बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यानपावर व्यवसायीको चुनाव : संयुक्त व्यवसायी समूहले बाजी मार्यो

आइतबार, ०१ साउन २०७४, १५ : ५२
आइतबार, ०१ साउन २०७४

काठमाडौं – म्यानपावर व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संयुक्त व्यवसायी समूहले बाजी मारेको छ । एमाले, माओवादी केन्द्र समर्थित व्यवसायी सहित विश्वकर्मा समाज, तमुधी लगायतका संस्थाको प्यानलले नै पदाधिकारीमा बाजी मारेको हो । 


लामो समयपछि कम्युनिष्ट प्यानलले दुई पदाधिकारी र एक सदस्य वाहेक सवै पदमा जित हासिल गरेको हो । यसअघि एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायीका उम्मेदवार बलबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका थिए । तर, उनले पुरा कार्यकाल काम पाएका थिएनन् । त्यस वाहेक संघको अहिलेसम्मको नेतृत्व काँग्रेस निकट व्यवसायीले नै गर्दै आएका थिए । 


यसपटक भने संयुक्त व्यवसायी समूहका उम्मेदवार रोहन गुरुङ अत्यधिक मत सहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल ४ सय ३४ मत पाएका थिए । उनको प्रतिद्धन्दी काँग्रेस निकट व्यवसायी बिमल ढकाल ३ सय ४१ मत पाएका थिए । युवा व्यवसायीका रुपमा परिचित गुरुङ यसअघि संघको महासचिव थिए । 
यस्तै, प्रथम उपाध्यक्षमा संयुक्त व्यवसायी समूहकै रामप्रसाद भान्तना निर्वाचित भएका छन् । उनी माओवादी केन्द्र निकट व्यवसायी हुन् । उनले काँग्रेस निकट व्यवसायी समूहका प्रज्ञान न्यौपानेलाई हराएका हुन् । द्वितिय उपाध्यक्षमा भने ढकाल समूहका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । सो पदमा संयुक्त व्यवसायी समूहकी उम्मेदवार सुवर्ण श्रेष्ठ पराजित भइन् । तृतीय उपाध्यक्षमा संयुक्त व्यवसायी समूहका शुक्र पाख्रिन बिजयी भएका छन् । 


संघको महत्वपूर्ण महासचिव पदमा संयुक्त व्यवसायी समूहकै नरेश गेलाल निर्वाचित भएका छन् । यस्तै सचिवमा पनि सोही समुहका ईश्वर जिसी निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने ढकाल समूहकी राधिका कटवाल निर्वाचित भएकी छिन् । 


सदस्यमा गुरुङ समूहवाट बबन कुमार सिंह, सञ्जु गुरुङ, परमेश्वर अधिकारी, तेजमाया लिम्वु, सुरेश गौतम, सविना श्रेष्ठ, कुन्सा दोर्जे लिम्वु, प्रितम वहादुर मगर, प्रेमबहादुर विश्वकर्मा र ढकाल समूहवाट सुरज केसी निर्वाचित भएका छन् । अधिकाशं पदाधिकारी र सदस्य पदमा गुरुङ समूह निर्वाचित भएपछि काम गर्न सहज हुने उनको समूहले जनाएको छ । 


यसअघि अध्यक्ष रहेका ढकाल पुन अध्यक्षमा उम्मेदवारी दिएपछि व्यवसायीले उनलाई सहयोग नगर्ने ग्रिन सिंगल पहिलेनै दिएका थिए । उनलाई आफ्नै समूहका व्यवसायीको समेत असहयोग थियो । ढकालले अरु व्यवसायीलाई पन्छाए आफै अघि वढेको भन्दै काँग्रेस निकट व्यवसायीले उनलाई असहयोग गरेका हुन् । 


अध्यक्षमा निर्वाचित गुरुङले आफु सधै व्यवसायी र नेपाली कामदारको पक्षमा वकालत गर्ने प्रतिवद्धता जनाएका छन् । ‘म व्यवसायीक हित र कामदारको पक्षमा सधै क्रियाशित हुनेछु’, रातोपाटीसँग कुरागर्दै गुरुङले भने, ‘निर्वाचनमा जेजस्तो प्यानल बनेपनि अब म सवैको साझा अध्यक्षका रुपमा काम गर्छु ।’ उनले संघलाई व्यवस्थित गर्दै प्रविधिमैत्री वनाउने समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप