शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत र चीन भ्रमणको तयारीमा प्रचण्ड, पहिला कुन देश जालान् ?

prachanda-news
बुधबार, १६ साउन २०७५, १३ : ३८
बुधबार, १६ साउन २०७५

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन र भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा आएका आएको छ ।

तर पहिला कुन देशको भ्रमण गर्ने तय हुन सकेको थिएन । चीन तयारीमा जुट्यो ।

प्रचण्डलाई अगस्त वा सेप्टेम्वरमा चीन भ्रमण गराउने तयारी सुरु भयो ।

यसैबीचमा भारतले प्रचण्डलाई पहिला दिल्लीमा ‘रेड कार्पेट’ विछ्याउने तयारी थाल्यो ।  

यद्यपि भ्रमणको मिति तय हुन बाँकी छ ।

अगस्त वा सेप्टेम्वरमा चीन र भारत दुवै देशको भ्रमण गर्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहिलो भ्रमण चीनको गर्ने तयारीमा लागेका थिए ।

चीन भ्रमणको तयारी पनि भएको थियो ।

त्यहीबीचमा भारतले एकतर्फी रूपमा प्रधानमन्त्री ओलीका लागि भारत भ्रमणको मिति तय गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीका लागि चीन गएका थिए ।

उताबाट छलफल गरेर फर्किने दिन नै भारतले प्रधानमन्त्री ओली भ्रमणको मिति तय गरेको थियो ।

भारतले मिति तय गरेपछि नेपाल सरकारमाथि एक प्रकारको दबाब परेको थियो ।

बाध्य भएर चीनको भ्रमण स्थगित गरी प्रधानमन्त्री भारत भ्रमणमा गएका थिए ।

त्यति मात्र होइन, प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय गरेको थियो ।

जब कि त्यति बेलासम्म भारतका प्रधानमन्त्री मोदीलाई नेपालको भ्रमण गराउने सोच कसैको बनेको थिएन ।

भारतले मोदीको भ्रमण एकतर्फी रूपमा तय गरेपछि प्रधानमन्त्री ओलीले चीनको भ्रमणलाई पछि सारेको थिए ।

अहिले ठीक यस्तै भयो ।

भारतीय जनता पार्टीका महासचिव राम माधवले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई भेटेर भारत भ्रमणको विषय तय गरेको स्रोतले जनाएको छ ।

भारतीय सरकारका लागि थिङ्क ट्याङ्कका रूपमा काम गरिरहेको इन्डिया फान्डेसनका निर्देशकसमेत रहेका राम माधवले अध्यक्ष प्रचण्डलाई भेटेर भारतको भ्रमणको औपचारिक निमन्त्रणा दिएको बताइन्छ । पहिलादेखि भारत जाने तय नै थियो तर पहिला चीन जाने कि भारत त्यसमा कुनै निर्णय भएको थिएन ।

यो कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि थिए ।

सो कार्यक्रममा प्रचण्डले नेपाल र भारतबीचको सहकार्यनिम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका थिए ।

एशियन इन्स्टिच्यूट एण्ड डिप्लोमेसी एण्ड इन्टरनेसनल एफेयर्स तथा नेहरु मेमोरियल म्युजियम एन्ड लाइब्रेरीले आयोजना गरेको ‘नेपाल–भारत थिङ्क ट्याङ्क समिट २०१८’ उद्घाटन गर्दै प्रचण्डले आपसी सम्बन्ध खुला र प्रगतिशील मानसिकताका साथ साझा स्वार्थका लागि अघि बढाउन आफूहरूले प्रयत्न गरिरहेको बताएका थिए ।

प्रचण्डले नेपालको स्थिरता, शान्ति र समृिद्ध भारतको पनि स्वार्थको विषय भएको तथा छिमेकीको सहयोगविना नेपालको समृद्धि हासिल गर्न नसक्ने भएकाले दिगो विकास लक्ष्यको परिधिमा रहेर साझा गन्तव्य पहिल्याउन आवश्यक भएको पनि बताएका थिए । ‘नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।’ प्रचण्डको भनाइ थियो ।

भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले दुई देशबीच संस्कृति, सम्पर्क सञ्जाल र वाणिज्यलगायत क्षेत्रमा नजिकको सम्बन्ध रहेको जनाउँदै नेपालको बहुमतको स्थिर सरकारले लोकतन्त्रलाई सफल बनाउने अपेक्षा व्यक्त गरेका थिए ।

उनले भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रूपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने बताएका थिए ।

भाजपाका महासचिव माधवले भेटेर भारतको भ्रमण गर्न आग्रह गरेपछि प्रचण्डको पहिलो भ्रमण भारत हुने सम्भावना बढेर गएको छ ।

मिति पछि तय हुने भारतीय दूतावास स्रोतले जनाएको छ ।

यसै विषयमा आज भाजपाका महासचिव राम माधव र नेकपाका स्थायी समिति सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवबीच पनि छलफल भएको स्रोतले जनाएको छ ।

महासचिव राम माधवको आगमनमा नेपालस्थित भारतीय दूतावासले डिनर पाटीको आयोजना गरेको थियो ।

सो पाटीमा नेपालका प्रमुख दलका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री उपमन्त्री वाङ या चिङले अध्यक्ष प्रचण्डसँग भेट गरी चीन भ्रमणका निमन्त्रणा दिएको बताइएको छ ।

मिति तय भएको छैन ।

नेकपाभित्र ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीका लागि आन्तरिक सहमति बनेको बताइएको छ ।

यस्तोमा प्रचण्डको भारत र चीन भ्रमण अर्थपूर्ण हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप