शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लस्सी बेचेरै दैनिक १० हजार

शनिबार, १२ साउन २०७५, १० : १५
शनिबार, १२ साउन २०७५

कदुवा (खोटाङ) । घरमै बसी–बसी दैनिक १० हजार रुपैयाँ हात पार्न के–के गर्न सकिएला ? जोकोहीलाई उत्तर दिन त्यति सजिलो छैन । यही प्रश्न सोध्दा फौदसिंह कार्की भन्छन्, ‘अर्गानिक लस्सी बेचे भइगयो नि ।’ लस्सी बेचेर पनि दैनिक १० हजार हात पार्न सकिन्छ र ? कार्कीले थपे, ‘मैले त दैनिक कम्तीमा आठ हजार, बढीमा १० हजारसम्म हात पारेकै छु ।’

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवामा लस्सी पसल खुलेको छ । आफ्नै घरमा जिस्ट होटल एन्ड लज सञ्चालन गरेका उनले संवत २०७४ मंसिरदेखि लस्सी पसल सुरु गरेका हुन् ।

बनाना लस्सी बेच्दै आएका उनले गाउँभरिका गाई, भैंसीपालकसँग दही संकलन गर्छन् । एक कुरुवा दहीको ५० रुपैयाँ पर्छ । नपुग्नेजस्तो भएमा कहिलेकाहीं उदयपुरको कटारीबाट दही मगाउने गरिएको छ । बनाना लस्सी बनाउन आवश्यक केरा आफ्नै बारीमा फलेको छ । उनले सात रोपनी जग्गामा केरा खेती लगाएका छन् । रोपेको नौ महिनामा फल्ने केरा प्रत्येक साता २ सय ५० देखि ४ सय ५० कोसासम्म आफ्नै बारीमा उत्पादन हुन्छ ।

कदुवाकै लुलिमाबेंसीमा केरा उत्पादन भएपछि किन्न पर्दैन । दहीचाहिँ किन्नैपर्छ । लस्सी बनाउँदा दही, चिनी, काजु, नरिवल, खुवालगायत प्रयोग गरिन्छ । कार्कीको लस्सी पसलमा बन्ने दहीमा पानी हालिँदैन । ‘एक लिटर दहीबाट तीन कप लस्सी बन्छ,’ गीता कार्की बोलिन्, ‘पानी हालेर धेरै बनाए स्वादिष्ट हुँदैन । जस्तो पायो त्यस्तो लस्सी त जहाँ पनि पाइन्छ नि ।’

गाउँघरका गाई, भैंसीका दहीबाट बनाइएको लस्सी त्यत्तिकै स्वादिलो छ । स्वादिलो भएपछि जोकोहीलाई प्रतिकप ६० रुपैयाँ बुझाउँदा जिब्रो टोक्नुपर्दैन । गाउँठाउँमा दैनिक ५० लिटर दही खपत हुनु भनेको सामान्य कुरा होइन । ५० लिटर दहीबाट १ सय ५० कप लस्सी बन्छ । कहिलेकाहीं त्योभन्दा धेरै लस्सी बिक्री हुन्छ । बोलबमका लागि साउनको प्रत्येक सोमबार हलेसी जाने धेरै हुने भएकाले लस्सी बढी बिक्री हुने गरेको फौदसिंह कार्कीले सुनाए ।

एकताका नर्सरी र तरकारी खेती गरेका कार्कीले आफूले लस्सी पसल थाप्दा अरूलाई समेत व्यवसायी बनाएका छन् । गाउँभरि गाईं, भैंसी पाल्ने किसानसमेत त्यत्तिकै खुसी छन् । कदुवाको बाटो हिँड्नेले साउनको गर्मीमा अर्गानिक लस्सी खान पाउँदा झन् धेरै खुसी हुन्छन् ।

‘कदुवाको लस्सीको स्वाद लिन चुक्नुहोला नि ! फौदसिंह कार्की जहाँ जहिल्यै भेटिँदा व्यावसायिक कुरा गर्नुहुन्छ । नभन्दै उहाँले बाहुनीडाँडाको कदुवामा लस्सीको व्यापार सुरु गर्नुभएको छ । मध्यपहाडी लोकमार्गको जयरामघाटबाट उकालो कदुवा नपुग्दै दायाँपट्टि उहाँको लस्सी पसल भेटिन्छ,’ कार्कीको लस्सी पसलमा पटक–पटक लस्सी खाइसकेपछि सांसद विशाल भट्टराईले २०७५ असार २३ गते सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सामान्य लगानीमै सुरु उहाँको व्यवसायले अहिले आफूलाई मात्रै होइन गाई, भैंसी पाल्ने किसानलाई समेत उत्साहित बनाएको छ ।’

‘हामी आउँदा जाँदा आफ्नो जिल्लाको स्वादिष्ट र अर्गानिक लस्सी पिउँछौं,’ सांसद भट्टराईले थपे, ‘बदलिएको परिवेशमा अरूलाई अनावश्यक आलोचना गरेर बस्नुभन्दा यस्ता नयाँ–नयाँ तर बजार लिन सक्ने व्यवसाय गर्दा आफूलाई पनि राम्रो । समाजलाई पनि फाइदा हुन्छ । तर, यो विज्ञापन होइन है ।’

एकताका नर्सरी र तरकारी खेती गरेको अनुभव सँगालेका कार्कीको लस्सी पसलमा लस्सीको स्वाद चाख्नेको भीड लाग्छ । एकपटक स्वाद चाखेकाले फेरि पनि लस्सी खान लोभ गर्छन् । लस्सी खान लोभ गरेपछि फौदसिंह कार्कीको व्यवसाय उकालो लाग्ने नै भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप