शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जूँगू घटनाको फायल महान्यायाधिवक्ताले गायब गराएको एमाले सांसदको आरोप

सोमबार, ०२ साउन २०७४, १५ : ०५
सोमबार, ०२ साउन २०७४

काठमाडौं– सांसदहरुले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ‘जूँगू घटना’का दोषीलाई संरक्षण दिने काम गरिरहेको आरोप लगाएका छन् । दोलखाका सांसदहरुले ‘जूँगू घटना’ का दोषीमाथि कार्वाही गर्न उच्च अदालत पाटनमा दर्ता गर्न लगिएको मुद्दाको फायल नै वेपत्ता बनाएर महान्यायाधिवक्ता श्रेष्ठले दोषीलाई संरक्षण दिने काम गरिरहेको आरोप लगाएका हुन । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दोलखाका सांसदत्रय पशुपति चौंलागाई, पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलले जिल्ला अदालतले न्याय नदिएपछि न्यायको खोजीमा आएका पीडितमाथि झनै अन्याय गर्ने काम महान्यायाधिवक्ता श्रेष्ठबाटै भएको भन्दै आपत्ति पनि जनाएका छन् । 

हत्याजस्तो गम्भिर फौजदारी मुद्दामा सरकारी वकिल स्वयम्ले अग्रसरता लिनुपर्नेमा आफ्नो आस्था निकट रहेका अभियुक्त भएकै कारणले पीडितलाई न्याय दिनबाट बञ्चित गराउने काम महान्यायाधिवक्ताबाटै भइरहेको दावी पनि सांसदहरुले गरे । सांसद पशुपति चौंलागाईले न्याय निरुपण गर्ने सरकारका प्रवक्ता आफैले न्याय मार्ने षडयन्त्र गरिरहेको आरोप लगाए । अर्का सांसद पार्वत गुरुङले पीडितलाई न्याय दिन खोज्दा महान्यायाधिवक्ता श्रेष्ठको ठाडो निर्देशनमा दोलखामा डिएसपी र सरकारी वकिलनै सरुवा गरिएको भन्दैे घटनाका अभियुक्तहरुलाई संरक्षण दिने काम महान्यायाधिवक्ता आफैले गरेपछि त्यसको विरोधमा बोल्नु आफूहरुको दायित्व भएको बताए । 

सांसद आनन्दप्रसाद पोखरेलले सरकारी तहबाटै न्याय निरुपण हुन नदिने गम्भिर षडयन्त्र भइरहेको आरोप लगाए । 

माओवादी केन्द्रले स्थानीय चुनावको प्रचार अभियानमा जुटिरहेका बेला दोलखा जूँगूका कुलबहादुर तामाङलाई गत बैशाख २६ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसपछि पीडित पक्षले न्याय पाउन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । तर, जिल्ला अदालतले पक्राउ परेका ३९ जना अभियुक्तहरुलाई पनि सामान्य तारेखमा रिहा गरेपछि पीडित पक्षले न्यायको खोजी गर्दै न्यायपरिषदमा उक्त विषय छानवीन गर्न निवेदन समेत दिएका छन । 

पीडितलाई न्याय नदिन राज्य पक्ष आफै अग्रसर भएको दोलखाका सांसदहरुको दावी छ । उनीहरुले पीडितलाई न्याय दिन राज्य पक्ष गम्भिर नभए त्यसको परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी पनि दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप