टनेल खेतीबाट लाखौँ आम्दानी
पाल्पा -पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाका किसानले प्लास्टिक टनेलमा गोलभेँडा खेती गरी लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अधिकांश घरपरिवारले अहिले गोलभँेडाखेतीबाट आम्दानी लिन थालेपछि यहाँ तरकारीखेती आकर्षक पेशा बन्दै गएको छ ।
प्रत्येक वर्ष रु सातदेखि १५ लाख बराबरको तरकारी जल्पाबाट निकासी हुँदै आएकोे अगुवा किसान डोलबहादुर घर्तीले बताउनुहुन्छ । गाउँमा तरकारी संकलन गरेर तानसेन बुटबल पठाउने व्यवस्था गरेपछि तरकारी उत्पादन गर्ने किसानले भोग्दै आएको बजारको समस्या हटेको हो ।
किसानले तरकारी उत्पादन गरी जल्पाको ढोलीमारामा संकलन गरेपछि बजार पठाउने काम अगुवा किसानको नेतृत्वमा हुने गर्छ । स्थानीय अगुवा चित्रबहादुर सारुका अनुसार सामान्यतया तरकारीखेतीबाट किसानले एक वर्षमा रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी लिन्छन् । जल्पा तरकारीमा भन्दा पनि गोलभँेडा उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ ।
प्रत्येकको घरमा एक देखि १० वटासम्म गोलभँेडा उत्पादनका लागि प्लास्ट्रिक टनेल निर्माण गरिएको अगुवा किसान घर्तीको भनाइ छ । टनेलमा बाह्रैमहिना गोलभँेडा उत्पादन हुने गर्दछ । अगुवा किसान घर्ती दशवटा टनेलबाट वार्षिक रु दुई तीन लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
तरकारीखेती गर्ने ७३ घरपरिवारमध्ये ६० ले प्लास्टिक टनेल निर्माण गरेर गोलभँेडा उत्पादन गर्दै आएका छन् । यहाँ गोलभँेडाको अतिरिक्त बन्दा, सिमी, काउली, खुर्सानीलगायतका उत्पादनमा वृद्धि हुँदा तरकारीमा गाउँ नै आत्मनिर्भर बन्दै गएको छ । भीमबहादुर सारु पेशाले शिक्षक हुनुहुन्छ र उहाँ साँझ बिहान तरकारीखेती गरेर वार्षिक रु ५० हजार भन्दा बढी आम्दानी गर्नुहुन्छ ।
श्रीमान् भारतमा काम गर्ने भएपनि घरमै बसेकी भिमीसरा आलेले घरखर्च र छोराछोरीको पढाइखर्च तरकारी खेतीबाट जुटाइरहनु भएको छ । पूर्वखोला–२ जल्पा सदरमुकाम तानसेनसँग बाह्रैमहिना सडक सञ्जालसँग जोडिँदैन । ग्रामीण सडक भएकाले वर्षाको समयमा यहाँ उत्पादित तरकारी निकासीमा समस्या आइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट