शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै दिन एक सय ८३ मतदाता थपिए

सोमबार, ०२ साउन २०७४, ११ : ५७
सोमबार, ०२ साउन २०७४

चितवन - निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् । 

जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन् । 

साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो । कार्यालयमा फोटो खिचाउन आउनु भएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गर्नुभयो । 

विगत तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उहाँले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताउनुभयो । पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो । संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ । 
भरतपुर–११ की २२ वर्षीया मोनिका पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकामा आफ्नो अधिकारबाट वञ्चित भएको बताउँदै यसपटक पहिलो दिन नै फोटो खिच्न आएको प्रतिक्रिया दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताउनुभयो । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप