केन्द्रीय संस्करण

सडकमै आमासँग खाना माग्दै जब बालक रुन थाले

person explore access_timeसाउन १५, २०७५ chat_bubble_outline0

हालैको एक बिहान काम विशेषले राजधानीकाे सुन्धारा पुगेको थिएँ । हतारमा माइक्रोबाट ओर्लेर सडकपेटी हुँदै गन्तव्यतिर लाग्दै थिएँ । 

सडकपेटीमा एउटा दृश्य आँखामा ठोक्किन पुग्यो । त्यो दृश्य मोबाइलमा कैद गरेँ । एक आमाले आफ्नो अबोध बच्चालाई कुच्चिएको थोत्रो बटुकोमा भात राखेर छोरी दिइन् । काठमाडौँको सडकपेटीमा यतिबेला धुलोधुवाँ अति धेरै हुन्छ । तर पनि उनीहरूलाई त्यो धुलोधुवाँको प्रवाह नै थिएन । 

साथै आमाले दिएको त्यो खाना उक्त बच्चाका लागि प्रयाप्त पनि थिएन । खाना हेर्दा बासीजस्तो देखिन्थ्यो । तर पनि बालक निकै खुशी देखिन्थे । 

करिब पाँच वर्षका बालक सडकमै भात मुछेर खान थाले । विस्तारै खानु बाबु सर्किन्छ । छोराको कपाल सुमसुमाउँदै आमाले भन्दै थिइन् । त्यो खाना पनि बच्चालाई अपुग भयो । मामु अरू.. भन्दै बच्चा रुन थाले । पख न बाबु, एकछिनपछि धेरै खाना ल्याइदिन्छु, खाना पाक्दैछ भन्दै आमा फकाउँदै थिइन् ।’

सन्तानप्रति हरेक आमाबुबाको गहिरो माया हुन्छ । चाहे त्यो सन्तान जस्तोसुकै रूपमा जन्मेको होस् । आमाबुबा जस्तोसुकै प्रकृतिको होस् । मायारूपी संसार सबैका लागि सम्मान छन् । सडकपेटीमा भएको त्यो दृश्यले मलाई निकै भवुक बनायो । यही सडकमा दिनमा हजारौँ मान्छेको ओहरदोहर भैरहन्छन् । तर ती आमा र सन्तानबीचको गहिरो सम्बन्धप्रति कसैको ध्यान केन्द्रित देखिएन । मान्छेको जीवन कति दयनीय छ भने आफ्नै जीवनको सुख दुःखमा व्यस्त छन् । अरूको जीवनतिर फर्केर हेर्नेसम्म फुर्सद छैन । 

उक्त दृश्य देखेपछि ती आमाको पूर्णविवरण लिन मैले धेरै प्रयास गरेँ । तर उनी सबै कुरा बताउने आवस्थामा थिइनन् । आफूलाई आफ्नै बारेमा केही थाहा नभएको कुरा गरिन् । भेषभूषा र पहिरनले मुस्लिम महिलाजस्तै लागेको थियो । तर होइन रहेछिन् । यादव थरकी मधेस मूलकी महिला रहेछिन् । धनुषा उमाप्रेमपुर वाड नं ४ की रहिछिन् । उनीबाट थोरै कुरा खुस्काएपछि मसँग भएको पचासको हातमा थमाएर आफ्नो गन्तव्यतिर लागें । 

हिँड्दैगर्दा उनको मानसिक अवस्था ठीक महसुस गरेँ । तर आफ्नो सन्तानप्रतिको अगाध माया देखेर मयारूपी संसारको अथाह कल्पना गरँे । सबैलाई आफ्नो सन्तानप्रति उत्तिकै माया हुँदोरहेछ ।
यादव जातिमा जन्मेर पनि के भयो । आखिर सड्कपेटीमा पनि त जीवन भेटिँदो रहेछ । मागेरै भए पनि जीवन पाल्ने अवस्था सबै जातिभित्र रहेछन् । आखिर जातिले के नै हुने रहेछ र ? अन्य कमजोर र समाजिक विभेदमा परेका जाति सरह पनि जीवन जिउन मुस्किल छ । 

मधेस आन्दोलमा यादवभित्र थुप्रै वीर पुरुषहरू जन्मिए । उपेन्द्र यादव त्यसैको प्रतीक हुन् । अहिले पनि राज्यको महत्वपूर्ण जिम्मेवारीमा छन् । सुन्दर महल र पजेरोभित्र आनन्दको जीवन बाँचिरहेका छन् । तर काठमाडौंको अनुहारसम्म नदेखेका यस्ता थुप्रै आमाहरू  मधेसमा छन् । यस्ता दिनदुःखी मधेसीहरूका लागि उपेन्द्रले के गरे र के गर्ने सोच्दै छन् । यादवभित्रै अरू यस्ता थुप्रै सुकिलामुकिला सम्पन्न मसिहाहरू छन् । चाहे भन्ने हरेकको जीवन सहज बनाउन सक्छन् तर किन सहज बनाउन चाहँदैन । उनीहरू पनि राज्यको महत्वपूर्ण जीम्मेवारी निर्वाहमा छन् । निर्वाह गर्दै आएका छन् । फरक पृष्ठभूमिका मातृका यादव पनि यतिबेला सरकारको महत्वपूर्ण जिम्मेवारीमा छन् । करोडौँ सम्पत्तिमा अइस आरामको जिन्दगी बाँच्दै छन् । सार्वजनिक भएकै विषय हो । के मातृका यादव र उपेन्द्र यादव सुन्धाराको सडकपेटीमा उभिएर ती आमासँग भेट्ने हैसिय राख्छन् ?

सुन्धाराको सडकपेटीमा यस्ता थुप्रै विचलित आमाबुबाहरू छन्, जसले मागेरै जीवन पाल्छन् । यसरी अरूको सरल जीवनमा आफू र आफ्नो साखासन्तानको जीवन गुजार्न विवश छन् । चाहे त्यो नाटक गरेर होस् वा सत्य बोलेर होस् । भोकका लागि दिनभर  दुई चार पैसा मागिरहेको हुन्छन् ।

मुलुकमा चोरी, तस्करी र भ्रष्टाचारीबाट सीमित मान्छेहरू मोटाइरहेका छन् । तर राज्यलाई आफ्ना विचलित र अव्यवस्थित नागरिकलाई व्यवस्थित गर्ने कुनै उपाय अपनाउँदै । बरू आफ्नै कमजोर नागरिकलाई दुहना गाई बनाउँछन् । मनपर्दी कर लगाउँछन् । नागरिकले कर तिर्ने क्षमता नभए पनि ढाँड सेकिहन्छन् । उठेको कर शासकहरूको निजी स्वार्थबाट उब्रेको कहिल्यै देखिएन । अनि तिनै शासकहरू चर्को स्वरमा मुलुक समृद्धिको कुरा गर्छन् । 

राजधानीका सडकपेटीहरूमा यस्ता दयनीय मान्छेहरू सरकारले कहिल्यै देखेको छैन । देखेको छ भन्ने यसको समाधान खोइ ? यस्ता अबोध बच्चा र विचलित व्यक्ति यो देशका नागरिक हुन् भने व्यवस्थापन खोइ ? 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...