शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनोज गजुरेललाई प्रश्न : कसरी जन्मियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘क्यारिकेचर’ ?

मङ्गलबार, १५ साउन २०७५, ११ : ४६
मङ्गलबार, १५ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘क्यारिकेचर’ गरेर चर्चामा रहेका हास्यकलाकार मनोज गजुरेल स्वदेशमात्रै होइन, विदेशमा समेत त्यत्तिकै चर्चित छन् । अमेरिकी अनलाइन सीबीएस न्युजले सार्वजनिक गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको ‘क्यारिकेचर’ गर्ने विश्वका चर्चित १८ कलाकारका सूचीमा गजुरेलसमेत परेका थिए । 

त्यसो भए ट्रम्पको ‘क्यारिकेचर’ गर्न कति मिहिनेत गर्नुपर्यो होला ? 

‘झन्डै दुई वर्ष मिहिनेत गरें,’ काठमाडौंको डिल्लीबजारमा भेटिएका उनले सुनाए, ‘यसको पछाडि धेरैको सहयोग छ ।’ 

जस्तै ?

उनले थपे, ‘अमेरिकामा रहेका नेपाली साथीभाइको सल्लाह, सुझाव र सहयोगमा ट्रम्पको क्यारिकेचर गरेको हुँ । आफ्नो क्रियटिभिटी र मिहिनेत त छँदै छ ।’

‘क्यारिकेचर’ गर्दा रूप, रङ, हाउभाउ र आवाज (भाषा) मा ध्यान दिनुपर्छ । हास्यकलाकार गजुरेलले ट्रम्पको ‘क्यारिकेचर’ गर्दा रूप, रङ र भावभंगीमा त्यत्तिकै मिहिनेत गरेका छन् । जुन लोभलाग्दो देखिन्छ । भाषालाई तेस्रो प्राथमिकतामा राखेका छन् । ‘क्यारिकेचर’ क्रममा दर्शकलाई सम्बोधन गर्नैपथ्र्यो । उनले नेपाली लवजमा अंग्रेजी बोल्ने प्रयास गरेका छन् । 

‘अंग्रेजीको क्यारिकेचर राम्रै गर्छु,’ उनले स्वीकारे, ‘बोलाइ उत्कृष्ट छैन ।’ क्यारिकेचरमा रूप, रङ, हाउभाउ र आवाज मिल्नुपर्छ । ‘तीनमध्ये दुई मिलेमा सफल मानिन्छ,’ उनको जिकिर छ, ‘भाषा तेस्रो एजेन्डामा मात्रै परेको छ । पहिलोपटक क्यारिकेचर गर्दा भाषामा त्यति धेरै मिहिनेत गरेको थिइनँ । त्यतिबेला गेटअप र हाउभाउमा ध्यान दिएँ । कार्यक्रमकै लागि अमेरिका जानुपर्ने भएपछि भाषामा मिहिनेत गर्नुपर्यो ।’ 

अमेरिकामा रहेका नेपाली दर्शक, जो अंग्रेजी बोल्छन्, त्यहाँको भाषा, साहित्य, संस्कृति र राजनीतिमा चासो र दख्खल राख्छन् । उनीहरूलाई सम्बोधन गर्नु नै थियो । त्यो कार्यक्रममा गोरा दर्शकसमेत थिए । तसर्थ, अंग्रेजी उच्चारणमा ध्यान दिन मिहिनेत गरें । ‘हामीले अंग्रेजीमै बोले पनि मलेसियालाई मलेसिया नै भन्छौं,’ उनले प्रस्ट्याए, ‘अंग्रेजीले नै बुझ्ने भाषामा बोल्दा मलेसियालाई मलाइजिया भन्नैपथ्र्यो । सिंगापुर होइन, सिंगपो र नेपाललाई नेपल भन्नैपथ्र्यो । मसिना–मसिना कुराले क्यारिकेचरमा सुन्दरता थप्छ ।’ 

डिक्सनरी पल्टाउन परेन ?

‘परेन,’ उनले जोडे, ‘ट्रम्पले बोल्दा प्रयोग गर्ने अधिकांश शब्द ख्याल गरेको थिएँ । उनले प्रयोग गर्ने शब्द इन्क्रेडिबल, एमेजिङ, फ्यान्टास्टिक, फेक, ह्युजलगायत थिए ।’ अन्य देशका क्यारिकेचरिस्टले गरेको ट्रम्पको क्यारिकेचर पनि हेरें । सुनें । त्यसले पनि सघाउ पुर्यायो ।’ 

धेरै समय त्यसरी बिताएँ । 

‘मैले मेरो भाषा, संस्कृति, देशभन्दा परका व्यक्तिको नक्कल गर्दै थिएँ । ठाउँमात्र सुदूर थिएन, विश्वराजनीतिको केन्द्रमा रहेका व्यक्तिको नक्कल गर्दै थिएँ,’ उनको भनाइ थियो, ‘अहिले त अमेरिकामा पानी पर्दा नेपालमा प्रभाव पर्छ । मैले व्यंग्य गरिरहँदा त्यसलाई व्यंग्यका रूपमा बुझाउन नसके त्यत्तिकै जोखिम थियो । तसर्थ, विषयको गाम्भीर्यतालाई ध्यान दिनुपथ्र्यो ।’ 

सन् २०१४ मा अमेरिका पुग्दा नेपाली साथीभाले तपाईंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरिसक्नुभयो । अरेबियन, साउथ इन्डियन, चाइनिजको गर्नुभयो । अब तपाईंले गर्ने ‘क्यारिकेचर’ उनको हो भनेर डोनाल्ड ट्रम्पलाई संकेत गरेका थिए । त्यतिबेला उनी चर्चामा थिएनन् तर राष्ट्रपतिका उम्मेदवार हुँदै छन् भन्ने चर्चा चलेको थियो । र पनि, उनले खासै ध्यान दिएका थिएनन् । 

अमेरिकाको कार्यक्रम सकिएपछि गजुरेल नेपाल फर्के । ट्रम्पले उम्मेदवार दिने पक्कापक्की भयो । फेरि साथीभाइले दबाब दिए, ‘मनोजजी अवसर यही हो । आफूलाई परिमार्जित गर्ने, अघि बढाउने र नेपाली कलाकारितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने अवसर आएको छ । तपाईंले डोनाल्ड ट्रम्पको नक्कल गर्नुहोस् ।’

अमेरिकामा रहेका सन्तोष न्यौपान, गिरीश पोखरेल, गौतम दाहाललगायतले ट्रम्पको कपाल, हाउभाउ र भावभंगीमाका फोटा, भिडियो र उनीसँग सम्बन्धित ‘क्यारिकेचर’ समेत पठाइदिए । त्यसपछि मात्रै मनोज गजुरेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्न लागिपरे ।

हास्यकलाकार गजुरेलले गत वर्षको गाईजात्रामा पहिलोपटक ट्रम्पको ‘क्यारिकेचर’ गरेका थिए । काठमाडौंको कमलादीमा रहेको प्रज्ञाप्रतिष्ठानको गाईजात्रामा पहिलोपटक ट्रम्पको ‘क्यारिकेचर’ गरेका हुन् । त्यो २५ मिनेटको ‘ड्रामा’ थियो । त्यो ‘ड्रामा’ नेपाली दर्शकका लागि नयाँ प्रयोग मानिन्थ्यो ।

सर्वप्रथम दुई ‘स्क्रीन’ मा डोनाल्ड ट्रम्पको परिचय दिइयो । उनका भिडियो देखाइयो । लगत्तै भनियो, ‘नमस्कार गाईजात्रे समाचारमा स्वागत छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि नेपाल आइपुग्नुभए पनि सुरक्षाका कारण चीन पुग्नुभएको छ ।’ कहिल्यै नदेखेका दर्शकले ट्रम्प यस्ता रहेछन् भनेर थाहा पाए । ३० सेकेन्डको भिडियो सकिनासाथ ट्रम्पको अनुहार मिल्ने मानिस मञ्चमा प्रवेश गर्दै ‘नो, नो, नो । द्याट इज फेक । द्याट इज रियल्ली फेक । मी डोनाल्ड ट्रम्प, प्रेसिडेन्ड युनाइटेड स्टेट अफ अमेरिका इज हियरिङ काठमाडौं । आईएम नट इन चाइना ।’ 

त्यति भनेपछि ‘क्यारिकेचर’ ले ‘पिकअप’ लिइहाल्यो । 

‘ट्रम्प बन्न मेरो क्रियटिभिटी त थियो नै,’ उनले थपे, ‘साथसाथै प्रविधिले सहयोग गर्यो ।’ उनले नेपालमा मात्रै २४ पटक ट्रम्पको ‘क्यारिकेचर’ गरिसकेका छन् । अमेरिकाको ६ राज्य र कतारमा पनि ट्रम्पको ‘क्यारिकेचर’ गर्न भ्याए ।

‘क्यारिकेचरमा ६० प्रतिशतभन्दा बढी मिल्यो भने सफल मानिन्छ,’ उनले दोहोर्याए, ‘सयमा सय प्रतिशत सम्भव छैन । युट्युबमा ट्रम्पको क्यारिकेचर गर्ने हेर्नुभयो भने लुक्समा मेरो राम्रो छ । अडियो नआउला । अंग्रेजी मेरो मातृभाषा होइन । ट्रम्पसँग मेरो लुक्स धेरै हदसम्म मिलेको छ ।’ 

राजनीतिक, सांस्कृतिक र आर्थिक हिसाबले सुदूरमा रहेका मुलुक (नेपाल) बाट हास्यव्यंग्यको दियो बल्दै छ भनेर विश्वराजनीतिमा सशक्त मानिएका मुलुकलाई जानकारी गराउनसम्म पाउँदा गजुरेल गौरवान्वित छन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पको ‘क्यारिकेचर’ गरेको समाचार अमेरिकी र बेलायती मिडियाले प्राथमिकतसाथ ‘कभरेज’ गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप