‘नोबेल पुरस्कार’ प्रदान गरिएको केही मिनेटमा नै चोरियो !
गणितको दुनियाँमा सबैभन्दा प्रतिष्ठित पुरस्कार फिल्ड मेडल वितरण गरिएको आधा घण्टामै चोरी भएको छ ।
बुधबार ब्राजिलको सहर रियो दे जेनेरियोमा आयोजना भएको एक कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको थियो ।
फिल्ड मेडललाई गणितको नोबेल पुरस्कार भनिन्छ । यो पटक चार गणितज्ञलाई संयुक्त रुपमा मेडल प्रदान गरियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक चोसर बिरकर मेडल पाउने चार जनामध्ये एक थिए ।
तर बिरकरलाई प्रदान गरिएको मेडल केही मिनेटभित्रै चोरी भएको थियो । ब्राजिलियन मिडिया जी–वन न्युजका अनुसार बिरकरले आफूले पाएको मेडल उनको मोबाइल र वालेटसँगै एक ब्रिफकेसमा राखेका थिए । र उनले उक्त ब्रिफकेस कार्यक्रमस्थलको एक टेबलमा छाडेका थिए ।
कार्यक्रमको सुरक्षा टिमले पछि ब्रिफकेस एक बेन्चमुनि भेटेका थिए तर त्यसमा मेडल भने थिएन ।
रियो ओ ग्लोबो समाचारपत्रले सीसीटीभी क्यामेरामा चोरको पहिचान भइसकेको लेखेको छ ।
आयोजकले पनि एक वक्तव्य जारी गर्दै चोरी प्रति खेद प्रकट गर्दै लेखेको छ, ‘कार्यक्रमको सीसीटीभी फुटेजको तस्वीरहरुको विश्लेषण जारी छ । यस घटनाबारे आयोजक समितिले स्थानीय प्रहरी निकायहरुसँग समन्वय गरिरहेका छ ।’
बुधबार रियोमा सम्पन्न इन्टरनेशनल कङ्ग्रेस अफ म्याथम्याटीक्सले उक्त मेडल वितरण गरेको थियो ।
सन् १९३६ मा पहिलो पटक फिल्ड मेडल वितरण गरिएको थियो । सन् १९५० बाट भने फिल्ड मेडल प्रत्येक चार वर्षमा चालिस वर्ष नकटेका चारजना सम्म गणितज्ञहरुलाई प्रदान गरिने नियम बनाइयो ।