केन्द्रीय संस्करण

के हो २१औँ शताब्दीको जनवाद ?

person explore access_timeसाउन १७, २०७५ chat_bubble_outline0

२०औँ शताब्दीमा क. माओले जनवादी राज्यरूप स्थापनार्थ अङ्गीकार गरिएको दीर्घकालीन सशस्त्र जनयुद्धको कार्यदिशाको औचित्य २१औँ शताब्दीमा कति वैज्ञानिक र व्यावहारिक छ भन्ने सवालमा मतमतान्तर र बहस हुँदै आएको छ । २१औँ शताब्दीमा अभूतपूर्व रूपमा विकास भएको सूचना–सञ्चारप्रविधि र त्यसैको जगमा अडेको एकछत्र भूमण्डलीकृत साम्राज्यवाद विश्वमा हावी भएपछि वर्गदुस्मनको चरित्रमा आएको फेरबदल र त्यसबाट पैदा भएको नयाँ विश्वपरिस्थितिका कारण सर्वहारा वर्गले क्रान्तिको कार्यदिशा परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकता खट्किएको छ । जटिल र कठिन विश्व परिस्थितिको बहाना तेस्र्याएर क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकास गर्ने सिलसिलामा कतिपय कम्युनिस्ट पार्टीहरू वितण्डतावादमा फस्नु उत्पीडित वर्गीय दुर्भाग्यबाहेक अरू हुन सक्दैन । नेपालको सन्दर्भमा शान्तिपूर्ण तरिकाबाट नै समाजवादमा पुग्न सकिन्छ भन्ने अवधारणा नेकपा एमालेले राख्दै आएको थियो भने माओवादीले खास समयमा बलप्रयोग पनि अपरिहार्य हुन्छ भन्ने मान्यता राखी दश वर्षे महान जनयुद्धको ऐतिहासिक प्रक्रियामा सिङ्गो मुलुकलाई दिशानिर्देश ग¥यो ।   
 

   आज विश्वकम्युनिस्ट आन्दोलनमा कार्यदिशालाई समृद्ध गर्ने सवाल असाध्यै चुनौतीपूर्ण रहेको छ । विकासको नाममा आधारभूत कुरालाई त्याग्ने र यान्त्रिक नक्कल गर्ने नाममा जडतामा फस्ने दुवै अतिवाद कम्युनिस्ट आन्दोलनको टड्कारो समस्या देखिन्छ । विशेष गरेर एक्काइसौँँ शताब्दीको जनवादी कार्यक्रम विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेको धरातलीय यथार्थताको उपज थियो । संसारैभरी कम्युनिस्ट सत्ताहरूको संशोधनवादी विचलन र आन्दोलनरत मुलुकहरूमा पनि कि त वर्ग आत्मसमर्पणवादी विचलन कि त यान्त्रिक जडसूत्रीय नक्कलका कारण अपेक्षितरूपमा आन्दोलन उठ्न सकेन । मुक्तिको सुन्दर सपना देख्ने कम्युनिस्ट अभियान्ताका लागि योभन्दा दुर्भाग्य अरू हुन सक्दैन । यद्यपि तात्कालीन नेकपा माओवादीले २०५७ सालको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनवाट एक्काइसौँ शताब्दीको जनवाद सम्बन्धी कार्यदिशा पारित ग¥यो । यसमा माक्र्सवादको आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै देश काल परिस्थिति अनुरूप यसको सिर्जनात्मक विकास र प्रयोगमा जोड गरिएको छ । दुनियाँमा भइरहेको प्रतिक्रान्तिकारी घटनाहरूवाट गम्भीर पाठ सिक्दै यसलाई परास्त गर्ने विधि र तरिकाहरू रहेको छ । कम्युनिस्ट आन्दोलनको पराजयका कारणहरू खोतल्ने प्रयत्न गर्नुको साथै यसमाथि भइरहेको भीषण वर्गीय हमलाविरुद्ध लड्ने, छल्ने र ढाल्ने रणनीतिक पद्धति पनि विकास गरिएको छ ।
 

  पहिलो, उत्पीडित वर्गीय विचारधारात्मक धरातलमा पार्टी निर्माण गर्ने विषयमा जोड गरिएको छ । एक्काइसौँ शताब्दीको जनवादमा पछिल्लो विकसित विश्व परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई कसरी विजय गराउने एवम् राज्यसत्ता प्राप्ति भइसकेको मुलुकमा यसलाई कसरी ऐतिहासिक प्रक्रियाका रूपमा निरन्तर विकास गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्ने भन्ने सन्दर्भको ठोस कार्यक्रम हो २१औँ शदीको जनवाद । राज्यसत्ता प्राप्तिपछिको भौतिक परिवेशमा पार्टीको सर्वहारा वर्गीय चरित्रको रक्षा, विकास र रूपान्तरण कसरी गर्ने भन्ने अहम् सवालमा जोड  दिइएको छ । यो असाध्यै चुनौतीपूर्ण हुन्छ । यसका लागि पार्टीभित्र सिर्जनात्मक र रूपान्तरणमुखी स्वस्थ्य आलोचनामा आधारित दुई लाइन सङ्घर्ष र उत्पीडित वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तलाई अचुक हतियार मानिएको छ । 

     यस अतिरिक्त राज्यसत्ता सञ्चालनमा मूल नेतृत्वलगायत सबै नेता कार्यकर्ताहरू संलग्न हुँदा सुविधाभोगी भौतिक परिवेशले सिङ्गो पार्टीपङ्क्तिलाई नोकरशाही, पदलोलुप, आतमकेन्द्रित व्यक्तिवाद अनि वर्गउत्थान हुने खतरा प्रबल हुन्छ । यसले पार्टी र जनतासँगको सम्बन्ध केवल औपचारिक, प्राविधिक र अलगथलग बन्दै जान्छ । यसबाट वच्नका लागि सत्ता सञ्चालनमा पार्टीको एउटा सक्षम हिस्सालाई मात्र सहभागी गराई मूल नेतृत्वसहितको अर्को टिमले बाहिर बसेर खबरदारी र निगरानी गर्नुपर्दछ । निश्चित अवधिपछि कार्यविभाजन वा हेरफेर गर्ने अवधारणा पनि यसमा रहेको छ । तलतलसम्म व्यापकतम दुई लाइन सङ्घर्ष सञ्चालन गरी जनताको प्रत्यक्ष निगरानी र नियन्त्रणमा राख्दै सङ्घर्षको ऐतिहासिक प्रक्रियामा पार्टीलाई क्रियाशील राख्ने विधि एक्काइसौँ शताब्दीको जनवादको पार्टी सम्बन्धी अवधारणा हो ।

निर्मम विचारधारात्मक सङ्घर्षमार्फत जनतासामु नङ्ग्याएर रूपान्तरण गर्ने विधि यसको आधारभूत मान्यता हो ।     दोस्रो, २१औँ शताब्दीको जनवादमा सर्वहारा वर्गीय सेनाको अपरिहार्यतामा जोड गरिएको छ । तर क्रान्ति र प्रतिक्रान्तिका ऐतिहासिक अनुभवबाट के सिद्ध भयो भने राज्यसत्ता प्राप्तीको आन्दोलनमा उच्च त्याग, बलिदान, सौर्य र वैचारिक निष्ठा प्रदर्शन गर्ने जनसेनाहरू राज्यसत्ता प्राप्तीपछि एकाएक ब्यारेकीकरण हुँदा बुर्जुवा नियमित सेना जस्तै सुविधाभोगी, औपचारिक र जागिरे मानसिकताबाट ग्रस्त हुनपुगे । यस्तो अवस्थामा आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ हावी हुन्छ, जुन कम्युनिस्ट ऐतिहासिक प्रक्रिया वा परिवर्तन विरोधी हुनजान्छ । यस्तो रवैयाले एउटा विन्दुमा पुगेपछि प्रतिक्रान्तिलाई साथ दिने खतरा बढी हुन्छ । यसका लागि जनसेना बीच नियमितरूपमा वैचारिक राजनीतिक स्कुलिङ सञ्चालन गर्नुपर्छ । जनसेनालाई निश्चित व्यारेकमा बसेर औपचारिक तालिम र आधुनिक हतियारले लेस गराउनेभन्दा पनि उत्पादन कार्यमा सहभागी गराउँदै जनतासँगको सम्बन्ध जीवित राख्नुपर्छ । त्यति मात्र होइन, अबको समाजवादी राज्यरूपमा सम्पूर्ण जनतालाई भौतिक एवम् वैचारिक रूपमा सशस्त्र बनाउने नीति नै २१औँ शताब्दीको जनसेनासम्बन्धी वैज्ञानिक अवधारणा हो । यसो गर्न सके मात्र प्रतिक्रान्ति र गैरसर्वहारा प्रवृत्तिलाई रोक्दै समाज रूपान्तरणको लामो ऐतिहासिक प्रक्रियालाई निरन्तर अघि बढाउन सकिन्छ । निरन्तर सङ्घर्षको लामो ऐतिहासिक प्रक्रिया विना साम्यवादी आदर्शमा पुग्न सकिन्न । 

     तेस्रो, संयुक्त मोर्चा वा जनसत्ताको सन्दर्भमा पनि २१औँ शताब्दीको जनवादमा स्पष्ट व्याख्या गरिएको छ । वर्गीय राजनीतिक सत्ताको प्रश्न कम्युनिस्ट आन्दोलनको केन्द्रीय प्रश्न हो । सत्ताको निम्ति सङ्घर्षको ऐतिहासिक प्रक्रियाकै सिलसिलामा संयुक्त मोर्चाको विकास सम्भव हुन्छ । नयाँ जनवादी राज्यरूपमा उत्पीडित वर्गको नेत्रृत्वमा किसान मजदुर एकतासहितको जनताको संयुक्त मोर्चाको अवधारणा विकास गरिन्छ । राज्यसत्ता कब्जाभन्दा यसको जनवादीकरण, समाजवादीकरण हुँदै विलोपीकरण तर्फको लामो कष्टसाध्य ऐतिहासिक प्रक्रिया असाध्यै चुनौतीपूर्ण हुनेगर्दछ । २१औँ शताब्दीको जनवादी सत्तामा वर्गदुस्मनविरुद्ध अधिनायकत्व र बहुसङ्ख्यक जनतामाथि पूर्ण जनवादी अभ्यास अनिवार्य हुन्छ । अर्थात वर्गसङ्घर्ष र दुई लाइन सङ्घर्षको उच्चतम र अधिकतम प्रयोगबाट यसलाई रणनीतिक लक्ष्यतर्फ अघि बढाउनु पर्छ । 

    यसका लागि जनवादी मूल्यभित्र रहने साम्राज्यवादी, सामन्तवादी र प्रतिक्रियावादी बाहेकका राजनीतिक दलहरूलाई खुला प्रतिस्पर्धा गर्ने संवैधानिक व्यवस्थामा जोड गरिएको छ । राज्यसत्ता प्राप्तीपछि पनि निरन्तर क्रान्तिमार्फत कम्युनिस्ट पार्टीलाई सर्वहाराकरण र क्रान्तिकारीकरण अनि जनतालाई राजनीतिकरण गर्ने ऐतिहासिक प्रक्रियालाई जारी राख्नुपर्दछ । यो विधिबाट मात्र प्रतिक्रान्तिकारी हमलालाई रोक्दै साम्यवादी आदर्श र सभ्यतालाई पकड्न सकिन्छ । नेपालमा २१औँ शताब्दीको जनवादी क्रान्तिको लागि वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनबाट जनसमुदायहरूलाई मुक्त गर्ने नीति रहेको छ । आत्मनिर्णयको अधिकारसहितको जातीय तथा क्षेत्रीय स्वशासन साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको सवाल पनि उल्लेख छ । यसरी पार्टी, सेना र राज्यसत्ता वा संयुक्त मोर्चाको वर्गीय अभ्यासमार्फत नै जनवादी क्रान्तिलाई पूर्णता दिनुको साथै प्रतिक्रान्तिलाई रोक्दै निरन्तर सङ्घर्षको ऐतिहासिक प्रक्रियाको माध्यमबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने स्पष्ट कार्यदिशा नै २१औँ शताब्दीको जनवाद हो ।
 

   तसर्थ, यो २०औँ शताब्दीको क्रान्ति र प्रतिक्रान्तिकारी अनुभवहरूबाट शिक्षा लिँदै २१औँ शताब्दीमा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियालाई अघि बढाउने जनवादी कार्यक्रम हो । यसमा मालेमावादको रक्षा, प्रयोग  र सिर्जनात्मक विकासमा जोड गरिएको छ । राज्यसत्ता प्राप्तीको सङ्घर्षको दौरानमा अब्बल भएका पार्टी, जनसेना र जनसत्ताहरू, राज्यसत्ता कब्जापछि किन विचलित र पथभ्रष्ट हुन्छन् ? यसलाई रोक्ने वा रूपान्तरण गर्ने विधि यसमा रहेको छ । त्यसको लागि वर्गदुस्मनप्रति वर्गीय अधिनायकत्व र बहुसङ्ख्यक जनतामा पूर्ण जनवादीकरण र दुई लाइन सङ्घर्षको विधिबाट यसलाई रोक्ने विधिको वकालत गरिएको छ । यसका लागि पार्टीको मूल नेतृत्व जनसत्तामा नगई पार्टीलाई सर्वहाराकरण, क्रान्तिकारीकरण एवम् जुझारूपनका लागि दबाब दिन बाहिरै बस्ने नीति रहेको छ । त्यसैगरी जनसेनालाई राज्यसत्ता कब्जापछि ब्यारेकमा नराखी उत्पादन कार्यमार्फत जनतासँगको प्रत्यक्ष सम्बन्धमा राख्नुपर्ने उल्लेख गरिएको छ । भौतिक एवम् वैचारिक रूपमा सम्पूर्ण जनतालाई सशस्त्र बनाउने नीति रहेको छ । त्यस्तै जनसत्तालाई जनवादको उच्चतम अभ्यास गर्दै समाजवादीकरणको ऐतिहासिक प्रक्रियामार्फत विलोपीकरणको दिशातर्फ रूपान्तरण गर्ने नीति रहेको छ । तसर्थ, यो कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियालाई अघि बढाउने निरन्तर क्रान्तिको पछिल्लो कम्युनिस्ट कार्यदिशा हो । 
 

   यद्यपि आज सङ्घर्षको ऐतिहासिक प्रक्रिया सुस्ताएको छ । यस्तो बेला सार्वभौमतः क्रान्तिकारी कार्यदिशाको औचित्य कमजोर हुनजान्छ । कार्यदिशाको सही र गलतपन वा वर्गीय सारतत्वको धेरै हिसाब–किताब हुँदैन । कालो र सेतो जस्तो भए पनि विरोलोले मुसा मारे हुन्छ, चुनाव जिते हुन्छ अनि सरकार बनाए पुग्दछ । वैचारिक राजनीतिक सारतत्व भन्दा औपचारिक र व्यावहारिक पक्षहरू निर्णायक हुन्छ ।  विचारधारात्मक तथा रणनीतिक सवालहरू ऐच्छिक हुनजान्छ । सिङ्गो राजनीति चुनाव जित्ने ट्याकटिस र दिनदैन्यको औसत र औपचारिक क्रियाकलापहरूमा रुमल्लिएको हुन्छ । कम्युनिस्ट आन्दोलनको लामो ऐतिहासिक प्रक्रिया बेवारिसे हुनपुग्दछ । यस्तो बेला कम्युनिस्ट आन्दोलनको ऐतिहासिक प्रक्रियालाई सेवा गर्ने कार्यदिशा तय गर्नु असम्भव प्रायः हुन्छ । तर कम्युनिस्ट पार्टीको कार्यदिशा भनेको समाजवाद हुँदै साम्यवादसम्म पुग्ने ऐतिहासिक प्रक्रियामा सहयोगी हुनैपर्छ । त्यसैले हाम्रो कार्यक्रम, छलफल र बहसहरू सही कार्यदिशा विन्यासमा केन्द्रित हुनुपर्दछ, जसले वैज्ञानिक समाजवाद स्थापनाको ऐतिहासिक प्रक्रियालाई सेवा गर्ने हैसियत राखोस् । किनकि उत्पीडितहरूको साँचो उन्मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव हुन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...