बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेता–कार्यकर्तासँग जोडिने ओली नीति, पहिलो सेड्युलमै चुके

बिहीबार, १७ साउन २०७५, ०९ : २८
बिहीबार, १७ साउन २०७५

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकर्तासँग पनि भेटघाट गर्ने कार्यतालिका बनाए ।

महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका उनको सचिवालयले विज्ञप्ती मार्फत सार्वजनिक गरेको थियो ।

सोहीअनुसार प्रधानमन्त्री ओली साउन १ गते धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर कार्यकर्तासँग भेटघाट गरे । प्रधानमन्त्री ओली साउन १५ गते पेरिसडाँडा पार्टी कार्यालयमा भेटघाट गर्ने कार्यक्रम थियो ।

पेरिसडाँडामा सबै तयारी पनि भएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री पेरिसडाँडा आउन समय नमिलेको जानकारी दियो ।

पार्टी एकताको भाव दिन ओलीले पेरिसडाँडा जाने योजना पनि बनाएका थिए ।

‘पहिला प्रधानमन्त्रीको सचिवालयले तय गरेको कार्यक्रमअनुसार मङ्गलबार पेरिसडाँडा कार्यालयमा कार्यकर्ता भेटघाटमा आउने कार्यक्रम थियो । पछि उहाँको व्यस्तताले आउन नसक्ने जानकारी उहाँको सचिवालयले दियो’, नेकपाको पेरिसडाँडा पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले भने ।

कार्यालयका सचिव उपाध्यायका अनुसार प्रधानमन्त्री ओली पार्टी एकतापछि एक पटक मात्र पेरिसडाँडा पुगेका छन् ।

प्रधनामन्त्री ओली धुम्बाराही भने पटक पटक पुग्ने गर्छन् । 

धुम्बाराही पुगेर गुनासो

प्रधानमन्त्री ओलीले साउन १ गते धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरेका थिए, जतिबेला सरकारको आलोचना भएको थियो ।

तर निर्धारित समयभन्दा उनी ढिला पुगेका थिए । त्यसै दिन बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो ।

कार्यक्रममा नेकपाका नेता–कार्यकर्तासँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भेटघाट गरे ।

केही ज्ञापन–पत्र पनि बुझे ।

विपक्षीको लगातार आक्रमण हुँदा पनि पार्टी नेता–कार्यकर्ताले सरकारको प्रतिरक्षा नगरेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका थिए ।

अहिलेको सरकार नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखी नीति लिएर आए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टीभित्र कोही नभएको जस्तो देखिएको प्रधानमन्त्रीको गुनासो थियो ।

प्रधानमन्त्री ओलीले विपक्षीहरू एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको भए पनि सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नभएको सुनाएका थिए । कार्यकर्तामा ऊर्जा भर्ने काम गरेका थिए ।
‘विपक्षीहरूले उधुमसँग हल्ला गरेका छन् । अरू कुनै विषय पाएका छैनन् । भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरू देखाएर तमासा गरेका छन्’, ओलीको भनाइ थियो– ‘तर, बहुमत ल्याउने पार्टीमा लेख्न र बोल्न जान्ने कोही छैन जस्तो छ । यत्रो पङ्क्तिमा कोही लेख्न जान्ने मान्छे छ जस्तो लाग्दैन । कसैले लेखेको देखिँदैन । कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको पनि सुनिदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन ।’ धुम्बाराही पुगेका प्रधानमन्त्री ओलीले कार्यकर्तासँग भनेका थिए ।

दोस्रो कार्यक्रम थियो पेरिसडाँडा

प्रधानमन्त्री ओली आफ्नो पहिले तय भएको कार्यक्रमअनुसार ११ बजे पार्टी कार्यालय पुग्नुपर्ने समय थियो । तर समय अभाव भन्दै उनी त्यहाँ गएनन् ।

असार १५ गते प्रधानमन्त्री ओली महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकमा सहभागी भएका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानुनभित्र बस्नुपर्ने बताएका थिए ।

त्यस अगाडि महालेखा परीक्षक टंकमणि शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मङ्गलबार भेटगरी आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षणको काम असार १५ गतेबाट सुरु गरिएको जानकारी गराएका थिए ।

संसदसँग पनि प्रधानमन्त्रीको कार्यक्रम

त्यसो त प्रधानमन्त्री ओलीले नेकपाका निर्वाचित सांसद भेटघाटका लागि पनि समय निर्धारण गर्ने गरेका छन् ।

उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित नेकपाका सांसदलाई हरेक हप्ता भेट्ने गरी समय तय गरेका थिए ।

सांसदहरूले हरेक शुक्रबार अपरान्ह ३ देखि ५ बजेसम्म सिंहदरबारमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीसँग भेट्न सक्ने उनको सचिवालयले जनाएको थियो । 

प्रधानमन्त्री ओली नेकपाका संसदीय दलका नेतासमेत हुन् ।

संसदमा र सार्वजनिक कार्यक्रममा सरकारको नीति तथा कार्यक्रमको आलोचना हुन थालेपछि आफ्ना पार्टीका सांसदसँग छलफल सुरु गरेको बताइएको थियो । तर यस्तो छलफल पछि पनि सरकारको नीति तथा कार्यक्रमलाई लिएर सत्तापक्षकै सांसदले बेला–बेला सरकारको आलोचना गरिरहेका छन् ।

अहिलेसम्म प्रधानमन्त्री ओलीले प्रदेश १ र ३ का सांसदसँग भेटघाट गरेका छन् ।

प्रदेश १ का सांसदसँग भेटघाट

असार १७ गते प्रधानमन्त्री ओलीले नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँग नियमित भेटघाट सुरु गरेका थिए ।

भेटघाटमा प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने, सरकारका कामकारबाहीबारे जनतामा सन्देश प्रवाह गर्ने काम सांसदहरूले गर्नुपर्ने बताएका थिए । उनले बजेट विनियोजनमा भएका कमीकमजोरीलाई आगामी वर्षको बजेटमा सच्याइने बताएका थिए । ‘अहिले जस्तो जनताप्रति जिम्मेवारी भएको सरकार विगतमा थिएनन्’, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘किनकि यो सरकार बहुमतको हो । यसको जनताप्रतिको उत्तरदायित्व पनि त्यतिकै धेरै छ ।’

भेटघाटमा प्रधानमन्त्री ओलीले सबै सांसदहरूलाई आधुनिक प्रविधिसँग परिचित हुन र सूचनामा अद्यावधिक रहन पनि आग्रह गरेका थिए ।

उनले सरकारका कामकारबाहीका बारेमा प्रतिपक्षले लगाएका आरोपको कडा प्रतिवाद गर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।

प्रदेश ३ का सांसद पनि भेटे

प्रधानमन्त्रीले असार २९ गते नेकपाका ३ नं प्रदेशका सांसदहरूसँग भेटघाट गरे ।

भेटघाटमा प्रधानमन्त्री ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो सङ्घीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताएका थिए । ‘एउटा निहुँ झिकेर दुईजना सांसद ठिङ्ग उभिँदा संसद्का सबै गतिविधि अवरुद्ध हुनुहुँदैन’, ओलीले भनेका थिए, ‘प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले झिनामसिना कुरा झिकेर संसद्को कारबाही अवरुद्ध गर्न नहुने थियो ।’

प्रधानमन्त्री ओलीले साउन महिनाभित्रै पार्टीका सबै कमिटीलाई पूर्णता दिने बताएका थिए । उनले सांसदहरूलाई विकासमा ध्यान दिन पनि आग्रह गरेका थिए । सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार असफल नहुने र जनताको भरोसालाई सधैँ शिरोधार्य गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले यसबाहेक अन्य प्रदेशका सांसदसँग भेटघाट गरेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप