शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन माग गर्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

मङ्गलबार, १५ साउन २०७५, १८ : ४३
मङ्गलबार, १५ साउन २०७५

काठमाडौं– सरोकारवालाले जिल्ला तहको अस्पतालको रुपमा रहेको चितवनस्थित भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन माग गरेका छन् ।  उनीहरुले मंगलबार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाइ ज्ञापनपत्र बुझाउदै यसका लागि पहल गर्न आग्रह गरेका हुन् । उनीहरुले आफ्नो माग पुरा नभए आनदोलन गर्ने चेतावनी समेत दिएका छन् ।  सो अस्पतालमा हाल नेपाल सरकारको तीनसय शैयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी छ सय शैयया सञ्चालनमा छन् ।

यसअघि राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अस्पताल प्रशासनले मन्त्री यादवलाई भेटेर पहल गर्न माग गरेको हो । 

भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो । 

काठमाडौँको प्रसुति गृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल भएको अस्पताल व्यवस्थापन पक्षको भनाई छ । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्भवतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

प्रदेश नं ३ का सांसदसमेत रहेका अस्पताल विकास समितिका पूर्वअध्यक्ष बिजय सुबेदीले अस्पताललाई कम पूर्वाधार विकास गरेर पनि सुविधासम्पन्न बनाउन सकिने भएकाले भरतपुर अस्पताललाई केन्द्रीय तहको अस्पताल बनाउनुपर्ने बताए ।

प्रकोपका बेला नागरिकलाई छिटो छरितो सेवा दिन सक्ने गरी देशकै नमूना अस्पताल भरतपुरलाई बनाउन आवश्यक रहेको उनको भनाई छ । अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्ष, शल्यक्रियाका लागि ६ वटा अत्याधुनिक टेवल, न्यूरो सर्जरी उपकरण, डायलसिस सेवा, जोर्नी प्रत्यारोपण सेवा, सिटिस्क्यानलगायत सेवा उपलब्ध छ । 

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारी २२/२३ जिल्लाका बिरामीलाई सेवा दिने अस्पताल केन्दीय तहको अस्पताल हुनुपर्ने बताउँछन् । यसका लागि सरकारले नीतिगत निर्णय गरेर आवश्यक भौतिक पूर्वाधार थप गरी देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्ने भण्डारीको जोड छ । 

अस्पतालका मेडिकल सुपरटेन्ड डाक्टर रबिन खड्काले वि.स २०१४ सालमा १५ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले ६ सय वेड सञ्चालन रहेकाले केन्द्रीय अस्पतालका रुपमा विकास गर्न मन्त्री यादवको ध्यानाकर्षण गराएको बताए । 

छलफलका क्रममा मन्त्री यादवले भने भरतपुर अस्पताल प्रदेशले नै सञ्चालन गर्नसक्ने भन्दै आवाश्यक सहयोग गर्न तयार रहेको आश्वसन दिएका छन् ।२०१३ मा बनेको गठन आदेश ऐन खारेज भएको भन्दै बताउदै मन्त्री यादवले जुन संस्थामा विघटन भएको छ, त्यही संस्थाले जिम्मा लिने बताएका थिए ।

क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पतालहरु प्रदेश मातहतमा गएका छन् । अब केन्द्र सरकारले सहकार्य गर्छ तर, त्यसको जिम्मा भने प्रदेश सरकारले लिन्छ ।  भरतपुर अस्पतालमा पनि त्यहि कुरा लागू हुन्छ’ मन्त्री यादवले भने ।

मन्त्री यादवले अस्पताललाई सुधार गर्ने कुरा सकारात्मक भएपनि संघीयता कार्यन्वयन भैसकेकाले प्रदेश सरकारको निणर्य सुन्नुपर्ने बताएका थिए । उनले भरतपुरलाई केन्द्रीय अस्पताल बनाउँदा अन्य अस्पताललाई पनि बनाउनुपर्ने अवस्था आउने भन्दै सकभर प्रदेशमातहतमै सञ्चालन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । 

सेवा र संख्यागत आधारमा भरतपुर अस्पताल माथिल्लो स्थानमा भएपनि मन्त्री यादवले भने नारायणी र भेरी अञ्चल अस्पतालले पनि धेरै नागरिकलाई सेवा दिइरहेको आफूले थाहा पाएको त्यसक्रममा बताएका थिए । 

‘अहिले  संघीयता विभिन्न अवरोधका बाबजुद पनि कार्यन्वयनको दिशामा गएको छ । आगामी दिनमा नेपाली जनताले कुनैपनि सेवा लिन लागि काठमाडौँको मुख ताक्नुपर्देन,आफ्नो खुट्टामा उभिनेछन्, केन्द्रको भन्दा राम्रो अस्पताल, राम्रो विश्वविद्यालय प्रदेशले नै बनाउन सक्छ’ मन्त्री यादवको भनाई छ । 

मन्त्री यादवले आफ्नै गृहजिल्ला मोरङग अस्पतालको उदाहरण दिदै भने अस्पतालका कर्मचारीले राम्रो संग काम नगर्ने गरेको आफुले पाएको बताए । ‘बिरामी रिक्साबाट उत्रने वितिकै मोरङ्ग अस्पताल कता हो भन्दा आफ्नै क्लिनिकतिर देखाउदै बिरामी लाने गरेको पाईयो यस्तो नहोस’ मन्त्री यादवले बताए ।

के भन्छन् सरोकारवाला ?

देवी ज्ञवाली– २२ जिल्लाका बिरामी भरतपुर अस्पतालमा आउँछन् । तर राष्ट्रले त्यो अनुसारको व्यवस्थापन गर्ने कुरामा ध्यान दिएको छैन । यसले गर्दा हामीलाई भरतपुर अस्पतालमाथि अन्याय भएको महशुस भएको छ, कि चितवनका बिरामी मात्रै हेरेको भए चितवन जिल्लाको मात्रै अस्पताल भन्न सकिन्थ्यो ।

२२ भन्दा बढी जिल्लाका बिरामीलाई प्रत्यक्ष सेवा दिएका छौँ, भरतपुर अस्पताललाई एउटा जिल्लाको भन्दा पनि हामी राष्ट्रको बनाउन चाहान्छौँ । अस्पतालको हरेक कुराको विकास गर्नको लागि राष्ट्रकै ध्यान जानुपर्ने भएकाले हामीले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्न माग गरेका हौँ । ३ सय भन्दा बढी चिकित्सक हुनुपर्ने यो अस्पतालमा अहिले १ सय ५० जनाले अस्पताल सञ्चालन गर्नुपरेको छ ।

 विजय सुवेदी, सांसद– मन्त्री यादवलाई भरतपुर अस्पताल जुनसुकै प्रक्रियाबाट केन्दीय अस्पताल बन्न सक्ने अवस्थामा भएको हामीले जनाकारी गराएका छौ । अब ३१ बिगाहमा रहेको अस्पताल सरकारले ५ सय वेड स्वीकृत गरेको खण्डमा थप ८ सय वेड सञ्चालन गर्न सकिन्छ । 

कृष्णभक्त पोख्रेल, सांसद – भरतपुर अस्पातललाई केन्द्रको अस्पताल बनाउनुपर्छ । रिफरल अस्पताल भएको कारण एउटा जिल्ला भन्दा पनि केन्द्रलेनै नेतृत्व गर्न जरुरी रहेको छ । अस्पतालको क्षमता विस्तारमा पनि केन्द्र सरकारले ध्यान दिए नेपालको मेडिकल हबको रुपमा चितवनलाई बनाउन सकिन्छ । त्यसको नेतृत्वदायी भूमिका भरतपुर अस्पताललाई दिनुपर्छ । यसोगरे वीर अस्पताल पछिको सेवा दिने अस्पतालका रुपमा यो अस्पतालको विकास हुन्छ । 

भोजराज अधिकारी– भरतपुर अस्पताल केन्द्रीय स्तरको अस्पताल हुनका लागि वेडको आधारमा ५ सय वेड, विशेषज्ञ सेवाभन्दा पनि माथि छ । त्यसलाई परिभाषित गर्नको लागि बिरामी हेर्ने मात्रै होइनकि पठनपाठनलाई पनि प्रमाणित गर्ने ४ वटा कुरा तोकिएको छ । जुन कुरा भरतपुर अस्पतालले पुरा गरेको छ ।

काठमाडौँभन्दा बाहिरको अस्पतालको कुरा गर्ने हो भने पहिलो नम्बरमा भरतपुर अस्पताल हरेक कुरामा राम्रो छ । बिरामीको संख्या,सरकारी र अस्पताल विकास समिति गरेर चिकित्सक १ सय ७५ रहेको जोर्नी प्रत्यारोपणदेखि मिर्गाैलाको डाइलासिस मुटुको सबै खालको उपचार, सर्जरीमा सबै अप्रेशन, बच्चाको लागि एनआईसियू, मेडिकल बिरामीको लागि २० वटा आईसियू जुन सेवा वीरले पनि दिन नसकेको त्यस्तो अस्पताल भरतपुर भएको कारण केन्द्रीय बनाउन जरुरी छ । 


 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप