शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशमा एमबीबीएस : कानुनमन्त्रीले त राजीनामा गरे, अन्य मुद्दा के हुन्छ ?

शुक्रबार, ११ साउन २०७५, १२ : ४५
शुक्रबार, ११ साउन २०७५

काठमाडौँ । पन्ध्रौँ पटक अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच बिहिबार राती ९ बुँदे सहमति भयो । 

दुई पक्षबीच भएको उक्त सहमतिसँगै २७ दिनदेखि चलिरहेको केसीको अनसन समाप्त भयो । 

यस सहमतिसँगै आगामी १० वर्षसम्म उपत्यकामा कुनै पनि नयाँ मेडिकल कलेज स्थापनाको लागि स्वीकृति दिइने छैन र एउटा विश्वविद्यालयबाट जम्मा ५ वटा कलेजले मात्रै सम्बनधन पाउने छन् । 

तर, कुनै विश्वविद्यालयले उपत्यका बाहिर मेडिकल कलेज खोल्न चाहेमा भने चिकित्सा शिक्षा आयोगले नीति निर्माण गरी थप कलेज खोल्न सकिने गरी सहमति गरिएको छ । 

प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको १५ औं श्रृङ्खला त २७ दिनमा सकियो, के अब साँच्चै नै नेपालको चिकित्सा शिक्षामा सुधार हुन्छ त ? 

के गरीब नेपाली नागरिकले सहज र सुलभ तरिकाले आफ्नो उपचार गराउन पाउँछन् त ? के साँच्चै नै ग्रामिण स्तरका गरीबका छोराछोरीले पनि सहज तरिकाबाट नेपालमै एमबीबीएस अध्ययन गर्न पाउँछन् त ? 

यी सवालहरुको भने जवाफ खोज्नैपर्ने भएको छ । 

गोविन्द केसी अनसनको प्रमुख सफलता भने कानुनमन्त्री शेरबहादुर तामाङको राजीनामा देखियो । अन्य सहमती भनेका यसअघि भएका सहमति नै थिए । 

कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुबारे बोलेको अमर्यादित टिप्पणीले गर्दा उनले मन्त्री पद नै गुमाउनु पर्यो । के साँच्चै नै बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली चेलीहरुमाथि त्यहाँ शोषण भएकै छ त ? 

के पूर्वमन्त्री गगन थापाले भने झैँ बंगलादेशमा एमबीबीएसको सर्टिफिकेट किन्न कै लागि नेपालीहरुले ५० लाख खर्च गरिरहेका हुन् त ? 

हामीले यसै विषयमा बंगलादेशमा एमबीबीएस तथा बिडिएस अध्ययनरत केही विद्यार्थीसँग कुराकानी गरेका छौँ । 

बंगलादेशमा आउनु हाम्रो बाध्यता हो : शिवशंकर साह, विद्यार्थी, बंगलादेश  

नेपालमा एमबीबीएस अध्ययनका लागि कोटा नपाएपछि रौतहटका शिवशंकर साह सन् २०१४ मा बंगलादेश पुगे । 

बंगलादेशको अनवर खान मोर्डन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत साह अहिले अन्तिम वर्षका विद्यार्थी हुन् । सन् २०१४ मै शाहले ४२ लाख तिर्ने गरी बंगलादेशमा अध्ययन गर्न आएका थिए । 

एमबीबीएस अध्ययनका लागि बंगलादेश आउनुका प्रमुख तीन कारण भनेको नेपालमा कोटा नपाउनु, एकमुष्ठ रकम तिर्नुपर्ने र महङ्गो हुनु नै थियो । 

यद्यपि साहले डाक्टर बन्ने सपना त्याग्न सकेनन् । र, बाध्य भएर उनी बंगलादेशमा एमबीबीएस अध्ययन गर्न पुगे । 

ढाकामा अध्ययन गरिरहेका शाहले रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘बंगलादेश मेरो रहर थिएन र होइन । तर के गर्नु नेपालमा कोटा पाउन सकिँदैन । विद्यार्थी धेरै र कलेज थोरै छन् । त्यसमाथि नेपालमा ५५-६० लाख एकैपटकमा बुझाउनुपर्छ । त्यो पनि त्यति सहज छैन ।’

उनी अगाडि भन्छन्, ‘आफ्नै देशमा डाक्टर पढ्ने रहर त कसलाई पो हुँदैन र ? तर सबै भनेजस्तो हुँदैन । त्यही भएर हामी बंगलादेशमा आएर शिक्षा लिन बाध्य छौँ ।’

उनले रातोपाटीलाई एउटा भिडियो समेत पठाएका छन् ।  ‘बंगलादेश आरोप लगाएजस्तो खत्तम देश होइन,’ बंगलादेशमा नेपाली विद्यार्थीको पक्षमा काम गर्दै आएको संस्था नेपलिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका वरिष्ठ उपाध्यक्षसमेत रहेका शाहले रातोपाटीसँगको भिडियो अन्तरवार्तामा यसो भनेका छन् । 

भिडियो वक्तव्य यस्तो छ :
–बंगलादेशको एमबीबीएसबारे अहिले बजारमा जुन कुरा आइरहेको छ, चर्चा चलिरहेको छ, त्यो सरासर गलत छ । शेरबहादुर तामाङजीले जुन राजीनामा दिनुभयो, हामी त्यसको सम्मान गर्छौँ । 

–अमर्यादित अभिव्यक्ति दिने दुर्गा प्रसाईमाथि पनि कारवाही हुनुपर्छ । यस विषयमा सरकार अझै मौन छ, त्यस विषयमा पनि हामी सरकारको आधिकारिक धारणाको माग गर्दछौँ ।’ 

–गगन थापाको जुन अभिव्यक्ति छ, यहाँबाट सर्टिफिकेट किन्न पाउँछ भन्ने । त्यस्तो कुनै पनि छैन । यो अभिव्यक्ति सरासर गलत र झुटा छ । बिना कुनै ठोस सबुतका आधारमा उनीहरुले अभिव्यक्ति दिएका छन्, त्यस्तामाथि कारवाही होस् । त्यसबारे पनि हाम्रो गम्भीर ध्यनाकर्षण भएको छ ।

–गगन थापाले भनेजस्तो त्यस्तो केही छैन । त्यो सरासर गलत छ । हामी थापाको यस भनाईको बिरोध गर्छौ र त्यस्ता अभिव्यक्ति दिने सबै व्यक्तिहरुमाथि कारवाहीको माग गर्दछौँ ।

हामीले मिहेनत गरेका छौँ र मात्रै सर्टिफिकेट पाउछौँ : रमन कार्की, विद्यार्थी, बंगलादेश

नुवाकोटका रमन कार्की पनि यतिबेला बंगलादेशमै अध्ययन गरिरहेका छन् । देशमा स्वास्थ्य शिक्षा लिन कोटा अभाव भएपछि उनी बंगलादेश पुगेका थिए । नेपालमा शिक्षा महङ्गो, एकमुष्ठ पैसा तिर्नुपर्ने समस्याले रमन पनि पीडित भए । र, बाध्यतावश उनी मेडिकल शिक्षा लिन बंगलादेश पुगे । 

तर पूर्व स्वास्थ्यमन्त्री गगन थापा, कानुनमन्त्री शेरबहादुर तामाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईको भनाईले उनलाई पनि चोट पुगेको रहेछ । रातोपाटीलाई रमनले भिडियो सन्देश पठाएका छन् । रमनको सन्देश यस्तो छ :

–अहिले हाम्रो कानुनमन्त्रीले राजीनामा दिनुभएको छ, हामी त्यसको सम्मान गर्छौँ । तर, यस विषयको सुरुवात गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईको विषयमा हालसम्म कुनै पनि सजाय भएको छैन, यसका लागि सरकार वा सम्बन्धित निकाय किन मौन छ ? हामी यसको उत्तर चाहिरहेका छौँ ।

–अनि गगन थापाको जुन अभिव्यक्ति छ, त्यसमाथि पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गगन थापाले भनेजस्तो यहाँ पैसा तिरेर सर्टिफिकेट किन्न पाइँदैन । हामीले मिहेनत र परिश्रम गरेर मात्रै सर्टिफिकेट पाउछौँ । हाम्रो मिहेनत र परिश्रमको सम्मान गरिदिन आग्रह गर्छौँ । 

नारीको अस्मितामा धावा बोल्नेमाथि कारवाही होस् : मेघा खत्री, विद्यार्थी, बंगलादेश

बिराटनगरकी मेघा खत्री पनि अहिले स्वास्थ्य शिक्षा लिन बंगलादेशमा पुगेकी छिन् । नेपालमा शिक्षा महङ्गो तथा सिट नपाएकै कारण उनी बंगलादेश पुगेकी हुन् । तर नेपालमा बंगलादेशको शिक्षाबारे फिजाइएको हौवा र ‘अपमान’ बाट उनी पीडित छिन् । आफूहरुलाई मानसिक तनाब भएको मेघा बताउँछिन् ।

मेघाले रातोपाटीलाई पठाएको भिडियोमा दोषीलाई कारवाहीको माग गरेकी छिन् ।

उनले भनेकी छिन्, 

–पहिलो कुरा त हामी बंगलादेश किन पढ्न आएका छौँ, किनभने नेपालमा मेडिकल कलेज र विद्यार्थीहरुको रेसियोबीच धेरै अन्तर छ । हरेक साल नेपाली विद्यार्थीहरु आँखामा सपना बोकेर (प्रवेश) परीक्षाको तयारी गर्छन् । तर सीट सीमित हुँदा हामीहरु बाहिर आएर पढ्न बाध्य हुन्छौँ ।

–नेपालमा पढ्ने वातावरण भएको भए, नेपालमा पनि विद्यार्थीअनुसार मेडिकल कलेज र इन्स्टीच्यूट भएको भए सायद हामीलाई यहाँ आएर पढ्नुपर्ने थिएन ।

–अर्को कुरा उहाँहरुले भनेको जस्तै बंगलादेशमा त किनेर सर्टिफिकेट पाउँछ रे ! हामी पैसा तिरेर सर्टिफिकेट किनेर ल्याउँछौँ रे ! त्यस्तो कुरा गर्नुभन्दा अगाडि उहाँले त्यसको ब्याकग्राउण्ड चेक गरेर, त्यो कुराको तथ्यसम्म पुगेर हामीमाथि आलोचना नलगाएको भए सायद त्यो ठीक हुन्थ्यो ।

–तर उहाँहरुले हामी नारीको अस्मितामाथि दाग लगाउनुभएको छ । त्यसकारण उहाँहरुलाई माफीले मात्रै हुँदैन । उहाँहरुलाई कडाभन्दा कडा कारवाही गर्नैपर्छ । किनभने आज उहाँहरुले भन्नुभएको कुरालाई माफी मात्रै दिइयो भने भोलि पनि त्यस्तै कुरा गर्न अर्को मान्छे आउँछ । 

–हाम्रो अस्मितामाथि दाग लगाउन अर्को मानिस पनि उत्रन्छ । त्यसकारण उनीहरुलाई माफीले मात्रै पुग्दैन सरकार, कडाभन्दा कडा कारवाही गरेर देखाऊ । कानुन अझै पनि जिउँदो छ भने उनीहरुलाई कडाभन्दा कडा कारवाही होस् ।

गैरजिम्मेवार अभिव्यक्तिले हामीलाई गहिरो चोट पुगेको छ : श्वेता शर्मा, विद्यार्थी

सुर्खेतकी श्वेता शर्मा पनि यतिबेला अध्ययनकै सिलसिलामा बंगलादेशमा छिन् । अन्य विद्यार्थीको जस्तै श्वेताको पनि पीडा त्यस्तै हो, नेपालमा कोटा भएन, महङ्गो भयो र एकमुष्ठ पैसा तिर्न सकिएन । बंगलादेशमा पढ्नु रहर नभएर बाध्यता भएको श्वेताको भनाई छ । 

रातोपाटीलाई प्राप्त श्वेताको भिडियोमा यस्तो भनिएको छ । 

–हामीले दुर्गा प्रसाईको विषयमा अगाडि पनि आवाज उठाएका थियौँ, तर सरकारले यो विषयमा कुनै चासो नदेखाएको हुनाले हामी फेरि आवाज उठाउन बाध्य छौँ ।’ 

–मेडिकल व्यवसायी दुर्गा प्रसाई, कानुनमन्त्री शेरबहादुर तामाङ र पूर्व स्वास्थ्यमन्त्री गगन थापाले जुन अभिव्यक्ति दिनुभएको छ, त्यस अभिव्यक्तिले हामी विद्यार्थीमाथि गहिरो चोट पुग्न गएको छ । देशको जिम्मेवार पदमा बसेका व्यक्तिहरुले देशका चेलीहरुको अस्मितामाथि हात उठाउने मानिसलाई त्यो पदमा बस्ने कुनै अधिकार छैन ।

यी विद्यार्थीहरुले भनेको जस्तै नेपालमा एमबीबीएस वा अन्य स्वास्थ्य शिक्षा अध्ययनका लागि मुख्यतः तीन प्रकारका समस्या छन् । पहिलो यहाँ सिट पाउननै गाह्रो छ । किनभने एमबीबीएस वा मेडिकल शिक्षा लिन चाहने विद्यार्थीको सङ्ख्या धेरै छ तर कलेजहरुमा निश्चित सङ्ख्यामा मात्रै कोटा छन् ।

दोस्रो नेपालमा भन्ने शुल्क र लिने शुल्कमा व्यापक भिन्नता छ । नेपालमा अहिले एमबीबीएस अध्ययनका लागि करिब ४२ लाख शुल्क लाग्ने भनिन्छ । तर निजी कलेजहरुले करिब ६० लाख शुल्क लिने गरेका छन् । त्यो पनि एकमुष्ठ रुपमा तिर्नुपर्छ । त्यही कारण पनि नेपाली विद्यार्थीहरु एमबीबीएस अध्ययनका लागि अन्य देशमा जानुपर्ने बाध्यता छ ।

एमबीबीएस अध्ययनका लागि स्वीकृती

नेपालमा एमबीबीएस अध्ययनका लागि जम्मा २६ वटा कलेजहरुलाई मात्रै स्वीकृति दिइएको छ । 

२६ वटा कलेजहरुलाई सञ्चालन स्वीकृति दिइएपनि २ वटा कलेजहरुले अझै कक्षा सञ्चालन गरिसकेका छैनन् । 

नेपाल मेडिकल काउन्सिलका अनुसार शैक्षिक वर्ष २०७३/७४ मा एमबीबीएसका लागि जम्मा १ हजार ९ सय ५० सीट उपलब्ध गराइएको थियो । तर पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले कक्षा सञ्चालनको सुरुवात नै गरेन । 

पढ्नकै लागि वार्षिक ६० हजार नेपाली विद्यार्थी विदेशमा, १ खर्ब २० अर्ब विदेशी बैङ्कमा

पाटनलाई छुट्टाएको २ सय ५ सीट घटाउँदा शैक्षिक वर्ष २०७३/७४ मा नेपालमा एमबीबीएस अध्ययनका लागि जम्मा १ हजार ७ सय ४५ सीट मात्रै उपलब्ध भएको थियो । 

यी सीटमध्ये पनि केही कलेजमा भने विद्यार्थी भर्ना नै हुन चाहेनन् । कलेजको गुणस्तर नभएको भन्दै दुई वटा कलेजमा विद्यार्थीले पढ्न चाहेका थिएनन् ।  

आर्थिक वर्ष २०७४/७५ को सरकारी तथ्यांक हेर्ने हो भने नेपालबाट एमबीबीएस अध्ययनका लागि ४ सय ७ जना विद्यार्थीहरु विदेशी भूमिमा पुगेका छन् । उनीहरुमध्ये सबैभन्दा बढी बंगलादेशमै गएका छन् ।

विदेशमा एमबीबीएस अध्ययन गर्नेमध्ये ७३ प्रतिशत बंगलादेशमै

शिक्षा मन्त्रालयको नो अब्जेक्सन शाखाप्रमुख देवीप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा एमबीबीएस अध्ययनका लागि बंगलादेश जाने नेपाली विद्यार्थीको सङ्ख्या २ सय ९८ जना छन् । 
एमबीबीएस अध्ययनका लागि विदेश जाने कुल विद्यार्थीमध्ये ७३ प्रतिशत विद्यार्थी त  बंगलादेशमा मात्रै जाने गरेका रहेछन् । 

बंगलादेश पछि एमबीबीएस अध्ययनका लागि धेरै विद्यार्थी गएको देश फिलिपिन्स हो । यहाँ ४६ जना विद्यार्थी एमबीबीएस अध्ययनक ालागि गएका छन् । 

छिमेकी देश चीनमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्या जम्मा ४० जना मात्रै छ । 

चीनबाट एमबीबीएस अध्ययन गर्ने धेरैजसो विद्यार्थीहरु नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल हुने भएपछि सन् २०१५ देखि चीनमा एमबीबीएस अध्ययनमा जाने नेपाली विद्यार्थीको सङ्ख्यामा केही कमी आएको छ । 

चीन पछि एमबीबीएस अध्ययनमा नेपाली विद्यार्थीहरुको रोजाई भारत हुने गरेको छ । भारतमा गत आर्थिक वर्षमा ८ जना विद्यार्थी एमबीबीएस अध्ययनका लागि गएका छन् । 

एमबीबीएस अध्ययनका लागि नेपाली विद्यार्थी इजिप्टमा पनि पुगेका छन् । गत आर्थिक वर्षमा ७ जना नेपाली विद्यार्थीहरु एमबीबीएस अध्ययनका लागि पुगेको सरकारी तथ्याङ्क छ ।

त्यसैगरी गत आर्थिक वर्षमा एमबीबीएस अध्ययनका लागि नेपाली विद्यार्थी गएका देशहरुमा पाकिस्तान ३ जना, रसिया २ जना र बेलायत, युक्रेन तथा किर्गिजिस्तानमा १÷१ जना छन् । 


 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप