शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आखिर किन बदलियो देउवाको स्वभाव ?

बिहीबार, १० साउन २०७५, १३ : ३८
बिहीबार, १० साउन २०७५

काठमाडौँ– काङ्ग्रेस सभापति शेरबहादुर देउवाका धेरै स्वभावहरूमध्येमा पर्ने एउटा प्रमुख स्वभाव हो– ‘थोरै बोल्ने र ढिलो प्रतिकृया जनाउने ।’ 

देउवालाई नजिकबाट चिन्ने एक काङ्ग्रेस नेता भन्छन्– ‘धेरै नेताहरूमध्ये अत्यन्त कम बोल्ने र कुनै पनि कुरामा झ्वाट्ट प्रतिकृया नदिने उहाँको पुरानै स्वभाव हो ।’ 

त्यही भएर उहासँग कतिपय पार्टीका नेता कार्यकर्ताले समेत बेलाबेलामा असन्तुष्टि जनाउने गर्छन्’ ती नेताले देउवाकोे अर्को स्वभाव पनि सुनाए– ‘उनी धेरैजसो आफ्नै नेता कार्यकर्तालाई पनि आज चिन्छन्– भोलि बिर्सन्छन् । त्यसलाई कतिपयले देउवाको कमजोरीका रूपमा पनि बुझ्ने गरेका छन् ।’ 

त्यसो त चार पटकसम्म प्रधानमन्त्री भैसकेका देउवाले नेपाली राजनीतिमा प्रशंसाभन्दा बढी आलोचना नै खेपेका छन् । तर तिनै आलोचनाको भारी बोकेका देउवाले आफू प्रधानमन्त्री भएको चौथो कार्यकालमा भने एउटा महत्वपूर्ण काम गर्न सफल भए । त्यो हो– ‘निर्वाचन’ । सङ्घीयता कार्यान्वयनको पहिलो खुड्किलो मानिएको ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका देउवा नेतृत्व गरेको आफ्नै पार्टीले भने लज्जास्पद हार खायो । निर्वाचन सम्मपन्न गरेर स्याबासी पाएका देउवाले पार्टीको हारमा तीव्र आलोचना सहँदै हारको जिम्मेवारी लिने अवस्था आयो ।

निर्वाचन परिणाम अउँदै गर्दा कतिपयले देउवाकै कारण ‘काङ्ग्रेस सकियो’ समेत भन्न भ्याए । तर निर्वाचनमा आएको परिणामपछि एक सार्वजनिक कार्यक्रममा देउवाले फेरि अठोट गरे– ‘काङ्ग्रेसलाई पुरानै अवस्थामा फर्काएरै छाड्छु । काङ्ग्रेसको गुमेको साख फर्काउँछु’ तर, कतिपय काङ्ग्रेसजनले नै देउवाको यो प्रतिबद्धतालाई विश्वास भने गरिसकेका छैनन् । काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी देउवाले पार्टीलाई मजबुत बनाउन गरेको प्रतिबद्धता व्यवहारमै उतार्नुपर्ने बताउँछन् । 

उनी भन्छन्– ‘भनेर मात्रै हुँदैन, व्यवहारमा रूपान्तरण हुन्छ हुँदैन ? यद्यपि पछिल्लो समय सभापतिको सक्रियता केही बढेजस्तो देखिन्छ ।’  

त्यसो त सभापति देउवाले हालै गरेको पदाधिकारी मनोनयनमा समेत अर्का नेता पौडेल पक्ष र सिटौला पक्षले चर्को असन्तुष्टि जनाइसकेका छन् । विधान मस्यौदा समिति गठनमा ढिलाइ, महासमिति बैठक, विभागहरूको गठन, भातृ संस्थाहरूको निर्वाचनलगायतका काममा देउवाले चासो नदिएको र दिए पनि आफ्नो स्वार्थअनुकुल गर्दै आएका छन् ।

‘पार्टीलाई नयाँ जीवन दिन तलैदेखि माथिसम्म आग्रहपूर्वाग्रह त्यागेर निस्पक्ष ढङ्गले समेट्नुहुन्छ या हुन्न त्यसैमा भर पर्छ’, पौडेल पक्षका नेता समेत रहेका जोशीले रातोपाटीसँग भने । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार निर्वाचनपछि पार्टीको आन्तरिक व्यवस्थापन गर्न नसकेर आलोचनाको शिकार बनेका देउवाका पछिल्ला अभिव्यक्ति र व्यवहार हेर्दा पनि पहिलेको तुलनामा परिवर्तन आएका देखिन्छन् । ‘पार्टीभित्र र अन्तरपार्टीमा पनि सक्रियता बढेको छ’, प्रवक्ता शर्माले भने, ‘पार्टीको भातृ सङ्गठन नेविसङ्घको विवाद मिलाउनेदेखि विधान मस्यौदा तयार र अरूअरू विषयमा पनि आन्तरिक छलफललाई तीव्र बनाउनुभएको छ । असार १० देखि साउन १० सम्मको एक महिनामा झण्डै ७ पटक पार्टीका शीर्ष नेतादेखि पदाधिकारीलाई एकै ठाउँ राखेर छलफल  गरिसक्नुभएको छ, जसले पार्टीको आन्तरिक व्यवस्थापन गर्न मद्दत गर्छ’ प्रवक्ता शर्माले भने । 

किन अचानक बदलियो काङ्ग्रेसको निशाना ?

आन्तरिक विषयमा मात्रै होइन, यो अवधिमा देउवाले अन्तरपार्टी छलफलमा पनि उत्तिकै ध्यान दिएका छन् । गोविन्द केसीको अनशन चलिरहेकै बेला देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न २ पटक बालुवाटार पुगिसकेका छन् । साउन १ गते देउवाले प्रधानमन्त्रीलाई भेटेर डा गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रेको भन्दै त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री ओलीलाई सचेत गराए । ‘साउनमा मात्रै दुई पटक १ र ५ गते प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुभएको छ । त्योबाहेक ओली र प्रचण्डसँग पनि भेटघाट गरेको सुनेको छु’, प्रवक्ता शर्माले रातोपाटीलाई बताए ।  

पार्टीभित्र र बाहिरसमेत देउवाको सक्रियता बढ्न पुगेपछि धेरैले उनको रणनीतिमा ‘स्ट्राटेजिक’ परिवर्तन आएको महशुस गरेका छन् ।

यसअघि देउवामाथि पुरातन सोच, व्यवहार र शैलीबाट माथि उठ्न नसकेको आरोप लाग्दै आएको थियो । त्यति मात्रै होइन पार्टीको १३औँ महाधिवेशनपछि देउवा पार्टीको विधि र विधानविपरीत मनलाग्दी चल्ने गरेको भन्दै नेता कार्यकर्ताले उनको चर्को आलोचना र राजीनामा समेत मागेका थिए । 

आफ्नै नेता कार्यकर्ताले राजीनामा माग्दासमेत कडा अभिव्यक्ति दिने वा कसैलाई कारवाही गर्ने नगरेर मौन बसेका देउवाले एकाएक आफ्नो स्ट्राटेजी बदल्नुमा मुख्यतः तीनवटा कारण रहेको विश्लेषण हुन थालेको छ ।  

केके हुनसक्छन् देउवाका स्ट्राटेजी ?
–आफूमाथि गत निर्वाचनमा पार्टीले व्यहोरेको हारको पार्टीभित्रै बढेको आलोचना घटाउन ।  

–आगामी भदौ महिनामा हुने महासमिति बैठकमा आफ्ना एजेन्डा पारित गराउन ।

–र, अब हुने पार्टीको महाधिवेशनमा पुनः सभापति पदमा निर्वाचित हुन ।

अवसर केसीले जुटाए 
मध्य असारमा जब डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर अनशन सुरु गरे, त्यसयता भने सभापति देउवालाई सक्रिय हुने थप अवसर जुट्यो । यही बेला कम्युनिस्ट सरकारले गरेका केही निर्णयले पनि देउवालाई राजनीतिको केन्द्रमा आउने अवसर जुटाइदियो । डा. गोविन्द केसीको माग सुनुवाइमा सरकारले गरको ढिलाइ र माइतीघरलगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने सरकारी निर्णयपछि आक्रोशित काङ्ग्रेस कार्यकर्ताको मनोभावना बुझेर देउवाले तत्कालै महामन्त्रीमार्फत आन्दोलनको घोषणा गरिदिए । जब कि आन्दोलन घोषणा भएपछि नेता कार्याकर्ताको ध्यान नेतृत्वको आलोचना गर्नमा भन्दा आन्दोलनतर्फ खिचियो । जसले पार्टीभित्रको आन्तरिक किचलो मत्थर बनाउन थप मद्दत पुग्यो । 

संसद र सडकमा सरकारविरोधी आन्दोलन सुरु भएपछि देउवाको भूमिका सत्तापक्षले पनि खोज्यो । यही बीचमा देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न भ्याए । यी भेटमा देउवाले सरकारका काम कारवाही, निर्णय प्रकृयालगायतका विषयमा छलफल गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप