शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनयमा पूर्वमिस नेपाल : न हिट न फिट

सोमबार, १४ साउन २०७५, १० : ३१
सोमबार, १४ साउन २०७५

काठमाडौं । पूर्वमिस नेपाल सृष्टी श्रेष्ठ अहिले चर्चामा छिन् । उनी अभिनित फिल्म ‘रोमियो एन्ड मुना’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘रोमियो एन्ड मुना’ अभिनयबाट उनले राम्रो तारिफ पाइरहेकी छन् । फिल्म प्रदर्शनको समय चर्चामा रहनु स्वाभाविक पनि हो । तर फिल्मी अभिनयबाट सफलता मिल्छ, मिल्दैन अहिलै यसै भन्न सकिन्न ।

‘गाजलु’ फिल्मबाट अभिनयमा होमिएकी सृष्टी यो बीचमा कथित प्रेमी सौगात मल्लको फिल्म ‘लालपुर्जा’को एक दृश्यमा समेत देखापरिन् । उनको एक फिल्म ‘लाहुरे’ प्रदर्शनमा आउन बाँकी छ । डेब्यु फिल्म ‘गाजलु’बाट राम्रो चर्चा र सफलता पाउन सफल उनको अभिनय यात्रा भने त्यति सफल भएको देखिन्न । उनीभन्दा पछि आएका अभिनेत्रीको फिल्म चाङ हुँदा उनी भने बल्ल ‘रोमियो एन्ड मुना’मा देखिएकी छन् ।

सृष्टि मात्र कहाँ हो र, पहिलो मिस नेपालको ताज लगाएकी रुबी राणाको अभिनय यात्रा राम्रो बन्न सकेन । नेपाललाई विश्वमा चिनाउने उद्देश्य बताउँदै सन् १९९४ मा मिस नेपालको ताज पहिरिएकी वीरगञ्जकी रुवी राणा केही समय अभिनय र मोडलिङमा सक्रिय रहिन् । तर निरन्तरता दिन भने सकिनन् । पछिल्लो समय उनी ब्युटिसियनको रूपमा रूपमा चिनिदै आएकी छन् । केही टेलिसिरियल अभिनय गरेकी रुवीका ‘अनमोल’, ‘आधी बाटो’ र ‘अन्तराल’ फिल्म आएका थिए । यी फिल्मबाट न त उनी हिट हुन सकिनन् न त अभिनय क्षेत्रमै फिट रहिरन् नै ।

सन् १९९५ की मिस नेपाल सुमी खड्काको पनि अभिनय यात्रा पनि लामो समय रहन सकेन । दोस्रो संस्करणको मिस नेपाल बिजेता सुमी अभिनेता भुवन केसीको फिल्म ‘सुपरस्टार’बाट नायिका बनेकी थिइन् । ‘सुपरस्टार’ पछि ‘ग्रहण’ र ‘एक नजर’मा देखिएकी उनको अभिनय यात्रा त्यसपछि भने  अगाडि बढ्न सकेन । अहिले उनी एयरहोस्टेसको रूपमा कार्यरत छिन् ।

काठमाडौँकै स्थायी बासिन्दा पुनम घिमिरे पनि मिस नेपाल नै हुन् । तेस्रो मिस नेपालको ताज बिजेता उनी सिरियलमार्फत अभिनय सुरु गरेकी थिइन् । सिरियल अभिनय सुरु गरेपछि फिल्म अफर पाउन नसकेकी उनीलगत्तै अमेरिकातिर भासिइन् । अहिले पनि उनी अमेरिकामै गुमनाम भएर बाँचिरहेकी छिन् ।

सन् १९९७ की मिस नेपाल निलिमा गुरुङ पनि म्युजिक भिडियो मार्फत अभिनयमा भित्रिएकी थिइन् । पोखराकी निलिमाको पहिलो जनजाति सुन्दरीका रूपमा पनि चर्चा भयो । म्युजिक भिडियो अभिनय गर्दैगर्दै उनलाई केही फिल्मका अफरसमेत हात लागेका थिए । फिल्म अभिनय स्वीकार्नु पूर्व उनले घरजम रोजिन् ।

सन् २००० को मिस नेपाल विजेता उषा खड्गी अभिनयमा न होमिएकी होइनन् । कार्यक्रम प्रस्तोता जीपी तिमिल्सिनासँग बिहे गरेकी उनी म्युजिक भिडियो र विज्ञापनमा व्यस्त छिन् । तर उनको फिल्मी यात्रा भने बन्न सकेन । उनी पछिल्लो समय अभिनयको अलवा बुटिक पेसालाई अगाडि बढाउँदै आइरहेकी छन् । उनी ‘आउँदै जाँदै’ चलचित्रबाट निर्माताका रूपमा समेत देखिने तरखरमा छिन् ।

अन्य मिस नेपालको तुलनामा झरना बज्राचार्यको भने अभियन यात्रा केही राम्रो देख्न सकिन्छ । ‘हतियार’बाट फिल्मी करिअर सुरु गरेकी झरनाले ‘भुतुक्कै भएँ नि’, ‘सिउँदोको सिन्दुर’, ‘अञ्जुली’, ‘भाइटीका’, ‘माया गर्छु म’, ‘चाहन्छु म तिमीलाई’, ‘लभ इन नेपाल’ (हिन्दी), ‘परेँ नि माया जालैमा’, ‘सञ्जीवनी’, ‘फेरि अर्को साइनो’ जस्ता फिल्म अभिनय गरिन् । २००५ बाट फिल्मी दुनियाँबाट टाढा रहेकी उनी मलेसियन व्यापारीसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि देश बाँहिर रहँदै आएकी छन् भने अभिनयमा पनि अहिले क्रियाशील छैनन् । 

मिस नेपाल भएकाहरूमध्ये प्रतिभाशाली सुन्दरीभित्र गनिन्छिन् माल्भिका सुब्बा । २००२ की मिस नेपाल माल्भिका अभिनय हुँदै फिल्म निर्माणमा समेत सक्रिय छिन् । ‘गुडबाई काठमाडौँ’, ‘गड लिभ्स इन हिमालय’ अभिनय गरेकी माल्भिकाले ‘हाउ फन्नी’ निर्माण गरेकी थिइन् । तर अभिनय होस् वा निर्माण दुवैमा उनलाई सफलता मिलेन । न त उनी फिल्म अभिनयमा फिट भइन्, न त उनी निर्माणमा नै हिट भइन् ।

२००९ की मिस नेपाल जेनिसा मोक्तानले पनि अभिनय यात्रालाई अन्य मिस नेपालले जस्तै पछ्याउने प्रयास गरिन् । ‘मेरो एउटा साथी’ फिल्म अभिनय गरेकी उनी त्यसपछि पर्दाबाटै अलप भइन् । वैवाहिक जीवनले उनको फिल्मी करियरमा पूर्ण बिराम लगायो ।

मलिना जोशी सन् २०११ की मिस नेपाल हुन् । उनी अहिले पनि अभिनय क्षेत्रमै छिन् । ‘ऋतु’बाट अभिनय यात्रा थालेकी उनी ‘कति धेरै’, ‘झुम्की’, ‘द विनर’, ‘रानी’, ‘संरक्षण’ र केही अगाडि ‘तिमी हुन्छौ जहाँजहाँ’  प्रदर्शनमा आएको थियो । तर कुनै पनि चलचित्रबाट उनले सफलता हासिल गर्न सकिनन् । न त उनको अभिनय दर्शकले चलचित्रका लागि फिट छ है नै भनेका छन् । 

अघिल्लो वर्षकी मिस नेपाल निकिता चन्दक पनि केही अगाडि ‘रानी महल’ फिल्ममा अनुबन्धित भइन् । २५ प्रतिसत छायाङ्कन नसकिँदै फिल्म रोकिन पुग्यो । निर्माता र निर्माण नियन्त्रक बीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि फिल्मको सुटिङ रोकिएको बाहिर हल्ला छ । चलचित्र बन्ने नबन्ने अझै निधो छैन । पहिलो फिल्म यात्रा नै अन्योल बनेकी चन्दकको अभिनय यात्रा के हुन्छ भन्न सकिन्न । उनको साथमा अहिले अर्काे चलचित्र पनि छैन । पहिलो फिल्म यात्रा रोकिनुलाई राम्रो सङ्केत भने मान्न मिलदैन । 

यी त उदाहरण मात्र हुन् । प्रिती सिटौला, पायल शाक्य, सुगरिका केसी, जेनिशा मोक्तान लगायतका थुप्रै पूर्वमिस नेपालको जीवन नियाल्ने हो भने प्रयास सबैलाई हामी अभिनयमा पाउन सक्छौँ । तर यीमध्ये न कुनै पनि मिस नेपाल न त अभिनयमा हिट हुन सकेका छन्, न त लगातार अभिनय यात्रामा फिट हुन नै ।

सौख, पलायन र असफलता
सौख, पलायन र असफलताका कारण मिस नेपालहरूको अभिनय यात्रा हिट बन्न सकेन । प्रथम मिस नेपाल रुवी राणा मात्र होइन, जेनिसा मोक्ताङ, झरना बज्राचार्य, सुमि खड्का, पुनम घिमिरेलगायत अभिनयबाट पलायनले गर्दा हिट हुन सकेनन् । यी अभिनेत्रीले चर्चा हुँदाहुँदै र नयाँ फिल्मको अफर पाउँदा पाउँदै पनि अभिनय बाहेकको क्षेत्र रोजेको, विदेश भासिएको र घरजम गरेको देख्न पाइन्छ । कतिपय मिस नेपाल सुरुमा सौखका कारण अभिनयमा भित्रिने र पछि आफूले सोचेजस्तो नभएपछि हराउने गरेको पाइन्छ । उदाहरणका रूपमा ‘मेरो एउटा साथी’ अभिनय देखिएकी मिस नेपाल जेनिसा मोक्तानलाई लिन सकिन्छ । लगायतार अभिनयमा रहे पनि अभिनय गरेको फिल्मले सुपरहितको व्यवसाय गर्न नसकेका कारण पनि केही मिस नेपालको अभिनय सुखद् नभएको पाउन सकिन्छ । माल्भिका सुब्बा, मलिना जोशीलगायतले अभिनयलाई निरन्तार दिइरहे पनि उनीहरू सफल हिट बन्न सकिरहेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप