बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एएफसी च्याम्पिपयनसिप : नेपाल र उज्वेकिस्तान भिड्ने

सोमबार, ०२ साउन २०७४, ०९ : २७
सोमबार, ०२ साउन २०७४

काठमाडौँ  - एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स युएईसँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । 

युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर्नेछ । 

नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिल्लो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ । 

जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अङ्कविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले जित हासिल गर्दै तीन अङ्क जोडेको छ । शनिबार नै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । 

अङ्क तालिकामा नेपाल गोल अन्तरका आधारमा अन्तिम स्थानमा छ भने उज्वेकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाललाई पराजित गरेका युएई तीन अङ्कका साथ शीर्षस्थानमा छ भने लेबनान तेस्रो स्थानमा छ । 

अर्को वर्ष चीनमा हुने एएफसी २३ वर्षमुनिको फुटबल च्याम्पियनसिपको छनोटमा सहभागी ४० टोलीलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह चरणका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता टोली फाइनलका लागि छनोट हुने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप