बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम मेलाको तयारी

आइतबार, ०६ साउन २०७५, १४ : ४६
आइतबार, ०६ साउन २०७५

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिकाका– १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाम (श्रावणी मेला) को तयारी शुरु भएको छ । 

प्राचीन एवं ऐतिहासिक शिव ज्योतिर्लिङ्गमा बोलबमको तयारीका लागि मन्दिर प्रवेशद्वारदेखि बजार व्यवस्थापन र जलार्पण गर्न विभिन्न उपसमिति निर्माण भएको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका अध्यक्ष रामबलि चौधरीले जानकारी दिए । 

उनका अनुसार फलफूल, नरिवल र पूजाआजाका सामग्री पाइने पसलका लागि रु ५०० देखि रु एक हजार ५०० सम्म शुल्क निर्धारण गरिएको छ । ज्योतिर्लिङ्ग नजीकै झण्डै २०० कक्ष तथा अन्य विभिन्न फुटकर पसल र ठेलासमेत रहने र उनीहरुका लागि रु १० देखि रु ५० सम्म शुल्क लिइने बताइएको छ । 

मेलाका लागि २५० स्वयंसेवक परिचालन हुनेछन् । कृष्णपक्षदेखि श्रावण शुरु हुने भएकाले साउन ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भदौ १० गते ऋषितर्पणी (जनैपूर्णिमा) सम्म एक महीना सञ्चालन हुने बोलबम मेलामा विशेष गरी भगवान् शिवजीलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामका मुख्य पुजारी चन्द्र नेपालले जानकारी दिए । उनका अनुसार साउन महीना शिवको प्रिय महीना भएकाले शिवको पूजाआजा, आराधना र भजनकीर्तन गर्नाले रोगव्याधि नलाग्ने, संकट मोचन हुने र आयु लामो हुने धार्मिक विश्वास छ । 

‘रुद्राभिषेक भगवान् महादेवको मात्रै होइन सबै देवीदेवताको वैदिक मन्त्रमार्फत गरिन्छ’, उनले भने । पुजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योतिर्लिङ्गको अध्ययनअनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वयं उत्पत्ति भएको ज्योतिर्लिङ्गको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा आरोग्य र ऐश्वर्य प्राप्त हुने बताए । 

सो ज्योतिर्लिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले काँवर र कमण्डलुमा पवित्र गंगाजल उठाई बोलबम धाममा जलार्पण गर्ने प्रचलन छ । बोलबम जलार्पण एवं श्रावणी मेलाका लागि कपिलवस्तुका वाणगंगा, लक्ष्मणघाट, त्रिवेणीधाम र देवघाटधाममा पैदलयात्रा र रिडी रुरु क्षेत्रमा सवारी साधन यात्रा तय भएको छ । त्यहाँबाट जल उठाएर बोलबम धाममा जलार्पण गरिने छ । 

सो ज्योतिर्लिङ्ग बोलबम धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, ५.५ फिटको शिवमूर्ति र नागकुण्ड छन् । सो ज्योतिर्लिङ्ग बोलबम धाममा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तु, चितवन, काठमाडौँलगायत भारतबाट समेत भक्तजन सहभागी हुनेछन् । बोलबम धाममा चढाइएको भेटी एवं दान भौतिक पूर्वाधारका क्षेत्रमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप