शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खेर फालिएको सार्वजनिक जग्गामा यसरी निर्माण हुँदैछ पर्यटकीय स्थल

सोमबार, ०२ साउन २०७४, १० : ०५
सोमबार, ०२ साउन २०७४

सुवास विश्वकर्मा


पाल्पा । पाल्पा जिल्ला एउटा ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलको रुपमा प्रख्यात मानिएको जिल्ला हो । पाल्पामा वर्षमा हजारौँ आन्तरिक तथा वाहृय पर्यटकहरु आउने गर्दछन् । रानिमहल, पाल्पा दरवार, भैरवस्थान, रणउजेश्वरी भगवति मन्दिर, श्रीनगरडाँडा, बतासे डाँडा लगायतका स्थानहरु पर्यटकहरुको पहिलो रोजाईमा पर्ने स्थानहरु हुन् ।


पाल्पामा  नाम  चलेका ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलसँगै पर्यटन सम्भावना बोकेका स्थानहरु पनि धेरै छन् । वर्षेनी करोडौँ बजेट पाल्पाको पर्यटन तथा धार्मीक स्थलको संरक्षण तथा पर्यटन प्रबद्धनका लागि आउने गर्दछ तर पनि सोचेजस्तो उपलब्धी भने हुन सकेको छैन । वर्षेनी एउटै ठाउँमा लगानी फँसाउने तथा सम्भावना भएको ठाउँमा लगानी लगाउन नसकेको अवस्था छ ।


पाल्पामा धेरै पर्यटकिय सम्भावना बोकेका स्थानहरु त्यसै फालिएका छन् । फालिएको स्थान मध्ये तानसेन नगरपालिका ९ भालेवास पनि एक हो । वर्खे खोला बग्ने ढुङ्गै ढुङ्गैका भएको स्थान हो भालेवास । कुनै पनि मानिसको वसोवास नभएकोले गर्दा यो स्थान त्यसै खेर फालिएको थियो । त्यहि फालिएको र मानिस पनि बस्न डराउने ठाउँमा आजभोलि पर्यटकीय स्थान बनेको छ ।


सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने बुटवल तानसेन पर्ने भालेवासमा पर्यटकीय स्थल बन्दै गएको हो । फालिएको जग्गालाई पर्यटकीय स्थल बनाउने व्यक्ति हुन च्याउ केशव अर्थात केशव कार्की । सोहि स्थानमा बसोबास गर्ने केशब पछिल्लो समयमा आफ्नै स्थानलाई धार्मीक तथा पर्यटकीय स्थान बनाउन लागेका छन् । पानी व्यावसाय,पशुपालन व्यवसाय, संजीवनको तेलबाट सवारी चलाउने, सल्लाको खोटोले पेट्रोल निकालेर मोटरसाईकल चलाउने देखि च्याउ खोतिबाट राष्ट्रपति क्षेत्रिय कृषि पुरस्कार पाउन सफल व्यक्ति हुन् कार्की ।


‘पाल्पामा धेरै सार्वजनिक जग्गाहरु त्यसै फालिएका छन् । फालिएका जग्गालाई प्रयोगमा  ल्याउन सक्ने हो भने जिल्लाको विकास गर्न सकिने थियो,’ कार्कीले भने, ‘भालेवास पनि  एउटा सार्वजनिक जग्गा हो, यो ठाउँलाई धार्मीक तथा पर्यटकीय स्थान बनाउने मेरो लक्ष्य हो कार्कीको भनाई छ ।’


भालेवास राजमार्गसँगै जोडिएको जङ्गल र खोलाको बीचको भू–भाग हो । यो ठाउँमा पहिला कुनै पनि वस्ती थिएन । पछिल्लो ३ महिनादेखि यहाँ एउटा कृषि होटल बनेको छ । च्याउको मःम, च्याउको सुप, च्याउको छोइला खान पाइने भएकोले दैनिक सयौँ यात्रु तथा पर्यटकहरु आउने गर्दछन् । बाटोभन्दा माथि कृषि होटल, बाटोभन्दा तल खोला र खोलासँगै ७० मिटरको एउटै ढुङ्गामा विभिन्न भगवान तथा जनावरको आकृतिले यहाँ धेरै यात्रुको मन तानिएको छ ।


नेपालमा नै फरक काम गर्दै आएका केशवले यो ठाउँमा पनि नयाँ काम गर्दै छन् । फालिएको जग्गा हो यो, यहाँ धेरै मुर्ति आकृति भएको ढुङ्गा देखे यो ठाउँलाई धार्मीक तथा पर्यटकीय स्थल बनाउने मेरो सोच भयो र काम थाले कार्कीले भने । ७० मिटरको एउटै ढुङ्गगा छ यहाँ ३३ कोटी देवि देउताको मुर्ति, तिनको वाहन र मन्दिर बनाउने लक्ष्य रहेको  र धार्मिक तथा पर्यटकीय स्थल बन्ने सम्भावना पनि भएको उनले बताए ।


भालेवास क्षेत्रमा ३३ कोटी देवी–देउताहरुको मुर्ति तिनीहरुको वाहन बनाउदा करिब १० लाख लागत लाग्ने उनले बताए र बुढानिलकण्ठको मुर्ति र हात्तीको मुर्तिलगायत  एक लाख भन्दा बढि खर्च भएको कार्कीको भनाई छ । 


भालेवास क्षेत्रलाई धार्मीक तथा पर्यटकीय स्थल बनाउदा स्थानीय वासिन्दाहरु पनि खुसी भएका छन् । भालेवास क्षेत्रमा राम्रो काम गरेको भन्दै स्थानीय वासिन्दाले पनि आर्थीक सहयोग गरेको कार्कीले बताए । पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल भएकाले यो क्षेत्रमा गर्न लागेको कामलाई धर्म सम्झेर सहयोग गर्न पनि अनुरोध गरेका   छन् ।


पाल्पामा फालिएको जग्गाको सदुपयोग गरी धार्मिक तथा पर्यटकीय विकास गर्न लागेकोमा पाल्पालीहरु खुसी भएका छन् । बुटवलबाट गुल्मी, पोखरा, स्याङजा जाने बाटोमा पर्ने भएकाले यो ठाउँमा यात्रा गर्ने यात्रुहरुको मन पनि लोभाएको छ । जिल्लाको विकासका लागि नयाँ काम गरेको देखेरे जिल्लाका पूर्व मन्त्री, नेता, सरकारी कार्यलयका प्रमुख, आन्तरिक तथा वाह्य पर्यटकहरु अवलोकन गर्न आएको कार्कीले बताए ।


यस भालेवासमा हालसम्म ५ फिट अग्लो र १२ फिट भन्दा लम्बाई भएको ढुङ्गाको हात्ती निर्माण भैसकेको छ । बुढानिलकण्ठको मूर्ति निर्माण कार्य हुँदैछ । पहिलो चरणमा १३ ओटा मूर्ति तथा आकृति निर्माण गर्ने र पछि २० ओटा बनाउने कार्कीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप