शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व स्तनपान दिवसमा एउटी आमाको बयान

बुधबार, १६ साउन २०७५, १० : १८
बुधबार, १६ साउन २०७५

एक महिना अगाडि विनु रिजालको एउटा लेखले निकै मन छोएको थियो । “सार्वजनिक स्थलमा स्तनपान गराउनु अश्लील होइन ।” विषय थियो सार्वजनिक स्थलमा स्तनपानको ।

नेपालकै चर्चित एक कलाकारको अभिव्यक्ति (टेलिभिजनमा प्रसारित अन्तरवार्ता) लाई लिएर विनु रिजालले उक्त लेख लेख्नुभएको थियो । उक्त लेखले उठान गरेको प्रश्न थियो– सार्वजनिक स्थलमा स्तनपान गराउनु के अश्लील हो ?

ती कलाकारले आफ्नो अन्तरवार्ताका क्रममा भनेकी थिइन्– ‘हामी कलाकारले अलिकति देखाउँदा अश्लील हुने, बाटोमा महिलाले बच्चालाई दूध खुवाउँदा अश्लील नहुने कस्तो सभ्यता हो ।’ यो पङ्क्ति पढेँ र उक्त अन्तरवार्ता पनि खोजेर हेरेँ । यहाँनिर आएर ‘हामी कहाँ छौँ त ?’ भन्ने प्रश्न अरूलाई गर्न जरुरी देखिएन । एक पटक आफैले आफैलाई प्रश्न गरौँ अनि जवाफ पनि आफैमा खोजौँ न त भन्न मन लाग्यो ।

म आफू पनि आमा बनिसकेकीले पनि विषयले मन छोयो । स्तनपान गराउन अप्ठ्यारो मान्नुपर्ने अवस्थाबाट म पनि नगुज्रिएकी भने होइन तर ती अवस्थालाई वेदखल गर्ने मेरो बानीले नै जित्दै आयो । कति आफन्त साथीभाइले नै अरूको अगाडि अफ्टेरो मान्नुपर्छ भन्ने नसुनेको पनि होइन तर ती सबै कुरालाई मैले बेवास्ता गरेँ ।

मैले ३ वर्ष पूरा स्तनपान गराए । घर अथवा बाहिर कतै मैले उस (बच्चा)लाई अवश्यक परेको बेला स्तनपान गराउन असहज महसुस गरिनँ । किनभने मेरो सोच अरूको भन्दा भिन्न थियो । स्तनपान आमा र बच्चाको अधिकारको कुरा मात्रै होइन, यो आवश्यकता पनि हो । हामीले बाहिर खाँदै हिँड्न लाज मान्नु नपर्ने तर बच्चाले आफ्नो आहार खानका लागि भने नानाभाँती ? आमाको दूध बच्चाको खाना हो, उसले आफ्नो खाना जहाँ जति बेला खान मन लाग्छ, चाहेको बेला खान पाउनुपर्छ । 

अस्ट्रेलियाकी सिनेटर लरिसा वाटर्स संसदमा सन्तानलाई स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनिन् । उनले आफ्नो बच्चालाई सिनेटमै स्तनपान गराइराखेको दृश्यले चर्चा पायो । त्यसैगरी एउटा भारतीय पत्रिकाको कभर पृष्ठमा बच्चालाई स्तनपान गराइरहेकी एक भारतीय मोडलको फोटोले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको थियो । तस्बिरको विषयलाई लिएर थुप्रै टीकाटिप्पणी भए । केरलाबाट प्रकाशित ‘घरलक्ष्मी’ पत्रिकाको कभरमा मोडेल गिलु जोसफले आफ्नो छातीमा बच्चालाई दूध चुसाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो । पत्रिकाका सम्पादकले सार्वजनिक स्थलमा स्तनपान सहज र सर्वस्वीकार्य होस् भनेर फोटो आफ्नो पत्रिकाको कभर बनाएको बताएका थिए ।

केही हप्ता अगाडि एक अमेरिकी मोडलले आफ्नी छोरीलाई स्तनपान गराउँदै रनवेमा र्याम्प वक गरिन् । मारा मार्टिनले स्विमसुट सोका लागि आफ्नी पाँच महिने छोरी आरियासहित रनवेमा क्याटवक गरेकी थिइन् । उनको यो कार्यलाई धेरैले ‘स्तनपान’लाई साधारण बनाउन उनले यस्तो गरेको भन्दै धन्यवाद दिएका थिए ।

अमेरिकी मोडल एवम् अभिनेत्री क्रिसी टिगनले स्तनपान गराइरहेको एउटा तस्बिर सोसल मिडियामा राखेपछि सोसल मिडियामा हङ्गामा सुरु भएको थियो । इन्स्टाग्राममा पोस्ट गरिएको तस्बिरमा क्रिसीले आफ्नो बच्चा र उनको खेलौना (पुतली)लाई स्तनपान गराइरहेको देख्न सकिन्थ्यो ।

किर्गिस्तानका राष्ट्रपतिकी कान्छी छोरी आलिया सागइवाले पनि आफ्नो बच्चालाई स्तनपान गराएको तस्बिरले पनि चर्चा पायो । आलियाले उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेकी थिइन्– ‘मेरो छोरालाई भोक लाग्यो भने म उनलाई कुनै पनि स्थानमा र कुनै पनि बेला स्तनपान गराउँछु ।’

चार वर्षअघि अस्ट्रेलियाको एक विश्व विद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको फोटो फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बनेको थियो । उक्त फोटो विश्वविद्यालय आफैले आधिकारिक रूपमै फेसबुकमा पोस्ट गरेको थियो । स्तनपान गराउने आमाले विश्वविद्यालयले आफ्नो पढाइमा गरेको सहयोगका लागि धन्यवादसमेत दिएकी थिइन् ।

ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २४ वर्षीया ज्याकी सार्केले दीक्षान्त समारोहकै पोसाकमा आफ्नो ६ हप्ताको छोरालाई स्तनपान गराइन् र सोही पोजमा तस्बिरसमेत खिचाइन् ।

सार्वजनिक स्थलमा स्तनपान गराइएको तस्बिर सार्वजनिक गर्नेहरूलाई धेरैले साहसिक महिलाको उपमा दिए भने कतिले यसबारे नकारात्मक टिप्पणी गरे ।

यस्ता थुप्रै उदाहरणहरूले स्तनपानलाई लाजको होइन अधिकार, स्वस्थ्य र आवश्यकतासँग जोडेको पाइन्छ । विश्वमा स्तनपानलाई प्रोत्साहित गर्नका लागि ‘विश्व स्तनपान दिवस’ भनेर मनाउन थालिएको पनि २६ वर्ष भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्त १ तारिखदेखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ ।

नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतना मूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । आमाको दूध बच्चाका लागि अमृत समान हो । बच्चा जन्मिएपछि आमाले आधा घण्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्ने चिकित्सकहरू बताउँछन् । साथै बच्चालाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त पाइने भएकाले ६ महिनासम्म आमाको दूध मात्र खुवाउन चिकित्सकहरू सुझाउँछन् । शिशुको जीवनका लागि जरुरी छ, किनकि आमाको दूध सुपाच्य हुन्छ । आमाको दूधले शिशुको प्रतिरोधक क्षमता बढाउँछ ।

नेपालमा पनि स्तनपानलाई अभियानका रूपमा पनि अगाडि बढाइएको छ । सरकारले हाल कामकाजी सुत्केरी आमाका लागि ३ महिनाको मात्र बिदा दिने गरेको छ  । बच्चालाई दूध खुवाउनकै लागि भनेर ६ महिनाको बिदाको व्यवस्था हुनुपर्ने माग उठिरहेको छ । बच्चालाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको शारीरिक तथा बौद्धिक विकास राम्रो हुनुका साथै बच्चा स्वस्थ्य रहन्छन् ।

आमाको दूधमा रोगसँग लड्न सक्ने रोगप्रतिरक्षात्मक तत्व हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ । आमाको दूधमा रोगनासक तत्व हुन्छन् । वातावरणदेखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरको विशेष भागको सम्पर्कमा आउँछन्, जसले बच्चाको शरीरमा रोगविरुद्ध प्रतिरोधात्मक तत्व बनाउँछ । यो तत्व एक विशेष नलीका थोरासिक डक्टबाट सीधा आमाको स्तनसम्म पुग्छन र दूधबाट बच्चाहरूको पेटमा पुग्छन् । यस तरिकाबाट बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ ।

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, स्तनको आकार बिग्रने, शरीरको तौल घटबढ हुनेजस्ता धारणाले गर्दा स्तनपान नगराउने गरेको पाइन्छ । तर विज्ञानले यो कुरा गलत भन्छ । बरू यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको छ । आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवम् आत्मसन्तुष्टि प्राप्त हुन्छ । यस्ता कुरालाई ध्यानमा राखेर चीनले शिशुहरूलाई बट्टाको दूध सेवन गराउन कानुनी रूपमै रोक लगाएको छ ।

स्तनपानप्रतिको गलत धारणाको अन्त्यको लागि नै विश्व स्तनपान दिवस मनाउन थालिएको हो । नेपालमा पनि यो दिवस भव्यताका साथ मनाउने गरिन्छ । साथै सरकारी तवरबाट र विभिन्न गैरसरकारी संस्थाहरूले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।

स्तनपानलाई यौनिकतासँग जोडेर हेर्ने गलत दृष्टिकोणबाट महिलाहरू पीडित हुँदै आएका छन् । यही गलत धारणा बदल्न सकेमा मात्रै स्तनपान दिवसको सार्थकता हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप