बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शब्द, त्यसको कर्म र मर्म

बिहीबार, १७ साउन २०७५, १४ : ०९
बिहीबार, १७ साउन २०७५

१. सांस्कृतिक निरन्तरता :
    दरबार, राजा, महाराजा, सिंहासन, विराजमान, शासन, हुकुम, सवारी, चाकरी जस्ता शब्द अहिले चलन चल्तीमा सुनिँदैन । शासकीय व्यवहारमा कायम छन् । संस्कृतिमा कायम छन् । पहिले शब्दसँगै कर्म दगुर्थे । अहिले शब्दहरू कर्ममा विलिन भएका छन् । कर्ममा भने पहिले जत्तिकै जब्बर रूपमा क्रियाशील छन् । यो राजनीतिक संस्कृतिको कुरा हो । परम्पराको कुरा हो । मानसिकताको कुरा हो ।    

    हामीले कथा र लोककथामा सुनेका छौँ, इतिहासमा पढेका छौँ, दगुरेर, जितेर, अथवा हात्तीले माला लगाइदिएर अमुक नवराज राजा भयो । राजा भएपछि दरबार पाइयो । रनिवास पाइयो । आसन, शयन र चौरासी परिकार भोजनको प्रबन्ध पाइयो । अब महाराज हुने महत्वाकाङ्क्षा जाग्यो । सिंहासन चाहियो । विराजमान हुन चाहियो । शासन गर्न मन भयो । हुकुम दिउँदिउँ भएर आयो । हुकुम पनि चल्यो । अब अघिपछि भाइभारदार र सेना प्रहरी राखेर भव्य सवारीमा प्रदर्शित हुनु आवश्यक लाग्यो । प्रदर्शित नहुँदाको शान के शान ? ठान, मान र शानकै लागि पनि बेलाबेला सडक एकलौटी बनाएर सवारीमा चल्न आवश्यक लाग्यो । यति भएपछि प्रतिदिन चाकरीमा धाउनेहरूको ताँती पनि किन नहेर्ने ? त्यो पनि आवश्यक नै लाग्यो ।
    सुन्दा गन्थन लाग्छ । छेउ न टुप्पाको कथा लाग्छ । म संस्कृतिको कुरा गर्दैछु । परम्पराको कुरा गर्दै छु । मानसिकताको कुरा गर्दैछु ।
  

 शासकीय व्यवहारमा शब्दहरू बदलिएका छन् । कति शब्द बदलिन बाँकी पनि छन् । दरबार बाँकी छ । सिंहदरबार नै बाँकी छ । सिंहासन कुर्सीमा फेरिएको छ । शासन यथावत् छँदै छ । प्रशासन थपिएको छ । सवारी कायमै छ । सवारीको ठान, मान र शान प्रदर्शनमा सङ्ख्यात्मक र गुणात्मक विकास भएको छ । पहिलेका शासक हुकुम दिन्थे । अहिलेका शासक निर्देशन दिन्छन् ।  अहिले निर्देशन शब्द बढी नै चल्तीमा छ । निरन्तर चाकरीमा रहनेहरूप्रतिको शासकहरूको आकर्षण र कृपादृष्टि त अझ पुरानै परम्परा हो । महाभारतभन्दा पनि पुरानो । महाभारत कालमा पनि अर्जुनसँग कृष्णले भनेका थिए– “मन्मना भव मद्भक्तो मद्याजी माम् नमस्कुरु” (श्रीमद्भगवद्गीता) ।

    व्यवहारमा कति कुरा यस्ता छन् जो हम्मेसी फेरिँदैनन् । त्यसलाई हामी संस्कार भन्छौं, संस्कृति भन्छौँ । संस्कृति फेर्न क्रान्तिकारी सङ्कल्प चाहिन्छ । क्रान्ति चाहिन्छ । हामीकहाँ अझै त्यस्तो क्रान्ति भएको छैन । हलोक्रन्ति एउटा आरम्भ थियो । त्यसपछि हामीकहाँ सुविचारित रूपमा सांस्कृतिक क्रान्ति भएकै छैन । क्रान्ति परिवर्तन हो । परिवर्तन कि प्रतिबद्धता र इच्छाशक्तिले सम्पन्न त्यागी तपस्वी राजनेताहरूबाट हुन्छ कि बलिदानी जनताबाट हुन्छ । हामीकहाँ परम्परागत गलत  चिन्तन र व्यवहार फेर्ने क्रान्ति अझै भएको छैन । राजनीतिक संस्कृतिका क्षेत्रमा पनि हामी अझै सत्तरी वर्षअघिकै अवस्थिति र मनस्थितिमा छौँ । हामीकहाँ सत्तासीनहरूमा देखिने आफन्तवाद र मिलिजुली खाने, हाजमोलाले पचाउने जुन परिपाटी देखिन्छ, जनतालाई इतर तत्व ठान्ने र जनआवाजप्रति असहिष्णु बन्ने जुन परिपाटी देखिन्छ, त्यो यथास्थितिको परम्परा हो । परम्परागत शासकीय संस्कृति हो । नयाँ कुरा होइन । 

२) हुकुम प्रमाङ्गीबाट खाइपाई आएकाहरू
    लोकमान नामले एक समय अलि बढी नै चर्चा पायो । यसो हुनुका पछाडि पुराना राजाका हुकुम प्रमाङ्गी पनि हो । ०४८ पछिका दलपति शासकहरूले पनि नियमित चाकरीमा सम्मिलितलाई आवश्यक शैक्षिक योग्यता र विधिसम्मत प्रमाणपत्र भए पनि नभए पनि सरकारी जागिरमा नियुक्त गर्ने परिपाटी कायम राखेको तथ्य अहिले आएर धमाधम खुल्दैछन् ।     “चातुर्यं चाकरी मात्रे कौशलं भ्रष्टकर्मणि
    भाले लिखति चैतावत् काङ्ग्रेसीजन संस्कृतिः”     एकजना पण्डित ०४८ देखि नै बेलामौका यो श्लोक भट्याउने गर्थे । अहिले आएर सटिक व्याख्याका लागि ससन्दर्भ अर्थ खुलेको छ ।
  

 पटक पटकका सम्माननीय जीपीसँग हाइज्याकलगायतको सर्टिफिकेट थियो । उहाँ अरू सर्टिफिकेटको लफडामा लाग्नु भएन । कति कम्युनिस्ट राजनेताहरूलाई पनि सर्टिफिकेटका लफडा मन पर्दैनन् । नेता, मन्त्री प्रधानमन्त्री बन्न शैक्षिक योग्यताका प्रमाणपत्र चाहिँदैनन् पनि । सरकारी जागिरकै लागि पनि प्रमाणपत्रको आवश्यकता र तिनको वैधता जाँच्ने लण्ठा कसैले किन गर्ने ? राजनीतिमा लागेपछि कर्मचारीलाई पनि फुर्सत हुँदैन । नेता उपनेताका घरदैलोमा पुग्नु जो आवश्यक परिरहन्छ ।

    आज जो मुलुकका उच्च ओहदामा छन्, तीमध्ये धेरैजसो ०४८ को सेराफेरोमा भर्तीको अवसर पाएकाहरू छन् । विकृति विसङ्गतिको विकासे खेतीमा नेपाली काङ्ग्रेसको आफ्नै किसिमको लोकतान्त्रिक अभियानले विशेष उत्कर्ष पाएको त्यसै समय खण्डमा हो । ०४८ तिरको आम भर्ती कालमा कम्युनिस्टहरू सत्तामा थिएनन् । यसैले आज केन्द्रीय दृश्यपटलमा काङ्ग्रेस नियुक्त हाकिम बडाहाकिमहरू देखिएका छन् । जसमध्ये कतिका प्रमाणपत्र छैनन् र भएका पनि विवादित छन् ।

    मानिसबाट गल्ती हुन्छ । गल्ती सुधार्न पाइन्छ । सुधारका लागि गल्ती सकार्न र साविती बयान दिन सक्नुपर्छ । गल्ती महसुस गरेर सच्याउन आफै अघि सर्नुपर्नेमा विकृत विसङ्गत व्यवहारले टुप्पीसम्म डुबेका अन्यायविम्बहरूकै पक्षमा उत्तेजित हुनु लोकतन्त्रमा कुनै पनि राजनीतिक दलबलका लागि सुहाउँदो व्यवहार होइन ।
    यो सबै नीतिहीन, सिद्धान्तहीन र दायित्वहीन राजनीतिक संस्कृतिको करामत हो ।

    ३) अब एक पटक शब्द र त्यसका कर्मको मर्मतिर लागौँ     
    महान्बाट महत्ता बन्छ, महत्व बन्छ, महिमा बन्छ । नेपाली लोक जीवनमा सबैभन्दा बढी भिजेको शब्द महिमा हो । यस शब्दका सहजकर्ता प्रचारक विभिन्न पुराणका वाचक पण्डितहरू हुन् । उनीहरू विभिन्न व्रत पूजाका महिमा गाउँछन् । विभिन्न चाडपर्वका महिमा गाउँछन् । गाउँबस्तीका बुढापाकाले कुनै कुराको बखान गर्दा ‘यसको महिमा ठूलो छ !’ भनेको हामीले पटक पटक सुन्दै आएका हौँ ।
  

 एक देशबाट अर्को देशमा राजदूतका रूपमा राज्यले पठाइने व्यक्तित्व देशविदेशमा ख्याति कमाएका धेरै नै महिमाशाली विद्वान् व्यक्तित्व हुने गरेको इतिहास हामीसँग छ । यसै आधारमा हामीले पनि राजदूतलाई महामहिम भन्दै र बुझ्दै आयौँ । विदेशमा बसेर आफ्नो मुलुक तथा राज्यको प्रतिनिधित्व गर्ने व्यक्ति विशिष्ट  विद्वान्, अनुभवी र इमानदार कूटनीतिज्ञ समेत हुनपर्नु स्वाभाविक आवश्यकता पनि हो । यसरी हेर्दा राजदूतका लागि प्रयोग गरिने महामहिम शब्द राजदूतको महिमाशाली काम कर्तव्यसँग सीधै सम्बन्धित देखिन्छ ।

    लोकतान्त्रिक मात्र नभएर सङ्घीय र गणतान्त्रिक समेतका तीन तीन विशेषण भिरेको आजको नेपालको समाजवादोन्मुख संविधान मुताविक आमनिर्वाचनद्वारा नयाँ निर्वाचित प्रतिनिधिहरूबाट बनेको नेकपा सरकारले आफ्नो निर्वाचन घोषणामुताविक मुलुकसमृद्ध बनाउने क्रममा विभिन्न मित्रदेशहरूमा नयाँ नयाँ राजदूत नियुक्तिको प्रक्रिया पनि सुरु गरेको चर्चा सञ्चार जगतमा छरिएको छ । त्यसै क्रममा कतिपय सम्भावित व्यक्तिहरूको पनि चर्चा छ । तीमध्ये कति व्यक्तित्वहरू गत निर्वाचनमा र विगत संविधानसभाको निर्वाचनमा कसैलाई जिताउन र कसैलाई हराउन लागिपरेबापत आलेचित सुनिएका महिमाशाली पनि छन् । अनावश्यक रूपमा हलो अड्काएर नयाँ सरकार गठन महिनौँ अलमल्याएका थप महिमाशाली व्यक्तित्वहरू पनि छन् ।    वर्तमान सरकारका लागि महिमा पहिचान र महिमाशाली व्यक्तित्व चयनका नीतिसूत्रहरू कुन शास्त्रका छन् र कुन गुरुमुखबाट व्याख्यायित छन् । थाहा पाउन जनतामा जिज्ञासा जागेको छ ।
  

 ४) अब शिलालेख र हात्तीदाँतका कुरा ।
    नेताहरू भाषण गर्दा हामी यसो गर्न प्रतिबद्ध छौँ, उसो गर्न प्रतिबद्ध छौँ भन्छन् । प्रतिबद्ध शब्द हामी जनसामान्यका लागि सुगम र सरल शब्द होइन । नेताहरूका लागि त यो थेगो जस्तै हो । जस्तै ‘चाहिने’ थेगोवालहरू ‘नचाहिने’ काम बढी गर्छन् । हाम्रा नेताहरू पनि प्रतिबद्धताका कुरा गर्छन् । पूरा गर्दैनन् । उनीहरूलाई परम्परागत रूपमै यो सुविधा प्राप्त छ । 
  

 चल्तीको र सजिलो शब्द वचनबद्धता हो । वचनले बाँधिनु हो । बोलेपछि पूरा गर्नु हो । हाम्रा असल पुर्खाहरू वचनबद्धतालाई ठूलो महत्व दिन्थे । वचनबद्धताकै आधारमा व्यक्तिको व्यक्तित्व निरुपित हुन्थ्यो । उनीहरू बोलीलाई शिलालेख र हात्तीदाँतसँग तुलना गर्थे । जस्तै,
    “सद्भिस्तु लीलया प्रोक्तं शिलालिखित मक्षरम्
    असद्भिः शपथेनापि जले लिखित मक्षरम् ।
 

   अर्थात् सज्जनले ख्याल ठट्टामै बोलेका कुरा पनि ढुङ्गामा कपेका अक्षर जत्तिकै खम्बिरा हुन्छन् । असज्जनले जतिसुकै किरिया खाएर बोले पनि त्यो पानीमा लेखिएका अक्षरजस्तै हुन् । त्यस्ता बोलीको भर हुँदैन ।”
    “दन्तिदन्तसमानं हि निःसृतं महतां वचः
    कुर्मग्रीवेव नीचानां पुनरायाति याति च ।
    अर्थात् महत्वपूर्ण व्यक्तित्वहरूको बोली हात्तीको दाँत जस्तै हो । निस्केपछि निस्क्यो, निस्क्योे । नीच मनुवाहरूको बोलीचाहिँ कछुवाको टाउको जस्तै हो । छिनमा बाहिर निस्कन्छ छिनमा भित्र पस्छ । भरै छैन ।”
    डा. गाविन्द केसीले एउटै मागमा पन्ध्र पटक आमरण अनशन बसेको हामीले देख्यौँ । काङ्ग्रेसले उफ्री उफ्री विरोध गरेका श्रव्यदृश्य पनि देख्यौँ । उफ्री उफ्री समर्थन गरेका श्रव्यदृश्य पनि देख्यौँ । काङ्ग्रेसको बहुरङ्गिताबाट कम्युनिस्टहरूले समयमै आवश्यक शिक्षा लिनसकेको भने हामीले देखेनौँ ।
 

   जनहितमा लागिपर्ने त्यागी तपस्वी व्यक्तित्वलाई त जनवादी भनिनेहरूकोे सरकारले साथ लिन सक्न्नुपथ्र्यो ।
 

   डा. केसीले स्वास्थ्यका क्षेत्रमा आवश्यक सुधार र प्रगतिकै कुरा ल्याएका थिए । त्यसकै लागि पन्ध्र पटकसम्म आमरण अनशन गरे । प्रत्येक सम्झौतापछि सरकारले वचनबद्धता पालन गरेन । यो यथार्थ जगजाहेर छ । वर्तमान सरकारले डा. केसीको साथसहयोग लिएर काम गरेको भए दुई चार जना लगानीकर्ता कामरेडहरू जर्जराए पनि बाँकी जनताले जयगान गर्थें । डा. केसीले ल्याएका कुरा जनताकै कुरा हुन् र नीतिगत रूपमा हाम्रै कुरा हुन् भन्नेसम्म पनि वर्तमान सरकारले समयमा बुझेन् । 
 

   पछि शायद बुझेछ कि ? सम्झौता भएको छ । सरकारले कछुवाको अनुकरण नगरोस् । सम्झौताको इज्जत राखोस् । हामी जनताको शुभकामना छ ।    
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमण नेपाल
रमण नेपाल
लेखकबाट थप