भन्नुभएको ?
–राजपा नेपालको १२ वटा जिल्लामा संगठन रहेको छ । तर त्यसको कार्यसमिति ८१५ जनाको छ । नेपाली काँग्रेस देशको सबभन्दा ठूलो पार्टी हो त्यसको कति छ, एमाले दोस्रो ठूलो पार्टीका त्यसको कति छ हेर्नुस् त्यसबाट थाहा हुन्छ । अब राजपा नेपाल पार्टी भएको छ, अब मोर्चा होइन । पार्टीहरुको आफ्नौ ह्यारार्की हुन्छ । अब हरेक कुरामा भागबण्डा लगाउन मिल्दैन । मोर्चाले प्रधानमन्त्रीसँग वार्ता गर्न जाँदा सबै दलबाट एकएकजना प्रतिनिधिहरु जान्थ्यो त्यो स्वभाविक हो तर अहिले पनि वार्ता वा कुनै ठाउँमा जाँदा सबै दलको प्रतिनिधि जस्तै किन जानु पर्यो । ८१५ जना कार्यसमितिमा झण्डै एकसयजना महासचिवको आवश्यकता किन पर्यो । त्यो किन ? छजना अध्यक्षलाई हामीले नेता मानेका छौ के अब उसको बीबी (श्रीमती), छोरा, छोरी, भतिजा, भतिजीलाई पनि नेता मानिदिनुपर्ने । पार्टी गठन त हरेक क्षेत्रका मान्छे राखेर मार्यादाक्रम मिलाएर बनाउनुपर्ने होइन, एउटै गाउँको मान्छे राखेर पार्टी बन्छ, श्रीमती छोरा छोरी, भतिजा भतिजी नाता कुटुम्बलाई राखेर पार्टी बन्छ, बन्दैन नि । हो हामीलाई यिनै कुराहरुमा आपत्ति छ । यी कुराहरुलाई सुधार गर्न भनेको छु । १५ दिनभित्र त्यसलाई सुधार गर्न भनेका छौँ ।

लिखित अल्टिमेटम दिनुभएको छ कि मौखिक हो ?
–लिखित होइन, काठमाडौ पुगेर नै शीर्ष नेताहरुसँग कुरा गर्ने भनेका छौ ।

भनिन्छ, पार्टी नै विभाजन हुँदैछ रे ?
–होइन, यो एकदम गलत कुरा हो । हामीलाई पार्टी एकीकरण गरेका छौ जुट्नका लागि फुट्नका लागि होइन । हामीले पार्टीभित्र रहेका कमी कमजोरीलाई सुधार गर्न भनेका छौ । राजपा नेपालमा ५० प्रतिशत शेयर तमलोपाको रहेको छ । ११ वर्षदेखि त्यो पार्टीमा लागेको छु । यत्रो मेहनतले एकीकरण भएको छ त्यसलाई छाड्न सकिदैन बरु त्यही रहेर पार्टीलाई राम्रो बनाउँछु ।

राजपा नेपाल पूर्वको कब्जामा छ भने आरोप पश्चिमका नेताहरुको छ नि ?
–हो त । छ मैले अघि नै विभिन्न कुराहरु भने त्यसबाट पुष्टि हुन्छ । राजपा नेपालले पश्चिम मधेशमाथि ध्यान नदिएको कुरा सही हो । देशको पाँचौ पार्टीको रुपमा राजपा नेपाल रहेको छ । पाँचौ नम्बरको स्थान ८१५ जनाको केन्द्रीय समितिले हासिल गरेको होइन, सांसदको संख्याले हासिल गरेको हो । राजपा नेपालमा पश्चिमका सांसद पनि छन् । सातजना सांसद रहेका छन् त्यसको मूल्यांकन गर्नुपर्छ कि पर्दैन ? सांसदको संख्या लिएर पार्टीका र्याङकिङमा राख्ने तर ती सांसदहरुलाई सम्मान नदिने यो कस्तो नीति हो ? पूर्वतिर बढी सांसद छन् तर त्यसको तुलनामा पश्चिमलाई कम मान्न सकिँदैन त्यही अनुसार पार्टीमा क्रम मिलाउनुपर्छ । घरमुलीले सबैलाई बराबर देखाउनुपर्छ । सबैलाई समान व्यवहार गर्नुपर्छ । पार्टी गठन भएको तीन महिना भइसक्यो तर व्यवस्थित हुन सकिरहेको छैन । त्यस पार्टीमा छौं तर कुनै महत्व छैन ।


यदि यी कुराहरु सुधार भएन भने के हुन्छ ?
–अहिले केही भन्न सकिदैन । तर यति भन्छु पार्टी विभाजन हुँदैन । केन्द्रीय समितिको बैठक बसाउन सकिदैन भने महाधिवेशन गराउनुपर्छ । पार्टीलाई व्यवस्थित गर्न सकिएन भने हामी महाधिवेशन गराउन माग गर्छौ । पार्टी जोड्नु मात्र विकल्प होइन, त्यसलाई व्यवस्थापन पनि गर्नुपर्छ । पार्टी पार्टी बनोस् एनजियो होइन । पार्टी गठन गर्दा तराई मधेश शब्द हटाएको छ कि यसलाई राष्ट्रव्यापी बनाउने भनेर । तर, त्यो पार्टी परिवार, गाउँ, जिल्लाभन्दा माथी उठ्न सकेको छैन । राष्ट्रव्यापी बनाउनका लागि सोच पनि राष्ट्रव्यापी जस्तै राख्नुपर्छ ।  

 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप