आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमाथि प्रचण्डको हमला : अब काँग्रेस सिद्धियो

सोमबार, ०७ साउन २०७५, १४ : ३५
सोमबार, ०७ साउन २०७५

लामो समयको मौनता तोड्दै नेकपाका अध्यक्ष प्रचण्डले आज राष्ट्रिय राजनीतिका महत्वपूर्ण विवादित मुद्दामा आफ्नो धारणा राखेका छन् । प्रचण्डले विपक्षी दल काँग्रेसको भूमिकामाथि प्रश्न उठाउँदै काँग्रेस अव सकिनेदिशातिर उन्मुख रहेको दावी गरे । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा नेकपाले काठमाडांैमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आफुहरु डा.गोविन्द केसीको मागमा वार्ता गर्न तयार रहेको पनि बताए । 

‘हामी डा केसीसँग वार्ता गर्न तयार छौँ । तर, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ? काँग्रेस केसीको पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ? के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो । ?’ प्रचण्डले डा.केसी प्रकरणमा काँग्रेसले लिएको पोजिसनतर्फ हमला गर्दै भने, ‘के काँग्रेस अलोकतान्त्रिक भएको हो । केकाँग्रेस एजेन्डाविहीन भएको हो ? गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो । काँग्रेसको अवसानको बाटो शुरु भयो ।’

चण्डले लोकतान्त्रिक भनिएका पार्टीले नै अनशनरत डा.गोविन्द केसीको हत्या गरेर उनको लाशसँग राजनीति गर्न चाहेको भन्दै कटाक्ष गरे । 

केसीको जीनव रक्षा नै सरकारको पहिलो दायित्व भएकाले उनलाई जुम्लाबाट काठमाडौं ल्याइएको पनि प्रचण्डले बताए । 

प्रचण्डले डा.केसीको माग पुरा गर्ने विषयमा आफु, प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवावीच कुरा भएको र यस्तो भेटमा देउवाले काँग्रेसको छुट्टै माग नरहेको र केसीले माने काँग्रेसले स्वीकार गर्ने जवाफ दिएको बताए । 

प्रचण्डले लगातारको अनशनमा पनि असन्तुष्टि जनाए । ‘एउटा व्यक्ति माग राखेर अनसनमै बस्ने हो भने चुनाव किन चाहियो ? संसद किन चाहियो ? चुनाव किन गर्ने ? पालैपालो एकजनालाई अनशनमा राखौँ । माग पुरा गरौँ ।’ प्रचण्डले भने, ‘यहि बुद्धि हो भने काँग्रेस इतिहासको विषय बन्न कसैले रोक्न सक्दैन । अब हामी तल जाँदैछौँ, यसबाट के निस्कन्छ, हेर्नुहोला ।’

प्रचण्डले काँग्रेसले अराजकता मच्चाउन खोजेको पनि आरोप लगाए । ‘७० वर्षपछि ५ बर्ष सरकार चल्ने अवसर पायौँ भनेर सत्ता र प्रतिपक्ष सवैको हो भनेका थियौँ । चार महिना कुर्ने धैर्यता देखिएन । अनि फेरि अराजकता शुरु भयो । लोकतान्त्रिक भन्नेहरुले सरकारी डाक्टरलाई परिक्षण गर्न नदिने, वार्ता गर्न दिन्नौँ यो कस्तो लोकतन्त्र हो ?’ प्रचण्डले भने, ‘अराजकता मच्चाउनेहरु फोहरमै बस्न चाहेका छन् । हामी सिधा वार्ता गर्न तयार छौँ, डा गोविन्द केसी ककसको घेरामा त पर्नुभएको छैन ? तपाईंप्रति र तपाईंको अनसनप्रति कुनै घृणाा छैन । लेनदेन गर्न तयार छौँ । तर, तपाइको नाममा अराजकता मच्चाउन दिदैनौँ । प्रतिपक्षका साथीहरुलाई वार्तामार्फत अघि बढ्ने वाताबरण बनाउनुस् । अझैपनि ठाउ छ । अन्यथा भिरबाट खस्नेलाई केके भन्न सकिन्छ भनेजस्तै...।’

प्रतिक्रान्ति हुन थालेको भन्दै प्रचण्डले भदौदेखि महाअभियान चलाउने बताए । 

प्रचण्डले अहिले पार्टी एकता र सरकारलाई बद्नाम गर्ने नियोजित षड्यन्त्र भइरहेको पनि दावी गरेका छन् । 

आफुलाई तथाकथित प्रजातन्त्रबादी भन्नेहरुले लासको राजनीति गर्न खोजिरहेको प्रचण्डको भनाई थियो । 

उनले डा. गोविन्द केसीले पहिलो पटक अनसन नबसेको भन्दै लोकतान्त्रिक सरकार भन्नेहरुका पालामा सवैभन्दा बढि बसेको बताए । ‘त्यो वेलामा के हेरेर बस्नुभएको थियो । उहाँ अनसन बस्नुहुन्छ । उहासँग सरकारले वार्ता गर्छ । काग्रेसले बढि टाउको दुखाउनुपर्दैन ।’ प्रचण्डले भने । 

अध्यक्ष प्रचण्डले एमाले र माओवादी एकतापछि अझैपनि जीवन मरणको चरणमा रहेको भन्दै एकतालाई अझ मजवुत बनाउनेतर्फ लागिएन भने संकटमा फस्न सक्ने खतरा रहेको बताए । 

प्रचण्डले आफुहरु युद्धबाट शान्ति कायम गर्न सक्ने हैसियतको नेता भएको भन्दै अराजकता रोकिने बताए । ‘हामी युद्धबाट शान्ति कायम गर्न सक्ने नेता हौँ । सानातिना समस्याबाट हामीलाई कसैले कमजोर पार्ने सपना देखेको छ भने त्यो दिवा सपना हुनेछ । युगान्तकारी परिवर्तन, संविधान बनाउने नेतृत्व गरेका छौँ हामीले ।’ प्रचण्डले भने, ‘कसैले सजिलै हामीलाई कमजोर पार्ने सोचेको छ भने आफु पर्ने खाल्डो आफै खन्दैछ ।’

उनले आजको समारोहको विशिष्ठ अर्थ रहेको भन्दै यसलाई सामान्य औपचारिक कायर्मक्रमका रुपमा बुझ्न नहुने बताए । प्रचण्डले पुष्पलालको सपना पुरा गर्न बाँकी रहेका कम्युनिष्टहरुलाई पनि एकतामा सहभागि हुन अपिल गर्दै प्रतिक्रान्तिकारीको शिकारबाट बच्न आग्रह गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप