शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसमा देखिएको सत्तात्रासदी र सुशीला कार्कीको हठात् अभिव्यक्ति

आइतबार, १३ साउन २०७५, १२ : ०८
आइतबार, १३ साउन २०७५

    लोकतन्त्रको दुहाइ दिने नेपाली काङ्ग्रेसका सत्ता र शक्तिमा रहँदा भएका कामहरू खोज्न टाढा जानुपर्दैन । लामो समयसम्म सरकार र सत्तामा रहेर हालीमुहाली गरेको नेपाली संविधान सभा अन्तर्गत संविधान अनुरूप बनेको नेकपाको दुई तिहाई सरकारका कारण विक्षिप्त बनेको  छ । लोकतान्त्रिक संविधान बमोजिम यो सरकार निश्चितताका साथ ५ वर्ष सरकार चलाउँदछ । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट बनेको सरकारलाई अधिनायकवाद देख्ने काङ्ग्रेसको रवैया र रोदनले नेतृत्वपङ्क्तिलाई सहज लागे पनि कर्मठ कार्यकर्तालाई भने असहज अवस्था सिर्जना भएको छ । विश्वव्यापी मान्यताअनुरूप र आयल निगमबाट इन्धनको मूल्यमा भएको वृद्धिलाई समेत अधिनायकवाद देख्ने नेपाली काङ्गे्रस सत्ता र सरकारबाट बाहिर बस्दाको पीडाबोध कति भएको रहेछ भन्ने बुझ्न सकिन्छ ।

नेपाली काङ्गे्रस नयाँ राजनीतिक शक्ति पनि होइन, पटक पटक सरकारमा रहँदा नेपाली काङ्गे्रसको गतिविधि र उसको लोकतन्त्र, दृष्टिकोणलाई जनताले नजिकबाट नियालिसकेका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नै भएको प्रदेश तथा केन्द्रीय चुनावमा लज्जास्पद हार बेहोरेको नेपाली काङ्ग्रेस नेकपाको बहुमतबाट बनेको सरकारबाट कतिसम्म जलेको छ भन्ने कुरा सपनामा पनि अधिनायकवाद आयो भन्ने पिरले पिरोलेको पाइन्छ । डा. केसी शिक्षा विधेयक संसदमा पेश भएको विरोधमा अनशन बस्दा सबैभन्दा ठूलो जर्जर भएको नेपाली काङ्गे्रस सरकारलाई अधिनायकवादको मसिहा देख्दछ । तराईमा बाढी र पहिरोले जनधनको क्षति हुँदा समेत सरकारको अधिनायकवाद देख्ने नेपाली काङ्गे्रसको हतास मनस्थिति र अभिव्यक्ति देख्दा नेकपाका अध्यक्ष प्रचण्डले भनेझैँ नेपाली काङ्ग्रेस इतिहासमा सीमित हुने त होइन भन्ने भन्ने आशङ्कालाई मलजल गर्ने धेरै आधारहरू खडा गरिदिएको  छ । 
 

   कुनै बेलाको दुई तिहाईको सरकार बनाएको नेपाली काङ्गे्रस त्यसपछि पनि बहुमतको सरकारबाट लामो समय सत्ता र सरकारको नेतृत्व गरिरह्यो । त्यसबेलामा काङ्ग्रेसको भूमिका कारण भारतीय असमान सन्धि होस् वा अतिक्रमण । राष्ट्रिय हस्तक्षेप होस् वा भारतीय विस्तारवादको फेहरिस्ता हेर्ने हो भने त्यसमा नेपाली काङ्ग्रेसको भूमिका फितलो रह्यो । जुन प्रमाणित भइसकेको  छ । नेतृत्व र देश चलाउनका लागि दृष्टिकोण र आत्माविश्वासको आवश्यकता पर्दछ । हिजोको भूमिकाले भोलिको अवस्थाको निर्धारण गर्दछ । हिजो देश र जनताका लागि केही पनि गर्न नसकेको नेपाली काङ्ग्रेस ओली सरकारले संविधानसम्मत गरेको निर्णयलाई अधिनायकवाद र फासीवाद देख्दछ भने त्यो मूर्खता शिवाय केही हुन सक्दैन । प्रतिपक्षको धर्म जे कुरामा पनि विरोध गर्ने होइन, आवश्यकताको आधारमा समर्थन र विरोध स्वीकार्य मानिन्छ । तर सरकारको हरेक क्रियाकलापमा विरोध र अधिनायकवाद देख्दा आम जनताले नेपाली काङ्ग्रेसलाई कसरी हेरेको होला, सोचनीय विषय बनेको  छ । 

स्वार्थको राजनीतिले ओतप्रोत नेपाली काङ्ग्रेसले हिजो डा. केसी अनसनमा रहँदा निजको माग पूरा गर्न आवश्यकता देखेन । जब सत्ता बाहिर गयो, त्यसपछि त्यही माग नेपाली काङ्ग्रेसका लागि अमृतजल बनिदियो । केही महिनाको अवधिमा देखिएको नेपाली काङ्ग्रेसको दोहोरो भूमिकाले नेपाली राजनीतिलाई नै धुमिल गरिदियो । आफू सत्तामा रहँदा सत्ता र शक्तिभन्दा पनि केही नदेख्ने नेपाली काङ्ग्रेसले विगतमा खेलेको दोहोरो भूमिका  नेपाली जनताले बिर्सेका छैनन् । हिजो सरकारमा रहेर स्वास्थ्यमन्त्री हुँदा आफ्ना कार्यकर्ता लगायर डा. केसीका विरोध गर्ने गगन थापा आज डा. केसी सबैभन्दा अब्बल देख्दछन् । हिजोको बोली र व्यवहारलाई लगाम लगाउन नसक्ने नेता तथा कार्यकर्ताको अराजकता जनतामा पनि पर्नु स्वाभाविकै हो । हिजो गगन थापा स्वास्थ्यमन्त्री हुँदा केही नगरेर डा. केसी विरोध गरेका आज चर्को स्वरमा उर्लेर डा. केसीको समर्थन र ओली सरकारको विरोध गर्नु भने गगन थापाको यथार्थ चरित्र पुष्टि गरेको  छ । नेपाल सरकारका मन्त्री र न्यायको प्रमुख भइसकेको व्यक्तिको तल्लो स्तरको गाली र भाषण लोकतान्त्रिक हुने तर सरकारको कामकारवाही अधिनायकवाद देख्नु भनेको स्वयम् जनतामाझ आफै नाङ्गिनु शिवाय केही हुन सक्दैन । सर्वोच्च अदालत जस्तो संवेदनशील पदमा रहेका व्यक्तिको बोल्ने शैली र सरकारमाथिको प्रहार लोकतान्त्रिक र सबल हुने नेपाली राजनीति कानुनमन्त्री तामाङको यथार्थ अभिव्यक्ति अधिनायकवाद देख्ने र खोइरो खन्ने प्रवृत्तिलाई लोकतान्त्रिक मान्न सकिँदैन ।

तत्कालीन समयमा केपी ओली प्रधानमन्त्री हँुदा सोही सरकारको सिफारिसमा प्रधानन्यायाधीश बन्न सफल सुशीला कार्की आज त्यही सरकारलाई अधिनायकवाद देख्नु भनेको कहाँको लोकतन्त्र हो ? सुशीला कार्की जस्तो व्यक्तिले बोल्दा  हेक्का राख्नुपर्दैन ? त्यही ८ पास गरेको सरकारले प्रधानन्यायाधीशमा सिफारिस गर्दा लोकतान्त्रिक देख्ने सुशीला कार्की आज दुई तिहाई जनमत प्राप्त सरकार कसरी अधिनाकयवादी भयो ? सम्माननीय सुशीला कार्कीले जवाफ दिनुपर्दैन ? सरकारको मानहानि गर्ने अधिकार सुशीला कार्कीलाई कसले दियो ? सुशीला कार्की आम जनता हुनुहुन्न । नेपाल सरकारको प्रधानन्यायाधीश जस्तो पदमा रहेर न्यायको पक्षमा आवाज उठाउने व्यक्तिले सरकारलाई खिसिट्युरी गर्ने, मानमर्दन गर्ने, अपहेलना गर्ने अधिकार कहाँबाट आयो ? कानुनमन्त्रीले नेपाली छात्राको यथार्थबोध गराउँदा माफ मागेर पनि नपुगेर राजीनामा गर्न बाध्य बनाउने कथित बुद्धिजीवीहरू न्यायको मूर्तिले जे बोले पनि छुट हुने हो ? कानुनले कसैको हुलहुज्जत, अपहेलना र मानमर्दनसमेत गर्न पाउँदैन भनेर मौलिक हकअन्तर्गत राखेको छ भने सुशीला कार्कीको अभिव्यक्तिलाई लिएर कारवाही हुनुपर्दैन ? तत्कालीन केपी ओलीको सरकारमा प्रधानन्यायाधीश बनेका सुशीला कार्की तत्कालीन समयमा नेपाली काङ्ग्रेसको अग्रसरतमा र तत्कालीन माओवादीको समर्थनमा महाअभियोग लगाउन खोज्दा जोगाउने को थियो महासय ? लोकतान्त्रिक शब्द जब्दैमा लोकतान्त्रिक भइने हो भने नेपाली काङ्ग्रेसको लोकतन्त्र नै तपाईंका लागि उचित हो रहेछ । जुन विगतमा तपाईंलाई तत्कालीन एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग लाग्न नदिएर अधिनायकवादी काम गरेका रहेछन् । आम सर्वसाधारणको बुझाइ यही हो । अधिनायकवादको अर्थ के हो सम्माननीय पूर्व प्रधानन्यायाधिशज्यू, मसिहा र सरकारको अपहेलनामा तपाईंलाई कारवाही गर्न पाउने कि नपाउने ?  देशमा स्थिर पाँच वर्षे सरकार बनेर देश निर्माणमा अघि बढिरहेको सन्दर्भमा प्रधानन्यायाधीशले देशमा नै आगे बल्ने अभिव्यक्तिले भोलि देशमा झन अस्थिरतातर्फ धकेलियो भने यसको जिम्मेवार को ? देश विखण्डन गर्ने, देशमा आगो बाल्ने अभिव्यक्ति दिने अनि लोकतन्त्रको दुहाई दिने पूर्व प्रधानन्यायाधीशको अभिव्यक्तिले सिङ्गो देशको शिर निहुर्याएको  छ । 

    डा. केसी पहिलो पटक अनशन बसेका होइनन्, उनको अनशन अब सबैका लागि पाच्य बनिसक्यो । हो डा. केसीका मागहरू जायज छन् । गरिब जनताका पक्षमा छन् तर यति भनिरहँदा पनि प्रक्रिया भने गलत हो । अनसनबाट सबै कुरा प्राप्त हुने हो भने किन चाहियो, लोकतान्त्रिक व्यवस्था ?    विरोधका लागि विरोधको संस्कारमा हुकिएको नेपाली राजनितीकर्मी वाट आएको अभिव्यक्तिले भोलिका दिनमा कस्तो  अवस्था सिर्जना गर्ला ? देश र जनताको मुक्ति र विकासका लागि काम गर्ने  नेपाली राजनैतिक पार्टीको गुलामी गर्ने अन्ध कार्यकर्ता यसका मतियार कहिलेसम्म वन्नु पर्ने हो ? नेपाली काङ्गे्रसजस्तो राजनीतिक दलले अराजकताको सिर्जना गर्ने, आफ्नो कार्यकर्तालाई सडकमा उतारेर आन्दोलन गर्न लगाउँदा त्यसको विषयवस्तुको गाम्भीर्यतालाई ध्यान दिनुपर्दैन ? सत्ताको त्रासदीले रन्थनिएको नेपाली काङ्ग्रेस हिजो सत्ता र सरकारमा रहँदाको उन्माद अहिलेको परिणाम हो ।

राष्ट्रिय महत्वको सरकारको कामकारवाहीमा समर्थन र विरोध गर्नु प्रतिपक्षको धर्म हो । सानो सानो विषयमा पनि आन्दोलन र अधिनायकवादको कुरा गरेर नेपाली काङ्गे्रेसको समाजवाद प्राप्त हुँदैन भन्ने कुरा नेपाली काङ्ग्रेस जस्तो पार्टीले बेलामा नै बुझन जरुरी हुनेछ । सरकारमा रहँदा उचित देख्ने र सरकारबाट बाहिर हुँदा अधिनायकवाद र लोकतन्त्र विरोधी देख्ने हो भने काङ्ग्रेसको स्थिति सुध्रनेछैन । देश र जनताको जनजीविकाको पक्षमा लड्ने, देश विकासमा समर्पित काङ्ग्रेस नै अहिलेको आवश्यकता हो । पार्टी र देश विकासका लागि स्पष्ट दृष्टिकोणका साथ जानुपर्छ । अबको काङ्ग्रेस कस्तो बनाउने भन्ने कुरा नेपाली राजनीतिमा खेल्ने भूमिकाले नै निर्धारण गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बीबी श्रेष्ठ
बीबी श्रेष्ठ
लेखकबाट थप